
डायस्पोरिक नेपाली साहित्यमा विशिष्ट स्थान ओगट्न सफल संस्मरण साहित्य पनि सशक्त रूपमा आएको एक महत्त्वपूर्ण विधा हो । प्रवासी नेपाली साहित्यकारहरूमध्ये उत्तर अमेरिकी नेपाली साहित्य क्षेत्रका एक चिरपरिचित साहित्यकार वसन्त श्रेष्ठ हुन् । उनै साहित्यकारको एक महत्त्वपूर्ण कृति “अङ्गालोभरिको अनुभूति“ संस्मरणको सामान्य समीक्षा गर्ने प्रयास गरेको छु । पूर्वी नेपालको तेह्रथुम जिल्लाको म्यांगलुङ्गमा जन्मी समय क्रममा काठमाडौँ हुँदै लामो समयदेखि संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आउनु भएका श्रेष्ठले विविध विधामा आफ्नो साहित्यिक सिर्जना दिनु भएको छ । संस्मरणकार श्रेष्ठका संस्मरणात्मक अनुभूतिभित्र कस्ता खाले प्रवृत्तिगत अवस्था रहेका छन् भन्ने बारे विश्लेषण समेत गर्ने प्रयास हो । विशेषतः कविका रूपमा प्रसिद्धि पाउनु भएका श्रेष्ठको यस कृति पनि उत्तिकै महत्ता बोकेर उदाएको छ ।
सर्जकको वैयक्तिक उदात्तता व्यापक र विविधपूर्ण मानक रचनाको उदाहरणीय शिल्प कौशल यस सृजनालाई मान्न सकिन्छ । आइए रिचार्डले कला साहित्य समालोचनाको सिद्धान्तमा भने जस्तै लेखकीय रचनाको अवस्थागत प्रवृत्ति अनुभूति, अनुभव, रूप, कला–सौन्दर्यको प्रतिमानकीकरण उसको सूक्ष्म गहन तथा जटिल वैचारिक गहिराइको मेल हुन आवश्यक रहन्छ तसर्थ उनको कृतिमा स्वायत्त बिचारदारको प्रबल प्रयोग भएको पाइन्छ ।
उनले आफ्ना संस्मरणहरूलाई सन्देहात्मक र जड शास्त्रीयता हुन बाट रोकेका छन् । यस संस्मरणमा युग चेतसँग तादात्म्य भएर सर्जकको जीवन बोध विषयवस्तु तथा भावका रूपमा आएका छन् । संस्मरणको विषयवस्तु जीवन भोगाइका भावानुभूती नेपाल बसाइँका तिता-मिठा अनुभव र डायास्पोरिक अमेरिकी नेपाली समाजको चित्रण आफ्नै प्रवासी व्यक्तिगत जीवनको सहजानुभूति एवं आफू बाँचिरहेको युग र स्थानमा रहेका नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, वर्गीय र जातीय लैङ्गिक यिनै तत्त्वहरू नै यस रचनामा मूल विषय बनेर आएका छन् । जीवनवादी र प्रगतिशील चेतना यस सृजनाको विशिष्टता हो ।
“सम्झनामा मेरो बालापन’ देखि “पच्चीस वर्षपछि म्यांगलुङ्ग बजार पुग्दा“सम्म एक्काइस वटा शीर्षकका संस्मरण रहेको यस कृतिभित्र सर्जकको जीवान अनुभूतिको प्रमुख पक्षको विशेष चर्चा पाइन्छ ।
सरसरती संस्मरणभित्र पस्दा सर्जकले बिताएका बाल्यकालका अविस्मरणीय क्षणहरूको लिपिबद्ध अनुभव छर्लङ्ग उतारे झैँ पाठकहरूलाई पूर्वी नेपालको छाया चित्र आँखा वरिपरि घुमाउने प्रयत्न गरिएको छ । आफ्ना पिताजीको सानिध्यताले गर्दा लेखकले आफ्नो बाल्यकालमा नै साहित्यप्रतिको लगाव बढाएको प्रतीत हुन्छ । बुवा नारायणमान श्रेष्ठको शैक्षिक र व्यावसायिक कार्य सँगसँगै सर्जक श्रेष्ठले पनि नेपालको विभिन्न स्थानहरूको भ्रमण गरेको अनुभव यस कृतिमा सँगालेका छन् ।
काठमाडौँ बसाइँमा विद्यार्थी हुँदा पञ्चायती व्यवस्थाका समयमा विद्यार्थीहरूले गरेका चुनावी गतिविधि अत्यन्तै चाख लाग्दो रहेको छ । किशोरवय देखिनै भाषा साहित्यकलाप्रति अगाध स्नेह रहेको प्रतीत सर्जकको विद्यार्थी साथीभाइहरूको सङ्गतबाट नै भइरहेको देखिन्छ । साथीहरू ज्योति र जेनेवको साहित्यप्रतिको लगावले सर्जक श्रेष्ठ अझै प्रेरित हुन पुगेका छन् ।…..’अपभ्रंश सपना एक सिङ्गो देह बोकेको हो कि बिहान हुँदैमा झरिदिन्छ’ । सर्जकका हम यारी साथी ज्योनेव को कालजयी कवितालाई मैले पनि उल्लेख नगरी रहन सकिन । साहित्यकार श्रेष्ठ उत्तर अमेरिकी नेपाली साहित्यको संरक्षण, संवर्द्धन विकाश क्रमलाई घनिभूत रूपमा अगुवाइ गरी आज पर्यन्त हिँडिरहनु भएको छ ।
यस कृतिका संस्मरणहरूमा पनि आफ्नो प्रवास जीवनका उकाली ओरालीहरूमा साहित्यकार वसन्त श्रेष्ठको लामो अमेरिका बसाई यहाँकै विभिन्न राज्यहरूमा गर्नु भएको बसाइँका अन्तरङ्ग भोगाइका सन्दर्भहरू एक पछि अर्को गर्दै लिपिबद्ध बुनेका छन् । सर्जक साहित्यकार वसन्त श्रेष्ठ प्रवासी नेपालीहरूको साहित्य संस्था अनेसासका अध्यक्ष जस्तो गरिमामय पदमा रही भाषा साहित्य सेवा समेत गर्न सफल रहनु भयो । साहित्यकार वसन्त श्रेष्ठ डायास्पोरिक नेपाली साहित्यको बहुयामिक चिन्तन धारा अनेक बौद्धिक र सृजनात्मक भँगालाहरू गतिशील तथा शक्तिशाली वेग साथ साथै लिएर हिँडिरहनु भएको वास्तविक सत्य डायास्पोरिक नेपाली साहित्यले दृश्यावलोकन गरिनै रहेको छ ।
संस्मरणकार वसन्त श्रेष्ठद्वारा रचित यस सृजनाको सामान्य समीक्षा गर्दा सर्जकले उठाएका सन्दर्भहरू सापेक्षिक स्वायत्तता र रूप तत्त्वको विवेचन समयपरक र वास्तविक जीवन सम्बद्ध नै रहेको पाइन्छ । साहित्यकार श्रेष्ठको रचना कौशल, शाब्दिक अर्थ चमत्कार, संश्लिष्ट बिम्ब रचना, शब्द योजना, प्रतीक योजना काव्य शिल्पको सूक्ष्म रचना पद्धतिले विशेष महत्त्व कायम गरेको छ । यस साहित्यिक कृति विशिष्ट एकताबाट युक्त एक अर्थ गाम्भीर्य परिष्कृत साहित्य रचना हो ।
यस कृतिमा परिष्कृत भाषाशैली, उपयुक्त पद विन्यास, ऐतिहासिकता, समाज शास्त्रीयता, दार्शनिकता र मनोविश्लेषण विषयहरू प्रासङ्गिक ढङ्गबाट उठाइएको पाइन्छ । पाठक वर्गमा पर्न सक्ने सम्प्रेषण,आस्वाद,विचार तथा मूल्याङ्कन आवश्यकता अनुरूप नै आएको छ । यस कृति भाषिक संरचनामा मात्र अडिएको नभई अपितु सिर्जनात्मक तत्त्वको विश्लेषणमा अडिग रहेको छ । अभिधेयार्थ र लक्षार्थ बिचको सन्तुलन भित्र पूर्ण सामञ्जस्य कायम गरी विरोधाभास तत्त्वलाई तिरोहित पार्न यस कृति सफल रहेको छ । वास्तवमा जुन कृतिले मानव हृदयको चेतना भन्दा माथि उठेर विशुद्ध भावनाको धरातलमा प्रतिष्ठित हुन्छ लोकोत्तर आनन्द दिन सक्छ त्यही नै सिर्जना हो भन्ने यथार्थ यस कृतिमा आविर्भाव भएको छ ।
यस संस्मरण अनुभूति काव्य नै सर्जकको साहित्यिक यात्राको संकल्पनात्मक अनुभूति पनि हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

