अमेरिकामा रहेर नेपाली भाषा र साहित्यलाई संसारभरि पु-याउन संगठनात्मक भूमिका खेलिरहनु भएकी साहित्यकर्मी गीता खत्रीको नयाँ पुस्तक ‘उडेको आकास डुलेको धर्ती’ बजारमा आएको छ ।

गीता खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा, बोर्ड अफ ट्रस्टी हुनुहुन्छ । अनेसासको आजीवन सदस्यदेखि कार्यकारी अध्यक्ष हुँदै अहिले उहाँ ट्रस्टी अध्यक्ष हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी कुशल संगठनकर्ता मानिनुहुन्छ ।

बिहीबार संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नै निवासमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका सदस्यहरुका बीच उक्त पुस्तकको विमोचन गर्नुभएको हो । ‘उडेको आकाश डुलेको धर्ती’ नियात्रा सङ्ग्रह हो ।

जोशीले जब अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा महिलाहरूको बोलाबाला देख्नुभयो, उहाँले राजा जनकको समयकी विदुषी गार्गीको कथा सुनाउनु भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेपाल च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा पुरुष पदाधिकारीभन्दा महिला पदाधिकारीहरू बढी देखिनु भएपछि जोशीले गार्गीको कथा सुनाउनु भएको थियो ।

‘मैले यस किसिमले महिलाहरू पदमा पुगेको कमै देखेको थिएँ, त्यही कारणले मलाई रमाइलो कथा सुनाउन मन लागेको हो ।’ कार्यक्रम समापनपछि संस्कृतिविद् जोशीले साहित्यपोस्टसँग भन्नुभयो, ‘हाम्रो पालामा महिला साहित्यकार भेट्नै मुस्किल हुन्थ्यो, पदमा पुग्ने महिला त कता हो कता ! त्यसैले मैले नेपाली शास्त्रीय साहित्यकी चर्चित पात्र गार्गीको कथा सुनाएको हुँ ।’

वैदिक कालमा भने महिलाहरूको अवस्था प्राचीन कालभन्दा राम्रो भएको संस्कृतिविद्को कथन थियो ।

कार्यक्रममा अनेसासकी केन्द्रीय सचिव विमला निरौला, सदस्य डा. रेणुका थापा सोलु, नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी, बोस्टर्न च्याप्टरका अध्यक्ष दीपा राई पुनः उपाध्यक्ष सरिता अर्यालको नाम सुनेपछि वक्ताहरु बोल्दा बोल्दै शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई अनौपचरिक बनाउनु भएको थियो ।

कविता, कथा, गीत, नाटक जस्ता बहुविधामा कलम चलाउने गीता खत्रीले थोरै व्यक्ति बोलाएर आफ्नो पुस्तक विमोचन गर्दा धेरै व्यक्ति छुट्नु भएकोमा दुःख मनाउ गर्नुभयो ।

‘सत्यमोहन जस्तो शताब्दी पार गर्नुभएका विशिष्ट व्यक्ति प्रमुख अथिति हुनु भएको कार्यक्रममा भीड जम्मा गर्नु अहिलेको अवस्थामा अपराध हो । उहाँको दीर्घ र स्वस्थ जीवनका लागि पनि सानो कार्यक्रम गर्नु बाध्यता थियो । यो बाध्यताका लागि क्षमा गरिदिनु हुन मेरा सबै मित्रसँग अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।

महिला साहित्यकारहरूको बाहुल्य रहेको कार्यक्रममा केही पुरुष साहित्यकारहरू पनि उपस्थित हुनुहुन्थ्यो । त्यसमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुईँटेल, निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसी मदन पुरस्कार विजेता नियात्राकार एवं अनेसासका आजीवन सदस्य युवराज नयाँघरे प्रमुख हुनुहुन्थ्यो ।

‘उडेको आकास डुलेको धर्ती’ जापान र अफ्रिका यात्राको कलात्मक अभिव्यक्ति भएको गीता खत्रीले बताउनु भयो । प्रकाशकलाई पाण्डुलिपि बुझाएको छ वर्षपछि उक्त पुस्तक बजारमा आएको बुझिएको छ । विमोचनकै अवसरमा वक्ताहरूले पुस्तक प्राप्त गरेका कारण पुस्तकमाथि गम्भीर चर्चा भने हुन पाएन ।

‘पुस्तक पढेपछि सबैले पुस्तकका विषयमा लेखिदिनु होला,’ कार्यक्रममा गीता खत्रीले उपस्थित व्यक्तिहरूसँग भन्नुभयो, ‘मैले इमान्दारीपूर्वक लेखेकी छु । धेरै कलात्मक लेख्न सक्तिनँ तर मेहेनत गरेकी छु । किताब मन परेन भने यो ठीक भएन भनेर लेख्नुभयो भने म अझै खुसी हुनेछु । किनभने त्यसले मेरो लेखनमा सुधारको मौका दिनेछ । अर्को पुस्तक सुधार भएर आउनेछ ।’

पुस्तक रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।