डेब्यु आख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’का लागि उत्कृष्ट १२ आख्यान विधाका कृतिहरूको सूचीमा स्मारिका सुवेदीको कथासङ्ग्रह ‘देवांशी’ पर्न सफल भएकाे छ ।

चिकित्सा शिक्षा अध्ययनरत स्मारिका सुवेदीको पहिलो पुस्तक हो कथासङ्ग्रह ‘देवांशी’ । उमेरले बीस नकाटेकी स्मारिकाको कथाहरुमा परिपक्कता छ । सङ्ग्रहित कथाहरुको केन्द्रमा सामाजिक विकृति, अन्धविश्वासको चित्रण, राजनीतिक चेतना, नारावादी चिन्तन, विद्रोही चेतनाका साथै उच्च मानवीय संवेदना पाउन सकिन्छ ।

शीर्ष कथासहित १६ थान कथाहरु सङ्ग्रहित पुस्तकलाई माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।

छानिएका अन्य डेब्यु आख्यान कृतिहरूमा मनिषा आचार्यको उपन्यास ‘छोरी’, नितिन मिश्रको उपन्यास ‘म र ‘म’’, विक्रमभक्त जोशी निकथा सङ्ग्रहको ‘चोभार ब्लुज’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, विष्णु ढकालको उपन्यास ‘जौवा’, खगेन्द्र भट्टराईको कथासङ्ग्रह ‘अँध्यारो कुनो’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, सुबोध पौडेलको उपन्यास ‘चुड्की’, अमृता पाठक चौलागाईंको ‘चैतु काका’, दोस्ती रेग्मीको ‘पारमित’ र कर्ण शाहीको ‘त्यागी जीवन’ रहेका छन् ।

यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ४४  आख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल  कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।