साताका पुस्तककाे रूपमा साहित्यपाेस्टलाई पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको पहिलो आख्यान “लाहुरेको रेलिमाई” प्राप्त भएकाे छ ।

याे पहिलो विश्व युद्धमा आधारित ऐतिहासिक उपन्यास हो । ३ सय ९० पृष्ठमा बुनिएको यस उपन्यासभित्र ‘कालापानी तरेर’, ‘गिभान्चीमा रिवाली’,‘लालबुक’, ‘बिसाउँदै- साहित्य, सङ्गीत र समाजसेवाको सुस्केरा’ लगायत २६ शीर्षकहरू समावेश छन् ।

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान हो, लाहुरेको रेलिमाई । प्रथम विश्वयुद्धमा विदारक वर्णन अनि मास्टर मित्रसेनका निजी जीवनमा आएको सुनामीले पाठकको मन-मस्तिष्क हल्लाउँछ । सङ्गीत र सत्सङ्गमार्फत नेपाली जातित्वको जागरणमा जीवनपर्यन्त उनको यात्रा वास्तवमा आख्यानिक लाग्छ । तथ्यमाथि आधारित कथ्यले पाठकको हृदय ससम्मान ओगट्नेछ ।”

यसरी लेखेँ ‘लाहुरेको रेलिमाई’ भन्ने शीर्षकमा विजय हितान लेख्छन्, “मित्रसेनकृत ‘मित्रको डायरी’ भनी लेखिएको सानो हस्तलिखित पाण्डुलिपिलाई आधार मानेर मैले यो उपन्यासलाई डायरीको शैलीमा उतारको छु । यस्तो शैलीको उपन्यास पाठकहरूलाई नौलो लाग्ने विश्वास छ । यसका प्रायः पात्र, परिवेश र घटना वास्तविक हुन् । अनुपातमा ८० प्रतिशत वास्तविक र २० प्रतिशत कल्पित होलान् ।”

पुस्तकलाई साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।