वरिष्ठ कलाकार आलोक गुरूङ गण्डकी प्रज्ञा कला सम्मान-२०८० द्वारा सम्मानित हुनुभएको छ।

वैशाख १५ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको दोस्रो स्थापना दिवसको अवसर पारेर प्रतिष्ठानले गुरुङ लगायत अन्य विधाका चार जना सर्जकहरूलाई जनही रु. १ लाख नगदसहित सम्मान प्रदान गरेको हो।

सम्मान कार्यक्रमका प्रमुख अतिथि उच्च जिल्ला अदालत कास्कीका मुख्य न्यायाधीश डिल्लीराज आचार्य हुनुहुन्थ्यो। उहाँले सम्मानित व्यक्तिहरूलाई सम्मानपत्र, नगद र दोसल्ला प्रदान गर्दै सर्जकहरू देशको अमूल्य रत्न भएकाले राज्यले उच्चतम संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

साथै उहाँले गण्डकी प्रदेश कला, साहित्य र संगीतको उर्वरभूमि भएकाले यहाँका सर्जकहरूलाई अझ सृजनशील हुने वातवरण निर्माण गर्नुपर्नेमा जोडदिनु भयो।

प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले गण्डकी प्रज्ञाप्रतिष्ठानले सर्जकहरूलाई सम्मान गर्न पाउँदा प्रतिष्ठान र सिंगो प्रदेशकै शान उच्च भएको बताउनु भयो।

प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त सम्मान कार्यक्रममा कला, साहित्य र संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सम्मानित गुरुङ लामो समयदेखि कला सृजनामा साधनरत हुनुहुन्छ। कलाको अतिरिक्त लामो समयदेखि कला पनि सिकाउँदै आइरहनु भएका गुरुङ खासगरी मुहारचित्रका चर्चित कलाकार मानिनुहुन्छ। आयल एवं जलरङ माध्ययममा चित्र कोर्नु हुने गुरुङले ठूलो संख्यामा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको चित्र बनाइसक्नु भएको छ।

यसअघि उहाँले नेपाल सरकारले प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कार लगायत दर्जनौँ मानसम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।