यस कथासङ्ग्रहमा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ले खासगरी जङ्गलमै बस्न रुचाउने राउटेको जीवनशैली, संस्कार र उनीहरूले वरण गरेको संस्कृतिलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरेको देखिन्छ

‘आदिबिम्ब’ कथासङ्ग्रहमा सङ्कलित कथाहरू जङ्गलका आदिवासी राउटेहरूकै जीवनका कथा-व्यथालाई केन्द्र मानेर रचना गरिएको छ । कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’को पहिलो प्रयास हुँदाहुँदै पनि आख्यानका माध्यमबाट राउटेहरूका जन्म पछिका विधि व्यवहार, संस्कार र संस्कृति, चालचलन, रीतिथिति, रहन-सहन, वेशभूषा तथा कष्ट साध्य जीवन भोगाइका सन्दर्भहरू व्यक्त भएका छन् ।

प्रा. डा. यादवप्रकाश लामिछाने

राउटेहरूको कालीगडी (काठका भाँडा बनाउने, कुँद्ने सीप), परम्परा धान्ने प्रचलन, अशिक्षा आदि कुरा मुखरित भएका छन् । परिवारका कुनै सदस्यको मृत्युपछि अर्को जङ्गलको खोजी गरी बसाइँ सर्ने प्रक्रिया अवलम्बन गर्ने सन्दर्भ अघि सारिएको छ । उनीहरूमा चरम गरिबी छ साथै लैङ्गिक विभेद पनि त्यतिकै देखिन्छ ।

राउटे-राउटे बीचमा पनि मुखियाको शोषणका विरुद्धको आवाज उठाउनु, आन्दोलन गर्नु र मुखिया परिवर्तन गर्नेजस्ता पक्ष पनि सशक्त देखिन्छन्, ती घटना परिघटनाका प्रसङ्गहरूले प्रगतिवादी चेतना प्रतिबिम्बित गराएको अनुभूत हुन्छ । सङ्घर्षमय जीवन र सामन्ती व्यवस्थाको कोपभाजनमा परेको अवस्थाको चित्रण सान्दर्भिक छ ।

 

कथासङ्ग्रह भित्रका ‘मुखिनीको मृत्यु, अँध्यारो यात्रा, राउटे र डर, राउटे जागरण, हृदयको आवाज, राउटेको मगनी, हाते मिटर, दर्शन र राउटे, राउटे र, राउटे नाच, बलात्कृत विधवा’ शीर्षकका कथाहरू बढी महत्त्व राख्ने देखिन्छन् । दाजु मरेपछि भाउजू बेहोर्ने संस्कार राउटे समुदायमा यद्यपि छँदैछ भन्ने कुरा उसनबहादुरको मृत्युपश्चात् मइरबहादुरले विधवा भाउजूलाई ‘अबदेखि तिमी मेरी हौ, केवल मेरी मात्र’ भनेकोबाट प्रष्ट हुन्छ । यसभित्र सामाजिक जीवनको यथार्थको प्रस्तुति छ । साथै अर्ति उपदेश, गरिबी, अन्धविश्वास आदि कुराको सशक्त अभिव्यक्ति पाइन्छ

दैलेख जिल्लाको आसपासका जङ्गलमा बसोबास गर्ने राउटेहरूको जीवनमा केन्द्रित भएर लेखिएको पहिलो आख्यानात्मक कृति हुनु यसको निजी विशेषता हो भने यसले राउटेको संस्कार र संस्कृतिका बारेमा जति र जुन रूपमा जानकारी दिइएको छ, त्यसका दृष्टिले स्रष्टालाई साधुवाद छ । यहाँ विषयको उठान गरिएको छ । विषय, पात्रविधान, परिवेश (आन्तरिक र बाह्य) तथा उद्देश्यमा स्पष्टता छ ।

विधा भञ्जन-विधा मिश्रण पनि पाइन्छ । कथानकमा द्वन्द्वको व्यवस्था जसरी र जुन रूपमा हुनुपर्ने हो, त्यसले पूणर्ता नपाए पनि प्रयास स्तुत्य छ । राउटेहरूले प्रयोग गर्ने भाषालाई जस्ताको तस्तै राखिएको हुनाले अभिव्यक्ति सुन्दर बनेको छ । भाषा आलङ्कारिक छ । वाक्यगठन कसिला छन् तथापि कलात्मक प्रस्तुतिको अपेक्षा गर्ने ठाउँ रहेकै छ । यति हुँदाहुँदै पनि राउटे जीवन भोगाइ, संस्कार तथा संस्कृतिका पक्षमा हिम्मतका साथ कलम चलाउने स्रष्टाका आगामी दिनको साहित्यिक यात्रा समृद्ध बन्दै जाओस्, यही शुभकामना ।