लेखक तथा पर्यासाहित्य अभियन्ता विजय हितानले युद्ध उपन्यास ‘लाहुरेको रेलिमाई’ प्रकाशनमा ल्याएका छन् । काठमाडौंमा आयोजित एक समारोहका बीच उपन्यासको विमोचन भएको हो ।

कार्यक्रमका अतिथि वक्ताहरू वरिष्ठ साहित्यकार प्राडा. गोविन्दराज भट्टराई, नेपाली चलचित्र तथा संगीतका मर्मज्ञ तथा लेखक प्रकाश सायमी र कवि बिमला तुम्खेवा, कार्यक्रम सञ्चालक समीक्षक राजकुमार बानियाँ तथा लेखक विजय हितानले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।

सांग्रीला प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो उपन्यास मास्टर मित्रसनको जीवनीमा आधारित छ । आफू स्वयं पूर्व गोर्खा सैनिक रहेका हितानले नेपालमा ज्यादै कमै लेखिने युद्ध साहित्यलाई समृद्ध तुल्याउन ‘लाहुरेको रेलिमाई’ ऐतिहासिक युद्ध उपन्यास लेखे नेपाली साहित्यमा राम्रो छाप छोडेकाे वक्ताहरूकाे धारणा रह्याे ।

लामो समयदेखि बेलायत सरकारसगँ आबद्व रही पर्यावरणको क्षेत्रमा कार्यरत हितानले पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको मुद्धालाई अभियानको रूपमा अघि बढाइरहेका छन् ।

शिल्पी थिएटर, बत्तीसपुतलीमा आयोजित कार्यक्रमको सञ्चालन समीक्षक राजकुमार बानियाँले अन्तर्क्रियात्मक ढङ्गले गरेका थिए ।