१) परिचय 

एउटा विधाको कुनै कृतिलाई अर्को देश वा त्यही देशको त्यही कालको, वा अन्य कालको त्यही वा अन्य विधाको कृतिसित दाँजेर दुईवटा कृतिहरूमा के कति समानता र भिन्नता छन्; ती समानता वा भिन्नताहरू हुनुका पछाडि के कति कारणहरू हुन सक्छन् भनेर गरिने अध्ययन नै तुलनात्मक अध्ययन, साहित्य वा आलोचना (Comparative Literature/Criticism) हो । समकालीन नेपाली कविता र समकालीन मराठी कवितालाई दाँजेर अध्ययन गर्नु वा समकालीन नेपाली कवितालाई समकालीन नेपाली सिनेमासित दाँजेर अध्ययन गर्नु तुलनात्मक आलोचनाका केही उदाहरणहरू हुन् । तुलनात्मक आलोचनाबाट दुई फरक देश वा विधाका कृतिहरू के कसरी भिन्न छन् भन्ने जानकारी प्राप्त हुन्छन् । यसले ती फरक देश वा विधाका कृतिकारहरूले आफ्ना कृतिहरूलाई उन्नत र परिष्कृत पार्न एक-अर्काबाट लिनु पर्ने र त्याग्नु पर्ने प्रवृत्तिहरूको ज्ञान प्राप्त गर्छन् । कमजोर कला र साहित्य भएको भाषालाई अध्ययनको यो विधि अनिवार्य हुन्छ । किनकि यसले त्यस्ता कला र साहित्यलाई विश्व-साहित्य र कलाको समस्तरीय सिर्जना गर्ने मार्ग देखाउँछ ।

प्रस्तुत अध्ययनमा विश्वप्रसिद्ध मेक्सिकाली नारीवादी फ्रिडा कालौ (Frida Kahlo) का कविताहरू र समकालीन नेपाली नारी कविताको तुलनात्मक अध्ययन गरिएको छ । यो प्रयोजनका लागि समालोचक विद्वान् डा. नेत्र एटमद्वारा सम्पादित नेपाल प्रज्ञा-प्रतिष्ठानबाट वि.सं. २०७४ मा प्रकाशित ‘समकालीन प्रतिनिधि नेपाली नारी कविता’मा परेका कविता रहेका छन् । यो लेखकले उक्त ग्रन्थका साठी नारी कविका कविताले समकालीन नेपाली नारी कविताहरूलाई प्रतिनिधित्व गर्छन् भन्ने विश्वास गरेको छ । फ्रिडाका कविता आजभन्दा करीब असी वर्ष अघि लेखिएका हुन् । त्यसबेलाका मेक्सिकालीहरूको सामाजिक आर्थिक विकासको अवस्था आजको नेपाल जस्तै थियो । तसर्थ पनि फ्रिडाका कविता र आजका समकालीन नेपाली नारी कविताको तुलना गर्नु असान्दर्भिक हुन्न । समान सामाजिक र आर्थिक स्थिति भएका दुई फरक स्थान र समयका नारी कविहरूले किन समान प्रवृत्तिका कविता लेखेनन् भनेर गरिएको अध्ययन हो यो ।

(२) तुलनात्मक अध्ययन नै किन

निकै दुःखदायी जीवन बाँचेकी फ्रिडा मेक्सिकाली एज्टेक धर्म, दर्शन र संस्कृतिको पुनरुत्थान हुनुपर्छ भनेर लागिपरेकी उत्तरउपनिवेशवादी कम्युनिष्ट र नारीवादी थिइन् । यो तुलनात्मक अध्ययनको मूल प्रयोजन नेपाली नारीवादी कविताहरूलाई फ्रिडाका कविताहरूको प्रवृत्तिसित तुलना गरेर नेपाली नारीवादी कविताको क्षितजीय विस्तारमा सहयोग पुर्याउनु हो । नारीवादी लेखनमा यथार्थवाद र प्रगतिशीलता सँगसँगै आउँछन् । तसर्थ नारीवादी लेखनमा हुनुपर्ने यो यथार्थता र प्रगतिशीलता कस्तो हो, र यसको बोध कसरी गर्ने हो, त्यसको विमर्शले नेपाली नारीवादी कविताहरूलाई परिष्कृत पार्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

मेक्सिकाली इतिहास र संस्कृति नेपाली इतिहास र संस्कृति झैँ युरोपेली संस्कृतिबाट प्रभावित छ । युरोपेली दर्शन, साहित्य र संस्कृति नेपालमा जसरी भित्रिए त्यसरी नै मेक्सिकोमा पुगे । पुग्ने समय र क्रम फरक रह्यो । मेक्सिकोमा स्पेनको प्रत्यक्ष उपनिवेश भएकाले मेक्सिकोमा युरोपेली प्रभाव द्रूतरूपमा र गहिरिएर पस्यो भने नेपाल अप्रत्यक्ष उपनिवेश रहेकाले युरोपेली प्रभाव ढिलो गरी पस्यो, गहराइसम्म पसेन।

विश्वमा नारीवादका विभिन्न हाँगाबिँगाहरू छन् । नारीवादको कुनै एक हाँगालाई समाएर मात्र कविता लेख्दा कविताका मौलिकता र शैली जोखिममा पर्न सक्छ । नारीवाद नारी विद्रोह र मुक्तिको महाआख्यान हो । तसर्थ कवि होसियार भएन भने उसको कविता तात्कालीन राजनीतिक र सामाजिक अभिलेख मात्र बन्न सक्छ । नेपाली समाज र साहित्यवृत्तमा नारीवादलाई नारी मुक्तिको चेष्टाको रूपमा नहेरेर नारीको दुःख, पीडा, उत्पीडनको वर्णनको रूपमा हेर्ने प्रवृत्ति छ भन्छिन् विदुषी समालोचक डा. ज्ञानु पाण्डे । आफ्नो लेख ‘अस्तित्ववादी नारीवाद र इन्दिरा प्रसाईंको कथा’ मा उनी लेख्छिन्, “‘नारीवाद’ यथार्थमा नारीमुक्ति आन्दोलनको वाणी हो । … नेपाली साहित्यका कतिपय अध्येयताहरूले नारीकृत रचनाहरूमा अटाएको दुःख र दर्दको अभिव्यक्तिलाई नै आधार बनाएर नेपाली साहित्यमा विकसित भएको नारीवादको इतिहासलाई पहिचान गर्ने प्रयास गरेको पनि पाइन्छ । जबकि पुरुषप्रधान समाजको अनावश्यक खटनपटनले दुःखेको आफ्नो अहम्‌लाई केवल बिलौना र व्यथाको आँशुले मात्र सधैं थपथपाउन खोज्नेहरूले सही अर्थमा नारीवादलाई बुझेर अर्थात् यसको सैद्धान्तिक पक्षमा अटाए‌को अस्तित्वका लागि विद्रोहको प्रेरणाप्रति सचेत भएर साहित्यलेखन गरेका हुन् जस्तो लाग्दैन “ ।

यो तुलनात्मक अध्ययनले समग्रमा नेपाली काव्यक्षेत्र निम्न तरिकाले लाभान्वित हुन सक्नेछ । प्रगतिशील (प्रगतिवादी) लेखनमा प्रतिबद्ध लेखक, कविहरू ठूलै संख्यामा छन् नेपालमा । उनीहरू प्रगतिशीलताको पूर्वपरिभाषित सीमाभित्र रहेर लेख्न बाध्य छन् । यी प्रतिभावान लेखक, कविहरू कम्युनिष्ट फ्रिडाका लेखनसित साक्षात्कार हुन सकेमा नेपाली प्रगतिशीलताको सीमा फराकिलो हुन सक्नेछ । फ्रिडाका कविता पढ्नु प्रगतिशील र नारीवादी हुनुको नवीन परिभाषा र क्षेत्रसित साक्षात्कार गर्नु हो । उनका कवितामा नेपाली नारी कविताहरूले फैलिनलाई नयाँ क्षितिज भेटाउन सक्छन्, वर्तमानमा कोरिएका सीमाहरूको उलङ्घन गर्न सक्छन् । नारीहरूको स्थिति र संघर्षलाई कवितामा राख्नै पर्ने दबाब झेलेर वा प्रेरणामा परेर कविता लेख्ने नेपाली कविहरूले फ्रिडा जस्ती नारीवादीहरूको शैलीबाट प्रभावित भएर नयाँ विषय र शैलीमा बिना कुनै मानसिक दवाब र अपराधबोध कविताहरू लेख्न सक्नेछन् । यो तुलनात्मक पठनले नेपाली नारी कविताहरूमा परिव्याप्त यथार्थवाद, प्रगतिशीलता र नारीवादमाथि विमर्श र बहसका लागि पर्याप्त आधारहरू पनि औंल्याउन सक्नेछ ।

(३) अनुसन्धान विधि

लेखक स्वयंले फ्रिडाका केही कविताहरू अङ्ग्रेजीबाट नेपालीमा भावानुवाद गरेको छ, र यो अध्ययन प्रयोजनका लागि तिनै अनूदित कविताहरूलाई उपयोग गरिएको छ । ती कविताहरू अङ्ग्रेजी भाषामा सन्दर्भसूचीमा दिइएको वेबपेजहरूबाट प्राप्त गर्न सकिनेछ ।

कविता भनिने उनका लेखनहरू कवितात्मक शैलीमा लेखिएका गैर-आख्यानहरू र दैनिकीका रूपमा लेखिएका लघुटिपोटहरू हुन् । तिनै सूक्तिहरूलाई पछि कविता भनियो । उनका कविताहरू कुनै पत्रिकामा वा कुनै सङ्ग्रहका रूपमा प्रकाशित छैनन्, न त उनले यी कविताहरूका कुनै शीर्षक नै राखेकी छिन् । उनका यस्ता कविता संख्यात्मक रूपमा न्यून रहेकाले कुनचाहिं उनको प्रतिनिधि कविता हो, कुन चाहिं होइन भन्ने जटिलता रहँदैन। एटमद्वारा सम्पादित उक्त ग्रन्थमा समाविष्ट प्रत्येक कविहरूका प्रतिनिधि दुई कविता मात्र रहेकाले कुनै एक कविको कुन कवितासित तुलना गर्ने भन्ने तुलनियताको समस्या पनि रहँदैन ।

फ्रिडाका कविताहरू सोझै स्पेनिशबाट नेपाली भाषामा अनुवाद नगरी अङ्ग्रेजीबाट भावानुवाद गरिएकाले सांस्कृतिक पक्षहरूको तुलना गरिएको छैन । यो तुलनात्मक अध्ययनलाई नेपाली नारी कविताहरू र एक विश्वप्रसिद्ध नारीवादीको कविताहरूको तुलनात्मक अध्ययन भनेर बुझ्नु पर्ने हुन्छ । युरोपेली दर्शन, संस्कृति र साहित्यले फ्रिडाका र नेपाली कविहरूका कविताहरूलाई कसरी प्रभावित पारे भनेर यहाँ अनुसन्धान गरिएको छैन। साथै, यहाँ हिन्दू धर्म दर्शन र एज्टेक धर्म दर्शनहरूको तुलना गरिएको छैन।

अनुसन्धानमा मार्क्सवादी दृष्टिकोण अपनाइएको छ । अर्थात् दुई फरक देशहरूका सामाजिक, आर्थिक स्थिति करीब करीब समान हुँदा दुबैतिरका नारी कविताहरूमा के कति प्रवृत्तिगत समानता एवं विविधता छ भनेर अवलोकन गरिएको छ । र, ती समानता र विविधताका सम्भावित कारणहरू बारे चर्चा गरिएको छ । कुनै देश विशेषको साहित्यलाई पाठक, विज्ञ र समालोचकहरूले कस्तो साहित्यको दर्जा दिएका छन्, त्यस्तो देशको त्यो समयको जस्तै आर्थिक, भौतिक, सामाजिक सूचकाङ्कहरू भएका अन्य देशको साहित्य र कविता त्यही दर्जाको हुनु पर्ने अपेक्षा गर्न सकिन्छ । मार्क्सवादले कविता, साहित्य, राजनीति, संस्कृति जस्ता अवयवहरूलाई समाजको आर्थिक, भौतिक, सामाजिक विकासमाथि अडेका अधिसंरचनाहरू मान्दछ । अर्थात्, आधार आर्थिक, भौतिक, सामाजिक विकास अनुरूप अधिसंरचनाहरू हुन्छन् । तसर्थ आर्थिक, भौतिक, सामाजिक विकासका सूचकाङ्कहरूलाई विश्लेषण गर्ने हो भने साहित्यले समाजको यथार्थवादी प्रतिविम्बन गरेको छ कि छैन भन्ने बुझ्न सक्छौँ । यहाँ सामाजिक आर्थिक स्थितिको तुलना विश्वसनीय संस्थाहरूले प्रकाशित गरेका सूचकाङ्कहरूलाई टेकेर गरिएको छ ।

वर्तमान नेपालको र फ्रिडाको समयमा मेक्सिकोको राजनीतिक र सामाजिक स्थिति एकैनासको थियो । गरिबी, आर्थिक असमानता, बेरोजगारी, पूँजीवादको विकासले ल्याएको शक्तिशाली र शक्तिहीन बीचको खाडल, नारी-पुरुष बीचको विभेद र हिंसा, महिलाहरूको सम्पत्ति र सत्तामा सीमित पहुँच र अधिकार, जातीय र क्षेत्रीय विभेद र असमानता, धार्मिक, सांस्कृतिक तथा औपनिवेशिक विभेद आदिले गर्दा जनता असन्तुष्ट थिए । बौद्धिक वर्ग प्राचीन माया र एज्टेक सभ्यताका गौरवशाली सांस्कृतिक पक्षहरू अपनाउन चाहन्थ्यो।

(४) मेक्सिकोको संक्षिप्त इतिहास 

उत्तरी अमेरिकी महादेशमा अवस्थित मेक्सिकोको लिखित मानव इतिहास चार हजार वर्ष पुरानो छ भने प्रागैतिहासिक कालमा इशापूर्व तेह्र हजार वर्ष अघिदेखि मानवले बसोबास गरेको पाइएको छ । संसारका प्राचीन विशालतम् नगरहरू मेक्सिकोमा रहेको विशास गरिन्छ । माया सभ्यता, एज्टेक सभ्यता लगायत अन्य सभ्यताहरूले सम्पन्न मेक्सिकोलाई सोह्रौं शताब्दीमा स्पेनले आफ्नो उपनिवेश बनायो । गणित, पिरामिड संरचना , खगोलशास्त्र, औषधी र धर्मशास्त्रमा उल्लेखनीय प्रगति गरेका ती प्राचीन सभ्यताहरू स्पेनी उपनिवेशवादी कालमा करीब नष्ट भए । दुई सय वर्षको उपनिवेशवादी शासनपछि मेक्सिकाली स्वतन्त्रता युद्ध भनिने संघर्षपछि सन् १८२१ मा मेक्सिको स्पेनबाट स्वतन्त्र भयो, र एक गणतान्त्रिक देशको रूपमा स्थापित भयो । त्यसपछि मेक्सिकोले थुप्रै आन्तरिक र बाह्य चुनौतीहरू बेहोर्नु पर्यो – क्षेत्रीय संघर्ष, मेक्सिको-अमेरिकी युद्ध, फ्रान्सेली आक्रमण तीमध्येका प्रमुख  चुनौती थिए । स्पेनी शासनबाट मुक्त भएको सय वर्षसम्म विभिन्न आन्तरिक चुनौतीहरूले घेरिएको मेक्सिकोका जनता आर्थिक असमानता, तानाशाही शासन, गरीबी , क्षेत्रीय असमानता, जातीय विभेद, असमान अधिकार र कुशासनले पिल्सिएका थिए । करीब चालीस वर्षसम्म सत्तामा टिकिरहन सफल तात्कालीन राष्ट्रपति पर्फिरियो डायजका विरुद्ध मेक्सिकाली जनताहरूले सन् १९१० मा शुरु गरेको विद्रोह सन् १९२० सम्म चल्यो । करीब सत्र लाख मानिसहरू मारिएका मेक्सिकाली क्रान्ति (Mexican Revolution) भनिने यो विद्रोहमा सम्पूर्ण मेक्सिकोका धर्म, जात, नश्ल, क्षेत्र, वर्ग, लिङ्गका जनताहरू सहभागी भएका थिए, र यसले गृहयुद्धको रूप लिइसकेको थियो । त्यहीबेला रुसमा चलिरहेको बोल्सेभिक आन्दोलनले सन् १९१७ मा सफलता पायो । मेक्सिकाली विद्रोह भने लम्बिरहेको थियो । आधिकारिक रूपमा सन् १९२० मा मेक्सिकाली क्रान्ति अन्त्य भए पनि त्यसपछिको अर्को बीस वर्षसम्म विभिन्न शक्ति-संघर्षहरू चली नै रहे, र शासनमा सेनाको सहभागिता रहिरह्यो ।

मेक्सिकोमा युरोपेलीहरूको उपस्थिति बाक्लै थियो । यो क्रम दोस्रो विश्व युद्धसम्म पनि रहिरह्यो। स्पेनी उपनिवेश रहँदा नै मेक्सिकोमा क्याथोलिक इशाई धर्मको व्यापक प्रसार भयो । क्याथोलिक चर्चहरू बने । मेक्सिकालीहरू प्राचीन धर्म परिवर्तन गरी क्याथोलिक इशाई बने । स्पेनी उपनिवेश हुँदा मेक्सिकोमा केही महत्त्वपूर्ण सुधारहरू भए : आधुनिक शिक्षामा जनताको सहभागिता बढ्यो, औद्योगीकरण बढ्यो , नरबली दिने प्राचीन परम्परामा प्रतिबन्ध लाग्यो । तर युरोपेली र क्याथोलिक इशाई धर्मको प्रभाव बढ्न जाँदा परम्परागत धर्म, दर्शन, संस्कृति कमजोर हुँदै गयो । मेक्सिकाली क्रान्तिपछि महिलाहरूका अधिकार र स्वतन्त्रतामा निकै प्रगति भएको थियो । महिलाहरूलाई पुरुष झैँ समान तलब दिनुपर्ने माग त्यसैबेला उठेको थियो ।

स्पेनबाट स्वतन्त्र भएदेखि दोस्रो विश्वयुद्धसम्म मेस्किकोमा राजनीतिक अस्थिरता, विधिपूर्ण शासनको अभाव र सेनाको राजनीतिक सक्रियता कायम थियो । फ्रिडाले पनि यी सबैका प्रभावहरू भोगिन् ।

(५) फ्रिडा कालौको संक्षिप्त जीवनी

चित्रकार फ्रिडा कालौको जन्म (ई.सं. १९०७-१९५४) मा मेक्सिको सिटी नजिकैको  एक गाउँमा भएको थियो । उनी परम्परागत शैलीका चित्रहरूबाट मेक्सिकाली पहिचान, उत्तरउपनिवेशवाद, लिङ्ग, वर्ग र मेक्सिकाली समाजका जातीय प्रश्नहरू अभिव्यक्त गर्ने बीसौं शताब्दीको एक महत्त्वपूर्ण नारीवादीका रूपमा चिनिन्छिन् । फ्रिडाका बुवा मेक्सिको पुगेका जर्मन आप्रवासी थिए भने आमा स्थानीय मेक्सिकाली जातिकै थिइन् । फ्रिडाले कविता पनि लेख्थिन् भन्ने कुरा संसारले उनको मृत्युपछि उनको डायरीबाट मात्र थाहा पायो ।

परम्परागत एज्टेक गहनाहरूमा सजिन मन पराउने फ्रिडाको व्यक्तिगत जीवन भने डरलाग्दो दु:स्वप्न जस्तो थियो । उनी ६ वर्षकी हुँदा उनको दायाँ खुट्टामा पक्षाघात भयो । यो शारीरिक स्थितिले गर्दा प्राथमिक विद्यालयमा उनी हास्यको पात्र बनिन् र अन्तमा उनले विद्यालय नै छोड्नु पर्यो । उनी अर्को विद्यालयमा पनि टिक्न सकिनन्; शिक्षकहरूको अवज्ञा गरेको आरोपमा विद्यालयबाट निकालियो । अर्को एउटा  विद्यालयमा एउटी शिक्षिकाबाट यौन दुर्व्यवहारको शिकार भएपछि त्यो विद्यालय पनि छोड्नु पर्यो।

सेप्टेम्बर १९२५ को एक दिन कलेजबाट घर आउँदै गर्दा उनी चढेको बस दुर्घटना भयो । दुर्घटनामा उनको कम्मरको हाड धुजाधुजा भयो, पाठेघर र पेट च्यातियो, काँधको हाड भाँचियो, ढाड तीन ठाउँमा भाँचियो, दायाँ खुट्टा एघार ठाउँमा भाँचियो । यो दुर्घटनापछि बाँकी जिन्दगीभरि उनी कमजोर र अस्वस्थ भइरहिन् । उनी यो दुर्घटनापछि पुनः चित्रकलातिर फर्किन् । यसैक्रममा उनको भेट उनीभन्दा एक्काइस वर्ष जेठा मेक्सीकाली चित्रकार डिएगो रिभेरा (Diego Rivera) सित भयो जोसित उनी प्रेममा परिन्, र पछि उनीहरूको विवाह पनि भयो ।

उनले दुईपटक गर्भपतन गराउनु पर्यो भने खुट्टाको बूढी औँलामा गैङ्ग्रिन भएपछि औँला काट्नु परेको थियो । एक पटक अपेण्डेसाइटिसको शल्यक्रिया गर्नु परेको थियो । चालीसको दशकको मध्यतिर उनको ढाडको समस्या यति बल्झिएको थियो कि उनी बस्न, उभिन सक्दिन थिइन् । उनी ढाडको शल्यक्रियाका लागि अमेरिका पुगिन् जहाँ डाक्टरहरूले ढाडलाई सिधा पार्न ढाडभित्र स्टिलको पाता राखे । तर विविध कारणले उनको यो शल्यक्रिया सफल हुन सकेन । डाक्टरहरूले उनलाई पूर्णरूपमा ओछ्यानमा आराम गर्ने सल्लाह दिएका थिए ।  तर उनले डाक्टरका सल्लाहलाई उपेक्षा मात्र गरिनन् कि एकपटक त घाउको मलहमपट्टी समेत फ्यालेर घाउलाई खोलिन् । सन् १९५० मा उनको ढाडमा अर्को शल्यक्रिया गर्नु परेको थियो ।  मेक्सिकोमै गरिएको यो शल्यक्रियापश्चात घाउ निको हुनुको साटो बल्झँदै गयो । दायाँ खुट्टामा गैङ्ग्रिनले गर्दा उनको दायाँ घुँडाभन्दा तलको भाग काटेर फ्याल्नु परेको थियो ।

यसैबीच फ्रिडा र डिएगोको वैवाहिक सम्बन्ध बिग्रन थाल्यो । डिएगोले अन्य महिलाहरूसित विवाहेत्तर सम्बन्ध राख्न थालेका थिए । डिएगोले फ्रिडाकी कान्छी बहिनीसित पनि विवाहेत्तर सम्बन्ध राखे । यो घटनाले दुखित फ्रिडा डिएगोसित छुट्टिएर एक्लै बस्न थालिन् । फ्रिडाको पनि एक अमेरिकी कलाकारसित विवाहेत्तर सम्बन्ध रहन गएको थियो । उनले समलिङ्गी सम्बन्धहरू पनि बनाएकी थिइन् । आफ्नो पूर्व पतिको अन्य महिलाहरूसितको सम्बन्धमा कमी नआएपछि उनले एकपटक अत्यधिक पेनकिलर सेवन गरेर आत्महत्याको प्रयास पनि गरेकी थिइन् । एक्लोपनाले गर्दा उनमा मद्यपानको लत बढ्दै गयो । सन् १९३९ मा औपचारिक रूपमा फ्रिडा र डिएगोको सम्बन्धविच्छेद भयो । फ्रिडा र डिएगोले सम्बन्धविच्छेद पछि पुनः एकआपसमा विवाह गरेका थिए । तर यसपछि पनि उनीहरूको आनीबानीमा सुधार आएन । दुबैले विवाहेत्तर सम्बन्धहरू कायमै राखे।

उनका अधिकांश चित्र आत्मचित्रहरू (Self-Portrait) छन् जसको बारेमा उनले भनेकी छिन् , ‘मैले सबैभन्दा नजिकैबाट चिने जानेको विषय म आफैँ हूँ ।’ उनको कलाको स्रोतहरू औपनिवेशिक मेक्सिको हुन्थ्यो, स्थानीय मेक्सिकाली कला र संस्कृति उनको कलाको अभिन्न अंग रहिरह्यो । उनले आफ्नो शारीरिक स्थिति, आफ्नो स्वास्थ्य र उपचार सम्बन्धी घटनाहरूलाई समेत चित्रहरूमा देखाएकी छिन्।

मेक्सिकाली क्रान्तिपछि मेक्सिकालीहरू माझ परम्परागत एज्टेक धर्म, दर्शन र प्राचीन संस्कृतिको पुनरुत्थानको प्रयास भएको थियो । औपनिवेशिक संस्कृति विरुद्ध यो मेक्सिकाली संस्कृतिको उत्तरऔपनिवेशिक पुनरुत्थान थियो । मेक्सिकानिदाद (Mexicanidad) भनिने यो आन्दोलनसित फ्रिडा पनि जोडिएकी थिइन् । अमेरिकामा रहेका मेक्सिकाली-अमेरिकीहरूको चिकानौ (Chikaano) आन्दोलनको त उनी प्रतीक नै बनिन् । जति दुःख पाए पनि जीवनप्रतिको उनको गहिरो मोह र आशाले गर्दा नारीवादी र तेस्रोलिङ्गीहरूका (LGBTQ) आदर्श र प्रतीक बनिन् । उनले बीस वर्षको उमेरमा (सन् १९२७) मेक्सिकन कम्युनिष्ट पार्टीकी सदस्यता लिएकी थिइन् । उनी आफ्ना चित्रहरूले विश्वभरिका साम्यवादी आन्दोलनलाई सघाओस् भन्ने चाहन्थिन् । उनी साम्यवादी राजनीतिप्रति कति समर्पित थिइन् भने न्यूमोनियाले ग्रस्त हुँदा पनि सीआइए (CIA) ले ग्वाटेमालामा हस्तक्षेप गरेको विरोधमा २ जुलाई १९५४ देखि भएको प्रदर्शनीमा सहभागी भएकी थिइन् । प्रतिकूल स्वास्थस्थिति हुँदाहुँदै प्रदर्शनीमा सहभागी भएका कारणले उनको स्वास्थ झन् बिग्रियो । र, ४७ वर्षको उमेरमा १३ जुलाई १९५४ मा उनको देहान्त भयो । मेक्सिकाली एज्टेक धर्म, दर्शन र संस्कृतिको पुनरुत्थानमा सहभागी भएकी कम्युनिष्ट र नारीवादी फ्रिडा प्रगतिशीलताको परम्परागत  र कट्टर व्याख्याभन्दा बाहिर गएर उत्तरआधुनिक प्रगतिशील भइसकेकी थिइन् ।

(६) नेपाल र मेक्सिकोको सामाजिक आर्थिक अवस्थाको तुलना

नेपाल र मेक्सिकोको आर्थिक तथा सामाजिक विकास र लैङ्गिक हिंसा तथा समानताका केही सूचकाङ्कहरू तुलना गर्नु पनि सान्दर्भिक ठानेर यिनीहरूलाई तलको तालिकामा देखाइएको छ । यसो गर्नुको कारण फ्रिडाकालीन मेक्सिको र वर्तमान नेपालको सामाजिक आर्थिक स्थितिको तुलना गरेर केही समानताहरू प्राप्त गर्न सकिन्छ कि भनेर हेर्नु हो ।

तालिका १, २ र ३  मा नेपाल र मेक्सिकोका लागि सयुंक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) द्वारा प्रचलित मानव विकास सूचक (HDI), लैङ्गिक विकास सूचक (GDI), लैङ्गिक असमानता सूचक (GII) हरूका सूचकाङ्कहरू दिइएको छ । सन् १९९० देखि प्रचलित यी सूचकहरूको मान पूर्वोत्तर वर्षहरूका लागि उपलब्ध नभएकाले लेखकले यिनीहरूलाई मान्य विधिअनुसार प्रक्षेपण गरेको छ, र ती पूर्वोत्तर वर्षहरूका सम्भावित प्रक्षेपित मान समेत यो तालिकामा दिइएको छ।

तालिका १ (मानव विकास सूचक, यो सूचकको मान धेरै हुनु मानवीय विकास धेरै भएको छ भन्ने बुझिन्छ।)

वर्ष (सन्) २०२२ २००६ १९९० सन् १९६० का लागि प्रक्षेपित सन् १९३० का लागि प्रक्षेपित
नेपाल . .४८ . .   
मेक्सिको .७६ . .६६  .५६   .४६

यो तालिकाले यही देखाउँछ कि समकालीन नेपालीमा (सन् २०००- २०२२) नेपाली जनताको (र महिलाको) विकासको स्तर त्यति रहेछ जति फ्रिडाको समयको मेक्सिकाली जनताको (र महिलाको ) थियो।

लैङ्गिक विकास सूचक (GDI) ले विकासमा महिला र पुरुष बीचको असमानता मापन गर्छ । यसको मान थोरै हुनुको अर्थ महिला र पुरुषको सामाजिक विकासको स्तरमा धेरै असमानता छ भन्ने हो।

तालिका २ (लैङ्गिक विकास सूचक)

वर्ष (सन्) २०२२ २००६ १९९० सन् १९६० का लागि प्रक्षेपित सन् १९३० का लागि प्रक्षेपित
नेपाल ०.८२ ०.८२ ०.६६ ०.३४ ०.०२
मेक्सिको ०.९ ०.९ ०.८६ ०.५४ ०.२२

विकासमा महिला र पुरुषहरू बीचको असमानता मापन गर्ने लैङ्गिक विकास सूचकले यही देखाउँछ कि समकालीन नेपाली महिला र पुरुष बीचमा जति असमानता छ मेक्सिकाली महिला र पुरुषहरू बीचमा करीब त्यतिकै असमानता छ । बरु फ्रिडाको समयमा मेक्सिकाली महिला र पुरुष बीचमा यो असमानता धेरै थियो।

लैङ्गिक असमानता सूचकले महिला र पुरुष बीचको असमानता मापन गर्दछ । न्यून लैङ्गिक असमानता सूचकको अर्थ हो महिला र पुरुष बीचमा न्यून असमानता छ।

 तालिका ३ (लैङ्गिक असमानता सूचक)

वर्ष (सन्) २०२२ २००६ १९९० सन् १९६० का लागि प्रक्षेपित सन् १९३० का लागि प्रक्षेपित
नेपाल  ०.४९ ०.५८  ०.७४ ०.८६५ ०.९९
मेक्सिको  ०.४५ ०.५०  ०.५८ ०.७१ ०.८४

 

लैङ्गिक असमानता सूचकले यही देखाउँछ कि वर्तमानका नेपाली र मेक्सिकाली महिला र पुरुषहरू बीचको असमानता उस्तै छ । त्यस्तै असी वर्षअघिको नेपालमा र फ्रिडाकालीन मेक्सिकोमा महिला र पुरुष बीचको असमानता अत्यधिक थियो ।

महिला हत्या दर (Femicide) सूचकले प्रति एक लाख महिला जनसंख्यामा महिला भएकै कारणले मारिएका महिलाहरूको संख्या देखाउँछ । यो सूचक न्यून हुनुको अर्थ हो त्यो समाजमा महिला अपेक्षाकृत सुरक्षित छन्।

तालिका-४  : (महिला हत्या दर)

वर्ष सन् २०१० सन् २०१५ सन् २०१६   सन् २०१७ सन् २०१९ सन् २०२१ सन् २०२३
नेपाल ०.७ ०.१४
मेक्सिको ३.८४ ५.५२ ६.०३ ६.०९ ५.६

नेपालका लागि सन् २०१७ देखि यताको महिला हत्या दर उपलब्ध हुन सकेन । तर पनि माथिको सूचकले यही देखाउँछ कि समकालीन नेपाली महिलाहरू गरिबीमा बाँचे पनि सम्पन्न मेक्सिकाली महिलाहरू जति हिंसाको शिकार भएका छैनन् । मेक्सीकाली नारीहरू नेपाली नारीभन्दा चार गुणा बढी असुरक्षित छन् ।

कुनै पनि देशको नागरिकको आर्थिक र भौतिक जीवनस्तर मापन गर्ने सूचक प्रतिव्यक्ति आय हो । तल मेक्सिको र नेपालको सन् १९६० देखि २०२२ सम्मको प्रतिव्यक्ति आय देखाइएको छ।

तालिका ५  (प्रति व्यक्ति आय अमेरिकी डलरमा)

वर्ष १९४० १९६०  १९७० १९८० २००० २०१० २०२२
नेपाल ५० ६९ १२५ २२४ ५८९ १,३४८
मेक्सिको ३६० ७०६ ३,०३६ ७,५८२ ९,८२३ ११,४७७

माथिको तालिकाबाट यो अनुमान लगाउन सकिन्छ कि सन् २००० तिर नेपालीको सरदर प्रतिव्यक्ति आम्दानी त्यति रहेछ जति फ्रिडा जिवित हुँदा सन् १९५० तिर एक मेक्सिकालीको थियो । अर्थात समकालीन नेपाली नारी कविहरूले कविता लेखिरहँदा सरदर एक नेपाली महिलाको आम्दानी त्यति नै रहेछ जति फ्रिडाको समयको मेक्सिकाली महिलाको थियो।

फ्रिडाकालीन मेक्सिकाली महिलाहरूको आर्थिक, राजनीतिक, सामाजिक र लैङ्गिक स्थिति वर्तमान नेपाली महिलाहरूभन्दा उच्चस्तरीय थिएन । प्राचीन माया र एज्टेक सभ्यताका महिलाहरूसित अन्य सभ्यताहरूमा झैँ पुरुषभन्दा कम आर्थिक, राजनीतिक र सामाजिक शक्ति थियो । महिलाहरूले विवाह गरेर घरपरिवारको जिम्मेवारी लिनु पर्छ भन्ने विश्वास थियो । राजकीय शासनमा महिलाहरूको निर्णायक उपस्थिति कमै मात्र हुन्थ्यो । सत्ता र शक्ति पुरुषसित थियो । स्पेनिस उपनिवेश हुनुपूर्वदेखिको पुरुषप्रधान मेक्सिकाली समाजले उपनिवेशकालमा पनि ईशाइ धर्म अनुरूप महिलाहरूलाई घरपरिवारकै जिम्मेवारीमा सीमित राख्यो । मेक्सिकोमा ई.सं. १९१० तिर औद्योगिक क्षेत्रका कुल श्रमिक मध्ये १४% मात्र महिला थिए भने ई. सं. २००८ मा यो बढेर ३८% पुग्यो । ई. सं. २०१४ मा महिला भएकै कारणले महिलाहरूको हत्या हुने देशहरूमा मेक्सिको सोह्रौँ स्थानमा थियो । एक तथ्याङ्क अनुसार महिला भएकै कारण हत्या गरिएका मेक्सिकाली महिलाहरूको दर (Femicide) ई. सं. २०१२ मा २.३ थियो भने नेपाली महिलाहरूको हकमा यो दर ई.सं. २०१० मा ०.७ थियो । उपरोक्त महिला हत्या दर सूचकाङ्कहरूलाई सन् १९५० तिर प्रक्षेपण गर्दा पनि मेक्सिकाली महिलाहरूको स्थिति नेपाली महिलाहरूभन्दा सुदृढ रहेको प्रतीत हुँदैन ।

यी सूचकाङ्कहरूका विश्वसनीयता र पर्याप्ततामाथि प्रश्न र शंका गर्ने ठाउँ छ, तर विश्वसनीय विश्वस्तरीय संस्थाले प्रकाशित गरेका यी तथ्याङ्कहरूलाई मिथ्याङ्कहरू भन्दै पन्छाउन पनि सकिन्न । यी सूचकाङ्कहरूलाई थप विश्वसनीय बनाउन भविष्यमा अन्य परिपुरक सूचकहरू समेत थप्दै जाने गरी तत्काल अवस्थामा यिनैमा टेकेर अध्ययन गर्न बाधा पर्दैन, र यो आलेखमा यही मार्ग अवलम्बन गरिएको छ ।

(७) फ्रिडाका कविताहरूका प्रवृत्तिहरू

फ्रिडाका केही कविताहरूका नेपाली अनुवाद यहाँ छ ।  

केही पनि सधैँ भरी रहन्न,

सबथोक बदलिन्छ ,

सबथोक गतिशील छन् ,

सबैथोकले क्रान्ति गर्छन् ,

सबै चिज उडछन् र गायब हुन्छन् ।

मलाई खुट्टाहरू किन चाहियो

यदि मसित उड्नलाई

पखेटाहरू छन् भने ?

 

 

डिएगो ,

 

रातको ऐना । 

तिम्रा आँखाहरू मेरो मासुभित्रको हरित तलवार हो

जुन हाम्रा हातहरू बीच छाल झैँ आउँछन् र जान्छन् । 

छायामा र प्रकाशमा

आवाजहरूले भरिएको ठाउँमा सम्पूर्ण तिमी। 

तिमी रंग लिने परमाणु हौ

म रंग दिने परमाणु।

जिन्दगीको संख्याहरूका

सबै सङ्ग्रह हौ तिमी।

म रेखा, आकार, छाया, गति बुझ्न चाहन्छु। 

तिमीले मलाई बुझाउँछौ र म बुझ्दछु। 

तिम्रो शब्द ब्रह्माण्डभरि गुन्जिंदै मेरो शरीरको कोषसम्म पुग्छ

जुन मेरा ताराहरू हुन्

अनि तिम्रो कोषसम्म पुग्छ

जुन मेरो प्रकाश हो । 

डिएगो ,

यो प्रेम होइन ,
न कोमलता हो
न हो अनुराग ।
यो जीवन स्वयम् हो, मेरो जीवन ,
जुन मैले पाएँ
जसलाई मैले तिम्रा हातहरूमा, तिम्रो मुखमा
र तिम्रो छातीमा देखेँ ।
मसित मेरो मुखभरि
तिम्रो ओठको बदामको स्वाद छ ।
हाम्रा संसारहरू कहिल्यै बाहिर गएनन् ।
एउटा पहाडले मात्र जानेको हुन्छ अर्को पहाडभित्र के छ ।
तिम्रो उपस्थिति मानौ बिहानलाई पर्खंदै
मेरो हुनुलाई बेरेर केही क्षण तैरन्छ ।
मैले मेसो पाउँछु कि म तिमीसित छु ।
ऐन्द्रिक अनुभूतिहरूले भरिएको त्यो क्षणमा
मेरा हातहरू सुन्तलाहरूभित्र गडेका हुन्छन्
र मेरो देहले तिम्रा हातहरूले बेरिएको महसुस गर्छ ।

कम्युनिष्ट, नारीवादी फ्रिडाका कवितामा पुरुषप्रधान समाज, नारीहरूका जीवन र समस्याहरूको चित्रण पाइन्न । उनका कविताहरूमा मेक्सिकाली नारीहरूमाथिको दमन, शोषणको चित्रण पाइन्न । उनी मेक्सिकाली नारीहरूलाई समानता र स्वतन्त्रताको लडाइँ लड्न भन्दिनन्, न त समाज र सरकारलाई समतामूलक समाज निर्माण गर्न सल्लाह दिन्छिन् । उनी आफ्नो कवितामा नारीको प्रतिरक्षा गर्दिनन् । मातृत्वको चर्चा पनि गर्दिनन् । उनको कवितामा परम्परागत नारी शरीर र जीवनको चर्चा पाइन्न । उत्तरउपनिवेशवादीहरूको चिन्ता र चासोका देशभक्ति, राष्ट्रप्रेम, राष्ट्रियता, जाति-प्रेम जस्ता विषयहरूमा केही भन्दिनन् । संसारका सबैले साम्राज्यवादी भन्ने अमेरिकासित टाँसिएको देशकी फ्रिडाको कवितामा भने पूँजीवाद, साम्राज्यवाद, बजारवाद, उपभोक्तावाद विरुद्ध केही लेखिएको हुँदैन । उनको कविताको वक्ता ‘म’ नारीजस्तो पनि सुनिन्छ, पुरुष जस्तो पनि सुनिन्छ, तेस्रोलिङ्गी जस्तो पनि सुनिन्छ । उनको कविताको वक्ता लिङ्गविहीन मनुष्य हो । प्राचीन एज्टेक सभ्यताको पुनरुत्थान हुनुपर्छ भन्ने मान्यता राख्ने फ्रिडाको कवितामा कुनै जात वा नश्लप्रतिको अनुराग झल्किन्न । न त उनले कवितामा एज्टेक संस्कृति र सभ्यतालाई श्रेष्ठतर भनेकी छिन् । उनी कवितामा आफ्नो आत्माको कुरामात्र राख्छिन्, त्यसैले त्यहाँ परम्परागत नारी भेटिन्न । उनलाई न भविष्यको चिन्ता छ न त्यसमाथि विश्वास छ । त्यसैले उनी कवितामा अतिरन्जित भविष्य र सपनाका कुराहरू गर्दिनन् । यति हुँदाहुँदै पनि उनको कवितामा आशा पाइन्छ ।

सबै सिद्धान्त, देश, जात, नश्लभन्दा बाहिर रहेर उनको कवितामा एउटा सामान्य मनुष्यको भावना मात्र छ । यसैले उनका कविता पढ्दा अति सामान्य मानिसलाई पढेको अनुभूति हुन्छ । उनी कवितामा पुरुष सत्तासित विवाद र बहस गर्दिनन् । किनकि त्योभन्दा महत्त्वपूर्ण कर्म हो जिन्दगी बाँच्नु । राजनीति उनी कम्युनिष्ट पार्टीका कार्यक्रमहरूमा गर्छिन्, आफ्ना चित्रहरूमा गर्छिन् । सीआइए  (CIA) ले ग्वाटेमालामा गरेको हस्तक्षेप विरुद्धको प्रदर्शनीमा सिकिस्त बिरामी हुँदा समेत सहभागी भएकी फ्रिडाले आफ्ना कवितामा भने राजनीतिलाई वर्जित गरेकी छिन् । समाज बदलिनु पर्छ भन्ने मान्यता राख्ने फ्रिडाले यो समाज बदल्ने कार्यभार कम्युनिष्ट पार्टीको कार्यक्रमहरूबाट, चित्रहरूबाट र आफ्नो निजी जीवनका व्यापारहरूबाट सम्पन्न गरिन् । कवितामा के हुनु पर्छ र के हुनु पर्दैन भन्नेमा उनी पूर्ण सचेत छिन् । उनी राजनीति र कविता दुवैप्रति निष्ठावान थिइन् । सोभियत संघले प्रोपोगान्डा गरिरहेको समाजवादी साहित्य लेखिनु पर्छ भन्ने समयमा र साहित्यकारले समाजको प्रगतिशील रूपान्तरणमा सहयोग पुर्याउनु पर्छ भन्ने मान्यता राख्ने प्रगतिशील विद्वानहरूको मत विपरितका कविताहरू लेखेकी फ्रिडाले कवितामा स्वयंलाई पार्टीको विचारभित्र बाँधिनन् । उनले स्वइत्तर, व्यक्तिइत्तर सत्तालाई पूर्णरूपमा अस्वीकार गरेकी छिन् । जब पुरुष छैन, समाज छैन, जात र नश्ल छैन, देश र राष्ट्र छैन, व्यक्तिइत्तर सत्ता छैन भने त्यसको समर्थन र विरोध गर्नुको कुनै औचित्य पनि छैन । नारी जन्मन्न, समाजले जन्माउँछ भन्ने मान्यताको समाजले बनाएको नारीलाई उनले विनिर्माण गरेर आफ्नो मौलिक स्थितिमा राखेकी छिन् । उनको कविता पढ्नु भनेको विनिर्मित नारीको दर्शन गर्नु हो ।

समाजलाई बदल्न हिंडेकी कम्युनिष्ट फ्रिडाकी नारी कवितामा समाजको सत्ता स्विकार्दिनन् । तर यसको अर्थ उनी समाजको अस्तित्वलाई अस्वीकार गर्दथिन् भन्ने होइन । उनी कवितामा भने समाजको सत्तालाई अस्वीकार गर्थिन् । उनी आफ्नो जीवनका अन्य कार्यव्यापार जस्तो कि चित्रकला, अध्यापन र कम्युनिष्ट पार्टीका कार्यक्रमहरूमा समाजलाई स्विकार्थिन् । यो कोणबाट हेर्ने हो भने उनका कविताहरूमा मानवीय कालजयी भावनाहरू प्रेम, स्वतन्त्रता, आशा र शाश्वतता अभिव्यक्त भएका छन् । जीवनप्रतिको मोह उनको कविताका विशेषता हुन् । फ्रिडाकी नारी समाजको सत्ता छ भन्दै  त्यसलाई व्यङ्ग्य गर्दिन, चित्त दुखाउँदिन, दुखेसो गर्दिन, असन्तुष्ट हुँदिन, रिसाउँदिन । फ्रिडाकी नारीले समाजको सत्तालाई नाघिसकेपछि त्यसले समाज विरुद्ध लड्ने परेन । फ्रिडाकी नारी स्वतन्त्रता र समानता चाहियो भन्दै आजीवन गनगन गर्दिन । ऊ स्वतन्त्रता र समानता लिन्छे । अनि कविता लेख्न बस्छे । म विद्रोह गर्छु भन्ने घोषणा गरेर ऊ विद्रोह गर्न निस्कन्न । उसले कतिखेर विद्रोह गर्छे कसैले जानकारी पाउँदैनन् । पुरुष छ र सँगसँगै पुरुषको घर, परिवार पनि छ भन्ने तथ्यसित उसलाई कुनै सरोकार छैन । किनकि पुरुष हुनु र उसको घर परिवार हुनुमा ऊ व्यक्तिगत रूपमा जिम्मेवार छैन । ‘मैले कसरी विद्रोह गरेँ र कति कष्ट सहेँ’ भन्ने विवरण ऊ कवितामा सार्वजनिक गर्दिन । यति गरेपछि उसले पुरुष सत्ताको अगाडि आत्मघाती एकालाप गर्नै परेन ।

फ्रिडा पुरुषप्रधान मेक्सिकाली समाजको कटु आलोचक थिइन् । नारी जीवनको पीडा उनका चित्रहरूमा हेर्न पाइन्छ । चित्रकलामा तत्समयसम्म कतै नदेखिएको शैलीमा उनले नारी जीवनका दुःखहरूलाई अभिव्यक्ति दिएकी छिन् । नारीको दुःख नारीको शरीरसित जोडेर उनले अभूतपूर्व रूपले आफ्ना चित्रहरूमा प्रकट गरेकी छिन् । तर यस विपरित शब्दहरूमा भने उनी नारीको दुःखलाई प्रकट गरेकी छैनन् । तलको ‘घाइते मृग’ उनको प्रसिद्ध चित्र हो ।

स्वयम्लाई मृगको रूपमा चित्रण गरेकी फ्रिडा बाणहरूले घाइते भए पनि भुइँमा ढलेकी छैन । मृगको अनुहारमा दुःख छ, चिन्ता छ तर दृढता पनि छ । शरीरभरि र मुटुमा पनि वाणहरूको प्रहारले घाइते भएको मृग भने अघि पछिझैं सामान्य रूपमा उफ्रँदै आफ्नो जिन्दगी बाँच्न डटेको छ । मृगले शिकारीतिर फर्केर प्रष्टसित सन्देश दिइरहेको छ कि ऊ कुनै हालतमा ढल्ने छैन ।

उनी कवितामा बाह्य सत्तालाई चुनौती दिन्नन बरु बाह्य सत्ताको अस्तित्व अस्वीकार गरेर आफ्नो जिन्दगी बाँच्नलाई प्राथमिकता दिन्छिन् । समाज सुधार गरेर नारीहरूका स्थिति सुधारिनु पर्छ भन्ने पवित्र उद्येश्यले उनले कविता लेखेकी छैनन् । ‘कविता समाजको निम्ति हुनुपर्छ’ भन्नेमा उनलाई विश्वास छैन । उनले मेक्सिकाली नारीहरूलाई सामाजिक रूपमा जागरुक बनाउन कविता लेखिनन् । त्यसैले कम्युनिष्ट फ्रिडाले प्रगतिशीलताको परम्परागत व्याख्यालाई नाघेर कविता लेखेकी छिन् र हामीलाई प्रगतिशीलताको नवीन परिभाषा दिएकी छिन् । फ्रिडाकी नारी मुक्ति पाइसकेकी नारी हो । मुक्त हुनलाई ऊ वर्गीय मुक्तिलाई पर्खन्न । वर्गीय मुक्तिपछि मात्र नारी मुक्त हुन्छे भन्ने मार्क्सवादी विचारलाई उनकी नारीले पत्याउँदिन । तर वर्गीय लडाइँ र मुक्ति पनि आवश्यक छ भन्दै त्यसका लागि पनि आफ्नो लडाइँ जारी राख्छे ।

कम्युनिष्ट फ्रिडाको प्रगतिशीलता नेपाली साहित्य क्षेत्रले स्वीकारेको प्रगतिशीलता भन्दा भिन्न छ भन्ने तथ्य विदुषी समालोचक अमृता शर्माको निम्न धारणाबाट प्रष्ट हुन्छ । आफ्नो लेख ‘नेपाली प्रगतिवादी कवितामा महिला’ मा उनी भन्छिन्- “प्रगतिवादी कविता लेखनको आरम्भकालीन समयमा नारी शोषण र उत्पीडनलाई कमै मात्रामा कवितात्मक विषयको रूपमा प्रतिविम्बित गरिन्थ्यो । … प्रगतिवादी कविता लेखनको शुरुआती अवधिमा शासकवर्ग र शहरिया उच्चवर्गीय परिवारका केही सीमित नारीहरूले सामान्य शिक्षाको अवसर प्राप्त गरेको भए तापनि नेपाली समाजका उत्पीडित नारीहरूका पीडा र समस्यालाई कवितात्मक स्वरूप प्रदान गर्ने तहमा भने कोही पनि पुगेको देखिँदैन ।” (समकालीन नेपाली महिला समालोचना: नेपाल प्रज्ञा प्रतिष्ठान) । यहाँ रोचक के भयो भने – नारीको शोषण, उत्पीडन र पीडा दर्शाउने कविता नलेखेकी कम्युनिष्ट फ्रिडाका कविताहरू मेक्सिकालीहरू माझ प्रगतिशील र नारीवादी भनेर चिनिन्छन् ।

यस लेखमा नारीवाद के हो ? भन्ने स्वतन्त्र परिभाषा नदिएर फ्रिडाको कविताहरूको प्रवृत्तिलाई नै नारीवादी मानिएको छ । त्यस्तै, यस लेखमा व्यक्तिइत्तर सत्तालाई अस्वीकार गरेर सुधारिएको र उन्नत जीवन प्राप्तिको सत्प्रयासलाई प्रगतिशीलता मानिएको छ । नेपाली साहित्यमा प्रगतिशीलको साटो प्रगतिवादी भन्ने चलन चले पनि यस आलेखमा दुबैलाई पर्यायवाची मानिएको छ।

(८) उद्घोषण 

यो आलेख तुलनात्मक साहित्यको सिद्धान्त अनुसार समकालीन नेपाली नारी कविता र फ्रिडा कालौका कविताको तुलनात्मक पठन हो । तसर्थ,

(क) यो आलेख नेपाली नारी कविताको समालोचना र मूल्याङ्कन होइन;

(ख) विभिन्न देश, काल र भाषाका साहित्यहरू आ-आफ्नै देश, काल र आवश्यकताका अनुसार लेखिने र मूल्याङ्कन गरिने हुँदा यो आलेख नेपाली प्रतिमान अनुसार नेपाली नारी कविताको गरिएको मूल्याङ्कन होइन;

(ग) यो आलेख एउटा पठन-विधिअनुसार गरिएको पठन हो, व्याख्या हो । अन्य पठन-विधि अनुसार पठन गर्ने हो भने नेपाली नारी कविताको व्याख्या यस लेखभन्दा नितान्त भिन्न हुन सक्छ । तसर्थ समकालीन नेपाली नारी कविताका यो लेखमा (वा यसका विभिन्न भागहरूमा) गरिएको व्याख्या पनि अन्तिम व्याख्या होइन ।

(९) नेपाली नारी कविताको तुलनात्मक पठन (भाग १)

डा. एटमद्वारा सम्पादित उपरोक्त ग्रन्थका छ नारी कविहरू उषा शेरचन, कुन्दन शर्मा, कुन्ता शर्मा, पञ्चकुमारी परियार, सीता शर्मा, सीमा आभासका कविताहरूका केही अंशहरू तल दिइएको छ ।

उषा शेरचन

 

म क्लियोपेट्रा : सृष्टिको एउटा सुन्दर फूल

……………….

खन्याउँदै जाऊ तिमी

– अविरल गतिमा

– रक्सीका बोतलहरू

– मेरो ओठका मुहान खोलेर

रित्याउँदै जाऊ तिमी

– अविरल गतिमा

– रक्सीका बोतलहरू

– मेरो छातीको ढक्कन खोलेर

………….

सलाम गर्छु म, कक्टेल पार्टीहरूलाई

चुम्बन दिन्छु म, रक्सीका बोतलहरूलाई

प्रेम गर्छु म, चियर्सका जोसिला आवाजहरूलाई

……………

कुन्दन शर्मा

पुरुष तीन रूप: मेरो दृष्टि

 

३. तिमी पिता

 

सन्तान जन्माएपछि

तिमी तृप्त हुन्छौ

मेरो एउटा चौटा पाएर

तिमी ढुक्क पर्छौ

सके सोच्छौ, म अब भाग्न सक्दिनँ

मेरो अंश तिमीकहाँ छाडेर

कतै जान सक्दिनँ- बाँच्न सक्दिनँ ।

…………..

 कुन्ता शर्मा

 

हामी सहँदै जाउँला

 

कहिले तरवार जिम्मा लगाएर

कहिले घरबार जिम्मा लगाएर

कहिले रणचण्डी भनाउँदै

कहिले कोठीमा रन्डी बनाउँदै

जसरी मन लाग्छ प्रयोग गर

तिम्रो इच्छाअनुसार उपयोग गर

ठीक छ हामी सहँदै जाउँला

समयको गतिमा वहँदै जाउँला

……………

कहिले जिउँदै चितामा जलाएर

कहिले रुख र पोथ्राहरूमा फलाएर

कात्रोमा निर्मम बेर्दै यौवनलाई

कहरहरूमा प्रतिपल थुन्दै जीवनलाई

घरि स्नेहपूर्वक गमलामा सजाऊ

घरि घृणापूर्वक नालामा खसाऊ

जसरी मन लाग्छ प्रयोग गर

तिम्रा इच्छाअनुसार उपयोग गर

ठीक छ हामी सहँदै जाउँला

समयको गतिमा वहँदै जाउँला

 

………………

पञ्चकुमारी परियार 

 

मेरो तस्बीर खिच

 

प्रिय फोटोग्राफर !

मेरो तस्बीर खिच।

 

बिना पारिश्रमिककी कामदार म

बच्चा जन्माउने मेसिन

कस्ती देखिन्छु,

सादा वा रङ्गीन ?

……………

तिम्रो मर्यादाको पालक म

तिम्रो कुलको चालक

तिम्रो सन्तानलाई जन्म दिने

कस्ती देखिन्छु ?

…………….

तिम्रो मनोरन्जनको पात्र म

तिम्रै व्यवसायको विज्ञापन

कस्ती देखिन्छु ?

…………..

यौनपिपासु लोग्नेको तिर्खा मेटाउँदामेटाउँदै

टुक्राटुक्रा पारिएकी गीता ढकाल म

बोक्सीको सफायामा

जिउँदै जलाएर खरानी बनाइएकी

ठगुनीदेवी महतो म

…………..

प्रिय फोटोग्राफर !

मेरो तस्बीर खिच ।

………….

सीता शर्मा

 

म उमा बदिनी

हजारौँ वर्षदेखि मौनमौन

चुपचाप चुपचाप

रछ्यानमा फ्याँकिएकी

अस्तित्वहीन अस्तित्व

आफू जलेर मैनझैँ अरुलाई उज्यालो दिने

आफ्नै काँचो मासुको पसल थापी

टुक्राटुक्रा बेचेर खाने

निर्जीव खेलौना सबैकी

नबोल्ने नदुख्ने पाषाण

………………..

म उमा बदिनी !

…………………..

सीमा आभास

 

म स्त्री अर्थात् आइमाई

युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म ।

तिमीले खसालेका छायाँहरू मन पराउँछु

तिमीले छोडेको श्वास पिउँछु

तिम्रो धोद्रो ध्वनि छोएर

तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु ।

……………………..

मलाई माटो बनाऊ या ढुङ्गा

पानी बनाऊ या हावा

बोक्सी बनाऊ या देवी

म स्त्री अर्थात् आइमाई

सदियौँदेखि तिमीलाई प्रेम गरिरहेकै छु ।

 

पुरुषले नारीलाई हेर्ने दृष्टिकोणले नै नारीहरूले स्वयंलाई हेर्नु

कवि उषा शेरचन ‘म क्लियोपेट्रा : सृष्टिको एउटा सुन्दर भूल’ मा प्राचीन मिश्रकी महारानी क्लियोपेट्रालाई स्वयंको रूपक बनाएर पुरुषले सत्ता र शक्ति आर्जन गर्न अझै पनि नारीको शरीरलाई उपयोग र उपभोग गर्छ भनेर आफूलाई अभिव्यक्त गरेकी छिन् । क्लियोपेट्राले यो कवितामा पुरुष-सत्ताप्रति आत्मसमर्पण गरेकी छे । सँगसँगै आफू यो व्यवस्थासित असहमत रहेकी पनि भनेकी छे, र असन्तुष्ट छे । पुरुष सत्ताप्रति व्यङ्ग पनि गर्छे र विद्रोहीको रूपमा पनि उभिन खोजेकी छे । माथि उद्धरित यस कविताका केही अंशहरूबाट प्रष्ट हुन्छ, नारी कवि पुरुषले नारीलाई हेर्ने परम्परागत दृष्टिकोणले नै स्वयंलाई हेर्छिन् । वर्तमान समयमा पुरुषहरूले प्रयोग गर्न हिच्किचाउने पौरुषता झल्किने पदावलीहरू प्रयोग गरेर क्लियोपेट्रा-कविले स्वयंलाई त्यसरी नै प्रस्तुत गरेकी छिन् । कवि कुन्दन शर्माले प्रयोग गरेको पदावलीहरूमा व्यङ्ग छ र स्वतन्त्रता गुमेको स्वीकृति पनि । कविले यहाँ स्वयंको स्थितिको वर्णन गर्न प्रयोग गरेको पदावलीहरूबाट तिनै धारणा प्रकट हुन्छ जुन नेपाली पुरुषहरूले नारीहरूबाट विवाहपश्चात आशा गर्छ : घर परिवारको जिम्मेवारी लिनु । कवि कुन्ता शर्मा आफ्नो कविता ‘हामी सहँदै जाउँला’ मा मनभरि असन्तोष र दुःख लिएर नेपाली पुरुषप्रति व्यङ्ग्य गर्दै पुरुषले जसरी उपयोग गरे पनि सहन्छिन् । चित्त दुखाएर भए पनि उनी पुरुषले नेपाली नारीलाई जसरी उपयोग गर्छु भनेको छ त्यसरी उपयोगी हुन तयार हुन्छिन् । कवि पञ्चकुमारी परियार नारीले चित्त दुखाउँदै स्वीकार्छिन् कि उनी बच्चा जन्माउने यन्त्र हुन् । उनी स्वीकार्छिन् कि उनको भाग्यमा यौनपिपासु लोग्नेको तिर्खा मेटाउँदा मारिन लेखेको छ, र उस्तै परेमा बोक्सीको आरोपमा मारिनु पनि । कवि सीता शर्मा ‘म उमा बदिनी’ कवितामा चित्त दुखाउँदै त्यही भूमिका स्वीकार्छिन्, जुन भूमिकामा बस्न पुरुष सत्ताले तोकेको थियो । कवि कविताको उत्तरखण्डमा भने आफ्नो यो भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्छिन्, र विद्रोह गर्ने चेतावनी पनि दिन्छिन् । कवि सीमा आभास आफ्नो कविता ‘म स्त्री अर्थात् आइमाई’ मा स्वयंलाई आइमाई भनिन रुचाउँछिन् । उनी पुरुषप्रति व्यङ्ग्य गर्दै पुरुषले उनका लागि तोकिदिएको भूमिका सहर्ष स्वीकार्छिन् । यी सबै कविताहरूमा साझा प्रवृत्ति भनेको नेपाली नारी कविले चित्त दुखाएर, र व्यङ्ग्य गरेर भए पनि ‘नेपाली पुरुषले नारीहरूलाई जसरी हेर्न चाहेको छ त्यसरी देखिनु’ हो । यी नेपाली नारी कवितामा पाइने यो ‘नेपाली पुरुषले नेपाली नारीहरूलाई जसरी हेर्न चाहेको छ त्यसरी नै देखिन चाहने’ प्रवृत्ति अन्य नेपाली नारी कवितामा पनि पाइन्छ ।

फ्रिडाले स्वयम्लाई आफ्ना कवितामा यथार्थवादी देखिनलाई  ‘पुरुषले नारीलाई जसरी हेर्न चाहन्छन् त्यसरी प्रस्तुत गरेकी छैनन्’ । उनले कवितामा पुरुषले ‘नारीको शरीर पुरुषले उपभोग र उपयोग गर्ने वस्तु ठानेको छ’ भन्दै त्यसको विरोध गर्ने र त्यसप्रति विद्रोह गर्ने सङ्केत गरेकी छैनन् । नेपाली नारीहरूले झैँ फ्रिडा पनि मेक्सिकाली पुरुषप्रधान समाजबाट प्रताडित थिइन् । उनी बाल्यकालमा यौन दुर्व्यवहारको शिकार पनि भइन् । उनले आफ्ना पति र बहिनीबाट धोका पाइन् । यी सबै हुँदाहुँदै पनि उनले कवितामा आफूलाई पुरुषको आँखाले हेरिनन् । उनले कवितामा आफूलाई पुरुषको भोग्या, प्रयोक्ता र पुरुष प्रताडीत, शोषित, दमित, शासित, नियन्त्रित वस्तुको रूपमा प्रस्तुत गरेकी छैनन् । उनले पुरुष वर्चस्वको कुनै वर्तमान वा अतितको घटना वा प्रसंग कोट्याएकी छैनन् । उनले आफ्ना कवितामा पुरुषको सत्तालाई स्वीकारेकी नै छैनन् । पुरुषको सत्तालाई स्वीकार्दै नस्वीकार्ने हो भने त्योप्रति असहमति प्रकट गर्नुपर्ने, त्यसविरुद्ध विद्रोह गर्नु पर्ने केही रहँदैन । फ्रिडाले आफ्ना कविताहरूमा स्वयंलाई मेक्सिकाली पुरुषले नारीहरूलाई जसरी हेर्छन् त्यसरी प्रस्तुत गरेकी छैनन् । उनकी नारी समाजीकृत नारी होइनन् । उनले पुरुष सत्ता मात्र हैन, समाज र राज्यको अस्तित्व पनि स्वीकारेकी छैनन् । उनका कवितामा समाज र यसका समस्याहरू प्रतिबिम्बित भएका छैनन् । उनले पुरुष र समाजलाई मात्र हैन कि राज्यलाई पनि नाघिसकेकी छिन्, त्यसैले उनको कवितामा राज्यका राजनीतिक संरचना र तीनका एकाइहरूसित मुठभेड हुँदैन । उनी कम्युनिष्ट पार्टीका कार्यक्रमहरूमा यी राजनीतिक एकाइहरूसित विद्रोहको कुरा गर्छिन् । रोचक त के छ भने, मेक्सिकाली जनता र नारीहरूको सामाजिक, आर्थिक र राजनीतिक स्थिति कमजोर रहे पनि उनी कवितामा यथार्थ चित्रण गर्ने नाममा नारी कमजोर छे भन्ने भाष्यलाई निरन्तरता दिन्नन्, र नकारात्मकता थोपर्दिनन् ।

उनले आफ्नो जीवनको अँध्यारो कुरा कोट्याएर गुनासो गर्न, दुखेसो गर्न कविता लेखेकी छैनन् ।  उनले स्वयंलाई पुरुषको आँखाले नहेरेकाले कविताको विषय नै नेपाली नारी कविताका भन्दा भिन्न छन् ।  नेपाली कविता पढ्दा नेपाली नारीको जीवन र परिभाषा नै पुरुषबाट निर्देशित, आधारित र  निर्णित छन् भन्ने आभास पाइन्छ भने फ्रिडाका कविताहरू पढ्दा मेक्सिकाली नारीको जीवन पुरुषबाट निर्देशित र निर्णितको कुरा छोडौं, पुरुषमा आधारित पनि छैनन् भन्ने प्रतित हुन्छन् । फ्रिडाको कविताहरू पढ्दा यो अनुभूति नै हुँदैन कि उनका कविताहरूभित्रको प्रथम पुरुष वक्ता ‘म’ स्त्रीलिङ्गी, पुरुषलिङ्गी, तेस्रोलिङ्गी मध्ये के हो । तसर्थ यो पुरुष र तेस्रोलिङ्गीको पनि आत्मा हो । उनको कविता जसले पढ्दा पनि लिङ्ग-निरपेक्ष आनन्द प्राप्त हुन्छ । उनको कवितामा पुरुषलाई आकर्षण गर्ने स्त्रीशरीर र कोमलताको वर्णन पाइन्न, न त्यसमा पुरुषप्रति कुनै व्यङ्ग्य, असन्तुष्टि, विरोध हुन्छ । उनी नारी देह र जीवनलाई तुच्छार्थमा प्रयोग गर्दिनन् । यो नारीवादी धारणा ‘नारी जन्मिन्न्न, समाजले नारी जन्माउँछ’को समाजीकृत नारी दर्शन फ्रिडाको कवितामा पाइन्न ।  उनका कविताकी नारी विनिर्माण गरिएकी नारी हो, पुरुषप्रधान समाजले जन्माउनु अघिकी नारी हो। नेपाली नारीवादी आन्दोलनले पनि के विश्वास गर्छ भने नारी समाजीकृत धारणा हो ।  त्यसो हो हो भने पुरुष-समाजीकृत हुनुपूर्वकी नेपाली नारी कस्ती हो त भन्ने जिज्ञाशा उठ्नु स्वाभाविक हो, तर यसको जानकारी नेपाली कविताहरूबाट पाइन्न । यो विशुद्ध ‘नेपाली नारी’को दर्शन नेपाली नारी कवितामा पाइन्न।

फ्रिडाकी नारीले समाजको सत्तालाई नाघिसकेपछि त्यसले समाज विरुद्ध लड्नै परेन । नेपाली नारी भने समाजको सत्तालाई स्वीकार्छे र जिन्दगीभरि त्यस विरुद्ध लडिरहने प्रतिबद्धता व्यक्त गर्छे । नेपाली नारी स्वतन्त्रता र समानता चाहियो भन्छे तर पुरुष र उसको घर, परिवार त्याग्न सक्दिन । ऊ व्यङ्ग्य गर्छे, चित्त दुखाउँछे, दुखेसो गर्छे, असन्तुष्ट हुन्छे, रिसाउँछे, आवश्यकता अनुसार रामायण र महाभारतको कथालाई नयाँ तरिकाले भन्छे, मानव अधिकारको कुरा गर्छे, लोकतन्त्र र क्रान्तिको कुरा गर्छे, पुरुषलाई पाखण्डी भन्छे, नयाँ युगको कुरा गर्छे । ऊ विद्रोहबाहेक सबथोक गर्छे । ऊ कुनै जोखिम नउठाइकन स्वतन्त्रता, समानता चाहन्छे । उसले आफ्ना लागि एउटा काल्पनिक, रोमान्टिक संसार बनाएकी छे जहाँ विद्रोह नगरी र आत्मघाती एकालाप मात्र गरेर स्वतन्त्रता र समानता प्राप्त गर्छे । नेपाली नारीलाई पुरुष, स्वतन्त्रता र समानता सबै एकैपल्ट चाहिएको छ । नेपाली नारी पुरुषबिनाको स्वतन्त्रता र समानता सोच्न पनि चाहन्न । फ्रिडालाई स्वतन्त्रता, समानता मात्र चाहिएको छ । पुरुष त्योभित्र अट्न सके ठीकै छ, अट्न नसके पनि उनलाई त्यसभित्र पुरुषलाई अटाउने रहर छैन ।

नेपाली नारी पुरुषले नारीलाई जसरी हेर्न चाहन्छ त्यसरी देखिएर काव्यिक सुन्दरता सिर्जना गर्छन् । यो सुन्दरतामा नारी दोस्रो दर्जाकी हुनुपर्ने हुन्छ । यो सुन्दरतामा सत्ता र शक्ति पुरुषसित हुन्छ र नारी त्यही सत्ता वरिपरि रहेर स्वयम्लाई अपमानित गर्छे । आफू र आफ्नो शरीरमाथि आत्मघात गर्छे, पुरुषसित रिसाएर र विनम्र भएर समान हैसियत मागिरहन्छे । फ्रिडाकी नारीलाई यो सब गर्ने फुर्सद छैन । पुरुषसित दोहोरो सवालजवाफ गरेर पुरुषको मन परिवर्तन हुन्छ भन्नेमा उनलाई विश्वास छैन, न त्यसो गर्ने गराउने धैर्य उनमा छ । उनकी नारी पुरुष सत्तालाई अस्वीकार गरेर खुरुखुरु आफ्नो जिन्दगी बाँच्न निस्कन्छे । ऊ जोखिम उठाउँछे ।

पुरुषले नारीलाई हेर्ने दृष्टिकोण राखेर नारी कविले कविता लेख्ने नहुने भन्ने होइन । पुरुषले प्रयोग गर्ने हतियार मुक्तिका लागि नारीले आवश्यकता अनुसार प्रयोग गर्न सक्छन् । तर कविताको सन्दर्भमा कुरा गर्दा सजिलैसित प्राप्त हुने सर्वसुलभ यो हतियार सबैले सुविचार नगरी प्रयोग गर्न थाल्दा नेपाली नारी कविता एकैनासको हुने जोखिम बढेको छ । वर्तमान समयमा लोकतन्त्र, वर्गीय संघर्ष, पर्यावरणवाद, साम्राज्यवाद, उपभोक्तावाद झैँ नारीवाद पनि एक महाआख्यान हो जसले नारी पुरुषबाट उत्पीडित, दमित, शासित, शोषित छे भन्छ । र नारी स्वतन्त्रता र समानताको कुरा उठाउँछ । यो महाआख्यानमा टेकेर पुरुषकै दृष्टिकोणले नारीलाई हेरेर कविता लेख्नु शायद सरल पनि छ, त्यसैले आफ्नो लेख ‘समकालीन नेपाली कविताको शिल्प विधान’ मा समालोचक डा. एटमले लेखेका यो विचार मननीय छ : “… जसले गर्दा हाम्रा कविहरू जटिल काव्यिक अभिव्यक्तिका नवीन क्षेत्रहरूको अनुसन्धान र आविष्कार गर्नुभन्दा पनि एकल मुद्दाकेन्द्रित भई विषयवस्तुको प्रत्यक्ष प्रकटीकरणतर्फ उन्मुख रहेका छन् ।” (ने. प्र. प्र.: प्रज्ञा समकालीन नेपाली कविता विमर्श) ।

जीवनभरि दुःख पाएकी कम्युनिष्ट फ्रिडाकी नारीले दुःख, उत्पीडन र आत्मघातका कुरा गर्दिन । अत्यधिक शारीरिक दुःख पाएकी र मेक्सिकाली पुरुषप्रधान समाजबाट प्रताडीत फ्रिडाले स्वयम्लाई पुरुषको आँखाले हेर्दै कविता लेखिनन् । यहाँ त नेपाली नारी कविहरू कम्युनिष्ट फ्रिडाभन्दा बढी कम्युनिष्ट देखिए । यो नै रोचक भयो । नेपाली नारी कविहरू कम्युनिष्ट फ्रिडाभन्दा किन बढी कम्युनिष्ट भएका हुन् ? कौतूहलताको विषय यही हो । तल बुँदागत रूपमा सम्भावित कारणहरूबारे चर्चा गरिएको छ ।

() यथार्थतालाई बोध र मापन गर्ने यन्त्र

कुनै देश विशेषको साहित्यलाई पाठक, विज्ञ र समालोचकहरूले कस्तो साहित्यको दर्जा दिएका छन् त्यस्तो देशको त्यो समय सरह समान आर्थिक स्थिति (समान आर्थिक, भौतिक, सामाजिक सूचकाङ्कहरू) भएका अन्य देशको साहित्य र कविता त्यही दर्जाको हुनु पर्ने अपेक्षा गर्न सकिन्छ । यस आलेखको बुँदा () का सूचकाङ्कहरूका आधारमा यति भन्न सकिन्छ कि ई. सं. १९४० तिर मेक्सिकोका जनताको आर्थिक, सामाजिक अवस्था जस्तो थियो सन् २००० तिर नेपालीहरूको अवस्था करीब करीब उस्तै छ ।  फ्रिडाकालीन मेक्सिकोको आर्थिक, भौतिक, सामाजिक परिसूचकाङ्कहरू वर्तमान नेपालसित मिल्न जान्छ भने नेपाली नारी कविताका प्रवृत्तिहरू पनि फ्रिडाका कविताका प्रवृत्तिहरूसित मिल्नुपर्ने अपेक्षा हुन्छ । त्यसो हो भने सन् १९५० अघि नै नारीवादी फ्रिडाले जुन प्रवृत्तिका कविताहरू लेखेकी थिइन् आजका नेपाली नारी कविहरूले तिनै प्रवृत्तिका कविताहरू लेख्नु पर्ने हो ।  फ्रिडाकालीन मेक्सिकोमा त्यस्तो कविता जन्मने रहेछ भने विकासको त्यही चरणमा रहेको नेपालमा पनि त्यस्तै कविताहरू जन्मनु पर्ने हो । यो किन पनि हुनु पर्ने हो भने प्राचीन मिथकीय साहित्यहरू उत्पत्ति भएका क्षेत्रहरूमा सामाजिक आर्थिक अवस्थाहरूमा समानता थियो । औद्योगिकरण नहुँदासम्म प्रत्येक देश र भाषामा भक्तिरस र शृंगाररसमा काव्यहरू लेखिए । फ्रिडालाई मेक्सिकाली अमेरिकीहरू (Chikano), यौनिक अल्पसंख्यक (LGBTQ) र नारीवादीहरूका प्रतीक मानिएको सन्दर्भमा उनका कविताहरू यथार्थवादी र प्रगतिशील छैनन् भन्न नमिल्ला । उनका कविताहरू यथार्थवादी र प्रगतिशील हुन् भने उपर्योल्लेखित नेपाली नारी कविताहरूलाई यथार्थवादी, प्रगतिशील भन्न नमिल्ला । यथार्थतालाई बोध गर्ने र मापन गर्ने भरपर्दो उपकरण नहुँदा समाजको यथार्थवादी, प्रगतिशील चित्रण गर्छु भन्ने दावी गरिएको साहित्य  सधैं  विवादमा  पर्छ । यथार्थको प्रतिबिम्बनमा विभिन्न नेपाली विद्वानहरूले आफ्नो धारणाहरू व्यक्त गरेका छन् । तर यथार्थताको मापन गर्ने यन्त्रको बारेमा कसैले बिरलै केही बोलेका छन् । फलतः कवितामा यथार्थताको माग गर्ने यथार्थवादी र मार्क्सवादीहरूका धारणाहरू अमूर्त लाग्छन् । अन्ततः यथार्थवादी भनिने कविताहरूमा यथार्थताको मनोगत तस्वीर आरोपित हुन पुग्छ र कविता विवरणहरूको अभिलेख बन्न पुग्छ ।

मेक्सिकाली नारीहरूभन्दा सुरक्षित र कम हिंस्रक जीवनयापन गरिरहेका नेपाली नारीहरूको हिंस्रक, निम्नस्तरिय प्रतिबिम्बनलाई नेपाली नारी कविहरूले यथार्थलाई चिन्न नसकिरहेको भनेर बुझ्नु पर्ने हुन्छ । यी कविताहरूमा गरिएको नारी शरीरहरूको हिंस्रक, अशोभनीय, स्त्रीद्वेषी प्रतिबिम्बनप्रति असहमत हुनुपर्ने हुन्छ । यथार्थवादी साहित्यले यथार्थलाई प्रतिबिम्बित गरेको हुनुपर्छ भनेर मार्क्सवादी दर्शनलाई टेक्ने हो भने उपरोक्त नेपाली कविताहरूमा चित्रित नेपाली नारीहरूको स्थिति यथार्थवादी होइन भन्नुपर्ने हुन्छ । स्वयंलाई पुरुषहरूको आँखाले हेरेर वास्तबिकताभन्दा हेय, तुच्छ देख्नु अवैज्ञानिक त छ, यो दृष्टिदोष पनि हो । यसले त पुरुष सत्तालाई नै वैधता प्रदान गर्दछ ।

नारीवाद वर्तमान युगको एक महाआख्यान भएकाले नारीको दुःख, कष्ट, संघर्ष व्यक्त गर्नु नेपाली नारी कविहरूका लागि बाध्यता जस्तो भएकोतर्फ इङ्गित गर्दै विदुषी समालोचक ज्ञानु अधिकारी आफ्नो लेख “समकालीन नेपाली नारीवादी आख्यान : प्राप्ति र चुनौती”मा भन्छिन्- “पछिल्लो समय नारीवाद नेपाली उपन्यासमा एउटा सिद्धान्त, चिन्तन र पद्धतिका रूपमा मात्र नभई विषयकै रूपमा प्रयोग भएको छ र यो नेपाली साहित्यको एउटा महत्त्वपूर्ण विमर्श वा डिस्कोर्सको विषय बनेको छ ।” (समकालीन नेपाली महिला समालोचना : नेपाल प्रज्ञा प्रतिष्ठान) । तसर्थ सम्भावना के पनि छ भने यो नारीवादी महाआख्यानको प्रभावमा परेर वास्तविकताको परीक्षण नगरी नै नेपाली नारी कवितामा नारीका दुःख, पीडाहरू लेखिँदै छ ।

उपरोक्त सूचकाङ्कहरूलाई नियाल्दा के देखिन्छ भने – नेपाली नारी कविहरूले यो महाआख्यानलाई टेकेर जे अनुभूति गरेका छन्, वस्तुगत रूपमा त्यो छ कि छैन भनेर जाँच्ने काम गरेका छैनन् । उनीहरूले जे अनुभूति गरे त्यो नै सत्य हो भन्ने बुझे । आफ्ना अनुभूतिमाथि प्रश्न र शङ्का गरेनन् । जाँच्ने साधन, उपकरण र माध्यम खोज्नतिर पनि लागेनन् । उपर्योक्त आर्थिक सामाजिक सूचकाङ्कहरू यस्तो उपकरण हुन सक्थ्यो जसलाई उनीहरूले ध्यान दिएनन् । नेपाल जस्तै आर्थिक सामाजिक सूचकाङ्कहरू रहेका देशमा लेखिएका यथार्थवादी, प्रगतिशील कविताहरूले पनि यथार्थता मापन गर्न सहयोग गर्न सक्थ्यो । नेपालकै गत पचास वर्षको आर्थिक सामाजिक विकासका सूचकाङ्कहरू पनि यो कार्यका लागि उपयोगी हुन सक्थे ।

(ख) व्यक्तिगत स्वतन्त्रताको उपभोग

नेपाली नारीहरूले व्यक्तिगत स्वतन्त्रताको उपभोग कतिसम्म गरेका छन् त्यसले पनि उनीहरूले लेख्ने कविताहरू प्रभावित हुन सक्ने देखिन्छ ।  पुरुषप्रधान समाज संसारभरि व्याप्त छ । त्यसैभित्र स्वतन्त्रता उपभोग गरेर फ्रिडा लगायतका नारीवादी कविहरूले कविताहरू लेखेका हुन् । पुरुष-प्रधान समाजभित्र रहेर कसरी कति स्वतन्त्रता उपभोग गर्ने हो व्यक्तिको निजी क्षमता, ईच्छा र जोखिम वहन गर्न सक्ने क्षमताभित्र पर्छ ।

फ्रिडाको जीवनले दर्शाउँछ कि उनी हठी थिइन् र कसैले थोपर्न चाहने, निर्देशन गर्न चाहने विचारहरूबाट आफूलाई मुक्त राख्थिन् । फ्रिडाले समाजका नियम र बन्धनहरूलाई स्वीकारिनन् । उनका पतिले विवाहेत्तर सम्बन्ध राखेपछि उनले पनि विवाहेत्तर सम्बन्धहरू राखेकी थिइन् । आफ्नै बहिनीसित आफ्ना पतिले विवाहेत्तर सम्बन्ध कायम गरेपछि पनि दुवैसितका विवादहरू मिलाएर सम्बन्ध सामान्यकृत गरेकी थिइन् । पछि पतिसित नै बस्न थालिन् । उनले पतिसित कानूनी रूपमा पारपाचुके गरेर फेरि पछि पूर्वपतिसितै विवाह पनि गरिन् । फ्रिडा सामान्य तर्कभन्दा बाहिरकी थिइन् । उनको निम्न बानी अत्यन्त चर्चित छ : उनी सुन्दर देखिनलाई आफ्ना आँखीभौँ बीचका रौँहरू (Unibrow) उखेल्दिन थिइन्, जुन उनका चित्रहरूमा पनि प्रष्टसित देख्न सकिन्छ । उनको विचारमा यी रौँहरू (Unibrow) सहितका नारी सुन्दर हुन्न भन्नु युरोपेली सौन्दर्यको मानक हो । उनी एज्टेक गहना र पहिरनमा सजिन मन पराउँथिन् । कम्युनिष्ट फ्रिडाले गहनालाई समाजले नारीलाई बाँध्नलाई गरेको उपक्रमको रूपमा बुझिनन् । यी गहना र पहिरन युरोपेली सांस्कृतिक वर्चस्वप्रतिको असहमति थियो । सन् १९१७ मा रुसी बोल्सेभिक क्रान्तिपछि रुसी राज्य र कम्युनिष्ट पार्टीले नै कविहरूले समाजवादलाई सघाउने समाजवादी कविताहरू लेख्नुपर्छ भनेर दिएको निर्देशन उनलाई जानकारी थिएन भनेर पत्याउन सकिन्न । किनकि उनी साम्यवादप्रति कतिसम्म आस्थावान थिइन् भने जीवनको उत्तरार्धमा स्टालिनकी समर्थक भएकी थिइन् । तर यस विपरित उनले आफ्ना कविताहरूलाई कम्युनिष्ट पार्टी निर्देशित ‘अभिलेख’ बन्नबाट रोक्न सकिन् । आफ्ना कवितामा नारी शोषण, उत्पीडन र सामाजिक परिवर्तनको आवाजहरू नउठाएकी फ्रिडा न्यूमोनियाले सिकिस्त बिरामी हुँदा भने सिआइए (CIA) ले ग्वाटेमालामा गरेको हस्तक्षेप विरुद्धको प्रदर्शनीमा भने सहभागी भएकी थिइन् । सम्भावना के पनि छ भने आफ्ना लिखित भावनाहरूलाई फ्रिडाले कविता ठानेकी थिइनन्, र प्रकाशित गर्ने उद्येश्यले लेखेकी पनि थिइनन् । प्रकाशित नै नभएपछि समाजवादी आलोचकहरू र मेक्सिकाली कम्युनिष्ट पार्टीको आलोचनाबाट बचेकी थिइन् ।

यदि समाजले नारीलाई निर्माण गरेको हो भने उनले स्वयंलाई विनिर्माण गरिसकेकी थिइन् । शायद त्यसैले होला उनका कवितामा विनिर्मित नारीसित साक्षात्कर गर्न पाइन्छ । यसैले गर्दा उनको कविताको वक्ता ‘म’ पुरुष वा तेस्रोलिङ्गी जस्तो पनि प्रतित हुन्छ । विनिर्माण गरेर समाजीकृत नारी हुनुपूर्वको नारी हुनु महत्त्वपूर्ण छ । यसो गर्न सकेमा विनिर्मित व्यक्तिका कविताहरू अत्यन्त मौलिक हुने सम्भावना रहन्छ । किनकि प्रत्येक विनिर्मित नारीका आफ्नै मौलिक अनुभव र अनुभूतिहरू हुन्छन् । तर विनिर्मित हुनु चुनौतिपूर्ण छ । विनिर्माण गर्नु भनेकै स्वतन्त्रताको उपभोग हो । स्वतन्त्रताको उपभोग जहाँसुकै पनि जोखिमपूर्ण हुन्छ । नेपाली नारी कविहरूले स्वयंलाई विनिर्माण गर्न नसकिरहेको पनि हुन सक्छ । शायद यसैले होला, नेपाली नारी कविताहरूमा ‘पुरुषले जसरी नारीलाई हेर्छ त्यसरी नै स्वयंलाई हेर्ने रहर’ अत्यधिक छ ।

स्वतन्त्र हुनु र स्वतन्त्र रहेर सोच्नु कविका लागि कति महत्त्वपूर्ण छ भन्ने तथ्य प्रगतिशील विद्वान समालोचक गोविन्द भट्टका विचारबाट प्रष्ट हुन्छ । विभिन्न खेमाका नेपाली साम्यवादी राजनीतिक दलहरूले कसरी नेपाली प्रगतिशील लेखकहरूलाई स्वतन्त्र रहन दिएनन् र नेपाली प्रगतिशील साहित्यको पतनमा सघाए भन्दै उनी भन्छन्, ‘साधना खारिंदै जान लागेका जुन जुन कवि-साहित्यकार शिल्पकलामा पनि ध्यान दिनुपर्छ भनेर गम्भीरता साथ जुट्दथे र साहित्यिक स्वायत्तताको प्रश्न उठाउँथे उनीहरूलाई प्रतिकृयावादी बुर्जुवाहरूको दबाबमा वा प्रलोभनमा पर्न गएका सामन्तीका दलाल भनेर दुत्कारिन्थ्यो, फड्कारिन्थ्यो र नैतिक ताडना दिएर पन्छाइन्थ्यो ……..।’ भट्टले समग्र नेपाली साहित्य क्षेत्रकै कुरा गरेकाले उनको उपरोक्त भनाई राजनीतिक दल आबद्ध नारी कविहरूमा पनि लागु हुनसक्ने सम्भावनालाई नकार्न सकिने स्थिति छैन । केही नेपाली नारी कविहरूले वर्गीय, नारीवादी र आधुनिक लोकतान्त्रिक महाआख्यानहरूका परिबन्दभित्र परेर कविताहरू लेखिरहेका छन् भन्न सकिने स्थिति छ । वर्तमान समयका यी महाआख्यानहरूबाट नेपाली नारी कविले स्वयंलाई कति मुक्त राख्न सक्छन्, आफूलाई कति विनिर्माण गर्न सक्छन् त्यसमा पनि भर पर्नेछ नेपाली नारीले स्वयंलाई हेर्ने दृष्टिकोण । नारी कविहरूले स्वयम्लाई जति धेरै विनिर्माण गर्न सक्छन् त्यति धेरै फरक धारका यथार्थवादी र प्रगतिशील कविताहरू नेपाली साहित्यले पाउन सक्नेछ ।

(ग) नारीवादी समालोचना

नारीवादी समालोचनाको एउटा महत्त्वपूर्ण कार्य हो, नारीले नारीका बारेमा लेखेका पाठको आलोचनात्मक अध्ययन गर्नु । नेपाली समकालीन नारी कविताहरू कति मौलिक र कलात्मक छन् भनेर मापन गर्दा नारी-हिंसा र स्त्रीद्वेषलाई हेर्नुपर्ने हुन्छ जुन गौरवको विषय होइन । तर विविध कारणले नेपाली समालोचनाले नेपाली नारी कवितालाई यथार्थवादी,  प्रगतिशील भनेको प्रतित हुन्छ । समालोचक पाण्डे यस्तै भन्छिन् । कथामा आवश्यक पर्ने नारीवादी सौन्दर्यको मानक कवितामा आरोपण गरे पनि हुन्छ भनेर नेपाली समालोचकले नारी कविताहरूको पठन गरेको जस्तो पनि छ । सम्भावना के पनि हुनसक्छ भने, नारीवादको विभिन्न हाँगाबिंगा भएकाले फरक फरक दृष्टिकोणबाट अध्ययन गर्दा पनि नारी कविता यथार्थवादी र प्रगतिशील देखिएका हुन् । नेपाली नारीवादी समालोचनाबारे विद्वान समालोचक डा. ऋषिराज बरालको निम्न भनाइ महत्त्वपूर्ण छ : “… नेपाली समाज, महिला र साहित्यको कुरा गर्दा नारीवादका सम्बन्धमा जेजस्ता धारणा बने/बनाइएका छन्, तिनको सैद्धान्तिक धरातल त्यति प्रष्ट छैन । नेपाली समाज र नारीवादलाई लिएर पुग्दो मात्रामा वैचारिक बहस छलफल हुन सकेको छैन । एनजीओका सभाकक्ष तथा विश्वविद्यालयका कक्षाकोठाभन्दा बाहिर नारीवादले वैचारिक बहसको आयाम विस्तार गर्न सकेको देखिँदैन । नारीवादी लेखन तथा समालोचनाका क्षेत्रमा भएका अध्ययन-अनुसन्धानात्मक कार्यहरू पनि विरक्तलाग्दा छन् ….।”

नारीवादी विदुषी समालोचक प्रा.डा. सुधा त्रिपाठीद्वारा सम्पादित पुस्तक ‘नेपाली नारीवादी समालोचना’को ‘प्रारम्भ’मा उनी नारीवादलाई यसरी परिभाषित गर्छिन्, “लेखनमा जीवन जगतलाई हेर्ने पुरुषकेन्द्री दृष्टिकोणलाई नारीकेन्द्री दृष्टिकोणमा परिवर्तन गर्नु नै नारीवादको अभिष्ट हो ।  यसैले नारीवादको अपेक्षा परिवर्तन हो ।” यो धारणा ठिकै हो । यसको व्यावहारिक उपयोग गरेर कथा लेख्न सकिन्छ । तर कविता न्यून शब्दहरूमा लेख्नु पर्ने हुँदा यसलाई उपयोग गरेर कविता लेख्ने हो भने ‘पुरुषकेन्द्री दृष्टिकोण’ भनेर कविहरूले सर्वप्रथम नारीलाई अपमान गर्नुपर्ने हुन्छ, नारीको हत्या गर्नुपर्ने हुन्छ, नारीको शरीरमा धेरै भन्दा धेरै हिंसा मच्चाउनुपर्ने हुन्छ, नारीलाई दोस्रो दर्जाको मनुष्य बनाएर शोषण गर्नुपर्ने हुन्छ । उपर्युक्त कविताहरूमा यस्तै भएको छ । तर उनकै ‘नारीवादको अपेक्षा परिवर्तन हो’ भनाइलाई पत्याउने हो भने फ्रिडाका कविताहरू नारीवादी र प्रगतिशील हुन् । नेपाली नारी कविताहरू भने आख्यानात्मक संरचनामा लेखिँदा आख्यानमा आवश्यक विवरणहरूले भरिएका छन् ।

नेपाली समालोचकहरूले दिएका प्रतिकृयाहरूले पनि नारी कविहरूले आफ्नो दृष्टिकोण बनाएका हुन सक्छन् । नेपाली समालोचकहरूले नारी कविहरूका उपरोक्त प्रवृत्तिका कविताहरूलाई पनि नेपाली नारीहरूका प्रगतिशील चित्रण भनेर स्वीकारेकाले नारी कविहरूले यस्ता कविताहरू लेखेको हुन सक्छन् ।  समालोचक भट्टले भनेझैँ नेपाली साम्यवादी दलहरूको निर्देशनमा परेरै सबै नेपाली नारी कविहरूले कविता लेखेका होलान् भनेर मान्न त सकिन्न तर त्यसरी प्रभावित भएर कविता लेख्ने पुरुष कविहरूबाट वा तिनका कविताहरूबाट उत्प्रेरित भएर लेखेका हुन सक्छन् ।

नेपाली नारी कविताहरूमा नारीसित सम्बद्ध विषयहरूका उठान भएकाले नेपाली नारीवादी समालोचना सन्तुष्ट छ । समालोचकले यति भन्नु ठिकै हो तर कविलाई यतिले पुग्दैन । उसले आफ्ना कविताका कलात्मकताको बारेमा जान्नु अत्यावश्यक छ । वर्तमान नेपाली नारीवादी समालोचनाले यहाँ सघाउन सक्ने देखिन्न । यस आलेखमा प्रस्तुत नेपाल र मेक्सिकोका केही सूचकाङ्कहरूको अध्ययनपछि के चाहिं भन्न सकिन्छ भने नेपाली समालोचनाले नेपाली नारी कविताहरूको कलात्मकताको सन्दर्भमा सत्य कुरा भन्न सकिरहेको छैन । नेपाली नारी कविहरू नेपाली समालोचकहरूबाट जोगिनु आवश्यक छ । नारीवादी लेखन गर्छु भनेर प्रतिबद्ध नारी कविहरूले नेपाली समालोचकहरूका कुरा सुन्ने र विदेशी नारी कविहरूलाई पढ्ने काम सँगै गर्दा प्रभावकारी हुन सक्छ ।

(घ) परिवर्तनका संवाहकहरू  

नयाँ नभए पनि, ‘समाजमा परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी र व्यावहारिक उपक्रम र व्यापार राजनीति, र सामाजिक आन्दोलन (Social Activism) हो कि कविता हो ?’ भन्ने प्रश्न पनि एकपल्ट गर्नु पर्ने देखिन्छ । यो प्रश्न फ्रिडाले पनि सोचेकी होलिन् । त्यही भएर हुन सक्छ उनले सामाजिक परिवर्तनको सर्वोत्तम व्यापार राजनीतिलाई ठानेर उनी साम्यवादी राजनीतिमा लागिन् । उनले उठाएका वा तात्कालीन मेक्सिकोमा नारीहरूको समानता र स्वतन्त्रताको सम्बन्धमा उठाइएका धेरै मागहरू मेक्सीकाली साम्यवादी राजनीतिको आधारभूमि नै थिए होलान् । कतिपय मागहरू पूरा भए पनि होलान्, सुधारहरू पनि भए होलान् । तर माथि उद्धृत सूचकाङ्कहरूबाट जान्न पाइन्छ कि त्यतिबेला पनि मेक्सिकाली नारीहरूको अवस्था सुधारिन धेरै कार्यहरू गरिन बाँकी नै थिए वा गरिएन । र, यतिबेला पनि त्यस्ता धेरै कार्यहरू गरिन बाँकी नै छन् । चाहे जति सुधार नभएकाले वा तात्कालीन मेक्सिकाली समाजमा नारीहरूको स्थिति कमजोर नै रहेकाले फ्रिडाले पुरुष दृष्टिकोण धारण गरेर कवितालाई स्त्रीद्वेषी र समाजप्रतिको आफ्नो असन्तुष्टि पोख्ने माध्यम बनाइनन् । कम्युनिष्टहरूले कवितामा सामाजिक विद्रूपताको चित्रण गर्नुपर्ने र त्यसलाई परिवर्तन गर्ने दृढता देखाउनुपर्ने मागलाई उनले स्वीकारिनन् । नारीहरूका लागि समाज र सत्ता बदलिन नसकेको क्षोभ र कुण्ठा उनले कवितामा स्त्रीद्वेषी भएर खन्याइनन् । नारीहरूले पुरुषहरूकै आँखाले स्वयंलाई हेर्नुपर्ने कुतर्कलाई उनले अस्वीकार गरिन् । यो उनको कमजोरी होइन कि समाजवादी साहित्य लेखिनु पर्ने माग गर्ने तात्कालीन सोभियत कम्युनिष्टहरूसितको विमति पनि हो ।

कवितामा मेक्सिकाली नारीहरूको कमजोर सामाजिक आर्थिक अवस्थाको चित्रण नगरे पनि, नारीले स्वयंलाई पुरुषको आँखाले नहेरे पनि अमेरिकी मेक्सिकालीहरूले (Chicano) उनलाई आफ्नो संघर्षको प्रतीक बनाए । मेक्सीकाली, ल्याटिन अमेरिकीहरूका लागि उनी प्रेरणादायी नारीवादी पनि भइन् । नेपाली नारी कविताको मानक अनुसार मेक्सिकाली नारीहरूलाई कवितामा चित्रण नगरेकी फ्रिडाका कविताहरू यथार्थवादी र प्रगतिशील दरिएर नारीवादी कहलिन्छन् भने नेपाली नारी कविका त्यस्तै कविताहरू प्रगतिशील र यथार्थवादी नदरिने भन्ने प्रश्नै उठ्दैन। बरु असी वर्षअघि वर्तमान नेपालकै सामाजिक आर्थिक स्थितिमा रहेका नारीहरू बारे फ्रिडाले लेखेका कविता प्रगतिशील र नारीवादी हुन् भने माथिका समकालीन नेपाली नारी कविताहरूलाई नारीवादी र प्रगतिशील मान्न सकिन्न । समान सामाजिक आर्थिक अवस्था रहेका दुई देशका कविता, साहित्य जस्ता चेतानात्मक अधिसंरचनाहरूमा आकाश पातालकै स्तरको भिन्नता हुँदैन । कम्तिमा मार्क्सवादले चाहिं यही भन्छ । यदि भयो भने दुवै प्रगतिशील हुन सक्दैन ।

सरकार, प्रहरी, प्रशासन, राजनीतिक दलहरूले आशा गरे अनुसार कार्य नगरेपछि व्यक्ति छटपटिन्छ, निराश हुन्छ, क्रुद्ध हुन्छ, अवसादमा डुब्छ । तर यतिकैमा सरकार, प्रहरी, प्रशासन, राजनीतिक दलहरूलाई निरन्तर दबाब नदिएर र सामाजिक आन्दोलन त्यागेर सबथोक कवितामा लेख्न थालियो भने कविताप्रति अन्याय हुन्छ । राजनीतिक दल र सरकारले गर्नुपर्ने कामहरू कविताले गर्न सक्दैन । कविता राजनीतिक र सामाजिक आन्दोलनको विकल्प होइन । बरु कविले सामाजिक आन्दोलन गर्न छोडेर सबै कुरा कविताबाट माग गर्न थाल्यो भने सरकार र राजनीतिक दलहरूलाई पनि राहत हुनेछ । तिनीहरूले खोजेकै त्यही हो – कविले राजनीतिक, सामाजिक आन्दोलन गर्न छोडेर कवितामा राजनीति गरोस् ।

राजनीतिक दलहरूसित आबद्ध नारी कविहरूले दलकै नीति र कार्यक्रमहरू नारी हकहित अनूकुल हुनेगरी बनाउन र तिनका कार्यान्वयनमा लागिपरेमा द्रूत गतिमा सामाजिक परिवर्तन सम्भव हुनेछ । र, उनीहरूले आफ्ना कविताहरूलाई राजनीतिको अधिकताबाट मुक्त पनि राख्न सक्नेछन् । कविहरूले आफ्ना राजनीतिक दलहरूका नीति तथा कार्यक्रमहरूबाट नारी हकहितका विषयहरू कार्यान्वयन गराउन नसक्दाका कुण्ठा र आक्रोश पनि कवितामा पोखेका हुन सक्छन् । यस्तो स्थितिमा पनि पुरुषकै दृष्टिकोणले हेर्नुपर्ने बाध्यताबाट मुक्त हुने हो भने नवीन र मौलिक कविता सिर्जना हुन  सक्नेछन् । मौलिक र कलात्मक कविताबाट नारी मुक्ति खोज्नुलाई अन्यथा मान्न सकिन्न । तर लोकतन्त्रमा प्राप्त राजनीतिक उपकरणहरू उपयोग गर्न छोडेर कविताबाटै नारी मुक्ति खोज्ने प्रयास गर्दा चाहिं कविताप्रति न्याय नहोला । कविताबाटै नारी मुक्ति खोज्ने हो भने लोकतन्त्र किन चाहियो पनि भन्न सकियो । लोकतन्त्रमा प्राप्त राजनीतिक उपकरण उपयोग गर्दा धेरै नारीहरूका जीवनमा धेरै आर्थिक सामाजिक परिवर्तन ल्याउन सकिनेछ, जबकि कविता लेख्नमै सीमित हुने हो भने बढीमा तीन चार जना सचेत हुनेछन् । तर ती तीन चार जनाले पनि बृहत्तर परिवर्तन ल्याउन राजनीतिक उपकरण उपयोग नगरी हुन्न । जो नारी कवि दलीय राजनीति र सामाजिक आन्दोलनबाट बाहिरिएर कविताबाटै नारी समानता र स्वतन्त्रताको लडाइँ लडिरहेका छन्, उनीहरू पनि दलीय राजनीति र सामाजिक आन्दोलनसित जोडिएर सक्रियता देखाएमा नेपाली नारीहरूको समानता र स्वतन्त्रताको लडाइँ अझै सशक्त हुनेछ र उनीहरूका कविताहरू पनि पुरुषकै दृष्टिकोणले हेरिनु पर्ने बाध्यताबाट मुक्त हुन सक्नेछन् । यसो गर्दा  कविताले हाम्रा सामाजिक परिवर्तनका आकांक्षाहरूका गह्रुङ्गो बोझ बोकिरहनु पर्ने छैन ।  दलीय राजनीति र सामाजिक आन्दोलनबाट टाढिएर कवितामा नारीहरूको अवस्था र आकाङ्क्षा प्रतिबिम्बित गर्दैमा नेपाली नारीहरूले समानता र स्वतन्त्रता प्राप्त गर्दैनन् बरु यो ‘स्वान्त सुखाय’ उपक्रमले नारी स्वतन्त्रता र समानताको आन्दोलन कमजोर हुन सक्नेछ ।

(ङ) प्रामाणिकता 

यो आलेखको बुँदा ७ मा दिइएको नेपाल र मेक्सिकोको आर्थिक, सामाजिक, लैंगिक सूचकाङ्कहरू भिडाएर हेर्दा फ्रिडाका कवितालाई प्रामाणिक र यथार्थपरक मान्ने हो भने समकालीन नेपाली नारी कविताहरू प्रामाणिक देखिन्नन् । तत्कालीन मेक्सिकाली नारीहरूका पीडादायी स्थिति र पुरुष सत्ताको अकर्मण्यताबाट आक्रोशित भएर उनी कवितामा नारीद्वेषी भएकी छैनन् । उनले कविताबाट पाठकको सहानुभूति खोजेकी छैनन् । उनले कवितालाई निजी जीवनको र मेक्सिकाली नारीहरूका दुःख बिसाउने चौतारी बनाइनन् । नेपाली नारी कविहरूले फ्रिडाभन्दा धेरै दुःख पाएका छन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ । नेपाली नारी कविताहरूमा कविहरूका जीवनभन्दा बाहिरका घटनाहरू राखे झैँ लाग्छ जसले गर्दा यी कविताहरूका प्रामाणिकता सन्देश सन्देहास्पद छ । नेपाली कविताहरूमा रक्सीको बोतल आफ्नो छातीको ढक्कन खोलेर रित्याउने भन्दा, ‘आइमाई’ बनेर युगौँसम्म पुरुषलाई प्रेम गर्छु भन्दा, अनन्तकालसम्म पुरुषलाई सहिरहनेछु भन्दा, आफ्नै काँचो मासुको पसल थापी टुक्रा टुक्रा पारेर बेच्छु भन्दा प्रामाणिक सुनिन्नन् । नारीवादी महाआख्यानलाई टेकेर लेखेजस्तो भयो । निजी जीवनभन्दा बाहिरका अनमेल विवरणहरू परे जस्तो भयो । नेपाली कविहरूले फ्रिडाभन्दा कमै दुःख पाएका होलान् तर सहने विषयमा उनीहरू फ्रिडाभन्दा धेरै अघि छन् । दुःख सहने विषयमा नेपाली नारी कविहरू प्रामाणिक देखिन्नन् । फ्रिडाले नारीको दुःखको कुरा उठाएर सहँदै जाउला भनिनन, व्यङ्ग्य गरिनन् तर नेपाली कविहरू व्यङ्ग्य गर्दै आजीवन सहने प्रतिबद्धता व्यक्त गर्छन् । कति दुःख पाए पछि कवितामा नारी जीवनको नकारात्मक प्रतिबिम्ब देखाइन पाइने हो भन्ने प्रश्नको गणितीय उत्तर यो लेखक सित छैन । तर फ्रिडाको कष्टप्रद जीवन हेरेर के चाहिँ भन्न सकिन्छ भने, जति दुःख पाए पनि नारी जीवनको स्त्रीद्वेषी, तुच्छ र नकारात्मक चित्रण नगरेर पनि सुन्दर कविता लेख्न सकिने रहेछ ।

उपरोक्त सूचकाङ्कहरूले त वर्तमान नेपाली समाज मेक्सिकाली समाजभन्दा नारीप्रति धेरै सहिष्णु र कम हिंस्रक देखिन्छ । तर एउटै नेपाली नारी  कवितामा दुईवटी नेपाली स्त्रीहरूको हत्याका विवरणहरू राख्दा वर्तमान नेपाली समाज फ्रिडाकालीन मेक्सिको भन्दा बढी हिंस्रक देखिएको छ । समाजको कुरूप यथार्थ देखाउन परेकाले यस्तो गर्नु परेको तर्क गर्ने हो भने त बलात्कृत भएर मारिएकी, आत्महत्या गरेकी, भोकै मरेकी, प्रेम गरेकाले मारिएकी र दाइजो नल्याएकाले जलाइएकी स्त्रीहरूका विवरणहरू पनि राखिनु पर्ने हो । फ्रिडाकालीन मेक्सिकोमा महिलाहरू अत्यधिक हिंसामा पर्दा त उनको कवितामा हिंसा र स्त्रीद्वेषले प्रश्रय पाएन भने महिलाप्रति कम हिंस्रक वर्तमान नेपालमा लेखिने नारी कवितामा यो हिंसाको अत्यधिक चित्रण हुन पुगेको छ ।

नेपाली नारी कविहरूले सम्पूर्ण नेपाली नारीहरूका सामूहिक दुःखलाई प्रतिबिम्बित गर्ने प्रपन्च गर्दा आफ्ना अभिव्यक्ति कति यथार्थपरक र प्रमाणिक भएको छ भन्ने तिर ध्यान पुर्याएको देखिन्न । प्रत्येक नारी कविको आफ्नो मौलिक निजी दृष्टिकोण देखिनु पर्ने हो । प्रत्येक कविले आफ्नै निजी भोगाइलाई कलात्मकताका साथ अभिव्यन्जना गर्दा पनि नारीकै जिन्दगीको प्रामाणिक अनुभूति अभिव्यक्त हुन्छ भन्ने तथ्यलाई कविहरूले उपेक्षा गरेका छन् । पाठकले प्रत्येक नारी कविको कवितामा नौलो ‘नारी स्व’ को अनुभूति गर्न पाउनु पर्ने हो, तर त्यसो हुन सकेको छैन ।  कविले नारी र उसको जीवनलाई एकसाथ पुरुषको दृष्टिले हेर्दा र त्यो दृष्टिबाट निस्कने प्रयास गर्दा कवितामा कलाको क्षयीकरण भएको छ, र चिन्ताको विषय यही हो ।

() अभिव्यक्ति-माध्यमको चयन

फ्रिडा मूलतः चित्रकार थिइन् । आफूलाई शब्द वा कविताबाट अभिव्यक्त गर्दा उनले दुईवटा अभिव्यक्तिको माध्यम निर्माण गरेकी थिइन् : चित्र र शब्द ।  तसर्थ उनीसित अभिव्यक्तिको माध्यम चुनाव गर्ने बिकल्प थियो । उनले नारी उत्पीडन, गर्भपतन, क्रान्ति, स्टालिन जस्ता विषयहरूमा पनि चित्रहरू बनाइन् । आफ्ना दुःखहरू र नारीवादी विषयहरू उनले चित्रहरूमा व्यक्त गरेकाले पनि उनमा ती विषयहरूलाई शब्दहरूमा अभिव्यक्त गर्नै पर्ने आत्मीक बाध्यता थिएन । यसले गर्दा आफ्ना सबै मनोभावनाहरूलाई शब्दहरूबाटै अभिव्यक्त गर्नुपर्ने बन्धनबाट उनी मुक्त भइन् । नेपाली नारीहरू र फ्रिडा ‘घाइते मृग’ नै हुन् । फरक के भयो भने फ्रिडाले घाइते मृगलाई चित्रमा देखाइन् भने नेपाली नारीहरूले घाइते मृगलाई कवितामा देखाए । फलतः विषय एउटै भए पनि शब्दहरूमा लेखिँदा नेपाली नारी कविताहरू नारीद्वेषी देखिए । फ्रिडाका कविताहरू भने समाज, उत्पीडन, राजनीति र हिंसाजस्ता विषयहरूबाट मुक्त हुन सके । उनले कथामा राख्नु पर्ने वृत्तान्तहरू कवितामा राखिनन् बरु चित्रहरूमा राखिन् । उनी आफ्ना चित्रहरूले संसारभरिका साम्यवादी क्रान्तिलाई सघाउन भन्ने चाहन्थिन् । फलस्वरूप कविताहरू अत्यधिक सामाजिक, राजनीतिक आग्रहबाट मुक्त हुने नै भए । कलाका बहुविधामा सिपालु व्यक्तिहरूले लेखेका कविताहरू ‘कविता विधामा मात्र सिपालु’ भएकाहरू भन्दा विविधतापूर्ण अन्तर्वस्तु, रूप र शिल्पहरूले भरिपूर्ण हुन्छन् । नेपालमै पनि यस्तो पाइन्छ ।  चलचित्र निर्देशकद्वय प्रकाश सायमी र उपेन्द्र सुब्बा तथा चित्रकार उत्तम नेपालीहरूका कविताहरूमा यो देख्न पाइन्छ । एउटै विषयलाई दुई विविध विधाहरू र तिनका विधागत आलोचनात्मक चेतहरूले नियाल्दा प्रस्तुति र अभिव्यक्तिमा फरक परिहाल्छ । नेपाली नारी कविहरूले पनि कलाका अन्य विधाहरूमा आफूलाई फैलाउन सकेमा तिनका कविताहरू स्वत: विविधतामय र बढी कलात्मक हुनेछन् ।

थप नारी कविका कविताहरूको पठन द्वितीय भागमा गरिने छ ।

क्रमशः

….

सन्दर्भ सामाग्री

इन्द्रविलास अधिकारी, (वि.सं. २०६१), पश्चिमी साहित्यसिद्धान्तप्र. सं. : साझा प्रकाशन ।

प्रा. डा. इन्द्रबिलास अधिकारी , ( वि.सं. २०६६}, तुलनात्मक साहित्य , संक्षिप्त परिचय , प्र. सं. :  साझा प्रकाशन ।

कृष्ण गौतम , (वि.सं. २०५०), आधुनिक आलोचना: अनेक रूप अनेक पठन, प्र. सं., साझा प्रकाशन ।

प्रा. डा. हेमनाथ पौडेल, डा.अमर गिरी, (बि. सं. २०७९),समकालीन नेपाली कविताको शिल्प, प्र.सं.: नेपाल प्रज्ञा प्रतिष्ठान                                                      :

कृष्णचन्द्र सिंह प्रधान, (वि. सं. २०७९), साझा समालोचना,  छै. सं. :  साझा प्रकाशन ।

कुमारी लामा, (वि. सं. २०७९) , समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना  : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

विष्णु प्रभात , सुदर्शन श्रेष्ठ (सं), (वि. सं.. २०७७), गोविन्द भट्ट- साहित्य मीमांसा : साझा प्रकाशन  ।

डा. गोपिन्द्र पौडेल, डा. बिन्दु शर्मा (सं), (वि. सं. २०७८), समकालीन नेपाली महिला समालोचना, प्र. सं : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

डा. नेत्र एटम (सं), (वि. सं. २०७४), समकालीन प्रतिनिधि नेपाली नारी कविता : नेपाल प्रज्ञा-प्रतिष्ठान ।

डा. अमर गिरी, सह प्रा. हेमनाथ पौडेल, डा. लक्ष्मण प्रसाद गौतम (सं), (वि. सं., २०७२), प्रज्ञा समकालीन नेपाली कविता विमर्श:  नेपाल प्रज्ञा-प्रतिष्ठान  ।

डा. ऋषीराज बराल, (वि. सं. २०७७), आजको समालोचना,  प्र. सं. : साझा प्रकाशन ।

उत्तम नेपाली, (वि. सं. २०६०), उत्तम नेपालीका कविताहरू, प्र. सं. : नेपाल प्रज्ञा प्रतिष्ठान ।

प्रकाश सायमी, (वि. सं. २०६८), गालिबको चिहान र अरु कविता, प्र. सं. : भावक अभियान नेपाल ।

सुधा त्रिपाठी (सं.), (वि. सं. २०६२) , महिला समालोचक र नेपाली समालोचना, प्र. सं. : साझा प्रकाशन  ।

प्रा. डा. सुधा त्रिपाठी , सीता पन्थी (सं), (वि. सं. २०७०), नेपाली नारीवादी समालोचना . प्र. सं. : नेपाल प्रज्ञा प्रतिष्ठान ।

लीला लुइटेल, (वि. सं. २०७० ), नेपाली कवितामा महिलालेखन, प्र. सं : नेपाल प्रज्ञा प्रतिष्ठान ।

डा. नारायणप्रसाद गडतौला, (बि. सं. २०७४),समकालीन नेपाली कविताको समाजशास्त्र , प्र. सं.: नेपाल प्रज्ञा प्रतिष्ठान ।

डा. कौशिला रिसाल, (वि. सं. २०८०), नेपाली कवितामा नारी चेतना, प्र.सं.: नेपाल प्रज्ञा प्रतिष्ठान ।

उपेन्द्र सुब्बा , (वि. सं. २०८०), खोलाको गीत र पुराना कविता , पाँ. सं. : फिनिक्स बुक्स ।

Gannit Ankori – (AD 2013), Frida Kahlo, Reaktion Books, London ; (Internet Archive: archive.org)

Frida Kahlo – (AD 1995), The Diary of Frida Kahlo: An Intimate Self-Portrait (Introduction by Carlos Fuentos); (Internet Archive: archive.org)

Salomon Grimberg, (AD 2008), Frida Kahlo- Song of Herself , 2008, Merrel  (Internet Archive: archive.org)

वेबपेजहरू

Frida Kahlo –  https://www.fridakahlo.org/

https://en.wikipedia.org/wiki/Frida_Kahlo

https://www.britannica.com/biography/Frida-Kahlo

https://frida-kahlo-foundation.org/

https://en.wikipedia.org/wiki/Mexican_Revolution

https://en.wikipedia.org/wiki/History_of_Mexico

https://en.wikipedia.org/wiki/Chicano

https://www.britannica.com/place/Mexico/World-War-II-1941-45

https://www.elephantjournal.com/2016/10/to-my-diego-4-poems-by-frida-kahlo-that-demonstrate-the-exquisite-nature-of-love/

https://www.denverartmuseum.org/en/blog/quotes-frida-kahlo

….

आर्थिक सूचकाङ्कहरू लिइएका वेबपेजहरू

https://en.wikipedia.org/wiki/Women_in_Mexico

https://en.wikipedia.org/wiki/Homicide_statistics_by_gender

https://www.qualtrics.com/blog/countries-ranked-by-female-workforce/

https://genderdata.worldbank.org/en/indicator/se-adt

https://www.google.com/url?sa=t&source=web&rct=j&opi=89978449&url=https://en.wikipedia.org/wiki/Human_sacrifice_in_Aztec_culture&ved=2ahUKEwiS8P2YwbCMAxWXyjgGHYHINhYQFnoECBQQAQ&usg=AOvVaw3zRwlcQqk55cZuF0EATIPo

https://data.worldbank.org/indicator

https://www.worecnepal.org/

https://www.macrotrends.net/global-metrics/countries/mex/mexico/gdp-per-capita

https://www.macrotrends.net/global-metrics/countries/npl/nepal/gdp-per-capita

https://hdr.undp.org/gender-development-index#/indicies/GDI