डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूचीमा कमला महतको बाछिटा सङ्ग्रह ‘अनन्त’ पर्न सफल भएको छ ।

काव्य विधाको नवीनतम उप–विधा बाछिटाअन्तर्गत कमला महतको पहिलो कृति हो ‘अनन्त’ । कमलाका बाछिटाहरुमा प्रकृति, संस्कृति र चेतनाको प्रतीकात्मक समीश्रण रहेका छन् । उनका बाछिटामा प्रकृति र जीवनका सुन्दरता र कुरुपता सशक्त रुपमा चित्रित छन् ।

कौशिकी साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको बाछिटासङ्ग्रह प्रति पृष्ठ ५ बाछिटासहित १ सय २८ पृष्ठमा फैलिएको छ ।

छानिएका अन्य डेब्यु काव्यकृतिहरूमा रेहित सैजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’, बुद्धिप्रसाद शर्मा रेग्मीको महाकाव्य ‘मेरी आमा’, मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, सौरभ शर्माको कवितासङ्ग्रह ‘अनन्त प्रेम’, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, लक्ष्मी रेशमीको कवितासङ्ग्रह ‘ज्याकारान्डाको शहर’ र विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह ‘घर फर्किने तिर्खा’ रहेका छन् ।

यो सूची नयाँ लेखकहरूले २०७९ सालमा प्रकाशनमा ल्याएका ४२ काव्यसङ्ग्रहबाट छानिएको हो । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।