१. भानुभक्त आचार्यको ‘आदिकवि’ माहात्म्य

आदिकवि भानुभक्त आचार्य

आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती । भानुभक्तप्रति श्रद्धा-सुमन अर्पण गर्दै ‘पत्याउनुस्/नपत्याउनुस्’को आजको शृङ्खला सुरू गरौँ ।

कुरो आदिकवि भानुभक्तकै । सुरूमा एउटा प्रश्न स्थापित गरौँ – भानुभक्त आचार्य आदिकवि कसरी बने ?

अब इतिहासलाई चियाएर यस प्रश्नको उत्तर खोजौँ ।

भानुभक्तसँग जोडिएरसँगै आउने नाम हो मोतीराम भट्ट । भानुभक्तले रामायणलाई आम नेपालीभाषीका लागि प्रिय ग्रन्थ बनाए । वि.स. १९४१ सालमा भानुभक्तको रामायण बालकाण्ड प्रकाशित गर्दा मोतीरामले आचार्यलाई ‘प्रचीन कवि’को सम्बोधन गरेका थिए । सूर्यविक्रम ज्ञवालीलगायत कतिपयले भने ‘आदि प्रतिनिधि कवि’ भन्ने तर्क पनि राखेका थिए ।

भानुभक्त ‘आदिकवि’ कहलिनुमा सबैभन्दा ठुलो भूमिका कसैको छ भने ती मोतीराम नै हुन् । सर्वप्रथम वि.स. मोतीरामले वि.स. १९४८ मा ‘भानुभक्तको जीवन चिरत्र’ लेखी भानुभक्तलाई ‘आदिकवि’को उपाधिले सम्मान गरेको पाइन्छ । तर, मोतीरामले दिएको उपाधि तत्कालीन समयमा चलनचल्तीमा आएको भने पाइँदैन ।

मोतीराम ३० वर्षको कलिलो उमेरमै बितिगए । त्यसपछि भानुभक्तलाई बृहत् बनाउने काम दार्जीलिङमा सूर्यविक्रम ज्ञवालीहरूको समूले गर्यो । ज्ञवालीले ‘भानुभक्तको जीवनचरित्र’ र ‘भानुभक्त स्मारक ग्रन्थ’लगायतका कृति सम्पादन गरे । ‘भानुभक्तीय रामायण’को पनि भूमिका स्वरूप समालोचनाहरू गरे । यस कार्यले भानुभक्तलाई नेपालमा मात्र नभई दार्जीलिङका नेपालीभाषीबिच पनि प्रचारप्रसार गर्यो ।

भानुभक्तको न्वारनको नाम देवीभक्त थियो । उनको प्रेरणाको स्रोतका रूपमा घाँसीलाई लिइन्छ । आदिकविका सन्ततिका अनुसार उक्त घाँसीको नाम चामुनारायण पन्थ थियो । तर विद्वान् जगमान गुरूङका अनुसार घाँसी ‘खड्गबहादु ठाडा मगर’ थिए । खास घाँसी को थिए ? यसमा विवाद कायमै छ ।

अब चुरो कुरो गरौँ । कुरो वि.स. १९९५ को हो । सूर्यविक्रम ज्ञवालीको समूहले दार्जीलिङबाट ‘भानु स्मारक ग्रन्थ’ प्रकाशनको तयारी गरिरहेका थिए । त्यसै क्रममा तत्कालीन नेपालका राणा प्रधानमन्त्री जुद्ध शमशेरले उक्त ग्रन्थका लागि शुभकामना पत्र पठाए । उक्त शुभकामना पत्रमा एक वाक्य थियो – ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ । त्यसपछि नै भानुभक्तलाई बृहत् रूपमा आदिकविका रूपमा स्वीकार गरिएको विद्वानहरूको मत छ । यसर्थ, भानुभक्तलाई आदिकवि भनिनुमा मोतीराम भट्टका साथै राणा प्रधानमन्त्री जुद्ध शमशेरको समेत महत्त्वपूर्ण भूमिका रहेको छ ।

भानुभक्तकै कुरा गरिरहँदा प्रजातन्त्रवादी नेता गणेशमान सिंहलाई उल्लेख गर्नु पनि जाती नै हुन्छ । उनी भन्ने गर्थे रे, ‘नेपाल आमाले तीन जना महापुरुष जन्माइन् । एउटा पृथ्वीनारायण शाह, अर्को भानुभक्त आचार्य र तेस्रो बीपी कोइराला ।’

कुरो सकियो । सकियो । लगभग । तर अन्त्यमा, भारती राष्ट्रपति प्रणव मुखर्जीको एक प्रसङ्ग यहाँ उल्लेख गर्नु पनि वान्छनीय नै हुने देखियो ।

त्यो के भने, दार्जीलिङमा २०७३ असार २९ गते आयोजित भानु जयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित थिए तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी । त्यस समारोहमा उनले भानुभक्तको शालिकमा माल्यार्पण गरे । आधा घन्टा लामो आफ्नो मन्तव्य दिए । त्यही मन्तव्यको क्रममा उनले पटक पटक ‘नेपाली आदिकवि’को सम्बोधन गर्दै भानुभक्तको नाम उच्चारण गरे ।

===

२. पारिजातका छद्मनाम कति ?

पारिजात

नेपाली साहित्यकी प्रखर नारी हस्ताक्षर, मिथकीय पात्र बनिसकेकी पारिजातले जीवनमा साहित्य सिर्जना गरिन् । तर के उनले सबै सिर्जनाहरु ‘पारिजात’ नामबाट नै गरिन् ? – प्रसङ्ग यही हो । उत्तर खोज्न तपाईँ कहीँ जानु पर्ने छैन ।

अँ, पारिजातले ‘सुश्री पारिजात’का नामबाट २०१३ सालमा पहिलोपटक तीन कविता प्रकाशन गरेको पाइन्छ । धरती पत्रिकामा । अधिकांश रचनाहरुमा पारिजातकै रुपमा जाज्वल्यमान भएकी पारिजातले राल्फाली बनेर नगण्य मात्रामा ‘पारिजात राल्फा’का नाममा पनि रचना सिर्जिन् । त्यसमध्ये ‘एउटा राल्फाका नाममा अर्को राल्फाको डायरी’मा उनले आफूलाई ‘पारिजात राल्फा’ भनाइन् । जुन रुपरेखामा प्रकाशित भयो र पारिजातकै जीवनमा आधारित उपन्यास ‘छेकुडोल्मा’को भूमिकाका रुपमा पनि छापियो । तर यसमा पनि, रचनाभित्र पारिजात राल्फा लेखे पनि लेखकको नाम भने पारिजात नै थियो ।

पारिजातले ०३० को दशकपछि कविताहरुमा प्रयोग गरेको छद्म नाम हो, सुमित्रा काँडा । खासमा, ०३० सालपछि पारिजात कविताबाट टाढा भाग्न खोजिन्, तर कविताले उनलाई छोडेन । उनले मध्यमार्ग अपनाइन् । कवितामा आफ्नो न्वारन गरिन् – सुमित्रा काँडा । पारिजातको जीवनी सुश्री पारिजातमा गोविन्द गिरी प्रेरणा लेख्छन्, ‘… कम्युनिस्टहरु आफ्ना रचना छद्मनाममा लेख्न रुचाउँथे । गाली गर्न पनि छद्मनामले सहज हुन्थ्यो । पारिजातले कविता रचनालाई सुमित्रा काँडा उपनाम वा छद्मनामले प्रकाशन गर्न रुचाइन् । पछि नेपाल साहित्य गुठीले सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कारका लागि उनको कवितासङ्ग्रह तयार गर्दा सुमित्रा काँडाका नाममा प्रकाशित कवितालाई पनि समावेश गर्यो । र पारिजातकै नाममा प्रकाशित भयो ।’

पारिजातका छद्म नाम यतिमात्रै ? हतार नगर्नुस् ! पख्नुस्, अरु पनि छन् ।

अँ, पारिजातले चिठीपत्रहरुमा विविध नामको प्रयोग गरेका पाइन्छ । उनले चिठीपत्रहरुमा ‘ठूलो काजु’, ‘ढुन्डु पारिजात’, ‘शीत लामा’लगायतका छद्मनामहरु प्रयोग गर्थिन् । उनी आफूमात्र त्यस्ता नामहरुको प्रयोग गर्दैन थिइन्, अरुलाई पनि त्यस्तै नाममा चिठी पठाउन आग्रह गर्थिन् ।

पारिजातले आफैंले न्वारन गरेको महिलाहरुको पत्रिका ‘अस्मिता’मा विभिन्न नामले स्तम्भहरु लेख्थिन् । ‘मेरो भागमा परेको अस्मिता’ स्तम्भ पारिजातकै नाममा लेख्ने उनले ‘भान्साघरे काइँली’ र ‘प्रियंवदा’का नाममा पनि लेखहरु लेखिन् । (सुश्री पारिजात, २६८)

कुरो सकियो ? हो, सकियो । चुरो कुरो खोइ ? सुरुदेखि नै चुरो कुरो ।

अँ, तपाईंलाई पारिजातका छद्मनामका बारेमा थप थाहा भएमा अवश्यै भन्नुहोला है !

===

३. अब्राहम लिङ्कनको प्रतिवाद

अब्राहम लिङ्कन

अब्राहम लिङ्कन

वर्तमान समयमा नेपाली परिवेश सबैभन्दा धेरै केही कुरामा अल्झिएको छ भने त्यो हो, विवाद र प्रतिवाद । कुरो प्रतिवादकै गरौँ । कुरो अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिङ्कनको गरौँ ।

सबैलाई जानकारी भएकै कुरो हो, एक अति सामान्य परिवारमा जन्मिएका लिङ्कन अमेरिकाको राष्ट्रपति बन्न सफल भए । राष्ट्रपति बनेपछि उनले दास प्रथामा अन्त्य गरे । यस कार्यमा उनले यति धेरै ताली र वाहवाही पाए कि, भनेर साध्य छैन । तर उनको आलोचना गर्नेहरूको पनि कुनै कमी भने थिए । कतिपय पत्रपत्रिकाहरूले नै उनको यस किसिमको कार्यको चर्को आलोचना गरिरहेका थिए । तर लिङ्कनलाई न तालीको मतलब थियो न त गालीको नै ।

तर, राम्रो काम गर्दा पनि चर्को आलोचना भएको देखेर लिङ्कनका सहयात्री तथा आफन्तहरू भने आक्रोशित हुन्थे । उनीहरू चाहन्थे, आलोचकहरूसँग लिङ्कन स्वयंले प्रतिवाद गरून् । तर उनलाई आलोचना तथा आलोचकप्रति कुनै चासो थिएन । उनी निरन्तर आफ्नो काममा मग्न रहन्थे ।

त्यसैबिच, एकदिन लिङ्कनका निकटका मित्रले मौका छोपेर सोध, ‘मित्र अब्राहम, तिमी देश र देशवासीका लागि यति राम्रा-राम्रा काम गरिरहेका छौ । तर मानिसहरू तिम्रो आलोचना गरिरहेका छन् । तिमी तिनलाई किन जबाफ फर्काउँदैनौ ? यसरी चुपचाप रहँदा ती आलोचक सही मानिँदैनन् ?’

मित्रका कुरा गम्भीर थिए, तर लिङ्कन मुस्कुराए । र, मित्रलाई भने, ‘मित्र, तिमीले भनेको पनि ठिकै हो । तर यस्ता वाद-प्रतिवादमा लागेर मैले देश र जनताका लागि कामचाहिँ कहिले गर्नु ? आलोचना गर्नेहरू गरिरहन्छन्, म देश र जनताका लागि काम गरिरहन्छु । मेरो कामले देश र जनताको हित गर्दै गएपछि आलोचकहरूको मुख पनि बन्द हुँदै जान्छ । मैले राम्रो काम गरिनँ भने यस्ता आलोचनाहरू झन् झन् बढ्दै जान्छन्, र त्यसबाट मलाई कसैले बचाउन सक्दैन ।’

कुरा सकियो । साँच्चै भन्या, सकियो कुरो । बरू तपाईँ बताउनुस् त – अहिले सामाजिक सञ्जालको तात्तातो बहसको विषय के हो ? दुई-चार स्टाटस ठोकिहाल्नु परो क्या !