काठमाडौँ, चैत २२ /साहित्यकार रामप्रसाद पन्तलाई यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण गरिएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले आज बानेश्वरस्थित गुरुकुल नाटक घरमा आयोजित विशेष समारोहका बीच पन्तलाई पुरस्कृत गरेको हो ।

कोषका सदस्यसचिव देविका तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उक्त पुरस्कार अर्पण गर्नुभएको हो । कार्यक्रमका अतिथिहरूमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।

पुरस्कार अर्पणपछि बोल्दै साहित्यिक पत्रकार शर्माले जनस्तरबाट रकम संकलन गरी आफ्नो नाममा पुरस्कार राखेर गुन लगाएको बताउनुभयो । सम्मान र आदरको भोको नरहेको भन्दै अब यति धेरै सम्मान र आदर नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

पुरस्कार ग्रहणपछि बोल्दै साहित्यिक पत्रकार पन्तले तिरस्कृत पुरस्कृत हुन नहुने र पुरस्कृत तिरस्कृत हुन नहुने बताउनुभयो । आफूले प्राप्त गरेको सम्मान दायित्व प्रतिष्ठानबाटै प्राप्त भएकाले त्यहीँ राख्ने र सकेसम्म सदुपयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पन्तद्वारा लिखित नियात्रा कृति सोनार बांग्ला र अभिव्यक्ति साहित्यिक पत्रिकाको विमोचनसमेत गरिएको थियो ।

विमोचित कृतिको बारेमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र पत्रिकाको बारेमा विधान आचार्यले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका सहभागी र अतिथिहरूलाई साहित्यकार किशोर पहाडीले स्वागत गर्नुभएको थियो भने कोषका कोषाध्यक्ष शंकर भारतीले धन्यवाद ज्ञापन तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यो पुरस्कार दोस्रो पटक प्रदान गरिएको हो । अघिल्लो वर्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई यो पुरस्कार प्रदान गरिएको थियो । कोषमा ५ लाख रुपैयाँ जम्मा भएको र सोही रकमको ब्याजबाट पुरस्कार दिने गरिएको कोषका कोषाध्यक्ष शंकर भारतीले जानकारी दिनुभयो ।