
सूर्य खड्का बिखर्ची
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले गण्डकीको भाषा, कला, साहित्य र संस्कृति संरक्षणमा प्रतिष्ठान पानी मात्रै पिएर भए पनि निरन्तर अगाडि बढ्ने बताउनु भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा संविधान दिवसको सन्दर्भ पारेर आयोजित अन्तरक्रियात्मक समारोहका बीच कुलपति बिखर्चीले उक्त धारणा राख्नु भएको हो ।
बिखर्चीले संघीय संरचनाअनुसार गण्डकीमा स्थापना भएको प्रज्ञा प्रतिष्ठानलाई गण्डकीको गौरवका रुपमा अगाडि बढाउन प्रतिष्ठानले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कुनै पनि कार्यलाई अगाडि बढाउँदा त्यसलाई विचारको चस्माले नभई भाव, मर्म र लिपिलाई अनुशरण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, अधिवक्ता जुनाकुमारी गुरुङ, समाजसेवी विष्णु बास्तोलालगायतले बोल्नुभएको थियो ।
प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले सरसफाइ, अन्तरक्रिया, झण्डोत्तोलन र दीप प्रज्ज्वलनलगायतका कार्यक्रमका साथ संविधान दिवस मनाएको जानकारी गराउनु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 








