साहित्यकार विजय हितानलाई मातृशोक परेको छ । हितानकी ममतामयी आमा प्रेमकुमारी हितान मगरको ८१ वर्षको उमेरमा निधन भएको हो ।

मंसिर २५ गते, बिहिवार बिहान ३ः४५ मा आमाको स्वर्गवास भएको हितानले आफ्नो फेसबुकमार्फत् जनाउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘तपाईंको स्वर्गवासले हाम्रो हितान परिवारमा अपूरणीय क्षति पुगेको छ । तपाईंको माया, आशीर्वाद र मार्गदर्शनको हामीलाई सधैं सम्झना रहिरहनेछ । ईश्वरसँग तपाईंको चिर–शान्तिको प्रार्थना गर्दछौं ।’

हितानले आमाको अन्त्यष्टि कर्म बुटबलस्थित मूलघरमा गर्न गहिरहेको जनाउनुभएको छ ।

साहित्यपोस्टका पर्या–साहित्य सम्पादक समेत रहनुभएका विजय हितान पर्यावरण संरक्षण अभियन्ता समेत हुनुहुन्छ । पूर्व ब्रिटिश आर्मी हितान स्थायी रुपमा बेलायत बस्दै आउनुभएको छ । उहाँको उपन्यास ‘राहुलेको रेलिमाई’, पर्याकृति ‘ब्लु प्लानेट’, कवितासंग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ लगायत कृतिहरु प्रकाशित छन् ।