विषयप्रवेश

नेपाली भूमिमा मौलिक रूपमा आफ्नै स्थानीय भूगोल, जीवनशैली, इतिहास र मौलिक संस्कृतिक परिचय बोकेका जातिहरू आदिवासी हुन् । नेपाली समाजका रैथानेवासी भएर पनि सधैँ सत्ता र शक्तिबाट अझेलमा पारिएका आदिवासी तथा जनजातिका परिचय र तिनका संवेदनालाई समेटेर लेखिएका कथाहरू आदिवासी तथा जनजातीय चेतनाका कथा हुन् र तिनका विषयमा कथा लेख्‍ने कथाकारहरू आदिवासी तथा जनजातीय चेतनाका कथाकार हुन् । आदिवासी तथा जनजातीय चेतनाका लेखनमा ती जातिको मौलिक थलो, त्योसँग जोडिएको मौलिक र परम्परागत जीवनशैली, फरक सांस्कृतिक परिचय तथा प्रकृति र भूमिसँगको विशेष सम्बद्धताबाट आदिवासी र जनजातिको आफ्नोपन स्पष्ट भएको हुन्छ । नेपालमा रहेका गुरुङ, मगर, लिम्बू, नेवार, शेर्पा, तामाङ, थकाली, थारू, चेपाङ, दनुवार, बारम, ह्वेल्मू, जिरेल, किसान, लिहमी, सुनुवार, माझी, राजवंशी, ताजपुरिया, थामी, उरान, सन्त्याल आदि आदिवासी जनजाति हुन् ।

नेपाली समाजमा २०६२/६३ को आन्दोलनले ल्याएको राजनीतिक परिवर्तन र २०६५ मा मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पहिचानको प्रश्‍न सबैभन्दा सशक्त भएको छ । सबै जातजाति तथा क्षेत्रका मानिसले आफ्नो परिचयका लागि ठाउँ खोजेका छन् । आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा तथा प्रकृतिको जगेर्ना गर्न सचेत रूपमा लागेका छन् । नेपाली कथामा विशेष गरी राई, लिम्बू, तामाङ, गुरुङ, शेर्पा, मगर, राजवंशी, थारू आदिका विषय र ती जातिका स्रष्टाको उपस्थिति छ । यस अध्ययनमा समकालीन नेपाली साहित्यमा जनजातीय तथा पर्यावरणीय चेतनाको संवहन गर्ने कथाकार विजय हितानको थकित पृथिवीको ‘ब्युँझिएको सपनाबाट’ कथाको अध्ययन गरिएको छ ।

कथाकार विजय हितान   

बेलायतको गोर्खा रेजिमेन्टबाट सेवानिवृत्त भई ग्रिनविच विश्‍वविद्यालयबाट वातावरण विज्ञानामा उच्च शिक्षा हासिल गरेका विजय हितान (२०२४) आदिवासी जनजाति, विज्ञानप्रविधि, जलवायु तथा पर्यावरणका विषयमा कथा लेख्ने कथाकार हुन् । आत्मपरक शैली, आत्मवृत्तान्त, संस्मरण, अतीतका सम्झना आदिले उनका कथा रोचक हुन्छन् । उनका कथामा जनजातिको मूलभूमिको चित्रणका साथै विदेशी भूमिको परिवेश पनि जोडिएको हुन्छ । मूलभूमिबाट उखेलिँदै अर्को भूमिमा पलाउन खोज्दै गरेका जनजातिका सङ्घर्षका कथा र तिनको परिचयको खोजीमा हितानले कथा लेखेका छन् । सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिक र उच्च बौद्धिक लेखकको परिचय उनका कथामा पाइन्छ । डायस्पोरिक जीवन भोग्दाभोग्दै एउटा अन्तर सांस्कृतिक, अन्तरदेशीय र सीमाहीन विश्‍वतिर धकेलिएको जातिका रूपमा अनुभव गरिरहेको साझा चित्र उनका कथामा पाइन्छ । त्यसैले उनको लेखनमा त्यस्तै खालका पात्र र परिवेशको चित्रण पाइन्छ । उनका थकित पृथिवी (२०७०) र ब्लु प्लानेट (२०७८) कृतिहरू प्रकाशित छन् । थकित पृथिवीमा विषयगत र संरचनागत नवीनता भएका बाह्रओटा कथाहरू सङ्कलित छन् भने ब्लु प्लानेटमा पर्यावरणीय समस्याकेन्द्री पन्ध्रओटा कथाहरू सङ्कलित छन्  । उनको लेखन डायस्पोरिक विषयमा पनि उत्तिकै संवेदनशील रहेको छ । उनका कथाहरूको विषयकेन्द्र मूल रूपमा पर्यावरण र जनजातीय चेतना बनेको हुन्छ । डायस्पोरा र सैन्य साहित्यको परिचयका रूपमा देखिएका उनका कथामा नेपाली जातिको जीवनशैली, स्वेशप्रेम,  स्वजातिप्रेमका अनुभूति समेटिएका छन् । हितान आफ्नो जन्मभूमिको गौरवमा पर्यावरणीय चेतना, जातीय चेतना, डायस्पोरिक संवेदना, सैन्य साहित्य आदिलाई समेट्दै फरक र विशिष्ट परिचयमा कथा लेख्ने स्रष्टाका रूपमा चिनिएका छन् । थकित पृथिवीमा सङ्कलित ‘ब्युँझिएको सपनाबाट’ कथामा रहेको जनजातीय तथा पर्यावरणीय चेतनाका केही पक्षबाट हितानको लेखनलाई पर्गेल्ने काम यस लेखमा गरिएको छ ।

डा. रजनी ढकाल

कथामा जनजातीय तथा पर्यावरणीय चेतना

विजय हितानको ‘ब्युँझिएको सपनाबाट’ जनजातीय चेतना र पर्यावरणको विषयमा लेखिएको कथा हो । नेपालको भौतिक विकास, त्योसँग जोडिएर आउने पर्यावरणको विनाश र जातीय अवस्थाको विकासलाई कथाले सङ्केत गरेको छ ।  वि.सं. २१०० तिर नेपालमा हुन सक्ने विकास, जनजातीय अवस्थाको हेरफेर र पर्यावरणीय विनाशको अवस्थाप्रति सङ्केत गर्दै स्वैरकल्पनात्मक शिल्पबाट यो कथा बुनिएको छ । यस कथामा पछिको नेपालको अवस्थासँगै जनजातीय वैचारिकी र चेतनासँगै रोमाञ्चक कल्पना प्रस्तुत गरिएको छ- “जोन राई फक्स्टोनबाट रेलमा चढेर बोरिस आइल्यान्डमा अवस्थित थेम्स अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्दैछ नेपाल भ्रमणको लागि । उसलाई नेपाली प्रधानमन्त्री श्री सुवास मगुरालीको विशेष आमन्त्रण छ” (थकित पृथिवी, पृ. ९५) । कथाले बेलायत र नेपाली भूमिको विकासका साथै नेपालका जनजाति उच्च शिक्षा र समयअनुसारको ज्ञानार्जनबाट निर्णायक तहमा पुगेको रोमाञ्चक  कल्पना गरेको छ ।

विज्ञानप्रविधिको अति विकासले पर्यावरणमा पार्ने प्रदूषण र त्यसको क्षति र दुष्परिणामको चिन्तालाई मूल विषय बनाई ‘ब्युझिएको सपनाबाट’ कथा लेखिएको छ । नेपालको कालीगण्डकी र कोशीको आणविक भट्टीलाई भूकम्पले क्षतिग्रस्त बनाएपछि त्यसको चुहावटबाट वायुमण्डलमा पारेको प्रदूषण र त्यसको विकीरणले पारेको प्रभावको रोकथाम र नियन्त्रणका लागि बेलायती नेपाली जोन राई नेपाल पुग्छन् । जोन राईको बेलायतदेखि नेपालसम्मको यात्रा विवरणले कथालाई रोचक बनाएको छ । कथामा नेपालको भूमिमा भएको विकासको घटनाले पाठकलाई उत्साहित बनाउँछ । नेपालका प्रधानमन्त्री सुवास मगुरालीको निमन्त्रणामा आणविक भट्टीको चुहावटले निम्त्याएको समस्याको समाधानका लागि नेपाल आएका जोन राईको हवाईयात्रा तथा नेपालका विभिन्न स्थानमा भएको विकासले कथाबाट पाठकलाई एउटा नयाँ प्रभाव दिन सफल भएको छ ।

बेलायती भूमिमा गोर्खाली सेनाका रूपमा काम गरिरहेका नेपालका जनजातिहरू त्यहाँ बस्दै जाँदा तिनका पछिल्लो पुस्तामा ज्ञान र चेतनाको विकासबाट त्यहाँको नागरिक बनी उच्च तहको सेवामा प्रवेश गर्न सक्ने स्थितिलाई पात्र जोन राईको भूमिकाबाट स्पष्ट हुन्छ- “अक्सफोर्ड युनिभर्सिटीबाट आणविक शास्त्रमा विद्यावारिधि गरेपछि केन्टको डन्जनेस आणविक भट्टीमा काम गर्दैछ आजकल ऊ” (थकित पृथिवी, पृ. ९६) । गोर्खा सैनिकहरूलाई समाजले ज्ञान र बुद्धिको कमी भएको भन्ने आरोप लगाउने गरेको र त्यसको प्रतिरोधी चेतनास्वरूप पनि कथामा यस्तो पात्रको निर्माण गरिएको छ । जोन राई बेलायती गोर्खा सैनिकको सन्तान हो र ऊ उच्च शिक्षा र चेतनाबाट बेलायत मात्र होइन नेपालमा पनि सेवा गर्ने क्षमताले युक्त भएको छ । आधुनिक शिक्षा र विज्ञान प्रविधिको उच्च ज्ञान पाएको ऊ बेलायतको महत्त्वपूर्ण पदमा छ र नेपालको सहयोगका लागि आमन्त्रित छ ।

त्यसैगरी पहिले निर्णायक तहमा पुग्न बन्देज जस्तो बनाइएका  र उचित वातारण नपाएका नेपालका जनजाति समयको परिवर्तनसँगै नेपालको प्रधानमन्त्री बन्न पुगेका मगुरालीको अवस्थाले पनि नेपालभित्र जनजातिको भूमिका र चेतनामा उल्लेखनीय परिवर्तन आउने सङ्केत कथामा पाइन्छ । बेलायतको  सम्पन्नता र त्यसको ज्ञान र चेतनाको सहयोगबाट नेपाली भूमि पनि विज्ञान र प्रविधिमा विकसित हुँदै गएको र त्यसमा जनजातीय पात्रका ज्ञान र चेतनाको सोझो सम्बन्ध भएको सङ्केत कथाले गरेको छ ।

कथाले बेलायतको सम्पन्नता र नेपालमा हुने गरेको अभाव र विपन्नतालाई पनि सङ्केत गरेको छ-

यो संसार अचम्मको छ । विविधतै विविधता छ । कतै मानिस टन्न खान पाएर आवश्‍यकताभन्दा बढी मोटा छन् त कतै बिहान बेलुका हातमुख जोड्न अप्ठ्यारो परेर मानिसहरू दुब्ला र रोगी छन् । कतै कठ्याङ्ग्रिने जाडो मौसममा पनि हिटर तापेर मानिसहरू न्यानो घरमा बसेका छन् भने कतै प्राकृतिक प्रकोप र अत्याधुनिक मानवीय विकासको परिणामस्वरूप डाँडा-काँडा र पाखाहरूमा रात बिताउनु परिरहेको छ (थकित पृथिवी, पृ. ९५-९६) ।

संसारमा खान नपाउने, अवसर नपाउने र सधैँ पछाडि पर्ने र पारिने मान्छेको संवेदनालाई पनि यस कथाले सङ्केत गरेको छ । सत्ता र शक्तिको वर्चस्वमा रहनेका कारण सधैँ सीमान्तकृत भएर बाँच्नेको संवेदनालाई कथाले जसरी स्थान दिएको छ उसैगरी ती सीमान्तकृतिको प्रतिरोधी चेतनालाई सचेततापूर्वक निर्माण गर्नु यस कथाको प्रभावशाली पक्ष हो ।

निष्कर्ष

सत्ता र शक्तिबाट सधैँ तल र किनारामा पारिएकाको स्वरलाई यस कथाले केन्द्रमा ल्याएको छ । दमनमा बाँच्न विवश जनजातिमा ब्युँझिदै गरेको प्रतिरोधी चेतना र नेपाललगायत विश्‍वमा बिग्रँदो पर्यावरणीय अवस्थाप्रति गहिरो चासो राखिएको यस कथाले समग्रमा पृथ्वीको भविष्यको अवस्था र स्थितिप्रति चिन्ता र चासो प्रकट गरेको छ । पर्यावरणीय चेतनाको गहिरो ज्ञान र जनजातीय चेतनाको पहिचानगत स्वर बोकेको हितानको यस कथाले समकालीन नेपाली कथामा विकसित भएको नवीन विषयलाई सशक्त रूपमा उठाएको छ । नेपालमा सधैँ उपेक्षामा रहेका मगर लगायतका जनजातीको अवस्था, तिनलाई हेरिने उपेक्षापूर्ण दृष्टिकोणको ऐतिहासिक नवपठनसँगै यस कथाले समयको परिवर्तित स्थितिसँग भएको प्ररोधी चेतनाको निर्माणका लागि जस्तो स्वैकल्पनात्मक प्रस्तुति दिएको छ त्यो अत्यन्त रोचक र पत्यारलाग्दो पनि छ । सधैँ शारीरिक बलको बिम्बमा बाँच्न विवश पारिएका र अवसर नदिई सीमान्तकृत हुन पुगेका समुदायमा बौद्धिक चेतनाको विकाससँग आफ्नो पहिचानगत स्वरलाई बलशाली बनाउन गरिएको चेतनाको निर्मिति यस कथाको गर्व गर्न लायक पाटो हो । सोही चेतनाको निर्मितिसँग जोडिएको पर्यावरणीय चेतनाको पाटोले कथालाई बहुचेतनाको मूल्यमा उठाएको छ । यस कथाका आधारमा विजय हितान जनजातीय र पर्यावरणीय चेतनाका सुन्दर कथाकार हुन् भन्ने प्रमाणित गर्दछ ।

सन्दर्भ सामग्रीसूची

अल्थुसर, लुइस. (२०७२). ‘विचारधारा र राज्यका विचारधाराका अङ्गहरू’.अनु. हेमलाल पाण्डे. मार्क्सवादी

साहित्यसिद्धान्तका प्रतिनिधिमूलक विचारहरू. सम्पा. कृष्णचन्द्र शर्मा. काठमाडौँ नेपाल प्रज्ञा-प्रतिष्ठान ।

इगलटन, टेरी. (सन् २००७). आइडियोलोजीः एन इन्ट्रोडक्सन. लन्डनः भर्सो ।

उप्रेती, सञ्जीव. (२०६९). सिद्धान्तका कुरा. चौथो संस्करण. काठमाडौँ अक्षर क्रियसन्स ।

ढकाल, रजनी. (२०७७). समकालीन नेपाली कथामा वैचारिकता. काठमाडौँ नेपाल प्रज्ञा-प्रतिष्ठान ।

नायर, प्रदीप के. (सन् २०१०). कन्टेम्पोररी लिटररी एन्ड कल्चरल थियोरी: फ्रम स्ट्रक्चरालिजम टु

इकोक्रिटिसिजम्. दिल्ली. चेन्नेई. चन्डीगड, पियर्सन ।

भट्टराई, गोविन्दराज. (२०६४). उत्तआधुनिक विमर्श. काठमाडौँ, मोर्डन बुक्स ।

भट्टराई, रमेशप्रसाद. (२०७७). सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ.

काठमाडौँ,  भुँडीपुराण प्रकाशन ।

हितान, विजय. (२०७०). थकित पृथिवी. बेलायतः नेपाली प्रतिभा प्रतिष्ठान ।

हितान, विजय. (२०७८). ब्लु प्लानेट. काठमाडौँ  फिनिक्स बुक्स ।