विजय मल्ल सामाजिक यथार्थवादी मनोवैज्ञानिक कथाशिल्पी हुन् । उनको कथा संग्रह “एक बाटो अनेक मोड” (प्रथम संस्करण वि.स. २०२६) मा बाह्र वटा कथा सङ्ग्रहित छन् । उनी आफ्ना कथामा तत्कालीन सामाजिक र राजनीतिक परिवेशमा पात्रको मनोभावलाई सूक्ष्म ढङ्गले केलाएर उत्कर्षमा पुर्याई पाठकको मन र मस्तिष्कमा गहिरो प्रभाव छोड्छन् ।
यस संग्रहको पहिलो कथा हो “आमा” । आफ्ना सन्तानको निम्ति आमा कतिसम्म सम्वेदनशील भई तिनका कमजोरीप्रति आँखा चिम्लिन सक्छिन् भन्ने दृष्टान्त प्रस्तुत गरिएको छ । शहरदेखि बाहिरपट्टिको एउटा पुरानो नेवार बस्तीमा कुलमाँ बज्रकर्मी, उसकी पत्नी श्रीमाया र एक्लो सन्तानको रूपमा छोरी ज्ञानीमैजू सहित जम्मा तीन जनाको परिवारको तीन तले घर छ । छोरी पनि शिक्षित भई भने छोरा सरह बाबुआमा पाल्न सक्छे भन्ने विश्वासले छोरीलाई नर्स पढाउँदै गर्दा ज्ञानीमैजू आफूसँग भएको सुनको गरगहना बोकी एउटा फटाहासँग पोइल जान्छे, तर एउटा कोठामा ज्ञानीलाई एकलै छोडी सबै गरगहना साथमा लिई त्यो मानिस भाग्छ । सात दिन पछि ज्ञानी रित्तो हात राति घर फर्कन्छे, तर आमाले स्नेहवश सबै कुरा सहजै माफी गरिदिए जस्तो केही नसोधी भन्छे, “के भयो त मैले तँलाई के भनेकी छु ? के दोष लगाएँ र ? भै हाल्यो नि किन रुनुपर्यो, भै हाल्यो, नरो अब भात खा !” आफ्ना सन्तानको कमजोरी प्रति आँखा चिम्लेर आमाले देखाएको स्नेह भावले आफ्ना सन्तानप्रति आमा कति सहनशील र स्नेही हुन सक्छिन् भन्ने कुरा यस कथाले सशक्त ढङ्गले अभिव्यक्त गरेको छ ।
दोस्रो कथा “पाटन”मा कृष्णमानकी बहिनी प्रभा विवाह गरेको केही महिनापछि अकस्मात विधवा हुन्छे । घरमा पुगेर कृष्णमानले ज्वाइँ हृदयाघात भएर मरेको कुरा आफ्नी आमा हिरामायालाई मात्र भन्छ । कृष्णमानका बा, आमा सहित परिवारका अन्य सदस्यले वास्तविक कुरा थाहा पाए पनि प्रभालाई घात पर्छ भनी सबैले यस घटनालाई लुकाउन खोज्छन्, तर घरभित्रको शोकाकुल वातावरणबाट प्रभाले आफ्ना ससुराको देहान्त भएछ भन्ने कुरा अनुमान गर्न पुग्छे । वास्तविक घटनाप्रति उ अनभिज्ञ नै रही पोइसँगको प्रेमिल रासलीला सम्झँदै सिंगारपटार गरी घर जान माइत घरबाट निस्कन्छे । प्रभा जसै घरतर्फ गइरहेकी हुन्छे बाटामा आँधीबेहरी आउँछ, धूलो र सुकेका पातहरू उडिरहेका हुन्छन् । सांकेतिक रूपमा उराठलाग्दो वातावरण सिर्जना गरी कथा टुङ्गिएको छ ।
तेस्रो कथा “संयोग” वास्तवमा एउटा संयोग मात्र हुन गएको छ । भुवनलाल नाउँको एउटा विद्यार्थी ललिता नाउँकी युवतीलाई पेट बोकाएको अपराधमा संयोगले पक्राउ पर्छ । आफ्नै टोलकी त्यस युवतीलाई घरबाट कलेज जाँदा र फर्कँदा बाटोको मोडको घरमा उसले देखेको र त्यसको अनुहार उसलाई सुन्दर लाग्ने गरेको सम्म हुन्छ । कथामा त्यस बाहेक त्यस युवतीसँग उसको कुनै सम्पर्क भएको देखिँदैन । लम्बेतान यस कथामा पाठकलाई पट्यार लाग्ने कुनै वादविवाद छैन, कथा तर्कपूर्ण छ, तर वास्तविक घटना थाहा नै नपाई संयोगबाट नै कथाको अन्त्य हुन्छ । पाठक वास्तविक अपराधी थाहा पाउन उत्सुक हुँदै जान्छ, तर एउटी केटीको इज्जतसँग खेलबाड र अनेक केरकार सहन नसकेर आवेशमा आएर भुवनलालले “यो आइमाईलाई मैले नै राख्या हुँ” भनी कबुल गर्दा पाठक जिल्लिन्छ । यस कथामा कथाकारको कथाशिल्प उच्च कोटीको भएता पनि युवतीबाट सत्य घटना जानकारी हुन नसक्नु र निर्दोष मानिसले आवेशमा आएर अपराध सकारेकोमा पाठकको दाँतमा एक्कासि ढुङ्गा लागे झैँ हुन्छ ।
चौथो कथा “अदृश्य कामना” मा मुख्य पात्र ललितासँग कथाकारको साक्षात्कारपछि बाहिरबाट आफूले अनुमान गरेभन्दा भिन्न अवस्था सिर्जना भएको मनोवैज्ञानिक कथा छ । एउटा कुरूप र अङ्गभङ्ग समेत भएको आधा शरीर नचल्ने रोगी पतिको सेवा गरेर बसेकी युवती ललिताको आन्तरिक अवस्था जानकारी नहुन्जेलसम्म कथाकारले ललितालाई कर्तव्यपरायण भनी उनीप्रति उच्च सम्मान र श्रद्धाभाव व्यक्त गर्दछन् । बाहिरबाट हेर्दा कृष्णलालकी दिदी ललिता कर्तव्यपरायण र पतिभक्त मात्र देखिए पनि ललितासँगको प्रत्यक्ष भेटघाटबाट कथाकारलाई उनको वास्तविक अवस्था जानकारी हुन्छ । मनोवैज्ञानिक रूपले उनी कति पीडित छन् भन्ने थाहा पाएपछि उनीप्रति कथाकारको सहानुभूति बढ्छ र कथाकारको दृष्टिकोणमा परिवर्तन आउँछ । ललिता असक्त र रोगी पतिबाट मनोवैज्ञानिक रूपले पीडित भई उनको मनस्थिति नै विकृत भइसकेको हुन्छ ।
“गह्रुँगो अस्तित्व” हो पाँचौं कथा । यसमा कथाकी मुख्य पात्र मोहिनीले बाबु–आमाबाट आफू बेचिएको अनुमान गर्छे । उसलाई सौता, छोराछोरी र नोकरचाकर समेत भएको एउटा बुढो सुब्बाले लिएर जान्छ । आफ्ना बाबु आमाले त्यस सुब्बासँग पाँच सय रुपैयाँमा कारोवार गरेको उसले अनुमान गर्छे, तर यस कुरालाई उसले पूर्ण विश्वास गर्न सक्तिन । कथाको अन्त्यसम्म ऊ यही मनोविज्ञानमा अल्झिरहन्छे । जब आफ्नो असक्त बुढो पोइ र त्यो आडम्बरी परिवारसँग दिक्क भई उसले विद्रोह गर्छे र आफ्नो माइती घर नै फर्कने निर्णय गर्छे, उसको बुढो पोइले “तँलाई मैले पाँच सय रुपैयाँमा किनेको हो“ भनेपछि उसलाई आफ्नो वास्तविक अवस्था थाहा हुन्छ । त्यसपछि उ विवश भई गह्रुँगो अस्तित्व बोकी त्यही घरमा बस्न बाध्य हुन्छे ।
यस संग्रहको छैटौँ कथा “एक बाटो अनेक मोड” मा आफ्नी प्रेमिकाको सम्झनामा जीवनभर अविवाहित रहेको एउटा पात्रको प्रेमको पूर्वस्मृति र त्यसले जीवनमा ल्याएको विचलनको मनोवैज्ञानिक विश्लेषण छ । आफूले प्रेम गरेकी केटीको विवाह अरू कसैसँग भएपछि कथाकारको जीवनमा विचलन आउँछ । उ जीवनभर अविवाहित बस्छ । अनेक मोडमा मनोवैज्ञानिक विचलनमा परेको पात्रले पछि आफ्नी प्रेमिकाकी पन्ध्र वर्षिया छोरीको रूप आफ्नी प्रेमिकासँग मिलेको देख्छ । कथाको पात्रले कहिल्यै प्राप्त हुन नसक्ने पूर्व प्रेमिकाको रूप र भावको निम्ति आफूलाई बलि चढाउनु साँच्चि नै पागलपन हो भन्ने महसूस गर्दै कथा अन्त्य हुन्छ ।
सातौँ कथा “घुम्टोभित्र” मा अनुहार छोपेर घुम्टोभित्र बसेकी एउटी नवविवाहिताको आफ्नो भविष्यप्रतिको मनोवैज्ञानिक त्रास र त्यसको समाधान दुवै प्रस्तुत गरिएको छ । आफ्नी पूर्व पत्नी एउटा चार वर्षे वालकलाई छोडी परलोक भएपछि वैकुण्ठलालले दोस्रो विवाह गर्दछ । बेहुली अवस्थामै वालकलाई ‘तिम्री आमा’ भनी चिनाउन खोज्दा ‘मेरी आमा होइन’ भनी बालक फर्केपछि दुलहीलाई वालकप्रति घृणा र आफ्नो भविष्यप्रति मनोवैज्ञानिक त्रास पैदा हुन्छ । दुलही सवितालाई स्वर्गवासी सौताको छोरो वालकप्रति वितृष्णा भई आफ्नो भविष्यप्रति नै चिन्ता हुन्छ । सौताको छोरो भएको पुरुषसँग विवाह गर्ने आफ्नो निर्णयप्रति उसलाई पश्चात्ताप हुन्छ । आफ्नी स्वर्गीय आमाप्रतिको त्यस बच्चाको भावनालाई बेहुली सविताले जब स्वाभाविक रूपमा लिन्छिन् उनमा वालकप्रति स्नेहभाव जागृत हुन्छ । उनले त्यस वालकलाई आफैँसँग राखेर प्रेमपूर्वक हुर्काउने सकारात्मक निर्णय लिई आफूलाई आश्वस्त पार्छिन् ।
यस कथा सङ्ग्रहको आठौँ कथा “प्रवेशनिषिद्ध देश” एक नितान्त वैज्ञानिक कथा हो । यसमा कथाकारले मेसिनको उत्पादनशील उपयोग मात्र नभएर ध्वंसात्मक प्रयोग हुने सम्भावित अवस्थाको समेत परिकल्पना गरेका छन् । यस्तो प्रवेशनिषिद्ध देशबाट उम्कने मानवीय जिजीविषालाई कथाले उद्घाटन गरेको छ ।
नवौँ कथा “अन्तिम भोज” मा कथाकारले नौलो र काल्पनिक परिवेश सिर्जना गरी विश्वमा निर्माण भइरहेका अणुबम र अत्याधुनिक अश्रहरूको होडबाट सिर्जित ध्वंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् । त्यस्ता गतिविधिबाट मानिसको विनाश निश्चित भएकोले पृथ्वी ध्वस्त हुने परिकल्पना गरी अन्तिम भोजको आयोजना गरिएको हुन्छ । त्यस्ता अश्र तथा अणुबमहरू विश्वमा एकै चोटि विस्फोट भई पृथ्वी नष्ट हुने सन्त्रास सिर्जना हुँदै गएकोमा कथाकारले त्यस्तो भोजबाट भाग्ने परिकल्पना गरेका छन् ।
दसौँ कथा “नखुलेको आकाश” नारी स्वतन्त्रता र स्वअस्तित्वको वकालत गर्ने अस्तित्ववादी कथा हो । पति र सन्तान हुँदा हुँदै पनि मनोवैज्ञानिक रूपले पीडित मीना आफूलाई विधवा सम्झन्छे । स्वास्नीको शरीर भोग गर्नको निम्ति मात्र लोग्नेले आफूलाई माया गर्ने गरेको अनुभूत भएपछि आफ्नो पोइ जीवित छँदै मीना आफू विधवा भएको सम्झन्छे । अर्को युवा शम्भुले मीनालाई आफ्नो प्रेम प्रदर्शन गर्छ, तर उसले पनि मीनाको हात समात्न खोजेपछि उ भन्छे, “फेरि शम्भु म¥यो । दोस्रो पटक म विधवा भएँ” । शरीर भोग गर्ने उद्देश्यले मात्र शम्भुले पनि प्रेम गरेको महसूस गर्छे र उसलाई पनि ऊ घृणा गर्न थाल्छे । यसरी आफ्नो पति र प्रेमी दुवैलाई ऊ घृणा गर्छे । यो नितान्त नौलो कथा हो ।
एघारौं कथा “यो किंवदन्ती हो” एक तर्कपूर्ण, विचारप्रधान आधुनिक कथा हो । यो कथा किंवदन्तीमा नै आधारित भए पनि एउटा न्यायाधीशको तर्कयुक्त निर्णय प्रक्रियासँग जोडिएको छ । सामाजिक विकासको क्रममा कुनै समयमा मानिसलाई दासको रूपमा किन्नु, पाल्नु वा बेच्नु स्वाभाविक मानिन्थ्यो । दासहरू किन्ने वा पाल्ने कुलीन परिवारले उनीहरूलाई पशु सरह व्यवहार गरी दण्डित गर्ने गरेको कुरा इतिहासमा पाइन्छ । त्यसमध्ये मृत्युदण्ड समाजमा सबैभन्दा क्रूर दण्ड मानिन्छ । कथा भन्छ, दाससँग पशु सरह व्यवहार गरिने भएको र पशुलाई कुनै अधिकार नदिइएकोले पशुले कुनै नियम, कानुन पालन गर्नु आवश्यक छैन । पशुले कसैको बालीनाली मास्छ भने कानुन बमोजिम पशु होइन, पशुको मालिक दण्डनीय हुन्छ । यही सामाजिक नियमलाई अनुसरण गरी न्यायाधीशले दासको क्रियाकलापबाट कसैको हत्या हुन गएमा मालिकलाई मृत्युदण्ड दिई दासलाई उन्मुक्ति दिनु न्यायोचित हुन्छ भन्ने तर्कपूर्ण मान्यता राखेको छ । तत्कालीन परिवेशमा यस्तो फैसला गर्ने न्यायाधीशलाई “न्यायाधीश बहुलायो” भनी जनसमूह चिच्याउँछ । यसलाई कथाकारले सामाजिक विचार प्रवाहको तथ्य भनेका छन् ।
“मंगलध्वज ! हात बढाउ” यस सङ्ग्रहको अन्तिम कथा हो । कथामा इतिहासको कालखण्डमा अधिकार र स्वतन्त्रताको निम्ति क्रान्तिमा भाग लिँदा भद्रगोल जेलको गोलघरमा कोचिएका दुई पात्रहरू, मङ्गलध्वज र ‘म’ एउटै पिंजडामा थुनिएका छन् । ती दुई जनाको भिन्न चरित्र देखिन्छ । ‘म’ पात्र संयमी तथा सफा सुग्घर मन पराउने र मङ्गलध्वज चाहिँ मैलो, फोहोरी र सास गन्हाउने । यसैकारण ती दुई बिच अन्तर्द्वन्द्व चर्किन्छ , द्वन्द्व यतिसम्म बढ्छ कि मङ्गलध्जले ‘म’ को घाँटी छिनाल्न तरकारी काट्ने दुईटा स्याँगीमा साँध लगाएको प्रशंग छ । कालान्तरमा जब ‘म’ पात्रले अस्पतालमा मङ्गलध्वज मरिसकेको खबर सुन्छ, उसलाई ऊसँगको सम्बन्धको पूर्वस्मृति हुन्छ । यस कथामा लिप्रोसी जस्तो वंशानुगत रोगलाई कथाकारले राणा शासनको प्रतीक बनाएका छन् । कथाकारले एक चमत्कारी परिवेश सृष्टि गरी मंगलध्वजलाई मित्रताको हात अघि बढाउन आह्वान गरी कथा अन्त्य गरेका छन् । यस कथामा क्रान्तिको अवधिमा जसले जसरी एक अर्कालाई घृणा गरेता पनि क्रान्तिपश्चात् सबै एकसाथ अघि बढ्न सन्देश प्रवाह गरेको प्रतीत हुन्छ । मङ्गलध्वजको मृत्युको खबर थाहा पाएपछि आफूले मङ्गलध्वजसँग शत्रुतापूर्ण व्यवहार गरेकोमा ‘म’ पात्रलाई पश्चात्ताप हुन्छ र हामीले एक अर्कालाई चिनेनौँ भन्दै “आऊ बिर्स मङ्गलध्वज ती सब कुरा । म तिमीलाई सम्मान गर्छु, धन्यवाद दिन्छु” भन्दै कथाको अन्त्य हुन्छ ।
विजय मल्ल आफ्ना कथामा चमत्कारिक परिवेश सिर्जना गरी मनोवैज्ञानिक अन्तर्द्वन्द्व केलाएर सामाजिक समस्याको विश्लेषण गर्ने एक आधुनिक कथाकार हुन् । आमा, पाटन, गह्रुँगो अस्तित्व, घुम्टोभित्र, प्रवेशनिषिद्ध देश, नखुलेको आकाश, यो किंवदन्त हो र मंगलध्वज ! हात बढाउ यस सङ्ग्रहका उनका उत्कृष्ट कथाहरू हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










