मोरङको ग्रामथानस्थित झोराहाट नाटकघरमा हरेक महिना आयोजन हुने “झोराहाटमा साहित्य”को माघ महिनाको शृङ्खला समापन भएको छ ।

अग्रज साहित्यकार खोलाघरे साइँलोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संखुवासभाकी साहित्यकार सुन्दरी घिमिरे खतिवडालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरू चिरन्जिवी काफ्ले, भूमिका खनाल, खेमराज आचार्य, अन्जु अश्रु र पूजा बहारले आफ्ना ३/३ वटा सिर्जना वाचन गरिरहँदा दर्शक दीर्घाबाट वान्स मोर वान्स मोर आइरहेको थियो ।

हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका कवि हेमन्त निरौलाले एउटा गजल वाचन गर्नुभएको थियो ।

जाडो महिनामा तराईको लोकप्रिय खाजा भक्काको व्यवस्थापन गरिएको कार्यक्रममा सम्मानित साहित्यकार घिमिरेले एउटा कविता र प्रमुख अतिथि खोलाघरे साइँलोले तीन वटा गजल सुनाउनुभएको थियो । करिब ६० जना कविमनहरु उपस्थित कार्यक्रमको सभापति झोराहाट नाट्य समूहका सचिव छत्र काफ्ले र संचालक रङ्गकर्मी, कवि तथा समूहका अध्यक्ष भरत गुरागाईँ बर्बरिक हुनुहुन्थ्यो ।