
साहित्यपोस्टमा प्रकाशित भएका पर्या–कविता (पर्यावरण कविता) हरुमध्येबाट उत्कृष्ट तीन कवितालाई पुरस्कृत गरिने भएको छ । साहित्यपोस्टको ‘पर्यावरण साहित्य’ सेक्सनअन्तर्गत प्रकाशित कविताहरुमध्येबाट उत्कृष्ट तीन कवितालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार राशिको पुरस्कार प्रदान गर्न लागिएको हो ।
आगामी जेठ २० गते उत्कृष्ट तीन पर्या–कविताको घोषणा गरिनेछ भने जेठ २७ गते आठौं वातावरण साहित्य गोष्ठीका अवसरमा काठमाडौंमा विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिनेछ ।
पुरस्कारको प्रायोजन पर्यावरण अभियन्ता तथा साहित्यपोस्टका पर्यावरण साहित्य सम्पादक विजय हितानले गर्नुभएको हो । उहाँका अनुसार ०७९ साल, चैत मसान्तसम्म प्रकाशनमा आएका पर्या–कविताहरु यो पुरस्कारको छनोटमा पर्नेछन् ।
हितान भन्छन्, ‘हाललाई चैत मसान्तसम्म प्रकाशित पर्याकविताहरु मध्येबाट तीन जनालाई पुरस्कृत गरिनेछ । र, ०८० सालबाट वार्षिक रुपमा पुरस्कार प्रदान गर्दै पर्या–अभियानलाई निरन्तरता दिइनेछ ।’
गुल्मीमा जन्मिएका विजय हितान रुपन्देहीमा हुर्किएर बेलायतमा बसोबास गर्छन् । उनी सेवानिवृत्त ब्रिटिस गोर्खाज हुन भने हाल एनभायरोमेन्ट एजेन्सी, इङलेन्डमा कार्यरत छन् । कविता, कथा, निबन्ध र नाटक गरेर एक दर्जन जति साहित्यिक कृति प्रकाशनमा ल्याइसकेका हितान पर्यासाहित्य अभियन्ता हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

