
नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरूलाई दिइँदै आएको मासिक पारिश्रमिक कटौती गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यस्तो निर्णय गरिएको जानकारी दिएको हो ।
प्राज्ञहरूबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरूले उक्त निर्णय गर्नु परेको प्रतिष्ठानका कुलपति भूपाल राईले पत्रकार सम्मेलनमा बताउनुभयो ।
दोहोरो सुविधा लिएका आजीवन सदस्यलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सृजनाशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि कुलपति राईको भनाइ थियो ।
यस अवसरमा प्रतिष्ठानका पदाधिकारीहरुले आफूहरूले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गर्नुभएको थियो ।
‘अब यो नैतिकतासँग पनि गाँसिएको विषय हो । दोहोरो सुविधा लिने भन्ने कुरा चाहिँ के हो भने जति भेटे पनि जहाँ भेटे पनि खानैपर्ने प्रवृत्ति नेपाली प्रवृत्तिको रुपमा देखा पर्यो । यो प्रवृत्ति नैतिकतासँग पनि गाँसिएको विषय हुनाले पनि अब नेपाल प्रज्ञा प्रतिष्ठानले चाहिँ यही हाम्रो कार्य समितिको समयबाट यो कामको सुरुवात गरौं भन्ने निर्णय गरेको हो । किनभने यो त प्रज्ञा प्रतिष्ठान हो । यसले हामीलाई संस्कार सिकाउँछ । भाषा, साहित्य र संस्कृतिको कुरा मात्रै होइन यसले त मानवीय संस्कृति पनि सिकाउँछ । नेपाली हुनुको उन्नत नैतिकता पनि सिकाउँ, उदाहरण पनि दिउँ भनेर हामीले आफूले पनि यस्तो घोषणा गरेका छौं,’ कुलपति राईले भन्नुभयो ।
यसरी दोहोरो सुविधा लिनेहरू कति छन् भन्नेबारे विस्तृत तथ्यांक संकलन गरेर उनीहरूलाई दिइने गरेको रकम कटौती गर्ने कुलपति राईले बताउनुभयो । ‘२० जनालाई यो हाम्रो एकेडेमीको स्रोतबाट बाँड्दा वार्षिक १ करोड २० लाखभन्दा बढी हुन्छ । यसमा सरदर आधा रकम मात्रै बच्यो भने पनि अथवा आधा मात्रै त्यो स्रोत दोहन गर्न दिइएन भने हामीले त्यो रकम एउटा प्राज्ञिक क्षेत्रमा राम्रै ढंगले काम गर्न सक्छौं । प्राज्ञिक क्षेत्रमा, सृजनशील क्षेत्रमा लगानी गर्नेवाला छौं,’ उहाँले भन्नुभयो ।
हालसम्म प्रतिष्ठानमा आजीवन सदस्य रहेकाहरूले ५१ हजार ४४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए ।
यससँगै प्रतिष्ठानले परिषद सदस्यहरुको कार्य विभाजन पनि गरेको छ । जसअनुसार कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक इतिहास विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य प्राज्ञ डा. मधुसुदन गिरी, दर्शनशाष्त्र विभाग प्राज्ञ डा. कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्य/काव्य विभागको जिम्मेवारी प्राज्ञ बाबा बस्नेतलाई दिइएको छ ।
प्रा. डा. कौशिला रिसाललाई सामाजिक शाष्त्र, प्राज्ञ हंसावती कुर्मीलाई अनुवाद, प्राज्ञ अमर न्यौपानेलाई साहित्य (गद्य), प्राज्ञ त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोष र व्याकरण), र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
दाेहाेराे सुविधा कटौतीमा पर्ने प्राज्ञ को को हुनसक्नु हुन्छ त ?
राज्यको दोहोरो सुविधा लिइरहेका आजीवन नौ जना सदस्यहरूको सुविधा काटिने सम्भावना बढेको छ ।
कवि तथा संस्कृतिविद् तुलसी दिवस एकेडेमीको आजीवन सदस्यको साथसाथै पद्मकन्या क्याम्पसबाट पनि प्राध्यापकको पेन्सन लिइरहनु भएको छ । यसकारण पनि उहाँले एकेडेमीबाट लिइरहेको सुविधा कौटती हुने एकेडेमीका एक प्राज्ञ परिषद् सदस्यले बताउनुभयो ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक प्रा.डा. चुडामणि बन्धुको पनि सुविधा कटौती हुनेछ ।
पद्मकन्या क्याम्पसबाटै अवकाश्प्राप्त प्राध्यापक तथा नाट्यकर्मी अशेष मल्लको सुविधा पनि कटौतीमा पर्ने बताइएको छ ।
त्रिविबाटै अवकाशप्राप्त प्राध्यापक डा. योगेन्द्रप्रसाद यादव, प्राध्यापक वासुदेव त्रिपाठी, प्राध्यापक मञ्जु तिवारी काँचुली, विश्वभाषा क्याम्पसबाट अवकाशप्राप्त प्राध्यापक गंगाप्रसाद उप्रेती, पूर्व सचिव आरडी प्रभास चटौतको पनि राज्यबाट दोहोरो सुविधा लिइरहनु भएकाले सुविधा कटौतीमा पर्ने देखिएको बताइएको छ ।
कवि तोया गुरुङ पनि नेपाल बैंकको जागिरे भएका कारण कटौतीमा पर्ने देखिएको छ ।
त्यस्तै, आख्यानकार ध्रुवचन्द्र गौतमले पनि प्राध्यापकतर्फबाट र एकेडेमीतर्फबाट दोहोरो सुविधा लिइरहेको बताइन्छ ।
तर, को-को आजीवन सदस्यहरूले दोहोरो सुविधा लिइरहनुभएको छ सो को अध्ययन अझै भइरहेको सदस्य सचिव प्रा.डा. धनप्रसाद सुवेदीले बताउनुभएको नेपालप्रेस डटकमले जनाएको छ ।
सुवेदीले भन्नुभयो, ‘हामीले निर्णय मात्रै गरेका हौं । अब अध्ययन गरेर रिपोर्ट तयार गरेपछि एक्सन लिन्छौं ।’
यो पनि पढ्नुहोस्ः
राज्यको दोहोरो सुविधा खाने ‘बेइमान’ प्राज्ञहरूलाई चिनौं | साहित्यपोस्ट (sahityapost.com)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

