लेखक, पर्यावरणविद् तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ शुक्रबार बुटवलमा एक समारोहबीच विमोचन सम्पन्न भएको छ ।

लामो समयदेखि बेलायत सरकारसँग आबद्ध रहेर पर्यावरणविद्का रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सक्रिय अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । पूर्व गोर्खा सैनिक हितानले यसपालि भने एक ऐतिहासिक युद्ध उपन्यास लेख्नु भएको छ ।

सांग्रीला प्रकाशन गृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई नेपालका प्रख्यात गायक मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम विश्वयुद्धलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।

सेनाको मनोविज्ञानलाई अत्यन्तै सजीवरुपमा प्रस्तुत गरिएको यो कृतिलाई साहित्यकार तथा भूपु सैनिक जंगबहादुर शाहले विमोचन गर्नुभयो ।

काठमाडौँ र भारतको दार्जीलिङपछि हितानको गृहनगर बुटवलमा शुक्रबार कृति विमोचन गरिएको थियो । विमोचन समारोहमा कवि एवं साहित्यकार गिरी श्रीस, विमोचककर्ता जंगबहादुर शाह, पत्रकार इन्दिरा अर्याल, लेखक साहित्यकार रामचन्द्र श्रेष्ठ, पाठक डा. मनोज ढुंगाना र दिलिप ज्ञवालीले पुस्तकको समालोचना गर्नुभएको थियो ।

कार्यक्रम पाठक मञ्च बुटवलको आयोजनामा सरीता श्रीसद्वारा संचालन गरिएको थियो । कार्यक्रमलाई कलाकार विशाल आत्रेयले मास्टर मित्रसेनका गीतहरू- लाहुरेको रेलिमाई फेसनै राम्रो, र अब त जाऔं कान्छी घर, गाएर मनोरन्जन गराउनुभएको थियो ।