साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई हास्यव्यङ्ग्यका खोजकर्ता, लेखक तथा सम्पादक माणिकरत्न शाक्यकृत पुस्तक “उही..” प्राप्त भएको छ ।

पुस्तक ९६ पृष्ठमा मौलाएको छ । यसमा ‘सिन्दूर’, ‘नानीछोरी’, ‘उसकी स्वास्नी’, ‘दोष कसको ?’, ‘अलपत्र ः प्रेमपत्र’, ‘ऊ..ऊ..को ?’, ‘रामविलासको रामकहानी’ लगायत २२ वटा कथा संग्रहित छन् । ‘उही..’ कथासंग्रहमा लेखकको प्रस्तुति नौलोपन तथा पात्रको यौनमनोविज्ञान पनि समेटिएको पाइन्छ ।

मन्तव्यमा प्रा.डा. दयाराम श्रेष्ठ ‘संभव’ उल्लेख गर्छन्, “माणिकरत्न शाक्यले ‘सिन्दूर’ शीर्षकको कथामा लेखेका छन् – संसार प्रेममा अडिएको छ । यस कथनलाई ‘हव’ (Hub) बनाएर उनले लेखेका धेरै कथाहरू यस संग्रहमा परेका छन् । उनलाई देखावटी वा पाखण्डी प्रेममा कति पनि विश्वास छैन, उनी अन्तर्हृदयदेखि उद्भत प्रेम प्रणयको पक्षधर भएकाले नै उनले ‘सिन्दूर’, ‘मोड ः भित्रबाहिर’ जस्ता कथाहरूमा नारी जातिको मनभित्रका शुद्ध र पवित्र प्रेम प्रणयबाट उत्पन्न समर्पण भाव, त्याग र उत्सर्गका परिणामलाई प्रस्तुत गरेका हुन् ।”

उही..

उही..

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “बेलुका राष्ट्रिय झोलसहित विभिन्न परिकारहरू बनाएर राखेका रैछन् । गएँ, बसें, कुराकानी गर्दै, खाँदै थिएँ । तिनीहरूले उपद्रो गरेबापतको खाना खाँदैछस् सनकमान भनेर दिमागमा एक्कासि झड्का हान्यो । त्यो दिनको घटना सम्झिन पुगेँ । त्यसपछि मलाई उल्टी आउलाआउला जस्तो भयो । खानै सकिनँ । मेरो दशा देखेर घरबेटी आमैले भनिन्– के भो तपाईंलाई । मैले भनें– के हुनु नि ? तपाईंहरूको कथा सम्झेर वाकवाकी लाग्यो नि ।”

“विषयमा विविधता छ । अभाव, गरिबी, आन्तरिक द्वन्द्व, सशस्त्र द्वन्द्व, सपना, धोकाजस्ता धरातलमा अधिकांश कथाहरू उनिएका छन् । यी कथाहरू पढ्दा कथा पढिरहेको आभास नभएर बरु हाम्रै वरिपरि कुनै घटना घटिरहेको पो हो कि भन्ने आभास हुन्छ । कथाका विषयवस्तुका दृष्टिले यौन विषय अलि बढी फैलिएर कथाका पात्रहरूको जीवनका मोड र घुम्तीहरूमा बढी नै ताउरमाउरका साथ आएका छन् । यौनको चासनीमा भिजेको कथा मन पराउनेहरूका लागि यस सङ्ग्रहमा खुराक यथेष्ट छन् । त्यसपछि जागिरे जीवन र जागिरेहरू पनि कथामा बाक्लै भेटिन्छन् ।” भूमिकामा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ लेख्छन्, “…कथाले लघुकथाको बान्की त बोकेको छ नै, साथै लघुकथामा हुनुपर्ने झट्का दिने अन्त्य पनि अधिकांश कथामा पाइन्छन् । त्यसैले जेजस्तो विषयवस्तु भए तापनि कथा पढ्न सुरु गरिसकेपछि कथाको अन्त्यसम्म कथाले पाठकलाई तानेर लान्छ नै ।”

भुँडीपुराणबाट प्रकाशित यस पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।