नेपाली काव्य साहित्यलाई ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘गायव सभामुख’, ‘युरोस्पर्श’, ‘च्यातीएका शब्दकोश’, ‘बस्तीमा आगो’ जस्ता अविस्मरणीय कविताहरूले समृद्ध बनाउने लोकप्रिय कवि वासुदेव अधिकारी सशक्त सम्पादक र संवेदनशील निबन्धकारको रूपमा पनि चिनिएका छन् ।

तिनै वासुदेवले प्रकाशनमा ल्याएको पुस्तक हो, “सुमी लोहनीको किसानको गाथा” ।

सुमीका कथा, कविता सोझो, सरल र सहज छन्, त्यसमा आक्रामक जस्ता केही कुरा पनि देखा पर्दैनन् तर सोझी सुमी जब व्यंग्य लेख्छिन् तब त्यसमा पाइएको कटाक्षले पाठक विचलित बन्न पुग्छ । नारा नफलाकेर, होहल्ला नगरेर सुमी आफ्नो सामान्य देखिने हातमा रहेको कलमले विकृति र विसंगतिलाई स्पष्टसँग उदाङ्गो पारेर नै छाड्छिन् ।

प्रायः लेखक जस्तो हुन्छ उसको रचनामा कुनै न कुनै रूपमा आएकै हुन्छ । लेखनको विषयवस्तु साथै पात्र पनि चाहेर होस् या नचाहेर रचनामा ल्याउँदछ नै । कसैको पनि रचनालाई गहिरिएर हेरेमा पाठकले रचनाकारको आनीबानी र स्वभाव बुझ्न सक्छ । म यहाँ शालीन व्यक्तित्वका धनी सुमी लोहनीले आफू जस्तै शालीन व्यक्तित्वको जीवनीलाई मालाको रूपमा उन्न चाहिन् । हो जीवनी लेख्ने काम त्यो पनि जीवित पात्रको दुरूह र मुस्किल हुँदा हुँदै पनि सुमीजीले एउटा एकदम सुन्दर जीवनी “किसानको गाथा”मा सजाएर पाठकको हातमा सुम्पेकी छिन्, यसले पाठकमा मेहनती किसान प्रति श्रद्धा जगाएको छ ।

खास गरी ग्रामीण परिवेश मात्र होइन शब्द र वाक्य पनि ग्रामीण नै पाउँछौं यसमा । यस कृतिका प्रमुख पात्र योगविलाश अधिकारी परिस्थितिवश विद्यालयमा गएर अध्ययन गर्न पाएनन् तर उनले शिक्षाको महत्त्व बुझेका थिए र त उनको शिक्षा प्रतिको अनुरागको कारण कसरी भाई, भान्जा, भान्जी, बहिनी, छोरा–छोरीले शिक्षा आर्जन गर्न सके त्यसको सुन्दर चित्र छ । पहाडी ठाउँमा जिन्दगी गुजरान गर्न कस्तै समस्या आइलाग्दा पनि हता नभएको योगविलासको कार्यले सकारात्मक परिवर्तन ल्याउन सकेको हो । उनको जीवन प्रतिको सकारात्मक रुचिको कारण आफ्नो परिवार मात्र होइन समाजमा नै शुभ हुन गयो । मा.वी.स्तरको विद्यालय भएको कारण घरमा डेरामा बसेका विद्यार्थीलाई निःशुल्क वास दिनु घर भाडामा लगाएर कमाउन पल्केकाले हो उहाँले प्राप्त गर्नुभएको सम्मान सन्तुष्टि थाहा पाउन सक्तैन ।

आफन्तहरूले उहाँहरू प्रति व्यक्त गरेको शब्दबाट थाहा पाउन सकिन्छ, वास्तवमा प्रेरणाका स्रोत बन्न सक्नु सामान्य कुरो होइन— यो जीवनी पढ्दा पाठकको जिन्दगी पनि उमङ्गले भरिन्छ, कर्तव्य गर्न प्रोत्साहन पाइन्छ । हो सुगमता साथ सफल जीवन व्यतीत गर्न जीवनसाथीको सहयोगको धेरै आवश्यक हुन्छ । किसानको गाथाको खुबी भनेको शारीरिक समस्याहरूको समाधान मनोवैज्ञानिक तरिकाबाट खोज्ने प्रयास गर्दछ र सिद्ध गर्दछ— जब हामी कुनै मानसिक समस्याबाट पीडित हुन्छौं तब हाम्रो शरीरमा संवेदनशील समस्या देखिन थाल्दछ । शरीरमा देखिएका यस्ता समस्याहरू ग्रामीण प्रविधिमा विश्वासको आधारमा चटक्कै भएको पाउँछौं । यस पुस्तकले पाठकलाई धादिङ बेंसीका अधिकारीहरूको मूल थलो कहाँ हो, को आएका हुन् यसबारे राम्ररी जानकारी गराउँछ । हो किन आए भन्ने प्रश्नको उत्तर पाइन्न सम्भवतः त्यसको आवश्यकता पनि ठानिएन होला ।

“किसानका गाथा”मा यसो त आठ खण्ड छन् जसमा पहिलोमा कृति नायक योगविलास अधिकारीको विषयमा केन्द्रित छ र लेखिका सुमी लोहनीले यस खण्डमा विविध कोणबाट यथार्थलाई राम्ररी लेखेर पाठक समक्ष ल्याउने कोशिश गरेकी छिन् । यस्तो प्रयोग जीवनी लेखनमा पहिले पनि भइसकेको छ जीवनीका अलग अलग पात्रलाई एकदम अलग किसिमले पात्रको नै विशेष क्षमता उजागर गरेर बयान गर्ने । किसानले गर्ने श्रम त जहाँ पनि एउटै हुन्छ तर रचनाकारले त्यसलाई आफ्नो अलग अन्दाज र भाषा शैलीमा प्रस्तुत गरेर विशिष्ट बनाइदिन्छ । तब पाठकले एउटा फरक अनुभव गर्न पुग्छन् यसमा पनि रचनाकार सुमीले एउटा फरक अन्दाजमा प्रस्तुत गरेर यथार्थमा किसानको जीवनीलाई पूर्ण रूप दिएका छन् ।

दोस्रो खण्ड देवकी अधिकारी रहेको छ— यस दृष्टिबाट पनि जीवनी पढ्न र बुझ्न सकिन्छ । यस खण्डमा दाहाल परिवारको वरपरबाट प्रारम्भ भएर बाल्यकालमा रुखबाट लडेर ६ वटा दाँत फुक्लेको पीडादायी घटना छ । देवकी वालवधु भए पनि पतिको घर–परिवार सजाउनमा कुनै कमी हुन दिइनन् । छोराछोरीको पालन–पोषणको साथै गाउँ घरको कामकाज र खेतीवारी सम्हाल्नुको साथै गाउँ घरमा सहयोगी बन्न सक्नु सबैको क्षमताको कुरा होइन ।

योगविलास र देवकी दुवैको जीवनी फरक–फरक बिन्दुबाट अगाडी बढाइएको छ र यही यस कृतिको रमणीयता र मौलिकता हो । योगविलास आफ्नो कर्ममा पूर्ण सफल छन् साथै उम्दा जातका पशु पहिचान गर्न सक्छन्, समय र स्थान अनुसारको बाली र बोट बिरुवा पनि लगाउन हुर्काउने ज्ञान आर्जित गरेका छन् । समाजसेवा गर्नमा सदा तत्पर रहने गरेको थाहा पाइन्छ । यी सबै गुण देवकीमा पनि रहेको छ— यस बाहेक नयाँ कुरा सिक्ने चाहना, नेतृत्व गर्ने क्षमता र गीत गाउन, सिलोक भन्न सक्ने क्षमता भने थप विशेषता मान्नुपर्छ । तिथि र चाड पर्वमा खुशी–खुशी व्रत बस्नु अहिले काठमाडौंको बसाइमा कीर्तन–भजनमा सहभागी हुनु र नियमित दुई घण्टा योगासन गर्नु उनको दृढ इच्छाशक्तिको परिचायक हो । अर्को खण्ड वंशावलीमा मूलपुरुष गोपीलाल अधिकारीदेखि छैठ्र पुस्ता गोपीदेवी, वासुदेव, नवराजसम्मको नामावली रहेको छ । त्यसैगरी मूलपुरुष श्रीकान्त दाहालदेखि पाँच पुस्ता देवकी, लीलानाथसम्मको नामावली पनि छ ।

देवकीको ठूलो मामा ९३ वर्षका रेवीप्रसाद नेपाल, योगविलासको कान्छा बुबा ९१ वर्षका रेवतीरमण अधिकारी र उनकै फुपूदिदी ८९ वर्षकी रमा दुवाडीका स–साना कुराहरू बाल्यकालदेखि नै देख्दै आएका र आफ्नै अगाडी हुर्किएकाको आनीबानी व्यवहार अग्रजहरूबाट आर्शीवचनको रूपमा आएको छ । घर–गृहस्थीको स–सानो समस्याहरूसँग लड्दै–जुध्दै, संघर्ष गर्दै, व्यवस्थित किसिमबाट प्रस्तुति गर्दै वरपरको गाउँको परिवेश, पूर्णप्रसादको व्यापार र व्यवहारलाई गाथामा स्थान दिएर सुमी लोहनीले विशिष्ट बनाइ दिएकी छिन् ।

सम्मान र शुभकामना खण्ड पढ्दा देवकी र योगविलासले आफ्ना महत्त्वाकांक्षालाई बलि चढाएको कारण छोरा छोरी सबल सफल बन्न सकेको पाउँदा सम्मानमा शिर निहुराउन मन गर्छ । योगविलासको साहिँलो भाइ बुद्धिनाथ अधिकारी, ठूली बहिनी केशकुमारी कोइराला, माहिली बहिनी निर्मला लामिछाने, कान्छा भाइ बाबुराम अधिकारी, कान्छी बहिनी सीता लम्सालका अभिव्यक्ति पाठकहरूलाई अलिकति पनि अस्वाभाविक लाग्दैन । योगविलासका भानिज भाइ राममणि दुवाडीका अनुसार “… उहाँ आफ्नो पुरानो थलोमा नै पुर्ख्यौली घर लिपपोत गरेर, त्यहींको माटोमा पसिना पोखेर, त्यहीँको पाखापखेरा र माटोसँग लडीबुडी गर्दै पुर्खाको विरासतको रक्षा गर्दै ……. उहाँले माटोको महत्त्व र महिमा बुझ्नुभएको थियो, त्यसैले रमाउन सक्नुभयो” (पृ.९३)

यसबाट धेरै कुरा सहजै बुझ्न सकिन्छ । यो गाथाले एक जोडी किसानको दुःख सुख र असल व्यवहारको तस्वीर मात्र अगाडी ल्याएको छैन बरु धादिङको पहाडी समाजको ससाना कुरा पनि उजागर गरेको छ जब निरक्षर एक जोडीले भाइ, छोराछोरी, भान्जालाई शिक्षा दिलाएर जिम्मेवारी वहन गर्न सक्ने सबल भएको पाउँदा आफ्नो काँधमा लिएको अभिभारा सम्पन्न गर्न सकेको मुस्कान ओठमा नाचेको देखाएको छ ।

छोरी गोपीदेवी पोखरेल, छोरा नवराज अधिकारीको अनुभूति पढ्दा एउटा आमा बुबाले आफ्ना छोराछोरीको भविष्य बनाउँन आफ्नो महत्त्वाकांक्षालाई बलि दिएको सजीव चित्र आँखा वरिपरि नाच्न थाल्दछ । भैरवी स्कूलमा २०३४ भाद्रमा नियुक्ति पाएर २०४६ सालसम्म अधिकारी परिवारको एउटै भातभान्सामा खाएर बसेका पूर्व शिक्षक लक्ष्मीकान्त घिमिरेको अभिव्यक्ति आफ्नो अथक मिहिनेत, परिश्रम एवम् पौरखी कारणले गर्दा छोराहरूलाई स्वावलम्बी जीवन जिउने बनाएर असल आमाबुबा हुनुको प्रमाण बन्न गएको छ । देवकीकी भदै गीता अर्याल, भदा डा.नवीनबन्धु ‘पहाडी’ दाहाल, भदै अम्बिका रिजालको मार्मिक बर्णनले देवकीको संवेदनशीलतालाई बडो राम्ररी उजागर गरेको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् रमणीय ऐतिहासिक स्थान नेवारपानीका आदर्श र प्रेरणाका स्रोतको रूपमा योगविलास र देवकीको बयान नाती राजेन्द्र पोखरेल, नाती सुरेन्द्र पोखरेल, नातिनी सुनीता पोखरेल, नाति रामचन्द्र पोखरेल, नातिनी आस्था अधिकारी, नाति नसिव अधिकारी, आश्रय अधिकारी, नातिनी निश्का अधिकारीबाट भएको छ । शारीरिक आघात भन्दा धेरै मानसिक आघातले व्यक्तिलाई लक्ष्यमा पुग्न दिंदैन र विचलित पार्दछ । नातिनी अनिता र ज्वाइँ जयराम नेपालले थोरै शब्दमा ‘चोखो मायाको प्रतिबिम्ब’ भनेर साँच्चै नै सत्य बताएका छन् ।

अर्को खण्ड भूमिका÷प्रकाशकीयमा वासुदेव अधिकारी “तीस दशकको गाउँ, किसानी परिवेश र मेरा बाआमा” शीर्षक सशक्त निबन्ध हो र यसले यस कृतिको रेखाङ्कन गरेको छ । जुन आमाबुबाले आफूलाई औला समातेर हिड्न सिकाउनुको साथसाथै जीवनको भागदौडमा सन्तुलन बनाउन सिकाए उहाँहरूको गाथा लेख्न लगाएर प्रकाशन गराएर विवाहको ६६ औ वर्ष पूरा गरेको उपलक्ष्यमा “किसानको गाथा” पुस्तक उपहार दिने छोरा वासुदेव अधिकारी आफ्ना आमाबुबालाई कतिको सम्मान गर्दा रहेछन् यसको अनुमान सहजै लगाउन सकिन्छ ।

यस कृतिको विषयवस्तु योगविलास र देवकीको वरिपरि घुमेको छ भलै यसले पुर्णप्रसाद अधिकारीको व्यवहार, आनीबानी र सो समयलाई पनि राम्ररी नै टिपेको किन नहोस् । शारीरिक आघात भन्दा धेरै मानसिक आघातले मानिसलाई विवश पार्दछ । तीसको दशकमा देखे-भोगेको गाउँ, कति उपेक्षित थियो, त्यहाँको किसानको चेतना स्तर कति कमजोर थियो त्यो थाहा पाउँदा अहिलेको पुस्ता छक्क पर्छ ।

त्यस्तो परिस्थितिमा पनि एक अक्षर नपढेका युगलले शिक्षाको महत्त्व बुझेको हुँदा नै सबैका प्रिय बन्न सकेका हुन् । यस कृतिका सूत्रधारले आफ्ना जन्मदाता प्रतिको कर्तव्य बुझेर गाउँले भाषामा सरल शब्दमा लेख्नसक्ने लेखिका सुमी लोहनीबाट लेखाएर गाउँको यथार्थ टाढाटाढा पुर्याउने जुन काम गर्नुभयो यसको प्रशंसा एक दुई शब्दमा गर्न मिल्दैन । सूत्रधार या नि वासुदेव अधिकारी वर्तमान समयको “श्रवणकुमार” भएको हुँदा नै स्वच्छ रूपमा कुनै जलप नलगाइएको सलल बगेको सन्तुलित कृति पाठकको हात हातमा पुग्न सकेको हो ।

म अझ राम्ररी वुझ्न सकिरहेको छैन आफ्नो कर्तव्य पालनमा खरो उत्रिएका आमाबुवा अथवा आमाबुबालाई यसरी चारैतिर परिचय गराउने योग्य छोरा कसलाई आजको समयले सम्मान गर्नु पर्छ भनेर बुझूँ । दुवै पुस्ता, वास्तवमा जिम्मेवारी बहन गर्न समर्थ भएको पाए, निरुद्देश्य जीवन बाँच्न चाहेनन्— आफ्ना सन्ततिको जीवन सजाउने, बनाउने जिम्मेवारी बहन गर्न आफ्नो जीवन समर्पण गरेको पाउँछु म । रुपियाँ पैसा र भौतिक सुख–सुविधालाई मात्र प्रमुख देख्ने समाजमा आमा–बुबालाई आफूसँग राखी, उच्च सम्मान दिएको र उहाँहरूको चाहना अनुसार घुमघाम र धर्म कर्ममा लाग्ने वातावरण पनि बनाएकोलाई सामान्य भन्न सकिन्न, कतिपय छोराले नै आमा बुबाप्रतिको नैतिक जिम्मेवारीलाई सहजै आफ्नो काँधबाट हुत्त्याएर आगामी पुस्तालाई स्वार्थी बनाउन सघाइरहेको देखिएको छ, यस अर्थमा असल आमाबुबाका असल छोरा भन्नै पर्छ ।

यसको अर्को खण्डको नाम हो “कविता-गीत” यसमा कवि छोरा वासुदेव अधिकारीले आमा बुवाको मन राख्न नभएर उहाँहरूका कर्म र स्वभावलाई कविता-गीतको माध्यमबाट मार्मिक रूपमा साक्षात्कार गराएका छन् । “बाबु र कोदालो”, “आमासित गन्थन” कवितामा महानगरमा रहदाँ पनि मानवीय सम्बन्धको गरिमा त बचाएको थाहा हुन्छ, मानव अमानव बन्नु हुँदैन भन्ने शिक्षा पनि यसबाट बुझ्न सकिन्छ । साथै आमाबुबाप्रति सन्तुष्ट रहेको कुरा गीतबाट थाहा पाइन्छ ।

समीक्षा कृतिको विशेषता नै मान्नु पर्छ अन्तिम खण्डमा रहेको तस्वीरमा हामी योगविलास अधिकारी, देवकी अधिकारी, योगविलासका आमाबुबा पूर्णप्रसाद र पवित्रादेवी, देवकीकी आमा जयदेवी, योगविलासका भाइ मेघराज, बुद्धिनाथ र बाबुराम अनी छोराछोरी, बुहारी, नाती-नातीना लगायतबाट हामी यस परिवारको आपसी प्रेम सम्मानको बारेमा थाहा पाउन सक्छौं ।

सुमी लोहनीले बडो मेहनत साथ लेखिएको यो कृति रोचक र पठनीय हुनुको साथ साथै धादिङको पहाडी समाजका केही खास कुराहरू तर्फ पाठकको ध्यान आकर्षित गर्दछ साथै मेहनती किसान योगविलास र देवकीको सकारात्मक कार्यले समाजमा यस्ता सुकर्म गर्नेहरू पनि छन् है भनी जानकारी गराउँदछ ।

पुस्तक— किसानका गाथा

लेखक— सुमी लोहनी

प्रकाशक— वासुदेव अधिकारी

मूल्य—१०१/–