रमा खतिवडा, पोखरा । नेपाल भारत साहित्य महोत्सव पाँचौँ संस्करण पोखरामा सम्पन्न भएको छ । यहीँ फागुन १०, ११ र १२ गते पृथ्वीनारायण क्याम्पस हाताभित्र गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा भव्यका साथ कार्यक्रम सम्पन्न भएको हो ।
मूल आयोजक संस्थाका अध्यक्ष डा. विजय पण्डित तथा अग्रज साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतको तर्फबाट मूल आयोजक क्रान्तिधरा अकादमी, मेरठ, इन्डिया रहेको थियो।
दोस्रो दिनको सेसनमा छन्दनायक तथा महाकाव्यकार माधव वियोगी प्रमुख अतिथिको भुमिका निभाउनुभएको थियो ।
कार्यक्रममा नेपाल भारत सम्बन्ध र साहित्यमा पर्यटन विषयमा छन्दकवि तथा राष्ट्रिका साहित्यिक संस्थाका अध्यक्ष ऋषभदेव घिमिरे बोल्नुभएको थियो । त्यस्तै, नेपालमा नारी हस्ताक्षरका विषयमा वृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले बोल्नुभएको थियो ।
भारतका तर्फबाट डा. मनीष शुक्लले भारतीय नारी साहित्यकारका बारेमा चर्चा गर्नुभयो साथै सो कार्यक्रममा बाल्मीकि रामायणको बारेमा एक शोधपत्र प्रस्तुत गरिएको थियो ।
तेस्रो दिनको सत्रमा वरिष्ठ साहित्यकार कुसुमाकर न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा भारतको रायपुरदेखि वरिष्ठ साहित्यकार राव शिवराज पालसिंह आउनुभएको थियो । साहित्यमा प्रतिलिपि अधिकारको बारेमा परिचर्चा प्रतिलिपि अधिकार कार्यालयका पूर्व रजिष्ट्रार तथा नेपाली लेखक सङ्घ काठमाडौंका अध्यक्ष विसुकुमार केसीले बोल्नुभएको थियो ।
दीप प्रज्वलन तथा नेपाली र इन्डियन दुबै राष्ट्र गान वाचन गरेर उद्घाटन गरिएको सत्रमा कवि रमा खतिवडाले सुरुवातीमा सुन्दर कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा कवि किशोर कोइरालाको “शीतको ताप” गजलसंग्रह र किशन पौडेलको “अन्तर्दृष्टि” लघुकथासङ्ग्रह, संयुक्त चारुसंग्रह कादम्बिनी, किशन श्याम श्रेष्ठद्वारा लिखित लघुकथासङ्ग्रह, प्रा. एसएस डोगराको wow, डा. नवनीत भनोतको dykes समेत गरी इन्डियन तथा नेपाली सर्जक पुस्तक लोकार्पण र वितरण गरिएको थियो ।
लघुकथा शत्रमा पोखरेली साहित्यकार गीता तिवारी, विष्णु अल्पविराम, शुभ शर्मा, श्याम श्रेष्ठलगायत इन्डियन लघुकथाकारहरू समेत गरी ४० लघुकथा वाचन भएका थिए । लघुकथा शत्रकै बिचमा एक इन्डियन नारी साहित्यकारले जीवन्त अभिनय प्रस्तुत गर्नुभएको थियो ।
गजल तथा चारु वाचन कार्यक्रममा गजल विद्वत्छिरोमणि डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ गजलकार हरिप्रसाद पौडेल स्वर्णशिखा, छन्दिका त्रिपाठी, जानुका गुरागाईँ, पद्मा रिजाल, शिशिर कोइराला, ध्रुव गजुरेल, रमा खतिवडा, सुजाता राई, आर्त आकुलिन, अमृता रसाइली, लक्ष्मीप्रसाद मिश्र, अम्बिका खरेल उप्रेती, सम्झना शर्मा, जमुना कायस्थ, घनश्याम पौडेल, यज्ञलाल सुवेदी, सुशील रिजाल, रसज्ञ छहरा, मेघनाथ बन्धु, मोहन गौतम, सीता शर्मा पन्थी, मिरा ज्ञवालीलगायत थुप्रै गजलकार तथा चारुकारहरू रचना वाचन गरिएका थिए ।
डा. देवी पन्थीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रखर वाचक शिव त्रिपाठीको गजल गायनले सिङ्गो हललाई नै मुग्ध पार्दै गुञ्जयमान भएको थियो । कार्यक्रममा नेपालका विभिन्न भाषाका कविता पनि वाचन भएका मध्ये निकै रोचक तामाङ भाषाको कविता कवि माधव खतिवडाले वाचन गर्नुभएको थियो ।
उत्कृष्ट कार्यक्रम सञ्चालन गरेबापत पौडेल विमुन्स (मीना पौडेल) लाई ‘best anchoring award’ ले सम्मान गरिएको थियो । कार्यक्रममा करिब १०० जना भारतीय साहित्यकारहरूको उपस्थिति रहेको थियो । साथै, नेपालभरिबाट साहित्यकारहरूको बाक्लो उपस्थित थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।