रामगीता वाङ्मयले साहित्य‑नाट्य तथा समाजका क्षेत्रमा योगदान गर्नेलाई पुरस्कारको घोषणा

नेपाली साहित्य तथा समाजको उन्नयनका लागि अमेरिकाको न्युयोर्क निवासी राम र गीता खत्रीले रामगीता वाङ्मय मन्दिर स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

मन्दिरको स्थापनाको उद्देश्य साहित्यिक तथा सामाजिक अभियन्ताहरू जीवित छँदै उहाँहरूलाई सम्मान गर्नु रहेको बताइएको छ ।

यसै सन्दर्भमा नेपालको भूगोल र हिमाललाई परिचित गराउन भूमिका खेल्नु हुने साहित्यकार प्रतीक ढकालको सम्मानमा खत्री दम्पतिले प्रतीक ढकाल‑लक्ष्मी सर्वोत्तम कृति पुरस्कार स्थापनाको घोषणा गर्नुभएको छ । लक्ष्मी ढकाल प्रतीक ढकालकी धर्मपत्नी हुनुहुन्छ ।

यसैगरी रंगमञ्चको क्षेत्रमा अशेष मल्लको योगदानलाई कदर गर्दै खत्री दम्पतिले अशेष मल्ल‑सावित्री नाट्यकर्म पुरस्कारको घोषणा गर्नुभएको छ । सावित्री अशेष मल्लकी धर्मपत्नी हुनुहुन्छ ।

यसैगरी त्रिमूर्ति निकेतन र नई प्रकाशनका माध्यमबाट नेपाली भाषासाहित्यका धरोहरहरूलाई सम्मान गरिरहनु भएका नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको योगदान स्मरण गर्दै उहाँहरूको नाममा नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ ।

माथिका तीन वटै पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिने बताइएको छ । पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

यसैगरी नेपाली समाजमा युगीन चेतना भर्दै जनताको स्वास्थ्य, शिक्षा, उद्यमशीलता, पर्यावरण, देशभक्ति, विज्ञान, प्रविधि आदि क्षेत्रमा उदाहरणीय काम गर्दै सामाजिक जागरणको भूमिका खेलिरहनु भएका अभियन्ताहरूको सुकर्मलाई उहाँहरू जीवित छँदै उचित सम्मान गर्न समाजसेवी राम खत्री तथा साहित्यकार गीता खत्रीले राम खत्री‑गीता विशिष्ट नागरिक सम्मान स्थापना गर्नुभएको छ । यो पुरस्कारको राशि पनि ५० हजार रूपैयाँ रहेको जनाइएको छ ।

यो पुरस्कार प्रत्येक विजोर वर्षमा प्रदान गरिने भएको संस्थाका संरक्षक राम खत्री तथा संस्थाकी अध्यक्ष गीता खत्रीद्वारा हस्ताक्षरित प्रेस नोटमा जनाइएको छ ।