डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूचीमा विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह हो ‘घर फर्कने तिर्खा’ पर्न सफल भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रशासकीय अधिकृत विष्णु आचार्य ‘अतृप्त’को पहिलो कृति हो ‘घर फर्कने तिर्खा’ । ‘अतृप्त’का कविताहरुको केन्द्रमा मानवका अतृप्ति छरपस्ट छन् । ती अतृप्ति सँगसँगै आउने पीडाहरु छन् । समाजिक रुपमा भोगिइरहिएका तिरस्कार, वियोग, असफलता तथा कुरुपताहरु छन् । अर्थात्, ‘घर फर्कने तिर्खा’मा मानिस र समाज तथा मानिस र मानिस बिचमा द्वन्द्वहरु छन् ।
‘घर फर्कने तिर्खा’लाई विद्युतकर्मी साहित्य समाजले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा लामा–छोटा ४९ थान कविताहरु सङ्ग्रहित छन् ।
छानिएका डेब्यु काव्यकृतिहरूमा कमला महतको बाछिटासङ्ग्रह ‘अनन्त’, रेहित सैजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’, बुद्धिप्रसाद शर्मा रेग्मीको महाकाव्य ‘मेरी आमा’, मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, सौरभ शर्माको कवितासङ्ग्रह ‘अनन्त प्रेम’, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’ र लक्ष्मी रेशमीको कवितासङ्ग्रह ‘ज्याकारान्डाको शहर’ रहेका छन् ।
यो सूची नयाँ लेखकहरूले २०७९ सालमा प्रकाशनमा ल्याएका ४२ काव्यसङ्ग्रहबाट छानिएको हो । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।