झोराहाट नाट्य समूहको “झोराहाटमा साहित्य” अन्तर्गत चैत्र महिनाको शृङ्खला सम्पन्न भएको छ ।
कवि हरि कट्टेलको प्रमुख आतिथ्य र प्राज्ञ तथा अग्रज साहित्यकार विवश पोखरेलको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विभिन्न स्थानबाट ५७ जना साहित्यकार, अभियन्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि पुण्य चौँलागाईँ, मुना स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी खड्का, मुना आत्रेय र आलोक खनालले दुई चरणमा आ-आफ्ना शक्तिशाली सिर्जनाहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि हरि कट्टेलले भर्खरै लोकार्पण भएको कवि रोहिणी रसिकको कवितासङ्ग्रह “छन्द आराधना” माथि चर्चा गर्नुहुँदै शब्दहरूको काव्यिक शक्ति सङ्ग्रहमा छ्याङ्ग देख्न सकिन्छ भन्नुभयो ।
विशिष्ट अतिथि प्राज्ञ विवश पोखरेलले कविहरूप्रति शुभेच्छा व्यक्त गर्दै झोराहाट नाट्य समूहको निरन्तर अभियानप्रति प्रशंसा गर्नुभयो ।
हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा संचालन हुने गरेको कार्यक्रममा सभापतिको रुपमा सांस्कृतिक अभियन्ता तथा गीतकार इन्द्र न्यौपाने हुनुहुन्थ्यो ।
विराटनगर, इनरुवा, इटहरी, सुन्दरहरैँचा, बेलबारी, दमक, कटहरी, धनकुटा लगायतका स्थानबाट स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
छिट्टै नै सिक्किम र आसामका साहित्यकारहरूको आतिथ्य रहने अन्तरदेशीय कार्यक्रमको बारेमा भरत गुरागाईँ बर्बरिकले जानकारी दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।