अनेसास बी. ओ. टी पूर्व सभापति तथा वर्तमान बी. ओ. टी सल्लाहकार, कथाकार, गीतकार, कवि, उपन्यासकार, नियात्राकार तथा समष्टिमा साहित्यकार गीता खत्रीका कथा,गीत, उपन्यास तथा कविता सङ्ग्रहहरू प्रकाशित छन् ।
नियात्राको हिसाबले भने “उडेको आकाश, डुलेको धर्ती” दोस्रो कृति हो । यात्रा गर्दै जाँदा पुग्न सकेका अनेकौँ देश र तिनका भू-भागहरूको सुन्दर वर्णन यसमा छ । सुरुमा कृति पढ्दै जाँदा हामीलाई सिङ्गो जापानै पुगेको र लेखकसँगै यात्रा गरिरहेका छौँ कि जस्तो लाग्छ । तर पाना पल्टाउँदै , विस्तृत र सूक्ष्म रूपले पुस्तक पुरै अध्ययन गर्दै जाँदा अमेरिकाका अनेकौँ प्रान्त र अफ्रिका महादेश सम्म पुगी र यात्रा टुङ्गिन्छ पनि ।
भूमिका लेखनमा प्रतीक ढकाल दाइको भनाइ सारयुक्त छ, “वर्णन नगरे, नलेखे यात्रा, यात्रा गर्ने व्यक्तिकै गर्भमा बिलाएर जान्छ । तर यसलाई सुन्दर र भोगेकै यथार्थमा वर्णन गरेर पुस्तकको रूप दिन सकियो भने घुमिसकेका, घुम्न जान चाहने र घुम्न जान नपाउने,नसक्नेहरूलाई पनि पढेर गए जस्तै आनन्दित तुल्याउनेछ ।” इतिहासको एक महत्त्वपूर्ण साहित्यिक रचना भएर रहन पनि सक्छ । सच्चा लेखकले सकेसम्म लेख्ने कोसिस गर्छ र गर्नुपर्छ। संसारमा सबैलाई सबै कुराको भाग्य त कसै गरी जुर्दै जुर्दैन तर जीवनमा दुःख भन्दा सुखको मात्रा बेसी हुने, भएको सुखको महसुस पनि मनले गर्न सक्ने र धेरै भन्दा धेरै ठाउँहरू भ्रमण गर्न पाउनु भाग्यको पनि कुरा हो । कता कता नियात्राकार गीता खत्री यस भित्र अटाएको महसुस हुन्छ मलाई । कथा लेखौँ,कविता लेखौँ वा त साहित्यका कुनै पनि लघुतम, वृहत् विधामा कलम चलाउँदा सबैको भावना पोख्ने,वर्णन गर्ने आफ्नै एक विशिष्ट शैली हुन्छ तर विधागत हिसाबले हुनुपर्ने नियम परिधिभित्र अटाउन सक्नु हामी सबै लेखक तथा सर्जकको दायराभित्र पर्छ । नियात्राकारको यस कृतिले यस कुरालाई हु-बहु नभए पनि धेरै हदसम्म परिपालन गरेकै छ ।
जम्माजम्मी पचास शीर्षकहरूमा आधारित यस नियात्रामा वर्णन गरिएका सबै ठाउँमा अलिकति पनि नेपालको जस्तो भू-भाग, गाउँ-घर भेटिँदा आहा नेपालै जस्तो, हाम्रै देश जस्तो भनेर गौरवान्वित हुनु, मन पुलकित हुनुले पनि नियात्राकारभित्र देशको माया कहिल्यै नमेटिने गरी रहिरहेको देखिन्छ। लगभग पच्चिस वर्ष देश बाहिर रहेको स्रष्टालाई जति विदेशका भू-भाग टेके पनि,घुमे पनि यसो हुनु लेखक भित्रको दरिलो देश प्रेम नै हो भनेर कति वर्णन गरिरहनुपर्ला र ? आज देशभित्रै बसेर खाली विदेशका गीत गाउने, सुन्ने विदेशी गाना, खाना र वस्त्रहरूमा रमाउने अब्बल देशप्रेमी नामधारीहरू छन् तर गीता खत्री र धेरै प्रवासमा बस्ने गीता खत्रीहरूको मनभरि देशप्रेम अमिट रूपले बाँचेको छ । विदेशमा बसेर सक्दो देशप्रेम कला र संस्कृति बचाउने,चिनाउने काम प्रवासीहरू बाट भएको छ ।
जापानका बारे लेखिएका सबै शीर्षक पढ्दापढ्दै “नागासाकी हिजो र आज” प्रमुख नै भइहाल्यो । जो कसैको जापान पुगेपछि घुम्ने,हेर्ने प्रमुख सपना हिरोसिमा नागासाकी हेर्ने नै हुन्छ, हुनेछ । विश्वयुद्धको घाउहरू, खतहरू कहिल्यै पुरिने छैनन् । जापानीहरूले आज हार नमानी नागासाकीलाई पुरै जीवन्त बनाएका छन् तर पनि इतिहास मेटिने हैन । बीभत्स हिंसाका,युद्धका घाउहरू देख्ने-भोग्ने व्यक्तिहरूको मनबाट पुरिने हैन। यति भयावह युद्धको नर संहार पछि पनि बाँच्न पाउनेहरू त भाग्यमानी छन् तर गोली लागेर,अधकल्चो भएर बाँच्न खोज्नेको करुणामय जीवन छ । हजार सारस कागजका शीर्षकमा यही छ युद्धमा परेर केमिकलबाट गोलीका छर्राबाट सख्त घाइते बनेकी बालिकाले बाँच्नका लागि बनाउन सुरु गरेको एक हजार सारस पुरा हुन नपाउँदै इहलीला समाप्त गरेको कुरा पढ्दा पढ्दै त थाहै नपाई पढ्ने जति सबैको आँसु खस्छ नै ।
हे ! युद्धका डोबहरू, घाउहरू,जान्दा जान्दै पनि अझै युद्ध गर्न उद्धत छन् मान्छेहरू । उनीहरू पृथ्वी नै ध्वस्त गर्न चाहन्छन् आफ्नो स्वार्थ र अहमको लागि । जापानमा भएको यो विश्वयुद्ध हुनुको कारण पनि लेखिकाले छोटो रूपमा प्रस्ट गर्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो होला । किनकि कारण नभै कारक हुँदैन । आक्रमणको विरुद्ध प्रत्याक्रमणमा गइरहने हो भने त यो संसार आज यति पनि रहने नै थिएन । हे! ईश्वर अब युद्धको नामै सुन्न नपरोस् । कृतिभित्रका अन्य धेरै शीर्षकहरू पढेर जापानका विभिन्न ठाउँहरूको आस्वाद लिन सकिन्छ ।
त्यस्तै गरेर नियात्राकारले आफू बसिरहेको देश अमेरिकाको सिकागो, क्यालिफोर्निया, लसभेगास…आदि प्रान्तहरूको / स्टेटहरूको भ्रमणलाई पनि हु-बहु उतारेको हामीलाई स्पष्ट हुन्छ । देशभित्र रहेर आफ्नै देशको कतिपय ठाउँमा काम विशेष, समयाभाव र आर्थिक कारणले हामी जान सकिरहेका हुँदैनौं । नगएका ती ठाउँहरूलाई जान सक्नेहरूको मुखबाट सुन्दा पनि रमाइलो लाग्छ भने लिखित दस्ताबेज नै पढ्न पाउँदा रमाइलो लाग्ने नै भयो । मलाई त साँच्चै यस्तै भयो । म जस्तो धेरै प्रवासी अमेरिकी नेपालीलाई पनि हुन सक्छ। अमेरिका बाहिरका पाठकलाई त यसै पनि पढेर आनन्द हुने नै भयो । सिकाको वीनको कथा, क्यालिफोर्नियाको न्यानो यात्रा, लस भेगासमा बितेका रात, हलिउड बुलभार्डको रमझम, युनिभर्सल स्टुडियो भित्रको सन्त्रास आदि आदि । पढेपछि अवश्य रमाइलो लाग्ने नै छ ।
“बालुवामाथि विवाह” शीर्षकमा नियात्राकारका आफ्नै छोराको पाश्चात्य संस्कारअनुसार विवाह भएको वर्णन पनि यथार्थ र रमणीय तरिकाले गरिएको छ । यसमा नियात्राकारले कन्जुस नगरी यसभन्दा अघि आफूले पनि कुनै यस्तो विवाहमा संलग्न नभएको र यसैबाट आफूले पाश्चात्य वैवाहिक संस्कृतिको परिचयको आभास र आनन्द लिएको खुलासा गराएको अवस्था छ ।
हुभर बाँधको सम्झना, पिउनै नसकिने वाइन, रातको कोजुमेल, भित्ताका हलिउड आदि आदि सबै शीर्षक पढिसकेपछि अमेरिका भित्रकै बारे पनि यस नियात्रामा वर्णन गरिएका ठाउँहरूको हामीलाई धेरै जानकारी मिल्नेछ । यो व्यस्त जीवनका कामकाजलाई यसो थाँती राखेरै भए पनि हामी पनि कुवाकै भ्यागुतो नबनी घुम्न पाए हुन्थ्यो जस्तो लाग्छ ।
नियात्रालाई पढ्दा पढ्दै जसरी भए पनि जापान पुग्ने हो कि, अफ्रिका पुग्ने हो कि,अमेरिकाको पचासै वटा स्टेट एक चक्कर लगाउने हो कि ? अथवा सके, पुगे यस संसारको कुनै न कुनै ठाउँको भ्रमणमा निक्लन पाए हुन्थ्यो भन्ने उत्साह जागेर आउँछ । साँच्चै “आकाश उडेकै हुन्छ,धर्ती डुलेकै हुन्छ” कृतिको शीर्षक पनि सुन्दर र सारगर्भित लाग्दछ।
हामीले सुन्दै आएको, पिछडिएको, कम विकसित भनिएको अफ्रिकी मुलुक पनि हाम्रो देश नेपालभन्दा त धेरै धेरै विकसित र अगाडि पो देखिन्छ जस्तो लाग्छ नियात्रामा लेखिएअनुसार । हामीकहाँ यति राम्राेसँग प्राकृतिक सम्पदालाई संरक्षण गरेर पर्यटकहरूलाई यति राम्रो सुरक्षा दिन सकिएको छ र ? अफ्रिका घुम्ने क्रममा अफ्रिकाको धेरै नै भू-भागहरूको वर्णन गरिएको छ । वर्णन मात्र नभएर त्यहाँको मानिस, भेसभुसा, रहनसहन, कलाकृति भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै समेटिएर लेखिएको छ।
“अफ्रिकाबारे बुझ्न,रमाउन…, सम्झनामा केन्या, मसाइको उकुसमुकुस, गेम ड्राइभ, रूखमा ट्राउट, जिराफ सेन्टरम् केही घण्टा, बाँदरसँगकाे मितेरी, हात्ती अनाथालय, गुम्बा भिलेजका गोही” आदि थुप्रै शीर्षकहरूमा पढ्न पाइन्छ ।
“झन्डै कालको मुखमा” शीर्षकले नियात्राकार र साथमा रहनु हुने टोलीले बाघसँग गर्नु परेको साक्षात्कार र झन्डै बाघले झम्टा मार्छ कि भने जस्तो अवस्थाले हामीलाई पनि आङ सिरिङ गर्छ र त्यस पछिको मुक्ति र नियात्राकार टोलीको शान्तिको सास फेराइले हामीलाई आनन्द लाग्छ ।
यसरी यस नियात्रामा प्रस्थान विन्दु जापानबाट सुरु भएर जापानकै विभिन्न स्थानमा घुमेका ठाउँहरूको सविस्तार वर्णन गर्दै,जापानकै टोकियोमा साहित्य प्रेमीहरूबाट सानो साहित्य भेला पनि गरेर खुसी हुन पुगेको वर्णन छ भने त्यसपछि अमेरिकाका केही प्रान्तहरूको रोमाञ्चकारी वर्णनका साथै अफ्रिकी मुलुकको भ्रमणमा समाप्त भएको छ ।
अर्को मुख्य कुरा नियात्रामा सक्दो सचित्र वर्णन पनि गरिएको छ । मुख्यतः नियात्रा पढ्न लायक छ यसले हामीलाई आफै यात्रा गरेजस्तो र तीन तीन देशको भ्रमण गराई ज्ञान र मनोरञ्जन प्रदान गर्दछ । एसियाली मुलुक जापान,विशाल महादेश अमेरिका र अफ्रिकाको एक फन्को लगाउँछ । नियात्राकारलाई यति राम्रो नियात्राको लागि मुरी मरी बधाई दिँदै नयाँ नयाँ ठाउँ जति पनि घुम्ने अवसर मिल्नेछ यसरी नै राम्रा कृतिहरू आउँदै गरून् भन्ने शुभकामना पनि दिन चाहन्छु । हामी सबै पाठकहरूले पढेर यसको भरपुर ज्ञान र आनन्द उठाऔँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।