
विषय प्रवेश
बालसाहित्यमा बालबालिकाका लागि मनोरञ्जनसाथ शिक्षा दिन र उत्सुकताका जगाउन कथा, कविता, निबन्ध, चित्रकथा, विज्ञानकथा, नीतिकथा, परिकथा, नाटक–रूपक, परिहास्य र अभिनेय सामग्रीलाई सम्प्रेष्य, चित्रसाम्य र लयात्मक रूपमा प्रस्तुत गरिन्छ । बालसाहित्य उमेर अनुकूल बोध क्षमता, उपयुक्त स्तर तथा विशिष्ट रुचिका आधारमा तयार गरिन्छ ।
अमेरिकी साहित्य प्रकाशकहरू बालसाहित्य सामग्री चार उमेर समूहलाई सम्बाेधन गरेर उत्पादन गर्नुपर्छ भन्दछन् । यस वर्गीएकरणमा प्ररिडर्स वा भर्खर सिक्न लागेका बालबालिका (पाँच बर्षसम्मका), पढ्न लेख्न सुरु गरेका वा अर्लि रिडर्स (पाँचदेखि सात वर्ष उमेर समूहका), सामान्य पढ्ने चाख विकास भएका वर्ग वा च्याप्टर बुक्स (साता–एघार वर्ष समूहका) र किशोर पाठकहरू वा यङ् एडल्टर्स पर्दछन् । तर यो वर्गीकरणमा मत्यैक्यता भने छैन ।
जे जसरी परिभाषा र वर्गीकरण गरे पनि बालसाहित्यले कलिला उमेरका सिकारुलाई मनोरञ्जनसाथ सिक्ने उत्सुकता जगाउँछ, असल नागरिकका लागि आवश्यक ज्ञान, सीप र स्वभाव विकास गर्न जग बसाउँछ, बुझ्न–सिक्न प्रोत्साहन गर्छ, साहस र सिर्जना क्षमता विकास गर्छ । त्यसैले बालसाहित्यलाई सिकाइको ढोका पनि भनिन्छ ।

धूमधामको घुमघाम
बालसाहित्यका विषय वास्तविक घटना–विषयवस्तु, इतिहास, कल्पना, स्वैरकल्पना, तिलस्मी, विज्ञानकल्पना हुन सक्दछन् तर त्यसको प्रस्तुति बालमस्तिष्कलाई केन्द्रस्थमा राखेर गरिएको हुन्छ । बालसाहित्यका पात्रहरू मानव र गैरमानव हुन सक्छन् । जे जसरी उल्लेख गरिएता पनि यस्ता सामग्रीले बालकलाई मनोरञ्जनसाथ उत्सुकता जगाउन सक्नुपर्छ । यस्ता बालसामग्रीको आस्वादनबाट थाहै नपाईकन बालविकासलाई योगदान पुर्याइरहेको हुन्छ ।
कलिला बालकलाई हजुरआमा, आमा, दिदीहरूले निद्रा जगाउन, खाना खुवाउन लोरी हाल्ने प्रथाबाट सुरु भएको बालसाहित्य नीतिकथा, लोककथा, लोकगीत, चित्रकथा, नाटक–रूपक, परिहास्य, गाउँखाने कथा, हुँदै श्रव्य दृश्य र अन्तरक्रियात्मक सामग्रीसम्म विस्तार भएको छ । पुस्तक र मञ्चनबाट डिजिटल ग्याजगेटसम्म पुगेको छ । प्रविधि र प्लेटफर्मले बालबालिकालाई नयाँ स्वाद र कौतुहलता पुर्याएको छ ।
बिसौँ शताब्दीसम्मका सीमित विकल्पहरू यस शताब्दीमा निकै विस्तार भएका छन् । अभिभावक र शैक्षिक अनुष्ठानहरू बालसाहित्यलाई मनग्गे प्राथमिकतामा राख्न थालेका छन् ।
००००
भक्तप्रसाद भ्यागुताको प्रसङ्ग
समसामयिक विषय, विशेषतः पत्रकारितामार्फत सामाजिक चिन्तनमा कलम चलाउने कनकमणि दीक्षितले बालसाहित्यमा कलम मात्र चलाएनन्, बेग्लै प्रस्तुतिमार्फत बालखुराक पनि दिएका छन् । ‘भक्तप्रसाद भ्यागुतो नेपाल यात्रा : धूमधामको घुमघाम’ अर्लि रिडर्सलाई लक्ष्य गरेर लेखिएको बालसाहित्य हो । यसलाई बालसाहित्य अन्तर्गत कुन विधामा राख्ने भन्ने समस्या यसका विवेचकहरूलाई पर्न सक्छ । ससाना कथाहरूको शृङ्खला भएकाले बालउपन्यास भने पनि हुन्छ, तर भक्ते भ्यागुतो धुमधामले उपत्यका, तराई, भित्रीमधेश, पहाड र हिमाल घुमेको छ । त्यसैले यसलाई बालनियात्रा भन्न उपयुक्त छ । शास्त्रीय बालसामग्रीहरू तिलस्मी वा अद्भुत विषयलाई समेट्छन्, पात्र पनि तिलस्मी वा अद्भुत नै हुने गर्दछ । यसले भने काल्पनिक कथालाई विषयवस्तु बनाएको छ, यसभित्र समेटिएका थुप्रै घटनाशृङ्खला काल्पनिक हुन् । तर काल्पनिक भएपनि स्वैरकल्पना (फेन्टासी) भने होइनन् ।
रमेश विकलको ‘विक्रम र नौलो ग्रह’ को मुख्य पात्र विक्रम जस्तै भक्तप्रसाद भ्यागुतो साहसिक यात्रामा छ । विक्रमलाई अर्को ग्रह नौलो र जोखिमपूर्ण छ, इचङ्गुको धानखेतलाई नै विश्व मान्दै आएको भक्ते भ्यागुतोका लागि अरूको सहारामा हिमाल, तराई, पहाड, भित्रिमधेश यात्रा गर्नु आफैमा निकै जोखिमपूर्ण र साहसिक छ, उल्लासपूर्ण छ । बाल उत्कण्ठालाई सम्बाेधन गर्न कनक दीक्षितले गैरमानव चरित्रलाई शिल्पपूर्ण उपस्थित गराएका छन् । भ्यागुतो, चौरी, याक, मुसो लगायतका प्राणीलाई चरित्र बनाउँदा बालमष्तिष्कमा सिकाइ कौतूहल मात्र जगाएको छैन, प्राणी जगतको विषयमा जानकारी पढ्नुको साथै थप जान्ने उत्सुकता पनि जगाउँछ ।
यस अर्थमा भक्ते भ्यागुतो बालउत्कण्ठा र साहसको प्रतीक हो । जोनाथन स्वीफ्टको गुलिभर्स ट्राभल्स र मार्क ट्वीनको हक्कलेवरी फिन जस्तै यात्राका माध्यमबाट शिक्षा र जीवनशैलीका विषयमा रोमाञ्चक प्रकाश पार्नु भक्तप्रसाद भ्यागुताको नेपाल यात्राको उद्देश्य हो । शीर्षक चयनमा पनि कनकमणि दीक्षित कुशल देखिएका छन् । मूल शीर्षक धूमधामको घुमघाम चयनमा होस वा सहायक शीर्षकहरू जस्तो कि जङ्गल र जनावर, कागबेनीको नालीबेली, स्याउ र शालिग्राम, देउरालीमा ला–तो, कैलीसँगको यात्रा, चाङथाङका मार्मटहरू, लामो लामा आदिमा उनको शीर्षक कुशलता देखिएको छ ।
त्यस्तै पात्रका नाम चयनमा पनि त्यो कुशलता देखिएको छ । जस्तो कि मुख्य पात्र भक्ते भ्यागुतो, तराईको तेजुलाल, हिमालकी डोल्मा, पेम्बा, कैली आदि पात्रका नाम मात्र होइनन्, त्यहाँका जीवनशैली र संस्कृतिका पनि परिचायक हुन् । अर्को महत्त्वपूर्ण पक्ष यो बालनियात्रा नेपाली बालबालिकाका लागि मात्र ज्ञानको खुराक बनेका छैनन्, ‘एड्भेन्चर अफ अ नेपाली फ्रग’ का नाममा अङ्ग्रेजीमा र त्यसपछि डच, फ्रेञ्च, जर्मनी, जापानी, कोरियाली, इटालेली, चिनिया, स्पेनी, उर्दू, मैथिली आसामी, तेलगु, बङ्गाली, हिन्दी आदि भाषामा प्रकाशन भै नेपालको हिमाली, पहाडी, तराईको कलासंस्कृति, भूगोल, जीनशैली र प्राकृतिक सम्पदालाई बाह्य जगातमा विस्तार गरेको छ । कमै नेपाली बालसाहित्य विदेशी भाषामा फैलिएका छन्, भक्तप्रसाद भ्यागुताको नेपाल यात्रालाई त्यो सफलता प्राप्त छ । त्यति मात्र होइन, बाह्य भाषामा मात्र उत्कृष्ट बालसाहित्य लेखिन्छन् भन्ने मान्यतालाई पनि चुनौती दिएको छ ।
भक्ते भ्यागुताको यात्रा कथा
बाह्य विश्वसँग कत्ति पनि जान पहिचान नभएको, सानो परिवेशमा खुम्चेर बसेको व्यक्तिलाई ‘पोखरीको भ्यागुतो’ भन्ने चलन छ । प्राय तः उपत्यका खाल्डोका बासिन्दाहरूलाई कुवाको भ्यागुतो भन्ने कहावत छ । कहीँ घुमफिर नगर्ने र सामान्य व्यवसाय गरेर जीवन निर्वाह गर्ने व्यक्ति कुवाको भ्यागुतो कहलिन्छ । भक्ते भ्यागुतो पनि काठमाडौँको पश्चिमतिर पर्ने काँठ इचङ्गुको धानखेतलाई संसार मानेर जीवन बिताइरहेको भ्यागुतो परिवारको सदस्य हो । ठिटौलो र जिज्ञासु भक्तप्रसादलाई आफ्नो जीवनशैलीप्रति गर्व रहनेगरी धानखेतभन्दा परको संसारको विषयमा जान्ने उत्कण्ठा जाग्यो । उसलाई मानिसहरू बस्ने शहर, तराईको समतल फाँट, अग्ला पर्वत, ठूला नदीहरूका साथै अन्य जीवनजन्तु, वनस्पति, जस्ता प्रकृतिको विविधता हेर्न मन लाग्यो । भक्तप्रसाद हजुरबुबा बुद्धिप्रसाद, आमा सानुमैयाँ लगायत आफ्ना साथीसङ्गातीसँग बिदा भएर स्वयम्भू हुँदै रत्नपार्क, काठमाडौँ गणेशथान, शहरको नाली, बिष्णुमती, बाग्मती हुँदै तराईको समतल भाग पुग्यो ।
तराई नपुुग्दासम्म धेरै डराएको भक्ते तुल्सीरामको सङ्गतले चितवन घुम्छ । तराईको भ्यागुतो चैतुलालसँग दोस्ती गर्छ र त्यहाँको जीवनशैलीसँग परिचित हुन्छ । नेपालकी पहिलो महिला ट्रक चालक फूलमायासँग मित्रता गाँस्छ र पोखरा पुग्छ । पोखरा, फेवाताल, पोखरेली भोजको मज्जा लिएर माछापुच्छ्रे को खोजीमा हिँड्छ । धम्पुस हुँदै घान्द्रुक पुग्छ र माछापुच्छ्रे हेर्दै अन्नपूर्ण, कालिगण्डकी हुँदै शालिग्राम खच्चडको सहयोगमा मुस्ताङतिर लाग्छ । मुस्ताङको स्याउमा रमाउँदै त्यहाँको प्राकृतिक संस्कृतिको जानकारी लिन्छ ।
कालीगण्डकीको चिसो बतास खाँदै कागबेनीमा साहिँली झोपासँग दौँतरी गाँस्छ । कठिनले मुक्तिनाथ पुगेर आगो र पानीको मेल भएको अर्को संस्कृतिका बारेमा रमाउँछ, यो उसलाई अद्भुत लाग्छ । हिन्दु, बुद्ध धर्मको समागम मुक्तिनाथमा धर्मभिरु त आउँछन्, नास्तिक पनि आएकोमा अचम्म मान्छ । त्यसपछि थोरुङ्ला पास गरेर मनाङ जाने इच्छा थाती राखेर हिमाली मरुभूमितिर लाग्छ । देउरालीमा ला–तो हेर्दै ‘ओम् मणि पद्मे हुँ’ को आनन्द लिन्छ । पेम्बाको साथमा लोवाहरुको राजधानी लो–मान्थाङ् पुग्छ ।
भट्टीकी सुन्दरी डोल्मासँग परिचय गर्छ, बुट्टेदार कचौरामा चम्पा र चिनिया कपमा चिया पिउँछ । त्यसपछि नेपाल चीन सीमा चाङथाङ पुग्छ । कैली चौरीसँग डोल्पो लाग्छ । बोन्पोमार्गी नीमा च्याङ्ग्रोसँग शे पुग्छ र लामो लामाको बुद्धदर्शन एवम् प्राणी र प्रकृतिको विषयमा दिएको ज्ञानबचनले रोमाञ्चक बन्छ । त्यसपछि फर्किने क्रममा जुफाल विमानस्थलबाट आकाश भैरव कप्तानसाथ सहयोगमा काठमाडौँ फर्कन्छ । फर्किंदा निक्कै ज्ञानी, गुणी र परिपक्व भएर फर्केको उसलाई उसको गाउँमा भव्य स्वागत हुन्छ । साँच्चै भक्ते भ्यागुतो धुमधामले देशदेशावर घुमेर ज्ञानी भएर फर्केको छ ।
बालसाहित्यको रूपमा ‘धूमधामको घुमघाम’
मूलतः भर्खरका सिकारु (अर्लि रिडर) लाई लक्ष्य गरेर लेखिएको धूमधामको घुमघामले बालबालिकाको कलिलो मन–मस्तिष्कमा जान्ने, बुझ्ने, साहसिक यात्रा गर्ने कुरालाई मनोरञ्जनपूर्ण तरिकाले प्रस्तुत गरेको छ । पहिलो त यसले नेपालको भूगोलको जानकारी दिएको छ । नेपालको भूगोल काँठ, उपत्यका, समथल तराई, भित्री मधेश, पर्वत शृङ्खला, हिमाली मरुभूमिको सिलसिलाबद्ध उल्लेख गरेको छ । भूगोल र अवस्थितिले जीवनशैली र रहनसहनमा पारेको प्रभाव पनि बुझाउने प्रयास गरिएको छ ।
अर्को पक्ष नेपालको विविध संस्कृतिसँग चिनाउन नियात्राले धेरै प्रयास गरेको छ । तराईमा बयल गाडी, पहाडमा आधुनिक सवारी साधन, मुस्ताङतिर खच्चड र उच्च पहाड र हिमालमा पुगेपछि चौरी र च्याङ्ग्राले यातायात धानेको छ । हिमालको यातायात संस्कृति, च्याङ्ग्रा–चौरीको भारी संस्कृति र त्यसैमा देखिएको सादा जीवनलाई कनक दीक्षितले थाहै नपाई बालशिक्षा दिइरहेका छन् ।
डोल्पोको जमिन सुखो छ, त्यहाँको जीवन दुःखी छ । भक्ते भ्यागुतोको अनुभूतिमार्फत जमिन र जीवनको नाता देखाइएको छ । डोल्पोमा बाहिरका मानिसहरू कमै आउँछन्, त्यसैले संस्कृति र जीवनशैली पुरानो छ । देशदेशावर घुमेबुझेका मानिसहरूमा सीप, शिक्षा र संस्कार बेग्लै हुन्छ भन्ने कुरा नीमाको माध्यमबाट कनकमणिले बताइरहेका छन् । उनले बालबालिकालाई यो पनि बताइरहेका छन् कि संस्कृति, सीप र प्रविधि बाह्य समाजसँगको समागममा परिमार्जन हुने गर्दछ ।
काठमाडौँको बाटोमा मन्दिर परे, मुस्ताङमा गुम्बा परे दायाँ पारेर हिँड्ने चलन छ । यसले धर्म र जीवन प्रणालीमा फरक पाइए पनि संस्कृतिमा भने समानता रहन्छ भन्ने देखाइएको छ । तर डोल्पोको छार्तेनलाई बायाँ पारेर हिँड्ने चलन तिब्बती संस्कृति हो । आधुनिकताले तिब्बत र काठमाडौँका परम्परा बदलिसकेका छन् । तर डोल्पो संस्कृति त्यति बदलिएको छैन, भनौँ मौलिक र भर्जिन छ । नबताईकन बालमस्तिष्कले बुझोस् भन्ने आशय सर्जकले राखेका छन् । साथै भूगोल र हावापानी फेरबदलसँगै संस्कृति, रहनसहन, जीवनशैली, खानपान सबै बदलिन्छन्, त्यो बुझाउन भक्ते भ्यागुतोको धूमधामको यात्रा तय गरिएको हो ।
भक्तप्रसादले डोल्पो यात्रामा लामो लामासँग सिकेको ज्ञान निकै फराकिलो छ । संसारमा जन्म लिएपछि प्रकृति, प्राणी र वनस्पतिको अन्तरसम्बन्ध बुझ्नुपर्छ । जीवन भनेको जन्म, मृत्यु र पुनर्जन्मको चक्र हो । प्रकृतिले जीवनचत्रललाई व्यवस्थित गरिरहेको हुन्छ । प्रत्येक चेतनशील प्राणीले आफ्नो जीवनको हरेक अवस्थामा पवित्र विचार राख्नुपर्छ र असल कर्म गर्नुपर्छ । सबै प्राणीप्रति करुणा र दयाभाव राख्नुपर्छ । प्राणीमा हुनुपर्ने असल गुण के हो भने उसले कुनै पनि कुरालाई आफ्नो नजरबाट मात्र होइन, अरूको नजरबाट हेर्नुपर्छ, अरूमा सहानुभूति राख्नुपर्छ । प्रकृति सबै प्राणीको साझा बासस्थल हो, प्रकृति सजीव–निर्जीव बस्तुहरूको आपसी सम्बन्धबाट जीवनचक्र व्यवस्थापन गर्छ । प्रकृति र प्राणी एकापसमा सम्बन्धित छन् ।
हरेक बस्तु आफ्नो अस्तित्वको लागि अर्को बस्तुमाथि निर्भर रहन्छ । लामो लामाको दार्शनिक भनाइमा भक्ते भ्यागुतो धेरै अर्थ देख्छ, चिन्तित हुन्छ । वास्तवमा उसको यात्रा नबताए पनि यही अन्तरसम्बन्धको खोज हो । लेखक लामो लामा बनेर, वा कैली बनेर वा भक्ते भ्यागुतो बनेर त कहिले पेम्बा, डोल्मा बनेर नैतिक शिक्षा र सहयोगी भावनाको सन्देश दिइरहेका छन् । मुख पात्र भक्तप्रसादले यात्रामार्फत प्राणी, प्रकृति र जीवनको रहस्य खोजिरहेको छ । काठमाडौँको इचङ्गुमा बसेको भए, साहसको यात्रा नगरेको भए, बाजेबराजुको परम्परा धानेको भए त्यो प्राप्त हुँदैनथ्यो । यात्रा आफै ज्ञानको मार्ग हो यसर्थ बालबालिकालाई साहस र सिर्जनाको सामर्थ्य दिनु कृतिको उद्देश्य हो ।
यो यात्राले स्थानीय रङ्ग र मौलिक लवजहरूलाई टिपेको छ । परालको बोझा, गोवरको थास, दनदनाएर, ला–तो, लोथ, डम्फु, टुङ्ना आदि समाजले भुल्न लागेका स्थानीय विशेषतालाई उठाएको छ । त्यसैले यो मौलिकता संरक्षणको पुनर्खोज पनि बनेको छ । वातावरण, धर्म, संस्कृति, समाज, शासन र जीववनस्तीलाई एकै ठाउँमा राखेको बालबालिकालाई खुराक दिएको छ । भक्तप्रसाद टिनको ट्वाकमा बसेर, चौरीको पिठ्यूँमा बसेर, ट्रक, खच्चड र याक चढ्दै अन्त्यमा हवाईजहाज चढेर धूमधामसँग तर सन्देह र साहसमा यात्रा गरी फर्केको छ ।
भक्तप्रसादसँगै बालबालिकाहरू मुलुकका विभिन्न स्थानमा रमाउँदै, हौसिंदै, डराउँदै, उल्लासिंदै नेपालको यात्रा गर्दछन् । इचङ्गुदेखि स्वयम्भू, रत्नपार्क, रानीपोखरी, शहरबजार, नालाको विषयमा जानकारी लिन्छन् । विकास, संस्कृति र जीवनशैली बुझ्छन् । भक्तप्रसाद टिनको ट्वाकमा बसेर बागमती नदीमा हेलिँदै तराई झरेपछि जोखिमपूर्ण यात्राले अर्को मोड लिन्छ र बालबालिकाहरू उत्सुकताले रमाउँछन् । भक्ते तराई पुगेपछि त्यहाँको रहनसहन, जैविक विविधताको जानकारी लिन पुग्छन् ।
पोखरा यात्राले मनोरम प्रकृति र आधुनिक जीवनशैली देखाउन पुग्छ । अन्नपूर्ण शृङ्खला, कालीगण्डकी र मुस्ताङ यात्राले पर्वतीय संस्कृति र जनजीवनको जानकारी प्राप्त गर्छन् । बाटोमा भेटिएका चौरी, झोपा, खच्चड आदिले मानिस र अन्य प्राणीसँगको निर्भरता देखाएको छ भने मानिस नै सबै प्रणालीको नियन्त्रक बनेको देखाएको छ ।
डोल्पोतिर लागेपछि जटिल प्रकृतिसँगै सङ्घर्ष गरिरहेको नेपाली जीवनको जानकारी लिन्छन् । प्रकृति र मानव सम्बन्ध, भूगोलसँगै परिवर्तन हुने जीवन संस्कृति र जटिलतासँग संयोजित हुने मानवीय स्वभावलाई पनि नियात्रामार्फत देखाइएको छ । वयस्कका लागि लेखिएको भए यसका पात्र, यात्रा क्रम, भाषा, प्रस्तुति र कथाशृङ्खला फरक हुने थिए । वास्तविक बालसाहित्य लेख्न, बालसामग्री उत्पादन गर्न निकै असजिलो विषय हो । आजभोलि भक्ते भ्यागुतोले यात्रा गरेको भए कनकमणि जेरी सेगल बन्थे, नियात्रा सुपरमेन हुने थियो र भक्तप्रसाद चाहिँ क्रिस्टोफर वा टाइलर होइचिलिन बन्ने थियो । तर भक्तप्रसादको अर्को संस्करण सुपरमेनभन्दा अत्याधुनिक दृश्ययात्रामा आउन नसक्ला भन्न सकिन्न ।
००००
उपसंहार
भक्तप्रसाद भ्यागुताको नेपाल यात्रा ः धूमधामको घुमघाम नेपाली बालसाहित्यमा षडरस स्वाद दिन, आफ्नै वैशिष्ट्य कायम गर्न सफल छ । काल्पनिक घटनाक्रमका कथावृत्तिमा बालबालिकालाई कौतूहलपूर्ण ज्ञानको भोक जगाएको छ । प्रस्तुतिमा ठाउँठाउँमा चित्रभाषाले नियात्रालाई सम्प्रेष्य बनाएको छ । भ्यागुतोको कथा पढ्दापढ्दै बालबालिकाहरू देश र समाज पनि पढ्न पुग्छन्, भूगोल र प्रकृति पनि बुझ्न पुग्छन् । यस अर्थमा भक्तप्रसादको नेपाल यात्राको अर्थवत्ता लेखिए र देखिएभन्दा पनि बृहत् छ । यो साथीत्व, सामाजिकता, संस्कृति र साहसको सङ्गम हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

