पोखरा । पोखरामा नेपाल भारत साहित्य महोत्सवको पाँचौं संस्करणकाे पहिलो दिन सम्पन्न भएकाे छ । तीन दिवसीय कार्यक्रमअन्तर्गत कृति लोकार्पण, लघुकथा एवम् काव्य वाचनसहित पहिलो दिनकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

क्रान्तिधरा साहित्य अकादमीद्वारा आयोजित तीन दिवसीय कार्यक्रमको उद्घाटन सत्रमा हेटौँडाका लघुकथाकार श्यामप्रसाद श्रेष्ठको लघुकथा कृति ´व्यथाभित्रको कथा´को विमोचन गरिएकाे थियो ।  साथै, हेटौँडाका लघुकथाकार किशन पौडेलको हिन्दी अनूदित लघुकथा कृति ´अन्तर्दृष्टि’को औपचारिक लोकार्पण र समीक्षासमेत गरिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको प्रमुख अतिथिको आतिथ्ययतामा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वीरगन्जका  वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठ, भारतीय दूतावासका अधिकारी सत्येन्द्र दहिया, नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानको पूर्व उपकुलपति सरुभक्त श्रेष्ठ, बर्दघाट प्रज्ञा प्रतिष्ठानको उपकुलपति डा. घनश्याम परिश्रमी, भारत पटनाको वरिष्ठ लघुकथाकार विभा रानीलगायत विशिष्ट व्यक्तिहरूको समेत उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा भारतका विभिन्न क्षेत्रबाट वरिष्ठ विषयगत विज्ञहरूको समेत उपस्थित रहेको थियो । पहिलो दिनको कार्यक्रममा लघुकथा र काव्य वाचन गरिएको थियो ।

लघुकथा सत्रको प्रमुख अतिथिको आतिथ्य भाषा आयोगको सदस्य माननीय डा. पुष्करराज भट्टले गर्नुभएको थियो । विमोचित कृतिमाथि डा. भट्ट र भारतका वरिष्ठ साहित्यकार विभा रानी श्रीवास्तवले चर्चा गर्नुभएको थियो ।

क्रान्तिधरा साहित्य अकादमीका संस्थापक अध्यक्ष विजय पण्डितको संयोजकमा आयोजित उक्त कार्यक्रम वरिष्ठ काव्यकार डा. बलराम उपाध्याय रेग्मीको सभाध्यक्षयतामा सञ्चालन गरिएको थियो ।