राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ  तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ। भानु जयन्तीको अवसरमा यही असार २९ गते शुक्रबार आदिकविको ससुराली गाउँ मानुङमा साहित्यिक कार्यक्रम गरी भानु जयन्ती मनाउन लागिएको हो।

आदिकवि भानुभक्त आचार्यकी धर्मपत्नी चन्द्रकला खनाल आचार्यको नामबाट स्थापित ‘आदिकवि भानुभक्त आचार्य रचन्द्रकला खनाल आचार्य स्मृति प्रतिष्ठान’ले भानुभक्तसँगै उनकी श्रीमतीको पनि स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा कविता वाचन, रामायण वाचनका साथै भानुभक्त र चन्द्रकलाको जीवनीबारे कार्यपत्र प्रस्तुत गरिनेछ।

व्यासका अध्येता काशीनाथ न्यौपानेले आदिकविको नाम मानुङकोटसँग जोडिनु गर्वको विषय भएको बताए। व्यास क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश भट्टराईले आदिकविकी पत्नीको योगदानको पनि उत्तिकै महिमा हुनुपर्ने उल्लेख गरे।

भानुभक्तकी पहिली श्रीमतीको १८ महिनामै मृत्यु भएपछि उनले चन्द्रकलासँग विवाह गरेका थिए । चन्द्रकलाको स्मृतिमा वि.सं २०७० मा चूडामणि खनालको नेतृत्वमा यो संस्थाको स्थापना गरिएको थियो ।