
दुई दशकदेखि सिर्जनायात्रामा निरन्तर रहेकी गीता खत्रीका दर्जनौँ सिर्जना नेपाली वाङ्मयले पाइसकेको छ । नेपाल बाहिर रहेर नेपाली मनमुटुलाई लेख्ने र साहित्यमार्फत नेपाली पहिचान विस्तार गर्ने अभियान्ताका रूपमा पनि गीता खत्रीको परिचय स्थापित छ । एउटा स्रष्टा जेजति विधा/प्रविधामा सिर्जनशील भए पनि उसको सिर्जनाको अन्तर्य सबैतिर उस्तै हुने गर्दछ । सर्जकलाई घोच्ने, बिजाउने र प्रभाव पार्ने विषय चाहिँ एकै हुन्छ, उसले चिने–बुझेको समाज एकै हुन्छ । कथा, कविता, गीत, गजल र नियात्रा जहाँ रहे पनि स्रष्टा गीता खत्री पनि यसको अपवाद होइनन् । सबैतिर मानवीय संवेदना र डायस्पेरिक चेतना उनका सिर्जनाका केन्द्रीय भाव हुन् । प्रस्तुति संरचना र शैली विधागत रूपमा भिन्न रहे पनि गीत, कविता, आख्यान र नियात्रा निबन्धले साझा गर्ने विषय समान छ ।
मानवीय संवेदनालाई मनैबाट स्पर्श गर्न सिपालु गीताका सिर्जनामा प्रेम, प्रकृति, राष्ट्रियतालाई मिहीन रूपमा उठाइएको हुन्छ । उनको चर्चित खण्डकाव्य ‘आमा हुन् आमा’ नारी संवेदना, मातृप्रेम र मातृभूमि प्रेमको मार्मिक प्रस्तुति हो । आमालाई केन्द्रमा राखेर आमाकै वरिपरि काव्यकथाले आवृत्ति गरेको छ । मातृभूमि नेपाल र कर्मभूमि अमेरिकालाई भावनात्मक रूपमा जोडिएको यस कृतिले डायस्पोरिक संस्कृतिलाई सुन्दर र मार्मिक ढङ्गले चित्रण गर्दछ । यस कृतिले नाट्य रूपान्तरण र मञ्चन सफलताको अवसर पनि पाइसकेको छ । ‘आमा हुन् आमा’लाई अहिलेको ‘मुनामदन’ वियोगान्त काव्यकथा भनिदिए हुन्छ । लक्ष्मीप्रसाद देवकोटाको समय र गीता खत्रीको समय फरक भएकाले त्यो फरकपनले काव्यरूप पाएको हो भन्न सकिन्छ । कवि गीताले आमालाई विम्बचेतका साथ लिएकी छन् । ‘अन्त्यहीन इच्छा’ मा सङ्ग्रहित कथाहरूले जीवनका ससाना घटनाक्रम र त्यसले पार्ने प्रभावलाई आख्यानीकरण गर्ने खुबी कथाकारमा रहेको देखिन्छ । पछिल्लो कृति ‘रोबोर्ट जर्ज’ले सामाजिक चेत र सामियकचेत सर्जकमा साथै गएको देखाउछ । अल्गोरिदम सार्वभौम बन्दै गएको वर्तमान समयमा यसले जनजीवनका सबै आयामलाई एकैचाटी कसरी गाँजेको छ भन्ने आख्यानीकरण गरेकोछ । प्रथम आकृतिमा विज्ञानकथा (साइफाइ) जस्तो लागे पनि यो उपन्यास प्रवृधिले धावा बोलेको, निमानवीकृत बन्दै गएको समाजको कथा हो । समाज क्रमशः अल्गोरिदममा बाधिँदै गएको छ, सर्जकको अक्लनाशीलताले त्यसलाई उतारेको छ । उनका सबै सिर्जनामा पाइने साझा स्वर भनेको डायस्पोरिक संस्कृति हो । कुनै कृतिमा अलि गाढा र कुनैमा कम पाइएला । नारी हस्ताक्षर भएकाले मानवीय संवेदनालाई सरल रूपमा चित्रण छन् । किनकि नारीचेत त्यो शक्ति हो जसले संयमित भएर मानिसको मष्तिष्कलाई अक्षरमा उतार्न सक्छ ।
‘उडेको आकश डुलेको धर्ती’ गीता खत्रीको दोस्रो नियात्रासङ्ग्रह हो । नियात्रा साहित्य प्रयोजनपरक र वस्तुपरक दृष्टिदृश्यका साथ लेखिने गर्दछ । यसका छुट्टै विशिष्ठता छन् । खास ठाउँ देख्ने आशक्तिले मानिसका मनमा आउने आकृतिको बयानले नियात्राकारको शैली र कल्पनाशीलताको सङ्केत गर्दछ र त्यहीँबाट नियात्राको शुरु हुन्छ । ‘अनेक प्रयासमा जापान’ को शुरुको हरफमा जापान र जापानीहरूप्रति नियात्राकारको मनमा एउटा विम्ब बनेको छ । अन्य विधामा यो रचनागर्भ जस्तै हो । कुनै ठाउँ घुम्नुका पछि खास आशक्ति र चाहना छिपेर रहेका हुन्छन् ।
नियात्रा पहिचान र सम्बन्धको पृष्ठभूमिमा रहन्छ । नियात्राले त्यै सम्बन्ध र पहिचानलाई गाढा र विस्तृत बनाउने गर्दछ । नियात्राकार गीता खत्री अपवाद हुने कुरा भएन । एक व्यक्तिले अर्को व्यक्ति/स्थानप्रति पहिला अमूर्त सम्बन्ध राख्छ र त्यसपछि दृश्यात्मक सम्बन्धमा जोड्छ । पहिला कल्पना, त्यसपछि अनुभूति र प्रतिक्रियाहरू । नियात्रा यस्तै हुन्छ । निबन्ध त झनै यसैको भावभूमिमा रहन्छ । त्यसपछि व्यक्ति र स्थानको सम्बन्धले अलग सम्बन्ध कायम हुन्छ । त्यो व्यक्तिगत तहबाट सामूहिकतर्फ परिणत हुन्छ । सन् १६३१ तिर फ्रेन्च यात्री अलेक्सी डी टुकेभेलीले अमेरिका यात्रा गरेपछि दुई मुलुकबीच सम्बन्ध र पहिचान विस्तार हुने क्रम तीव्र भएको थियो । प्राचीन समयमा हुएन साङ र अशोकको यात्राले उतिखेर देशहरूबीच सम्बन्ध र पहिचानलाई सञ्चार र सम्बन्धमा लगेको थियो । हिरोशिमाको शान्ति स्मारक र एटोमिक डोम घुम्नेहरू यही प्रक्रियामा आफू जोडिन्छन् र आफ्नो मुलुकलाई जोड्छन् । गीता खत्रीका नियात्राहरूले पनि यसै गर्ने अव्यक्त अभिलाषा राखेका छन् ।
नियात्राकारमा रहेका जापानप्रतिको अवधारणा अरुहरूमा पनि रहेको छ, जजसले जापान यात्रा गरे । त्यो अद्भूत प्रगतिको देश, अनुशासित श्रमजीवीहरूको देश, प्रविधि र समृद्धिले संतृप्ति पाएको देश, कतिपय सन्दर्भमा प्रविधिले प्रकृतिलाई परास्त गरेको देश जहाँ गएपछि सजिलै पैसा कमाउन सकिने अवधारणा फिजिएको छ । १९९० को दशकदेखि नेपालीहरू विदेश घुम्न, वैदेशिक रोजगारीमा, पढ्न भनेर उतै रोजगारी गर्न, छात्रवृत्ति भनेर उतै रमाउन, कला–खेल देखाउन भनेर उतै रमाउन र कर्मचारी भएर तालीम मनोनयनमा गएर उतै बस्न यही अवधरणाले काम गरेको छ । जापान मात्र होइन, अन्य विकसित मुलुकमा पनि । मानिसको मनोविज्ञान बनिबनाउ ठाउँ, विकसित ठाउँमा रमाउने गर्दछ, आफैँ आफ्नै ठाउँलाई रमाउने बनाउन भन्दा । फेरि अर्को मुलुक गएर गर्नुपर्ने सङ्घर्ष, प्रतिस्पर्धा र सामाजिक सम्मिलनका क्रममा आउने पीडाहरू बेग्लै रहन सक्दछ । त्यहाँका विषयमा गहिरिएर हेर्ने थोरै नियात्राकारले त्यसको अन्तर्य बुझ्छन् । गीता खत्रीले गहनतामा पुगेर त्यो प्रयास गरेकी छन् । पेरिसका रघुजी धेरैका लागि ‘वाहवाह रघुजी’ हुन् तर उनको एक्लोपनले उनको दुःखको छनक गीताले मनन गरिन् । सुखदुःख जहाँ रहे पनि चलिरहने रीत हो तर विदेशको रीत विशेष हुन्छ, भावनामा, सम्बन्धमा, सम्मिलनमा, दैनिकीका अरु धेरै आयाममा । प्रायः यस्ता नदेखिने कुराहरू देखाउनु नियात्राकारको विशेषता हो ।
विदेशको बसाइ यान्त्रिकतामा स्वचालित हुन्छ । त्यो यान्त्रिकताले जीवन र सम्बन्धलाई निमानवीकृत पनि बनाउन सक्छ । साथै विदेशमा रहने स्वदेशीहरू जतिसुकै यान्त्रिक दैनिकीमा रहे पनि सहयोग र आतिथ्यमा रहन्छन् । आफ्ना मानिसहरू आउँदा माया र हार्दिकता बोकेर आउछन् भन्ने मनोभाव उनीहरूमा रहेको हुन्छ । गीता खत्रीको जापान यात्रा र यो यात्रा वर्णनमा यी परस्पर प्रतिस्पर्धी भावनाहरू साथ साथ आएका छन् ।
यात्राको विशेषता उत्साहका साथ जोखिम पनि हो । कौतुहलका साथ त्रास र सन्देह पनि हो । यात्री खुशी र मोहकतालाई आत्मसाथ गरिरहेको हुन्छ भने यसको अर्को पाटोमा अन्जान स्थानमा कसरी यात्रा गर्ने, कस्ता मानिस र यातायात प्रणाली हुने, त्यहाँको परिवेशसँग कसरी अनुकूलित हुने भन्ने अन्तर छटपटी पनि स्वाभाविक रूपमा रहने गर्दछ । विदेश आफैँमा नौलो हो । नौलोले खुशी र भय साथसाथै ल्याउँछ भन्ने गीता खत्रीका नियात्राका नैसिर्गिक पक्ष हुन् । नागासाकीको यात्रा होस् वा नाइभाषाको, केन्याको होस वा कानकुन, माम्वा वा मसाइ सबैमा यी दुई विषय साझा छन् । यी परस्पर प्रतिस्पर्धी विषयले यात्रालाई रमाइलो र कौतुकमय बनाएको छ, सावधान पनि । यो अरु नियात्रीलाई पनि शिक्षा हो ।
जापान जानेले जापानको प्रविधि हेर्छन्, त्यहाँको समृद्धि र मोहकताबाट रमाउछन्,–आकिहावारा, सिन्जुकू, गिन्जा, ओदाइवा, ओशाकाहरू हेर्छन् । क्योटो र किन्काकुजीको सांस्कृतिक–पुरातात्विक कुरा हेर्छन् । कामाकुराको अमुदा बुद्धमा लेखेको ‘भारतीय राजकुमार’ को शब्दबाट नेपाली राष्ट्रियता उमाल्छन् । नागरिक र हिरोशिमाको ऐतिहासिक घटना जान्न खोज्छन् । एटोमिक डोम र शान्ति स्मारक, मसरुम क्लाउडका दृश्यचित्रहरू, दुःखी आमाको प्रार्थना र अरु धेरै कुराहरू हेरेर मन भक्कानो पार्छन्, यतिखेर सबैको आँखा रमाउन पुग्छ । अनि त्यहाको कला, सभ्यता, संस्कृति र रहनसहन हेर्छन् । नियात्राकार गीताले पनि त्यही गरेकी छन् । ससाना क्रियाकलाप, दृश्य र अनुभूतिलाई शिल्पको लेपनमा मिहीन ढङ्गले उतारेकी छन् । नियात्रा दैनिकीले यसरी नै क्रियाकलापका सिलसिला टिपेपछि पाठक पनि नियात्राकारसँगै यात्रा गर्ने नै भए । ‘उडेको आकाश डुलेको धर्ती’ले पाठकलाई उनकै समानुभूति, दृश्यचेत र प्रतिक्रियामा उडाएको, डुलाएको छ । बुझाएको, भुलाएको छ । हजार कागजी सारस, पिस मेमोरिएल, मोनुमेन्ट, क्यासल, फुजी सान, कामाकुरा, हासीगामा, किन्काकुजी जतासुकै पाठकलाई मनमस्त घुमाउँछ । अमेरिका, मेक्सिको र अफ्रिकाका केही भाग पुर्याउँछ ।
गीता खत्रीको नियात्राको अर्को विशेषता यसले यात्राको मात्र वर्णन गर्दैन, त्यहाँ रहेका नेपालीहरूले के गरिरहेका छन्, उनीहरूको दैनिकी कसरी बितिरहेको छ, व्यस्तता र वृत्ति दैनिकी कस्तो छ भन्ने विषयलाई मिहीन रूपमा औल्याउने गर्दछ । तर ती वर्णनका, संस्मरणका नभै यात्राका भावभेगीमा मिसाइएका छन् । त्यहा व्यक्तिको व्यवहार पनि देखिन्छ, स्वभाव र संस्कृति पनि देखिन्छ । जापानमा, फ्रान्समा, अमेरिकामा रहेका नेपालीहरूको व्यवसाय, वृत्तिदैनिकीहरूबाट पाठकहरू परिचित हुने अवसरमा छन् । यसैले नियात्रा जानकारीको पुञ्ज त हुँदै हो, भावना र प्रतिक्रिया पनि सरल शैलीमा पोखिएका छन् । यसले नियात्राकारलाई डायस्पोरिक चेततर्फ लगेको देखिन्छ ।
नियात्रा पढिरहँदा जापान यात्रा गरेको पाठक एकैचोटि अमेरिका पुग्छ । क्योटोबाट शिकागो पुग्छ । विचार, व्यवहार, दृश्यहरू एकाएक फेरिन्छन् । नेपाल नै ठूलो भनेर, हिमाल पहाडलाई ठूलो भनेको अनुभूति विश्वका विभिन्न महादेश, देश, शहर र सागरमा पुगेपछि विचार, बुझाइ, दृष्टि सबै फराकिएको, बालक–किशोरबाट परिपक्वमा पुगेको जस्तो मोन्टाज पनि नियात्रा शृङ्खलाले दिएको छ । भनौ स्वयम् पाठकलाई आफूमा त्यो अनुभूति हुन्छ ।
नियात्राकार अरु देश, महादेश यात्रा गर्दा मातृभूमिसँग मिल्ने कुरा, नमिल्ने कुरा नियाली रहन्छिन् । उनीसँग जतिखेर पनि मातृभूमि मन र राष्ट्रप्रेम रहेको हुन्छ । क्यालिफोर्निया, कोलोराडो, लाम्वार्डको बाटो, ओरालो उकालो, घुम्टी–थुम्काहरूमा नियात्रकारका आँखाले नेपाल पाएको छ । नेपाल सापेक्ष्य दृश्यहरू झुल्किएका छन् । लसभेगासको बिजुलीको तरक्की र नेपालको लोडसेडिङको सम्झनाले नेपालप्रति मायालाई देखाएको छ । ग्रफिथ पार्कमा पुग्दा गोदावरी–फुल्चोकी आइपुग्छ । लसएन्जेलस पुग्दा मन काठमाडौँतिर हानिन्छ । खास ठाउँमा खास विशेषतासँग मातृभूमिलाई तुलना गरिएको छ । सबै अवयवसँग होइन, जुन सम्भव पनि छैन तर खास अवस्थमा, खास स्थानमा नेपालको दृश्यभाव, सापेक्ष्यतामा नेपाल खोज्ने प्रवृत्ति राष्ट्रियता र मातृभूमिप्रतिको अनुराग हो ।
घुम्न सक्नेले, भ्याउनेले घुम्ने र लेख्न सक्नेले लेख्नाले घुम्न नपाउने/नसक्ने अनि लेख्न नसक्नेले पढ्ने प्रवृत्तिले सिर्जनाको संसार रच्छ । यात्रा गर्न मन मात्र भएर पुग्दैन, तयारी चाहिन्छ, नियात्रा पढेर ती ठाउँमा तयारी नगरी पुग्न, रम्न रमाउन सकिन्छ । त्यसैले नियात्रा साहित्य पढ्नु संसार घुम्नु हो, रमाउनु हो । ‘पैसा नतिरी हेर्ने वा भ्रमण गर्ने कुनै ठाउँ छैन’ । नियात्रासाथ पाठक पैसाविना नै संसारको सफर गर्छ । यो जानकारीको स्रोत त हुँदै हो । जस्तो कि नापा भ्यालीको वाइन उत्पादन, वाइन टेस्टिङ (सिट डाउन टेस्टिङ, बार टेस्टिङ, ब्यारेल टेस्टिङ, वाक अराउण्ड टेस्टिङ) का स्वाद, हुभर बाँधको तरक्की, हलिउडको यथार्थ, अल्काट्राजको बदलिदो रूप, केन्याको मसाइमारा, चिचेनिट्जाका पिरामिड आदि जानकारीका अथाह स्रोत हुन, मनोरञ्जनसँगै जान्न पाइने कुरा ।
गीता खत्रीले ‘उडेको आकाश र डुलेको धर्ती’ सबै स्थानलाई सुन्दरताको आँखाले हेरेकी छन् । यात्रीहरू सुन्दरतालाई पछ्याउछन् र सुन्दरताकै बखान गर्छन् । शब्दशक्ति भएकाहरू सुन्दरतामाथि सिर्जना गर्दछन् । ठाउँपिच्छेका मानिसका व्यवहार बदलिएका छन् तर ती सबै सुन्दर छन् । क्योतो र पिएर–३९ को व्यवहारबीच धेरै फरक छ, क्यालिफोर्निया र कानकुनबीचका दृश्यहरू आनका तान भिन्न छन् । मानिसका व्यवहार, रङ्ग, रूप, भाषा, लवज सबै भिन्न छन् तर ती सबै सुन्दर छन् । प्रकृतिले हेला गरेको नेभादा र माया गरको नेपाल दुवै सुन्दर छन् । कर्मले सम्सुम्याएको नेभादा र कर्म नगरी सुख खोजिएको नेपालको चित्र छ । प्रकृतिले दिएको विविधता सम्भावना कि जोखिम, जटिलता कि सौन्दर्य भन्ने प्रश्न नियात्राले नभनीकनै ठड्याएको छ । सबै आफ्नै पहिचानमा छन्, सम्भावना र सुन्दरतामा छन् । विविधताले जटिलता ल्याए पनि त्यो मन स्पर्श र मनले सुन्दर हो । नागकासाकी र हिरोशिमा सुन्दर बनिसके, फुजी सान सन्दर छ । नेभादा, डेथभ्याली, क्योतो, कानकुन, केन्या, कोजुमेल, चिचेनिट्जा, इक्वेडरहरू, रिष्टा भ्याली, नाइभासा आफ्नै सुन्दरता र पहिचानका स्मारक हुन् । नियात्राकरले मनले ती सबैलाई मिहीन स्पर्श गरेको छ, स्पर्शका अनुभूतिहरू अक्षरले सकेजति उठाएका छन् । सर्जकहरू सबै सुन्दर देख्छन् । उनीहरूको मन, दृष्टि, सोच, संस्कार सबै सुन्दर हुन्छ । त्यसैले त उ स्रष्टा हो ।
यात्रामा कसरी रमाउने, यात्रालाई कसरी उपयोग गर्ने विषयमा पनि गीता खत्रीले थुप्रै सिकाएकी छन् । हुन त नियात्राकारको व्यक्तित्व, चाख, सोच र अभिमुखीकरणले यात्रामा रमाउने तरिका र यात्रा विधिमा फरक पार्दछ । ‘स्मृतिका प्रतिविम्ब’ का राम लामा ‘अविनाशी’ मानिसका दुख पीडाका कथाहरू बढी हेर्छन्, ‘नीलगिरिको छाया’ र ‘सात सूर्य एक फन्को’ मा प्रकृति र संस्कृतिका खोज छ, ‘आँखाभरि रमिता मनभरि वेदना’ मा शासन, समाज र संवेदनशीलताको त्रिकोणीयता छ, ‘हिमाल पारी’ मा हिमालको महिमा छ, ‘अक्षत अन्टार्कटिका’ मा रोमाञ्चक अनुभूति छ । ‘बेलायत तिर बरालिँदा’ र ‘पाताल प्रवास’ मा मातृभूमिको प्रेम र विदेशका भोगाइ छन् । ‘उडेको आकाश डुलेको धर्ती’ खोज र अनुभूतिको मसिनो विवेचना गर्दछ । गीता खत्रीको यात्रावृत्ति नै सामान्य मानिसलाई यात्रामा आराल्नु हो । यात्रालाई सामन्यीकृत गर्नु हो । त्यही सङ्क्षेत्रबाट सुन्दर संसार चियाउनु हो ।
ठूला शहर घुम्नुको पीडा बेग्लै खालको छ । यात्राका क्रममा जे गर्न पनि लाइन लाग्नुपर्ने – टिकट, होटेल बुकिङ, रेष्टुरा, रेल, पार्किङ जतासुकै लाइनैलाइन । यसले यात्रालाई अर्कैतिर पुर्याइदिन्छ । समय यात्राबीच गञ्जागोल गर्ने, आनन्दलाई विच्छेद गर्ने काम लाइनको औपचारिकताले गर्छ । तर त्यो बाध्यता हो । धेरै यात्रीहरू यसबाट आजित पनि हुन्छन् । तर यसलाई स्वीकार्नु र यसैबाट रमाउनुको विकल्प छैन भन्ने विषयलाई नियात्राकारले बताएकी छन् ।
नियात्राले केही यस्ता विषय पनि उठाएको छ जुन नउठाएको भए हुन्थ्यो कि भन्ने पाठकलाई लाग्न सक्छ । ‘साहित्यिक भेला टोकियो’ मा यस्तै विषय उठाइएको छ । जस्तो कि ‘न्यूयोर्कमा साहित्यिक माहोल सिर्जना गर्ने क्रममा मेरो गतिलो संलग्नता कसैले नकार्न सक्दैन ।’ यो वाक्य नभएको भए राम्रो हुन्थ्यो । साहित्य–कला सर्जकको स्वभावले त्यसो भन्न सम्मति दिँदैन थियो कि भन्ने पनि पाठकलाई पर्नसक्छ । यो अभिव्यक्ति नियात्राकारको आफ्नै अर्को प्रसङ्गमा पनि मेल खाँदैन । ‘मलाई त के लागेको थियो भने हामी स्रष्टाहरू इमानदार, मिहिनेती, दूरदर्शी र सत्यवादी हुन्छौं । हाम्रा अभिव्यक्ति र हामीले बोलेका बोलीले अरुको जीवनलाई समेत मार्गनिर्देश गर्नेछन् र हाम्रो जीवन त खुला किताब जस्तै हुनुपर्छ ।’ दोस्रो अभिव्यक्ति पाठक र समाजले सर्जकबाट माग गर्ने विषय हो । नियात्राारको मन पनि यही हो । पहिलो लेखकीय भावावेग हो । स्रष्टाहरू भावावेशमा पनि पुग्छन् तर सचेत मन त्यसलाई सामाजिक माग र लेखकीय दायित्वसँग निर्दिष्ट गर्दछ । जेहोस् आफ्ना भावनाको स्पष्टता भने देखिएको छ । यसले नियात्राकारको साहित्यप्रतिको समर्पण र अनेसासलाई उचाइमा पुर्याउने चाहनाको उजागर समेत गरेको छ । साहित्यलाई आग्रहभन्दा आदर्श, राजनीतिभन्दा नीति र सिद्धान्तभन्दा सिर्जनामा रहनुपर्ने भावना पनि देखिएको छ ।
नियात्रामा कति चाहिँ निजत्व, नैसर्गिक अनुभूति तथा मनले महत्त्व पाउनुपर्छ र कति कुरालाई मनले नबिटुली भर्जिन छोड्नु पर्छ भन्नेमा एकमत छैन । धेरै अंश स्थान, देश, दृश्य, त्यहीँको इतिहास, संस्कृति, जीवनशैली, दैनिकीले बोक्नुपर्छ र थोरै मात्र यी विषयमा मन र अनुभूतिले रङ्गाउनु पर्छ । मन पक्ष अहम् हुँदा निबन्ध बन्ने र स्थानीय भौतिकी पक्षको आधिक्यताले वर्णन बन्ने सम्भावनाबाट नियात्रा साहित्यलाई बचाउन दुवै पक्षको सन्तुलन चाहिन्छ । गीता खत्रीका धेरैजसो नियात्रा यी मान्यतामा छन् । तर अपवाद ‘रातको कोजुमेल’ हो । जब नियात्रामा भावनात्मक पक्षको हावी हुन्छ, उद्वेग र आवेगको हावी हुन्छ, त्यतिवेला नियात्राकार भावना र भौतिकीको सन्तुलनबाट पर पुग्छन् र निजी भावनाको उडान गर्छन । ‘रातको कोजुमेल’ ले त्यसै गरेको छ । नियात्रालाई निजात्मक निबन्धबाट सधैँ अलग राख्नुपर्छ, त्यसरी नै कोरा वर्णनबाट पनि बन्न दिनुहुन्न । नियात्रा लेख्नका लागि यात्रा गर्नेहरू अक्सर यो सन्तुलन गुमाउन पुग्छन् ।
नियात्रा लेखन शुरु गर्दा एकरूपतामा रहनु गीता खत्रीको विशेषता हो । यात्रामा जानुअघि मनको हुटहुटी र त्यो गन्तव्यको धिमा आकृति उनले उतार्ने गरेकी छन्, आख्यानको रचनागर्भ जस्तै । धार्मिक–सांस्कृतिक यात्रा गरी नियात्रा लेख्ने महेन्द्र चालिसे अक्सर साथीहरूको सम्वादबाट यात्रा सन्दर्भ अघि सार्छन् । गीतामा पनि एक प्रकारको यात्रा सन्दर्भ र तयारी मनदेखि नै गरिएको हुन्छ । ‘अनेक प्रयासमा जापान’ मा उनी लेख्छिन्– ‘मनको अन्तस्करमा रहेको जापानप्रतिको लगाव र श्रद्धाले मलाई नजानिँदोगरी जापान तानिरहेको थियो ।’ ‘हलिउड बुल्भार्डको सम्झनामा’ को शुरुमा भनिएको छ ‘…बलिउड….कलिउड… त्यसैगरी अमेरिका आइसकेपछि अमेरिकी कलाकारलाई भेट्न तथा उनीहरूको प्रमुख व्यावसायिक क्षेत्र हलिउड हेर्ने रहर नगर्ने को होला ?’ ‘अल्काट्राजमा अत्यास’ मा ‘समुद्रको बीच भागमा सानो टापू ठिङ्ग उभिएका देख्दा त्यहाँ पुग्न पाए कस्तो हुन्थ्यो होला भनेर रोमाञ्चित नहुने कस्को पो मन नहोला र ?’ भनिएको छ । ‘पिउनै नसकिने वाइन’ मा ‘आफ्नै घर पछाडि भए पनि यी फर्महरूमा घुम्न जाने मौका अहिलेसम्म मिलको छैन । नजिकको तीर्थ हेला भएको होला’ भनिएको छ । ‘सम्झनामा केन्या’ मा ‘अफ्रिका महादेशमा अहिलेसम्म पाइला टेक्न पाएकी थिइनँ । मोरक्कोको क्यासाब्लाङ्का, इजिप्टको अलेक्जेण्ड्रिया र पिरामडिहरूले मेरो मनलाई १९८७/८८ देखि तानिरहेको थियो’ भनिएको छ । ‘युनिभर्सल स्टुडियो भित्रको सन्त्रास’ शुरु हुन्छ ‘संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया पुगेपछि हलिउड र युनिभर्सल स्टुडियोमा नपुग्ने मान्छे कमै होला’ । ‘कोजुमेलको आँगनमा’ भनिएको छ ‘धेरै लामो समयको प्रतीक्षापछि यसपालि मेक्सिोको कानकुन र कोजुमेल जाने अवसर मिल्यो ।’ यस्ता सन्दर्भले नियायात्राको सन्दर्भ र रचनाको पृष्ठभूमिलाई बताउने गर्दछ । प्रायःजसो नियात्राकारहरू यस प्रकारको शैली अपनाउने गरेका छन् ।
विदेशी भूमिमा राष्ट्रियता गाढा हुन्छ । आफ्नो पहिचान, संस्कृति र अस्मितामाथि थोरै अतिक्रमण हुँदा पनि राष्ट्रियता उम्लिन्छ । नियात्राकारलाई त्यसै भएको छ । जापानको कामाकुरामा रहेको अमिदा बुद्धलाई डा. नोबुओ हानेडा अमिदा बुद्धको विषयमा ‘शाक्यमुनि भारतको एउटा सानो राज्या राजकुमारको रूपमा जन्मेका थिए र त्यतिबेला उनको नाम सिद्धार्थ थियो’ भन्ने लेखाइप्रति नियात्राकारलाई धेरैबेरसम्म छटपटी गराएको छ । अमिदा बुद्ध प्रवेश गर्ने स्थानमा भारतीय राजकुमार सिद्धार्थ बुद्ध (इण्डियन प्रिन्स लर्ड बुद्ध) लेखिएको छ । यस्ता भनाइहरूप्रति सम्बद्ध पक्ष, कुटनीतिले खण्डन गरेर वास्तविकता स्थापित गर्नु पर्दछ, भन्ने तर्फ नियात्राकारको सङ्केत छ । भारत एकीकरण हुनु, भारतले स्वतन्त्रता पाउनुभन्दा कति अघिदेखि नेपाल थियो भन्ने कुरा कुटनीतिक पहल, डायस्पोरिक–बौद्धिक जागरण चाहिन्छ । यसका लागि प्रशस्त तथ्य र प्रमाणहरू मौजुद छन् । सिद्धार्थ बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजनाको योजनाकार जापानी इन्जिनियर केन्जो टाङ्गेले बनाएका थिए । १९९९ मा राष्ट्रसंघीय महासभामा तत्कालीन भारतीय राष्ट्रपति डा. केआर नारायणले बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनेर लिखित सम्बोधन गरेका थिए ।
गीता खत्रीको ‘उडेको आकाश डुलेको धर्ती’ नियात्रामार्फत पाठकहरू जापान, अमेरिका, मेक्सिको र केन्या (एशिया, उत्तर अमेरिका र अफ्रिका तीन महादेश) को यात्रा गर्छन् । नियात्राकारले ‘खाने, हेर्ने र घुम्ने बाहेक अर्को कुनै उद्देश्य थिएन’ भने पनि भ्रमणको उद्देश्य हुन्छ । यी भ्रमण ‘कोरा भ्रमण मात्र नभएर अलिअलि साथीभाइ भेट्ने, अलिअलि ठाउँ देख्ने, अलिअलि अन्य देश र ठाउँको धर्मसंस्कृति हेर्ने अवसर’ का साथै धेरै सिक्ने जान्ने यात्रा हो । त्यसैले नियात्रासाथ चारै देशले आआफ्नो महादेशको प्रतिनिधि रूपमा संस्कृति, भूगोल, रहनसहन, विकास व्यवस्थालाई देखाएको छ, जसबाट नियात्रकार तथा पाठकले धेरै कुरा बुझेका छन् । यो बुझाइले सम्बन्ध, पहिचान र मानवताको विस्तार गर्दछ । नियात्राले साङ्केतिक रूपमा डायस्पोरिक संस्कृति पनि देखाएको छ । जहाँ जसरी कर्म गरेपनि मातृभूमिको मनमुटु परपरसम्म पुर्याएर आफ्नो संस्कृति र मौलिकताको सम्वर्द्धन गर्नु डायस्पोरिक चेत हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

