डेब्यु आख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’का लागि उत्कृष्ट १२ आख्यान विधाका कृतिहरूको सूचीमा अमृता पाठक चौलागाईंको कथासङ्ग्रह ‘चैतु काका’ पर्न सफल भएकाे छ ।
शिक्षण पेसामा आबद्ध झापाकी स्रष्टा अमृता पाठक चौलागाईंको पहिलो कथासङ्ग्रह हो ‘चैतु काका’ । देख्दा र पढ्दा समान्य लागे समाज दिनहुँ जस्तो घट्ने घटनाहरुलाई अमृताले आफ्नो कथाको आत्मा बनाएकी छन् । त्यही समाजिक घटना र मनोदशा कथाहरुमा मुखरित छन् । समाजिक तथा वैवाहिक दुर्व्यवहार र शोषण, जातीय उत्पीडन जस्ता समाजका अँध्यारा पाटाहरुलाई उधिनेर कथाको रुप दिन अमृता सक्षम देखिन्छिन् ।
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा १६ थान कथाहरु सङ्ग्रहित छन् ।
छानिएका अन्य डेब्यु आख्यान कृतिहरूमा मनिषा आचार्यको उपन्यास ‘छोरी’, नितिन मिश्रको उपन्यास ‘म र ‘म’’, विक्रमभक्त जोशी निकथा सङ्ग्रहको ‘चोभार ब्लुज’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, विष्णु ढकालको उपन्यास ‘जौवा’, खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’, स्मारिका सुवेदीको कथासङ्ग्रह ‘देवांशी’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, सुबोध पौडेलको उपन्यास ‘चुड्की’, दोस्ती रेग्मीको ‘पारमित’ र कर्ण शाहीको ‘त्यागी जीवन’ रहेका छन् ।
यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ४४ आख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।