५ जुलाई १९१९
वेलफेर अफिसबाट खटाइएका एकजना आरपि (रेजिमेन्टल पुलिस) नायक मेरो घर आएर भने, ‘मित्रसेन थापामगर तपाईँ नै हुनुन्छ ?
‘हो ।’

‘सुबेदार मेजर साहेबले बोलाउनु भएको छ ब्यारेकमा । भोलि हाजिर हुनुस् रे । लालबुक बुझ्न ।’
लाल बुक । पल्टनले बिदा गर्ने अन्तिम दिन आफ्ना सैनिकलाई दिने रातो गाता भएको प्रमाणपत्र । सयौं विपक्षी मारेको प्रमाणस्वरुप या, सयौं योद्धाहरूको युद्धमा बगेको खुनको चिनो हो लालबुक ।

साँझ पर्दै थियो । मेरो दिमागमा सैनिक हुनुको अर्थ र वेअर्थले अनेकौं तर्क वितर्क गरिरहेकै थियो । के हामीले लडेको लडाइँ हाम्रा लागि थियो ? अहँ थिएन । के को लागि थियो त ? यो सिर्फ पैसाका लागि लडिएको थियो । उसो भए के श्रमको उचित मूल्य मिल्यो त ? अहँ मिलेन । किन मिलेन ? …… ? ….. ?

‘किन मिलेन ?’ को उत्तर नपाएपछि नै मैले मनमनै सैनिक जीवन अन्त्य गरेर बाँकी रहेको आधा जीवन आफ्नै माटोको लागि सुम्पने अठोट गरिसकेको थिएँ । सिनियर अफिसरलाई स्वअवकासको माग राखिसकेको थिएँ । तर परिवारको आर्थिक भार सबै मैमाथि निर्भर रहेकाले परिवारमा ‘जागिर छाड्छु’ भन्न सकिरहेको थिइनँ । भन्ने आँट गर्दागर्दै धेरै दिन बितिगएछ ।

‘सुङ्गुरको खुट्टाको अचार बनाएकी छु, पल्टनतिरै लानू है । साथीहरूलाई पनि मन पर्छ भनेको होइन ?’

 

‘बिदामा हुनुहुन्छ, हैन र ?’, कलावतिले मलिन स्वरमा भनिन् । सायद श्रीमानले जागिर छाडे भन्ने त्रासमा उनी पहिल्यै देखि थिइन् । रातो कुर्ताको सल नरमाइलो मानेर शिरमाथि लेपेटिन् ।

बितेको सातआठ वर्षदेखि… श्रीमतीलाई महिनै पिच्छे हातमा तलब थमाउन पाउँदा मलाई जो आनन्द आउँथ्यो, गोलिगट्ठाको भार बिर्सन्थेँ, गोराको हेपाइ बिर्सन्थेँ, आफूभन्दा ठीक अघिअघि हिँडिरहेको मृत्यु बिर्सन्थेँ ।

जब उनी सलले मुख ढाकेर मुसुक्क मुस्काउँथिन् । र भन्थिन्, ‘सुङ्गुरको खुट्टाको अचार बनाएकी छु, पल्टनतिरै लानू है । साथीहरूलाई पनि मन पर्छ भनेको होइन ?’

उनको क्षणभरको हाँसो म महिनौंसम्म हृदयभित्र सजाएर राख्थेँ । अफसोच ! मैले पल्टन छाड्ने निधो गरेँ । म दुनि

विजय हितान

याँसँग युद्ध गर्दागर्दै मैभित्रको चेतनाले मलाई युद्धमा हराएर स्वाभिमानको संसार बसाउन अर्को कर्मतिर धकेल्यो । अब, मसँग हुने छैन, श्रीमतिको मुस्कान्, पल्टने साथीसँगी, मेसको खाना, पल्टने रम र सम्झनाका लागि गरिएका रमाइला पलहरू ।
मैले बाटो मोडेँ ।

म त्यो रात निदाउन सकिनँ । श्रीमतीको मुलायम अँगालो झिँजो लागेजस्तो भएर कोल्टो फेरेँ । उनले बुझिछन् क्यारे भनिन्, ‘के बिदामा बसेका सैनिकलाई पनि कटौति गर्ने भएछन् ?’
‘हो क्या रे । तर रिटन्डेन्सी गराउँदै छ रे धेरैलाई ।’
‘मतलब ?’
मैले स्पष्ट भन्नै पर्यो, ‘मान्छे घटाऊँदै छ रे । कटौती क्या । म पनि अवकाशमा परेको जस्तै छु ।’

म त साधारण नागरिक जीवन जिउन कस्सीई सकेको थिएँ । तर श्रीमतीलाई कसरी सम्झाउने होला ? असमञ्जसमा परेको थिएँ । छट्पटाइरहेको थिएँ ।

बिस्ताराको छेउमा उकुसमुकुस पल्टिरहेको मलाई कलावतिले आफूतिर मायाले तान्दै भनिन्, ‘जागिर जाने भयो भनेर चिन्ता गर्नुभयो ? त्यही भएर निद्रा परेन ? फिक्कर नगर्नु्स् । यतिका वर्ष गर्नु भो नोकरी । अब, केही अरु गरेर पालमला ज्यान । दोकानलाई पुनः सञ्चालन गर्न सकियो भने बाँचिन्छ । तपाईँ सामान ल्याइदिनोस्, म बसम्ला नि दोकानमा । अनि तपाईं सामाजिक कार्यमा लाग्दा भयो । तपाईँलाई मन परेको गीतसंगीततिर लाग्दा भयो । घरबार धान्ने म छँदै छु । सासुले पनि सघाइ हाल्नुहुन्छ । किन फिकर गर्नुहुन्छ ?’

हप्तौं अघिदेखि मेरो छातीमा अड्केको गाँठो कलावतिका यी वाक्यहरूले फुकाइदियो । लामो स्वास लिएँ । हो त, म चाहान्थेँ कि, भावीपुस्ताले सिर्फ पैसाका लागि मात्र जीवन नसकून् । आधा हिस्सा भए पनि आफ्नो जन्मभूमिप्रति समर्पित गरून् । जसको उदारहण म बन्न सकूँ ।

धित मरुञ्जेल लामो लामो स्वास लिइरहेँ र उनकै वदनमा शिर अड्याएर झपक्कै निदाएछु बिहानीपखतिर ।

जानु थियो सुबेदारमेजर साहेबलाई भेट्न । कलावतिले चिया दिइन् । सधैँ मुस्काउने उनको अनुहारमा त्यो बखत मुस्कान थिएन । विरक्तिको वर्षा हुन लागेझैँ देखिन्थ्यो । मैले कलावतिको मुस्कान खोज्न यतिकै बोलिदिएँ, ‘कि, जागिर फेरि गरौं त ?’
‘परायसँग भीख नमागेकै राम्रो’
‘किन अँधेरो अनुहार त ? तिमी नहाँसेको दिन मेरा लागि ज्यादै बोझिलो हुन्छ । थाहा छ त तिमीलाई ।’
कलावति एकचोटि मज्जाले मुस्काइन् र इस्त्रीमा कोइला भर्न लागिन् । इस्त्री तातिञ्जेल उनैलाई हेरेर बसें । अन्तमा, नौली झैँ लजाएर कोठातिर छिरिन् । मैले कमिज र पत्लुङमा इस्त्री लगाएँ । बुट टल्काएँ । पोसाक लगाएँ । बुटपट्टी कसें । गोर्खा ह्याट भित्ताको काँटीबाट झिकेँ । धुलै धुलो रहेछ । टकटकाएँ । क्यापब्याज बाङ्गेको रहेछ, सिधा गरेँ । चिन् स्ट्रेप (गालाको फित्ता) खुम्चेको रहेछ । तन्काएँ । गोर्खा ह्याट ढल्काएँ । कम्मरमा पेटी कसेँ ।

बाटाभरि दिमागमा ९ मे १९१५ फेस्तुबर्तको लडाइँमा म घाइते भएको फ्लासब्याक भयो ।

 

‘एक चोटि मलाई हेर त ।’ कलावतिलाई डाकेँ ।
उनले शिरपाऊ सुम्सुमाएर भनिन्, ‘तपाईँको पत्लुङ अली झोले देखिन्छ । अरु सबै ठिकै छ ।’

उनी केही क्षणसम्म मैसँग टाँस्सिएर उभिइरहिन् । सोचिन् होला, आजदेखि यो स्वरुपमा श्रीमानलाई देख्न पाउने छैन या म पनि भाग्यमानी श्रीमती हुँ, साथमा सग्लो शरिर भएको श्रीमान पाएको छु ।

मलाई चाहिँ भन्न मन लागेको थियो, ‘कलावति ! धन्न तिम्रै प्रेमको उर्जाले पत्लुङमा घुसार्ने दुवै गोडा लिएर फर्केको छु युद्धबाट ।

म लागें तोतारानी छावनीस्थित सुबेदार मेजरसाहेबको अफिसतिर ।

बाटाभरि दिमागमा ९ मे १९१५ फेस्तुबर्तको लडाइँमा म घाइते भएको फ्लासब्याक भयो । देब्रे खुट्टा र टाउकोमा गम्भीर चोट लागेर बेहोस भएको । वेलायत गएर महिनौ उपचार गराएको ।

अफिसमा म भन्दा अगाडि केही सिपाहीहरू लाइन लागेका थिए । मेरो पालो आएपछि भित्र पसें । सतर्क पोजिशनमा आफूलाई उभ्याएँ र ‘जय गोरख साहेब !’ भनेर खुट्टा बजारें । ठोकें स्यालुट ।

तपाईँको वफादारी, निस्वार्थपूर्ण र बहादुरीपूर्ण सेवाको उच्च कदर गर्दै भविष्यका उज्याला दिनहरूका लागि शुभकामना चढाउँछौँ ।

 

‘जय गोरख ! ठिक छौ मित्र ?’ मेजरसाहेब बोले ।

मैले फेरि बुटलाई भुइँमा बजार्दै दुई हातलाई सिधा सजाएर ज्यानलाई तनक्क तन्काउँदै भनेँ, ’ठीकै छु साहेब ।’

टेबलमा भएको लालबुक पढेर सुनाए–
तपाईं, सिपाही मित्रसेन थापामगर, ब्रिटिस इन्डियन सैनिकबाट एक उत्कृष्ट तथा उदाहरणीय सेवा प्रदान गरेर निवृत हुँदै हुनुहुन्छ । तपाईँको सेवाकालमा तपाईँ एक सिग्नलर (दोश्रो श्रेणी) योग्यता लिनुभएको छ । यस्तो उच्च सैनिक योग्यता प्रदर्शन गर्दै प्रथम विश्वयुद्दमा फ्रान्सको उत्तर–पश्चिमी मोर्चामा खटिएर बेलायती राजमुकुटको रक्षार्थ जर्मन सैनिक विरुद्ध एक वर्ष लड्नुभयो । त्यसपछि सेक्सन कमान्डर (३ वर्ष कायममुकायम नायक) को भूमिका निभाउँदै मेसोपोटामियाको युद्धमा ओटोमन अंपायर विरुद्ध तीन वर्षसम्म निरन्तर लड्नुभयो । हाम्रो सैनिक संस्थालाई समयनुकूल परिमार्जन गर्दै लगिनुपर्ने ब्रिटिसराज्यको नीति अनुसार दुर्गाग्यपूर्ण तपाईँलाई हामीले यस रिडन्डन्सी मार्फत गुमाउन गइरहेका छौँ । तपाईँको वफादारी, निस्वार्थपूर्ण र बहादुरीपूर्ण सेवाको उच्च कदर गर्दै भविष्यका उज्याला दिनहरूका लागि शुभकामना चढाउँछौँ ।

सेवा प्रारम्भ मिति –१ नोभेम्बर १९११
सेवानिवृत्त मिती –१ जुलाई १९१९
सेवा अवधी –७ वर्ष २११ दिन
सेवानिवृत्तको कारण –  कटौती
निवृक्त हुँदाको पल्टन –द फष्ट किङस ओन गोर्खा राइफल (द मलाउ रेजिमेन्ट)
निवृत्त हुँदाको पद –सिपाही
सैनिक सेवाको क्रममा पुगेका राष्ट्रहरू – भारत, इजिप्ट, फ्रान्स, बेल्जियम, बेलायत, मेसोपोटामिया आदि ।
धन्यवाद

‘सिपाही’ यो पद मेरा लागि चरम भेदभावको प्रतिक थियो । पाँच वर्ष अग्र भागमा लडाइँ लडेर पनि सिपाहीभन्दा माथि पदमा पुग्न नसक्नु कमजोरी मेरो थिएन । कमजोरी उसको थियो, जसले मलाई सिपाही मै रोकिदिए ।

लालबुकलाई मतिर बढाउँदै साहेबले भने, ‘मित्रसेन, यी लिऊ तिम्रो सेवा–प्रमाणपत्र । अब आजदेखि तिमी पल्टनबाट बाहिरिए तापनि तिमी हाम्रै मान्छे भएर वरिपरी रहिरहने छौ । तिम्रो बाउदेखि सञ्चालनमा आएको क्यान्टिन तिम्रो परिवारले निरन्तरता गर्न पाउनेछौ । यो पल्टनप्रति तिम्रो बाउबाजेको अपुर माया र सेवाले गर्दा तिमीलाई यो पसल सञ्चालन गर्न दिने निर्णयमा पल्टन पुगेको छ । हामीलाई अवगत छ, तिम्रो बुवाको निधन पश्चात यो बन्द हुन पुगेको छ । हामी सबै युद्धमा हुँदा त्यति चलेन पनि । अब पल्टन फर्किसक्यो । सबैजना भित्र छौँ । अब तिम्रो कुशल व्यवस्थापनमा पसल राम्रो चल्छ भन्ने मैले आशा लिएको छु । र तिम्रो नागरिक जीवनप्रति मेरो व्यक्तिगत तर्पmबाट पनि हार्दिक शुभकामना छ ।’

मेजरसाहेबका वाक्यहरू मेरो दिमागमा पसेन । अगाडि ढोकामै एउटा प्रश्न अड्किरह्यो र लालबुक ग्रहण नगरी बुट भुइँमा बजारदै सतर्क पोजिसनमा सोधेँ, ‘साहेब ! म त स्वेच्छाले निवृत्त लिन चाहेको । तपाईंलाई थाहै छ, मलाई अन्याए गरिएको छ । मजस्ता सयौं गोरखालीहरू माथि श्रमशोषण भएको छ । यसैले ती सबै गोरखालीको तर्फबाट म स्वेच्छाले पल्टन छाड्दछु । तर लालबुकमा किन कटौतिमा परेर अवकास लिएको भनेर लेखिएको छ ? म त्यो शब्द सच्याउन चाहन्छु । ता कि म गोर्खालीका भावी सन्ततिलाई भन्न सकूँ, पल्टनघरमा चरम भेदभाव छ ।’

मेरो स्वभिमानले त केवल मेरो मात्र तृष्टि मिल्थ्यो तर परिवार सबैको बिचल्ली र अभावको अन्धकार भविष्य ।

 

मेजरसाहेब आफ्नो कुर्सीबाट जुरुक्क उठे । जुँगामा ताऊ लगाए र अली ठूलो स्वरमा बोले ‘अरे बुद्दु मित्र ! आवेगमा नआउन न यार ! स्वेच्छाले भनियो भने त नाम कटुवा भन्ने अर्थ लाग्छ । नाम काटेर निस्कियौ भने तिमीलाई डिसिल्पिनको कारणले निस्काशन गरिएको भन्ने बुझिन्छ । अनि कुनै रहपहल भुक्तानी पाउँदैनौ । कटौती भनियो भने सरकारको सेवा गर्ने सिपाहीको इच्छा हुँदाहुँदै बलजफ्ति पल्टनले निष्काशन गरिदिएको र उसलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने बुझिन्छ । त्यसर्थ तिमीले त्यो क्षतिपूर्ति स्वरुप केही रकम पाउँछौं । कुरो बुझ्छ नि ? कि, के छ विचार ?’

बम बारुदले नडगमाएको मेरो शिर त्यो बखत पैसाले अपमानको धूलो चटायो । जीउ सतर्क पोजिसनमा रहन गाह्रो भयो । आमा, श्रीमती र छोराछोरीको भोक भन्दा मेरो स्वभिमान ठूलो हुन सकेन । मेरो स्वभिमानले त केवल मेरो मात्र तृष्टि मिल्थ्यो तर परिवार सबैको बिचल्ली र अभावको अन्धकार भविष्य ।

अनि मैले मुन्टो हल्लाउन्दै भने, ‘हुन्छ साहेब, बुझेँ ।’
त्यो बखत म होइन मेरो स्वभिमानको मलामी बोलेको थियो । साहेबले मेरो अनुहारको भाव प्रष्टै बुझेछन् क्यारे, मेरो नजिक आएर सुस्तरी भने, ‘हेर मित्र, तिम्रो परिवारको यो पल्टनसँग पारिवारिक सम्बन्ध छ । तिम्रा बाजे सुन्द्रु थापामगर सेनापति अंमरसिंह थापासँग नेपालबाट आएका थिए, सन् १७९२ मा यता । अनि तात्कालिन राजा संसार चन्दलाई परास्त गर्दै सन् १८०५ देखि १८०९ सम्म काँगडा किल्लालाई हडपेर बसेका थिए । पछि ब्रिटिसँगको सन्धिमा उक्त किल्ला महाराजा रन्जित सिंहलाई सुम्पेपछि तिम्रा बाजे लगायत अन्य गोर्खाली यहाँ भाग्शुमा आइबसेका हुन् । तिनै गोर्खाली सैनिकहरूलाई समेटेर ब्रिटिसले फष्ट गोरखा राइफल स्थापना गरेका हुन् । तिम्रो बाउ यतै जन्मिए र यही पल्टनमा सेवा गरे । अनि तिमी पनि । तिमीहरूजस्तो पढेलेखेको लैन छोकडा (सैनिकको सन्तान) ले कुरो बुझ्दैन भने अरूले झन् के बुझ्ला ?’
म लालबुक लिएर बाहिरिएँ ।

मैले एकचोटी बाजेलाई सम्झे । त्यो काङडा किल्लालाई सम्झेँ । अनि डिसेम्बर १९१६ का मेरा दिनहरूलाई सम्झेँ । मरुभूमिका ती बलौटे र सुक्खा रातहरू एक दुःखदायी स्मृति बनेर दोहरिन लागे । जुन दिन टिग्रिस नदी किनार अवस्थित कुत भन्ने स्थानमा हाम्रा सैनिकलाई बन्दी बनाएर राखिएकोको फोर्टलाई हामीले आक्रमण गरेका थियौँ । अनी हामीले हमला गरेर टर्क सैनिकको पञ्जाबाट हाम्रा सैनिकलाई उद्दार गरेका थियौँ ।

 

मेरा बाजेले खुकुरी र भालाको बलमा खोसे होलान काड्गडा किल्ला !

अनि, सम्झे संसारचन्दको सिपाहीलाई परास्त गर्दै मेरा बाजेले काड्गडा किल्ला आफ्नो अधिनमा लिएको । मैले मेरो निजी राइफल पड्काएर र पछाडिबाट आर्टिलरिको सहायताले कुत हमला गरेको थिएँ । मेरा बाजेले खुकुरी र भालाको बलमा खोसे होलान काड्गडा किल्ला !

जतिजति सम्झदै गयो उतिउति यो पल्टनघरलाई मेरो पैतृक सम्पत्ति जस्तै माया लाग्न थाल्यो । यो मेरो बाउ बाजेले आर्जेको सम्पत्ति हो । मलाई यसको भोगचलन गर्ने पूर्ण अधिकार छ भन्ने लाग्यो ।

तर पल्टनघरमा हुने तहतहको विभेद ? गोरखालीको खुनमा रजाइँ गर्ने पराय ? मभित्र फेरि आक्रोस उम्लियो ।

म पे–माष्टर अपिसमा पुगेँ । पेश गरेँ लालबुक जो मेरो स्वभिमानलाई धूलो चटाउने ‘पैसा’ नामको महाशक्तिका लागि । मेरो अन्तिम रहलपहल हिसाब बुझे । सायद जीवनमै पहिलो पल्ट होला मैले पैसालाई ज्यादै घृणाको दृष्टिले हेरेँ । यही पैसाको कारण लात्ताले हान्न खोजेको वस्तुलाई शिरमा चढाएर बिदा गर्नुपर्यो । ‘स्वेच्छा’ लाई ‘अनिच्छा’ बनाइ दियो । कुल्चन चाहेको ठाउँलाई पूजा गर्न चाहेको बनाइदियो ।

लालबुकलाई हेरेँ । यसलाई युद्धको खुन मानेर रछानमा फाल्ने कि पूर्खाको विरासत मानेर सन्दुकमा राख्ने ? असमञ्समा परेँ ।
घर पुगेर पैसा कलावतिको हातमा थमाएर लालबुक त्यतै तख्तातिर थन्क्याइदिएँ । लुगा फेरेर बाहिर निस्कदा छोरोले त्यो लालबुक उसै मायाले च्यापिराखेको थियो । जसका लागि मैले बोल्ने कुनै शब्दै पाइनँ ।

क्रमश :