१० औँ वातावरण साहित्य गोष्ठी, पुस्तक लोकार्पण तथा निबन्ध प्रतियोगिताको पुरस्कार अर्पण कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । कार्यक्रम नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजना र साहित्यपोस्टको सह(आयोजनामा सम्पन्न भएको हो ।

प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रा.डा. गोविन्दराज भट्टराई, विशेष अतिथि साहित्यकार ज्ञानबहादुर क्षेत्री, प्रेमकुमारी हितान, प्रतिष्ठानका अध्यक्ष तथा पर्या अभियन्ता विजय हितान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व साहित्यपोस्टका प्रधानसम्पादन अश्वीनी कोइरालाले गर्नुभएको थियो ।

पर्या गीत ‘धर्तीको गीत’ बजाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । सो गीतमा खेमप्रसाद प्रसाईं र देवेन्द्र पौडेलको शब्द, महेश खड्काको सङ्गीत, दीपक लिम्बु र रोजिना बस्नेतको स्वरमा रहेको छ । प्रतिष्ठानले गरेको पहिलो पर्या निबन्ध प्रतियोगितामा भवनी खतिवडाको निबन्ध ‘प्रलयको आँधीबेहरी’ले ५० हजार राशिको प्रथम पुरस्कार प्राप्त गर्यो भने हरिबोल काफ्लेको निबन्ध ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?’ द्वितीय र गोविन्द गोपाल खतिवडाको निबन्ध ‘विकास प्राप्तिको शृङखला र पश्चातापको पुनर्बोध’ तेस्रो हुँदै क्रमशः ४० र ३० हजार राशिसहित प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट चुनिएका ३२ निबन्धहरू सङ्ग्रहित ‘प्रथम नेपाली पर्या निबन्ध संग्रह’को विमोचन समेत गरियो । साथै, कार्यक्रममा संग्रहमा अटाएका सम्पूर्ण पर्या निबन्धकारहरूलाई दुई हजार राशिका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

३२ निबन्धहरूमा  अनिता न्यौपानेको ‘त्यसपछि चराहरु हराउनेछन्’, अनिता कोइरालाको ‘अँध्यारोको खोजीमा’, ऋतेश गुरुङको ‘बाह्र वर्षपछि पनि खोला फर्किएन भने’, कुमार काफ्लेको ‘वनस्पतय शान्ति, पृथ्वी शान्ति’, कुमुद श्रेष्ठको ‘अब बाग्मती फेरी हाँस्छ’, कुञ्ज देवी उपाध्ययको ‘प्रदुषण वर्तमान र भविष्य’, गोविन्द गोपाल खतिवडाको ‘विकास प्राप्तिको शृङखला र पस्चातापको पुनबाँध’, जे.एन. दाहालको ‘पाले उम्रपालिको लोकमा’, तारानिधि भट्टराईको ‘बालसखाहरु गुमाउँदाको पीडा’, दिलिप बान्तवाको ‘सांखाम चुलि–गिद्ध र टेम्के’, दीपिन सिजापतिको ‘माटोको छातीमा आमाको अनुहार’, दीपकप्रसाद ढकालको ‘साझा घरको माया’, दुर्गा कुमारी थापाको ‘मेरो अँधेरी खोला’, नारायाण शर्मा अधिकारीको ‘असमको नेपाली पर्यावरण र चेतनशील प्रवृत्तिको खोजी’, नुमेश घर्ती मगरको ‘सात्ताले’, पुरुषोत्तम उपाध्याय दाहालको ‘अकाल मृत्युबाट बाँचेको वरपिपल’, प्रभा बरालको ‘महिला र प्रकृतिको तादात्म्यता’, बोम बहादुर थापाको ‘वातावरणीय विचलन कि रुपान्तरण’, भेषराज बुढाथोकीको ‘सिमगाडको मुहानतिर’, रमेश भट्टराई ‘सहृदयी’को ‘रातो बत्ती’, राजेन्द्रमान डङ्गोलको ‘जलवायु परिवर्तन र पर्वतीय पर्यटनको भविष्य’, रुपसिङ भण्डारीको ‘प्रकृति र मानिस’, रुपा थापाको ‘माफिनामा’, रोशन आपगाईको ‘हिमानी आलोकको तेजोवध’, लक्ष्मण वियोगीको ‘रहौँला कहाँ, हिमालै नरहे’, विश्वनाथ रिजालको ‘प्रकृतिमा बाँदर र मानिसको सहअस्तित्व’, सरिता घिमिरेको ‘प्रिय जन्मभुमि’, सोनिया कटवालको ‘स्वच्छ पर्यावरण, समृद्ध जीवन’, हरिबोल काफ्लेको ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?’ रहेका छन् ।

निबन्धसंग्रह माथि समीक्षा गर्दै डा. अशोक थापाले साहित्यमार्फत पर्यावरणीय चेतलाई बिछ्याउन सक्नु ठूलो कुरा भएको बताउनुभयो । विश्व विद्यालयमा पर्यावरण पढाउनलाई सन्दर्भ सामाग्री अभाव भइरहेको बेला पर्या साहित्य प्रतिष्ठान र साहित्यपोस्टले पर्या निबन्धसंग्रह दिएर ठुलो काम गरेको बताउनुभयो । त्यसैगरी, शुभकामना मन्तव्यमा तुल्सी भटटराईले पर्यावरणलाई शुद्ध राख्नु नै पृथ्वीको रक्षा हुने बताउनुभयो । मन्तव्यकै क्रममा आसामबाट आउनुभएका साहित्यकार ज्ञानबहादुर क्षेत्रीले साहित्य लेख्नुभनेको जिम्मेवारी बहन गर्नु रहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘हामीले हाम्रो बारे मात्र लेखेर हुँदैन, विश्व साहित्यमा के लेखिरहको छ त्यतातिर नि ध्यान दिन जरुरी छ ।’

प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले भावुकताले मात्र पर्या साहित्य लेख्न नसकिने बताउनुभयो । पर्यावरणीय साहित्यलाई नेपालीमा ल्याउने श्रेय गोविन्दराज भट्टराईलाई जाने कुरा बताउनुभयो । कार्यक्रममा विजय हितानको पर्या कवितासङ्ग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनुुको लोकार्पण गरिएको थियो ।

समीक्षक गीता त्रिपाठीले सङ्ग्रहको समीक्षा गर्दै प्रेमलाई पर्यावरणसँग जोड्दै कवितामा पर्यावरणीय चेतना आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कवि हुनुभनेको आत्माको भाषा बोल्नु हो, तर लेखकहरु सचेत भएन भने आफ्नै भावनाको हत्या गर्न पुग्छन । त्यसैले लेखकहरूले सचेत भएर लेख्नुपर्छ ।’ अर्का, वक्ता प्रा.डा. गोविन्दराज भट्टराईले साहित्यमा पर्यावरण घुसाएर लेख्न जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पृथ्वीको एउटा वनस्पति एउटा जीव लोप हुनु भनेको पृथ्वीमा सङ्कट आउनु हो ।

कार्यक्रमको सहजीकरण विजय हितान र भावेश भुमरीले संयुक्त रूपमा गर्नुभएको थियो ।