नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलाई जनकल्याण समिति कलकत्ताले अभिनन्द गरेको छ । कलकत्ताको हावडास्थित शरत् सदनको प्रेक्षालयमा आयोजित आदिकवि भानुभक्त आचार्यको २१० ओैँ जन्मजयन्ती अवसरमा कुलपति राईलाई भव्य अभिनन्दन गरिएको हो।

सो अवसरमा प्रमुख आतिथ्य कुलपति राईलगायत व्यक्तित्वहरूले भानुभक्तको तस्बिरमा माल्यार्पण गरेका थिए ।

कुलपति राईले कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड कलकत्ताका प्रबन्धक हेमनाथ पौडेललगायत विभिन्न स्रष्टाहरूसँग आपसी भेटघाट र विमर्श गरेका छन् । पश्चिम बङ्गाल सरकारका सहकारी मन्त्री अरुप रायको उपस्थितिमा कुलपति राईले ‘बिहानी’ पत्रिकाको २४ ओैँ अङ्कको विमोचनसमेत गरेका छन् ।

सो पत्रिका प्रत्येक वर्ष भानु जयन्तीका सन्दर्भमा प्रकाशित हुने गरेको छ ।

यस अवसरमा कुलपति राईले ‘आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई एकसूत्रमा बाँध्ने काम गरेकोमा सह्राना प्रकट गरे । उनले भने, ‘आफू कोलकातामा आएर भानुजयन्तीको सन्दर्भमा अभिनन्दित हुन पाउँदा हर्षानुभूति छु’ । नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको विकासका लागि नेपाली जनकल्याण समितिले गरेको योगदान निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

यसैगरी, प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य डा. मधुसूदन गिरीले अनेकतामा एकता स्थापना गर्ने महत्त्वपूर्ण काम आदिकवि भानुभक्त आचार्यले गरेको बताए । ‘नेपालका सबै जातजाति र कोलकातालगायत विश्वभरिका सबै नेपाली बिचमा सद्भाव, सौहाद्रता र एकताको काम भानुभक्तले गरेका हुन् । यसले हामी नेपालबाट यहाँ आएर एक्कै भावनामा गाँसिएका छौँ’, उनले भने ।

यसैगरी, कार्यक्रममा पश्चिम बङ्गालका सहकारी मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडक निर्माणको निर्णय भइसकेको जानकारी दिँदै भानुभक्त आचार्यको प्रतिमा बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिना, नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, पत्रकार तथा कवि प्रकाश सिलवाल, भारतीय प्राध्यापक डा. सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायणप्रसाद होमागाईं, ‘बिहानी’ पत्रिकाका सम्पादक नरविक्रम थापालगायतले भानुभक्तको योगदानको चर्चा गर्दै विश्वभरका नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नेपाली जनकल्याण समिति कलकत्ताका अध्यक्ष बद्रीविक्रम थापाले विभिन्न समयमा साहित्यिक गोष्ठी, सम्मेलन, अन्तरक्रिया ,कार्यशाला, सांस्कृतिक प्रदर्शन, रक्तदान, एम्बुलेन्स सञ्चालन, गङ्गासागर मेलामा स्वास्थ्य उपचार शिविर सञ्चालन गर्दै आएको कुरा जानकारी दिए ।

कार्यक्रमको सञ्चालन समितिका महासचिव रामबहादुर कार्कीले गरेको थिए ।