दुबई / पर्यावरण संरक्षणको विश्वव्यापी मूल सिद्धान्तलाई शिरोधार्य गरेर साहित्यका विविध विधामा कलम चलाउने पर्या-साहित्यकार विजय हितान युएईमा सम्मानित हुनु भएको छ । नेपालको बुटवल निवासी हितान लामो समयदेखि सपरिवार बेलायत बस्दै आउनुभएको छ ।

भ्रमणको सिलसिलामा हितान युएई आएको बखत सिर्जना वाचन डबली युएईले शुक्रबार कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा NRNA UAE, सगरमाथा साहित्य प्रतिष्ठान, युएई र INS युएईको सहकार्य रहेको थियो ।

INS युएईका सल्लाहकार, समाजसेवी तथा व्यवसायी कुल लेप्चाको सभापतित्व तथा NRNA, UAE का अध्यक्ष ठाकुरप्रसाद ढुङ्गाना प्रमुख अतिथिको रूपमा सम्पन्न भएको उक्त कार्यक्रममा सिर्जना वाचन डबलीका संरक्षक टक गुरुङ, प्रवासी नेपाली मञ्च युएईका महासचिव बाबुराम सापकोटा, सगरमाथा साहित्य प्रतिष्ठानका महासचिव डिएल घिमिरे, इन्स युएईका वरिष्ठ उपाध्यक्ष विष्णु प्याकुरेल लगायतको उपस्थिति थियो ।

त्यसैगरी बैंकर्सहरू- कृष्णकल्प दुलाल, राजन पोखरेल, ईश्वर अधिकारी लगायत युएईमा रहेका सर्जकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सर्जक हितानले पर्यावरण साहित्यको उद्देश्य र अवधारणामाथि प्रकाश पार्नुका साथै आफ्ना रचनाहरू सुनाउनु भएको थियो । साथै युएईमा रहेका सर्जकहरूले पनि आ-आफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।

सोही कार्यक्रमका अवसरमा अतिथि सर्जक हितानलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रमलाई सिर्जना वाचन डबलीका संयोजक तथा गजलकार जे. सागरले संयोजन तथा सञ्चालन गर्नुभएको थियो ।