() परिचय 

कवि गोपालप्रसाद रिमालले रचेका ‘आमाको सपना ‘ कविता वि.सं. २००० मा शारदा पत्रिकामा प्रकाशित भएको थियो । नेपाली भाषामा गद्य कविताका प्रणेताका रूपमा चिनिने रिमालको यो कविता तात्कालीन साहित्यवृत्तमा औधी रुचाइयो किनकि यो कवितामा प्रयुक्त गद्यशैली अत्यन्त नवीन थियो र कवितामा प्रतीकात्मक रूपमा राणाशासन विरुद्ध क्रान्तिको सुनिश्चितता अभिव्यक्त भएको थियो । वि.सं. १९७५ मा काठमाडौंमा ब्राह्मण परिवारमा जन्मेर वि.सं. २०३० मा देहावसान भएका कवि रिमालको यो कवितालाई अधिकांश साहित्यवेत्ताहरूले उनको उत्कृष्ट कविताको संज्ञा दिएका छन् । समालोचक ताना शर्माले रिमालका कविताहरू संकलन गरी वि.सं. २०१९ मा प्रकाशित गरेको कवितासङ्ग्रह ‘आमाको सपना’को नाम पनि यही कविताले जुराइदिएको हो । यसै सङ्ग्रहले वि.सं. २०१९ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

‘आमाको सपना’ कविता यस लेखको अन्त्यमा दिइएको छ ।

() स्त्रीवादी पठननै किन

स्त्रीहरूको शरीरसित जोडेर उनीहरूको स्वार्थ र हितका कुरा उठाउनु, उनीहरूका स्वार्थ र हितका लागि सामाजिक र आर्थिक परिवर्तनका कुरा उठाउनु र त्यसका लागि हुने गरिने सबै प्रबन्ध स्त्रीवाद हो । स्त्रीवादी समालोचनाले दुईवटा काम गर्छ । पहिलो, वर्तमान र विगतका साहित्यमा महिलालाई कसरी चित्रण गरिएको छ त्यसमाथि प्रश्न उठाएर पुनर्पठन गर्नु, अन्वेषण गर्नु । दोस्रो, महिलाले महिलाहरूका बारेमा लेखेका पाठहरूको आलोचनात्मक अध्ययन गर्नु ।

यस लेखमा ‘आमाको सपना’लाई पुरुषवर्चस्व रहेको नेपाली साहित्यक्षेत्रले र महिला साहित्यकारहरूले कसरी व्याख्या गरेका छन् सो अध्ययन गरेर यसको पुनर्पठन गरिएको छ । स्त्रीलाई यस कवितामा गरिएको चित्रण र यो कृतिपछिका समयमा नेपालमा भएका राजनीतिक, सामाजिक परिवर्तनहरूमा देखिने नेपाली प्रवृत्ति र स्वभाव बीचमा केही सम्बन्ध छ कि भनेर पनि हेर्न खोजिएको छ ।

यो कवितामा आमाले आउने आशा गरेकी मुख्य पात्र ‘त्यो’ क्रान्ति हो र यसको लिङ्ग नहुनु पर्ने हो । लिङ्ग भए पनि उभयलिङ्गी वा तेस्रोलिङ्गी हुनुपर्ने हो । तर कविले ‘त्यो’लाई पुरुष भनेका हुन् कि जस्तो प्रतित हुन्छ। आमालाई कसरी थाहा भयो कि जो आउनलागेको छ त्यो पुरुष हो ? प्रारम्भमा यही उत्सुकता यो कविताको स्त्रीवादी पठन गर्नुको प्रमुख कारण थियो । यही क्रममा यो लेखकले वानीरा गिरीको विद्यावारिधि शोधपत्र (कवि गोपालप्रसाद रिमालका कवितामा स्वच्छन्दतावाद, वि.सं. २०३९ ) अध्ययन गर्ने अवसर पायो । गिरीले आफ्नो शोधपत्रमा आउनलागेको ‘त्यो’ बुहारी भएकी व्याख्या गरेकी रहिछिन् । नेपाली पुरुष साहित्यकारहरूले ‘त्यो’ पुरुष भएको भनिरहँदा महिला साहित्यकार गिरी एकजनाले मात्र ‘त्यो’ स्त्री हो भनेकी छिन्। रिमालले आफ्ना यसपूर्वका कविताहरूमा ‘प्रेमिका’लाई क्रान्तिको प्रतीकको रूपमा प्रयोग गरिरहेकोमा ‘आमाको सपना’ कवितामा स्त्रीलिङ्गी प्रेमिका अचानक कसरी समलिङ्गी बुहारी हुन पुगी भन्ने कौतुहलता र यसले सिर्जित विस्मयले स्त्रीवादी पठन गर्न झन उत्प्रेरित बनायो ।

यो कवितामा वर्णित आमा, छोराले कुनै जिम्मेवारी लिँदैनन्, कुनै सक्रियता देखाउँदैनन् । “त्यो” आउने सपना मात्र हेर्छन्, आशा मात्र गर्छन् । कवितामा उल्लेख गरिएअनुसार काखको छोरा रोगीझैँ  छ । तर यो रोगीझैँ  छोराको उपचार गर्ने विधि कवितामा खुलाइएको छैन । बरु आमा, छोरा यही अन्धविश्वास लिएर बस्छन् जब ‘त्यो’ आउँछ सब ठीक हुन्छ। यो कवितामा वर्णित तीन पात्रहरू आमा, छोरा र ‘त्यो’का प्रवृत्तिहरू यो कविता लेखिएको असी वर्षभन्दा अधिक हुँदा पनि परिवर्तन भएका छैनन् । यो कवितामा अभिव्यक्त चरित्रहरूको प्रवृत्ति र स्वभाव यो कविता लेखिएको असी वर्षपछिसम्म पनि नेपालमा देखिनु संयोग मात्र हो कि यो नेपालीहरूको अवचेतनमा रहेको कुनै सत्य हो भनेर पनि विमर्श गर्ने प्रयत्न गरिएको छ। यो कविताको स्त्रीवादी पठन गरेर निम्न प्रश्नहरूको जवाफ के हुन सक्छन् भनेर जान्न खोजिएको छ ।

(क) यो कवितामा वर्णित पात्रहरू मध्ये ‘त्यो’ पात्र क्रान्तिपुरुष हो वा क्रान्तिनारी हो ?

(ख) के रिमालले असी वर्षअघि नै नेपालीहरूको सामाजिक राजनीतिक जीवनको भविष्यवाणी गरिदिएका थिए ? कि रिमालको यो कविता नेपाली पुरुष अवचेतनको अभिव्यक्ति थियो जुन नेपालीहरूले असी वर्ष भइसक्दा पनि बाँचिरहेका छन् ?

माथिको गम्भीर प्रश्नहरूको उत्तर यो एउटा सामान्य साहित्यिक अध्ययनले दिँदैन भन्नेमा लेखक सचेत छ । कार्य-कारण सम्बन्ध छ कि छैन भनेर अध्ययन गर्नु यो लेखको क्षेत्रभित्र पर्दैन। यस्तो सामान्य अध्ययन कार्य-कारण सम्बन्ध प्रमाणित गर्न अपर्याप्त रहे पनि साहित्यिक विमर्शलाई दर्शन, इतिहास, सामूहिक मनोविज्ञान, संस्कृतिको विमर्शसित जोड्न उपयोगी हुने देखिन्छ । हामी नेपाली जस्तो छौँ, त्यस्तो किन छौँ भन्ने प्रश्नको उत्तर प्राप्त गर्न केही सहयोगी हुन सक्छ ।

पाठकहरूबाट वा विद्वान्हरूबाट यहाँ के कुरा उठन सक्छ भने ‘त्यो’ स्त्री हो, पुरुष हो वा तेस्रो लिङ्गी हो भन्नेलाई यति महत्त्व दिइरहनु पर्छ र ? सामान्य विषयलाई यति खोजिनीतिको विषय बनाउनु आवश्यक छ र ? लेखकले यो विषयलाई महत्त्व दिएकै होइन – महत्त्व त यो कविताको व्याख्या गर्ने पूर्ववर्ती विद्वान् विदुषीहरूले देखाइसकेका छन्। यहाँ त ती विद्वान् विदुषीहरूको विचारहरूमाथि छलफल मात्र गरिएको हो। असी वर्षसम्म ‘त्यो’ भनेको पुरुष हो भनेर पुरुष साहित्यकारहरूले किन भने त ? यति सामान्य विषय हुँदो हो त ‘त्यो’ स्त्री हो भन्नलाई वानीरा गिरीको विद्यावारिधिलाई पर्खनु पर्ने थिएन। उनका पूर्ववर्ती पुरुष साहित्यकारहरूले भनेको भए हुन्थ्यो !  गिरीले ‘त्यो’ बुहारी हो भनेको पनि चालीस वर्ष भइसक्यो तर नेपाली पुरुष साहित्यकार र विद्वान्हरूले ‘त्यो’ स्त्री पनि हुनसक्छे भनेर स्वीकारेका छैनन् । सबैभन्दा महत्त्वपूर्ण चाहिँ पुरुष भनिएको ‘त्यो’ असी वर्षमा नेपालमा तीनपल्ट (वि.सं. २००७, २०४६, २०६३) आइसक्यो, ‘त्यो’ लाई बूढेसकालमा पनि जन्माएर आमा मर्ने स्थितिमा पुगिसकेकी छिन्, तर काखाको गैरजिम्मेवार छोरा आफ्नो रोगको उपचार नगराइकन अझै ‘त्यो’ आउनु पर्ने भन्दैछ र ‘त्यो’ आउनेमा आशावादी छ । तसर्थ साबिकको व्याख्याबाट बाहिरिन पनि नयाँ व्याख्या आवश्यक छ।

रिमाललाई उनका समकालीन र पछिका विद्वान्हरूले “रोमान्सेली र स्वच्छन्दतावादी” कविको पगरी भिराइदिएपछि नेपाली साहित्यमा उनलाई आजसम्म पनि त्यही अनुरूप पढ्ने र बुझ्ने गरिएको छ। वानीरा गिरीले आफ्नो विद्यावारिधि ‘रिमालको स्वच्छन्दतावाद’मै गरिन् । रिमाललाई एकोहोरिएर ‘रोमान्सेली, स्वच्छन्दतावादी’ कविकै रूपमा नपढेर भिन्न तरिकाले किन नपढ्ने भनेर पनि यो कविताको स्त्रीवादी पठन गरिएको हो ।

रिमालका अन्य कविता छोडेर स्त्रीवादी पठन गर्न यही कविता रोज्नुको कारण रिमालका समकालीनदेखि अहिलेको पुस्तासम्मलाई यही कविताले आकृष्ट गर्ने गरेको छ । यो कवितामा राणा शासनविरुद्ध क्रान्तिको आशा व्यक्त गरिएको छ। ‘आमाको सपना’ कविता कति महत्त्वपूर्ण कविता थियो भन्ने कुरा ताना शर्माले गिरीलाई भनेका यो भनाइबाट प्रष्ट हुन्छ: “कवि रिमालका काव्यरचनाको सबैभन्दा उर्बरकालका भावना र संवेदनाको प्रतिनिधित्व गर्ने भनी त्यसबेला बहुचर्चित ठानिएको हुनाले नै (सङ्ग्रहको नाम) ‘आमाको सपना’ शीर्षकलाई रोजिएको थियो“। ईश्वर बराल, केशवप्रसाद उपाध्याय, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी, कृष्णप्रसाद पराजुली, यज्ञराज सत्याल, चिरन्जीवी दत्त, खेमनाथ कोइराला ‘बन्धु’, कृष्णविलास पौडेल, नरेन्द्र चापागाईं आदि सबैले आफ्नो कृतिमा रिमालका ‘आमाको सपना’ कविता छुटाएका छैनन् । प्रगतिशील समालोचक गोविन्द भट्टलाई पनि यो कविता मन पर्छ । गिरी लेख्छिन्- “रिमालको काव्य यात्राको दोस्रो काल खण्डको चरम बिन्दुमा कवि रिमालबाट ‘आमाको सपना’ जस्तो सर्वोत्कृष्ट कविताको रचना हुन्छ “ । गरिमामा प्रकाशित आफ्नो लेख ‘आमाको सपनामा विचार’ की लेखिका समालोचक सरिता तिवारी रिमालको ‘आमाको सपना’ आफूलाई धेरै मन पर्ने कविता भन्छिन् । समकालीन महिला समालोचक रजनी ढकालले यही कवितामा प्रयुक्त अलंकारविधानको अध्ययन गरेकी छिन् । “आमाको सपना” कविता आज पनि १२ कक्षाको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश छ। रिमालको कविताको चर्चा गर्नुपर्यो भने “आमाको सपना” छुट्दैन ।

() तात्कालीन विश्वपरिस्थिति र रिमालको दार्शनिक, राजनैतिक विचार

प्रथम विश्वयुद्ध समाप्त भएपछि जन्मिएका रिमालले ‘आमाको सपना’ कविता लेख्दा दोस्रो विश्व युद्ध भइरहेको थियो । भारत, चीनलगायत संसारभरिकै देशहरूमा उपनिवेशविरुद्ध विद्रोह, आन्दोलनहरू भइरहेका थिए । यस्तो समयमा युवा रिमाल पनि क्रान्तिकारी बनेका थिए ।

रिमालको आफ्नै भनाई पनि सान्दर्भिक छ । ‘बन्धु’सितको कुराकानीमा रिमाल भन्छन्, “मेरो साहित्यको उद्देश्य प्रगतिशीलता नै हो।……मेरो विचारमा क्रान्तिकारिता नै आधुनिकता हो । ….. निराशा र पलायनको भावना भने साहित्यमा ठीक होइन । …… म सामाजिक भई मार्क्सवादमा विश्वास गरी लेख्छु।” इब्सेन, जर्ज बर्नाड शा, गोर्की, चेखब, निराला आदि रिमाललाई मन पर्ने विदेशी साहित्यकारहरू हुन् । बालकृष्ण समले रिमाललाई इब्सेनको शैलीमा नाटक लेख्न प्रेरित गरेका थिए । आफूले सोचेको क्रान्ति र परिवर्तन गर्न राजनीतिमा लाग्नुपर्छ भन्ने सोचाइ भएका रिमाल आफैंले ‘प्रजा पंचायत’ भन्ने राजनीतिक दल पनि खोलेका थिए। उनी वि.स. २००४ र २००७ साल गरेर दुईपटक जेल परेका थिए । नाटककार विजय मल्ल रिमालमा मार्क्सवादको प्रभाव परेको मान्छन् ।

रिमाल नेपाली महिलाहरूको सामाजिक स्थितिदेखि सन्तुष्ट थिएनन् र उनका नाटकहरू र कविताहरूमा यी विचारहरू पाइन्छन् । रिमाल जातीय भेदभावजन्य स्पृश्यास्पृश्यको विरोधी थिए । उनी जातीय संकीर्णता, धार्मिक कट्टरता र ईश्वरवादको पनि निन्दा गर्थे ।

() रिमालको काव्यको प्रवृत्ति

रिमाललाई नेपाली साहित्यवेत्ताहरूले नेपाली गद्य कविताका प्रणेता भनेका छन् र इतिहासका तथ्यहरू हेर्दा यसमा विमति राख्नुपर्ने कुनै कारण छैन । रिमाललाई स्वच्छन्दतावादी, प्रगतिवादी र क्रान्तिकारी कविको रूपमा चिनिन्छ । उनका कविताहरूलाई सामान्यतः तीन कालखण्डहरूमा विभाजन गर्ने गरिएको छ : गिरीका अनुसार प्रथम कालखण्डमा (वि.सं. १९९२-१९९७ सम्म) स्वच्छन्दतावादी प्रवृत्ति छन्, दोस्रो कालखण्डमा (वि.सं. १९९७-२००५ सम्म) स्वच्छन्दतावादी र प्रगतिवादी प्रवृत्ति छन् भने तेस्रो कालखण्डमा (वि.सं. २००६-२०२१ सम्म) स्वच्छन्दतावादी, प्रगतिवादी र व्यङ्गात्मक प्रवृत्ति छन्। ‘आमाको सपना’ दोस्रो कालखण्डको कविता हो । गिरी लेख्छिन्- “रिमालको स्वच्छन्दताभियानमा प्रस्तुत कविता ‘आमाको सपना’बाट नै रिमालिया प्रवृत्तिको श्रीगणेश भएको कुरा नेपाली काव्य-साहित्यका विवेचकहरूको निम्ति छर्लंग हुन्छ ।” समालोचक भट्ट रिमालले वि.सं. १९७५ पछिको आधुनिक नेपाली साहित्यमा क्रान्तिको धारलाई नेतृत्व दिएको मान्छन् । उपाध्याय पनि रिमाललाई क्रान्ति र विद्रोहको कवि मान्छन् । उपाध्याय भन्छन्, “गद्यमा कविता गर्नु यिनको प्राकृतिक प्रवृत्ति हो ।“ रिमालका अधिकांश कविताहरू प्रतीकवादी छन्। रिमालको प्रगतिशीलतामाथि चाहिँ विभिन्न आलोचकहरूले प्रश्न उठाएका छन् । भट्टले नेपाली प्रगतिवादी समालोचकहरूले रिमालका नारी पात्रहरू हुनुपर्ने जति क्रान्तिकारी नरहेको गुनासो गर्ने गरेको उल्लेख गरेका छन्। तर यस्तो गुनासोमा आमाको सपनाकी आमा पर्छिन् कि पर्दैनन् स्पष्ट छैन । विगतमा सम्भवत: गैरमार्क्सवादी साहित्यकारहरूले फ़्रायडेली मनोविश्लेषणको सिद्धान्त अनुसार पनि रिमालको कविताको व्याख्या गरेको प्रतीत हुन्छ किनकि भट्ट आफ्नो पुस्तक ‘साहित्य मीमांसा’मा फ़्रायडेली व्याख्या गर्नेहरूप्रति असन्तुष्ट छन् । तर यस्तो फ़्रायडेली व्याख्यामा क-कसले के के भने त्यसको आलेख यो लेखकले फेला पार्न सकेन । रिमालको कविताको बारेमा वासुदेव त्रिपाठी भन्छन्, ‘उनी हृदयका कवि हुन् – बैंस र वसन्तका न कि बौद्धिक चिन्तनात्मक कसरतको ….. ।“

() उद्घोषण 

यो लेख समालोचनाको स्त्रीवादी सिद्धान्त अनुसार रिमालको कविता ‘आमाको सपना’को एउटा पठन हो । तसर्थ यो लेख,

(क) ‘आमाको सपना’ कविताको समालोचना होइन;

(ख) यो लेख यो कविताको मूल्याङ्कन, पुनर्मुल्यांकन होइन । रिमालले नेपाली कवितामा भित्र्याएको गद्य शैली र क्रान्तिकारिता विवादभन्दा माथि छ । यति भन्दै गर्दा उनको कवितालाई पुनर्पठन गरेर केही नवीन तथ्य र प्रवृत्ति फेला पार्न सकेमा त्यसले नेपाली कविता क्षेत्रको श्रीवृद्धिमा योगदान नै पुग्नेछ।;

(ग) यो कविताको व्याख्या यसभन्दा अघि अन्य विद्वान् एवं विदुषीहरूबाट भइसकेको सन्दर्भमा यस लेखमा गरिएको व्याख्यालाई थप अर्को व्याख्याभन्दा उपयुक्त होला । समालोचनाका अन्य सिद्धान्तअनुसार पठन गर्ने हो भने यो कविताको व्याख्या यस लेखभन्दा नितान्त भिन्न हुन सक्छ । तसर्थ यो कविताको यो लेखमा गरिएको व्याख्या पनि अन्तिम व्याख्या होइन ।

() कविताको स्त्रीवादी पठन 

यो कवितामा तीन प्रमुख चरित्र छन्: छोरा, आमा र “त्यो”। छोरा नेपाली जनताको प्रतीक हो, आमाले नेपाल देशलाई जनाउँछ भने ‘त्यो’ क्रान्ति, परिवर्तनको प्रतीक हो । तात्कालीन राणाकालीन स्थितिमा राणाशासनको विरुद्ध बोल्नु वर्जित भएकाले प्रतीक प्रयोग गर्नु वान्छनीय थियो र कविले त्यही गरेका छन् । नाटकको संवाद शैलीमा रचित यो कवितामा छोरा र आमा त्यस्तो ठाउँमा छन् जुन शान्त छ, सुरक्षित छ ।  शायद दुवै जना आफ्नो घरको कोठाभित्र छन् । कवितामा त्यस्तो केही वर्णन गरिएको छैन जसले यी आमा छोराले कुनै जोखिम लिएको बुझिन्छ ।  कवितामा ‘त्यो’ का लागि आउनेछ, लड्नेछ, बनाउनेछ जस्ता पुलिङ्गी क्रियापदहरू प्रयोग भएका छन् र काखको छोरा नै ‘त्यो’ होस् भन्ने आमाको विगतको चाहना भएकाले ‘त्यो’ पुरुष नै हो जस्तो छ। आउनेछे, लडनेछे, बनाउनेछे जस्ता स्त्रीलिङ्गी क्रियापदहरू प्रयोग भएका छैनन् । त्यसैले आउनलागेको ‘त्यो’ पुरुष हो भन्ने झल्किन्छ ।

प्रतीकको प्रयोग गरेर लेखिएको यो कविताको व्याख्यामा दुईवटा धार देखिएको छ: एउटा उपाध्याय लगायतका पुरुष साहित्यिक विद्वान्हरूका, अर्को एक्ली महिला साहित्यकार वानीरा गिरीको । उपाध्यायको व्याख्या यस्तो छ: काखमा रहेको छोरा तत्कालीन नेपाली जनताको प्रतीक हो भने आमा नेपाल देशकी प्रतीक हुन् । काखामा रहेको छोराले (रिमाल स्वयम्) आमालाई दुःख (राणा शासन) बाट मुक्त गराउन नसकेपछि आमा यो छोरालाई समेत माया गर्दै त्यो (अर्को छोरा जो क्रान्तिपुरुष हो) जन्मनेमा विश्वस्त हुन्छिन् जसले उनलाई दुःखबाट त्राण दिनेछ ।

गिरीको व्याख्या यस्तो छ:  यो छोरा रिमाल स्वयम् हुन् तसर्थ यो तत्कालीन नेपाली जनता हो । क्रान्तिप्रिय कवि रिमालको लागि क्रान्ति प्रेमिका हुन् । ‘त्यो’लाई व्याख्या गर्दै गिरी लेख्छिन्, ‘जुन किसिमकी दुलही भित्र्याउने अभिलाषा युवाकवि रिमालको थियो, त्यस्तै किसिमको बुहारी भित्र्याउने अभिलाषा नेपाल आमाको थियो’। आमा वृद्ध, बिधुवा हुन् र दुःखी छिन् । कवि आमाको काखामा लुट्पुटिएर सोध्छन् त्यो आउँछ कि आउँदैन ? आमा विश्वासका साथ भन्छिन्, “त्यो आउँछ” । आमा त्यसैलाई बुहारी बनाउन चाहन्छिन् । गिरीको लागि ‘त्यो’ बुहारी हो, क्रान्तिनारी हो । त्यो आएपछि छोराले आफ्नो प्रेमिका पाउनेछ, आमाले आफ्नो दुःख कम गर्ने बुहारी । बुहारी भविष्यको प्रतीक हो भने काखको छोरा वर्तमानको । यसरी ‘त्यो’ वर्तमान र भविष्य दुवै हो ।

यी दुईवटा व्याख्यामध्ये उपाध्यायको व्याख्यालाई सबैले रुचाएको पाइन्छ । गिरीको व्याख्यालाई किन रुचाइएन भनेर थप अध्ययनको विषय हुन सक्छ । उनको शोधपत्र पछि कुनै लेखको रूपमा नआएकाले पनि ‘त्यो’ स्त्री हुन सक्छे भनेर कतै चर्चा नभएको जस्तो पनि देखिन्छ । गिरी आफैंले पनि यो विषयलाई महत्त्वका साथ आफ्नो पछिल्लो साहित्यिक जीवनमा उठाइनन् जस्तो पनि छ ।

यो कविताको बारेमा विगतका विद्वान् साहित्यकारहरूले के के भनेका थिए त्यो पनि एकपल्ट बुझौँ । हृदयचन्द्रसिंह प्रधान भन्छन्, “आमाको सपनाकी आमा देखेर मलाई साह्रै माया लाग्यो । उनी हरेक कुराबाट पीडित बुझिन्छ। आफ्नो जीवनका पला पलाबाट पीडाको अनुभव गर्दै उनी वृद्धावस्थामा पुगिरहेको देखिन्छ । आमाकी सपनाकी आमा कति वर्षकी भइन् क्यार ………. वास्तवमा आमाकी सपनाकी आमा यद्यपि एउटी काली, चण्डी, झाँसीकी रानी जस्ती बीरा छैनन् ।……. आमाकी सपनाकी आमा अत्याचारी आततायीहरूबाट साह्रै दुःखित भइसकेकी छिन् । ……. आमाको सपनाका कविको “त्यो” व्यक्ति हो पीडित जीवनको उद्धार गर्नलाई आउने शान्तिको शत्रुको शत्रु हो ।“

समालोचक रत्नध्वज जोशी लेख्छन्, “क्रान्ति अगाडिका कविताहरूमध्ये “आमाको सपना” सबभन्दा राम्रो कृति छ । प्रत्येक आमाको मनमा आफ्नो छोरोलाई एक पुरुषार्थी वीरको रूपमा देख्ने आकांक्षा हुन्छ । यही कुरालाई कविले एक क्रान्तिकारीको रूपमा देख्ने इच्छा गर्दछन् । ………. यस क्रान्तिपुरुषले शीत जस्तै टल्कने तरवार कम्मरमा भिरेर आउने छ । ………. त्यो हुरी जस्तो भयङ्कर र सम्हालिनु नसक्नु रूपमा आउनेछ।  छोरा अर्थात् देशका युवकहरूले पात भई त्यसलाई पछ्याउनेछन् ।”

‘आमाको सपना’का बारेमा समालोचक चापागाईं भन्छन्, “क्रान्तिपुरुषको प्रतीक्षामा रहेकी आमाचाहिँ परम्परादेखि मुक्त हुन् चाहन्छिन्। आमाको सपनाकी आमा क्रान्तिसँग प्रेम गर्न उत्कण्ठित छोरालाई विश्वस्त दिलाउन सचेत छिन् ।“ आमाको बारेमा उनी भन्छन्, “यसमा आमाले वीरमाताको कर्तव्य झल्काएको छ ।“

सरिता तिवारी ‘आमाको सपना’ कवितामा आमाले निष्क्रिय भएर ‘सपना’ हेरेको र ‘आशा’ गरेको आफूलाई चित्त नबुझेको बताउछिन् । उपलब्ध सामाग्रीहरू पढ्दा ‘आमाको सपना’मा आमाको निष्क्रियता नरुचाउने तिवारी मात्र महिला देखिन्छिन् । शायद अन्य पुरुष लेखकहरूलाई पनि यो निष्क्रियता मन परेको थिएन तर ती को को थिए स्पष्ट छैन ।

को हो त्यो’ ?

छोरा बुझ्ने भइसकेकाले उसको उमेर करीब २० वर्षको छ भनेर अनुमान गर्न सकिन्छ । वि.स. २००० मा यो कविता लेख्दा रिमाल जम्मा २५ वर्षका थिए । रिमालको तात्कालीन नेपालमा १५ वर्षको उमेरमा विवाह भएकी स्त्री कविता लेख्दा ३५ वर्षीय स्त्री हुनुपर्छ । तसर्थ आमाको उमेर ३५-४० वर्षको बीचमा छ भन्न सकि न्छ। यो बुढ्यौली लागेको उमेर होइन । हृदयचन्द्रसिंह प्रधानले यो ४० वर्षीय स्त्रीलाई कसरी बूढी भने ? सोचनीय छ ।

उपाध्याय र गिरी दुवैको व्याख्यामा एउटा साझा मत के छ भने “त्यो” क्रान्ति आउने कुरामा आमा दृढ छिन् । तर दुवैको व्याख्याले केही महत्त्वपूर्ण प्रश्नहरू भने अनुत्तरित रहेका छन् । दुवैको व्याख्याले यो प्रश्नको जवाफ दिँदैन कि कोठाभित्र बसी बसी अनपढ, अशिक्षित आमाले कसरी यो ज्ञान प्राप्त गरिन कि ‘त्यो’ आउँछ ? चालीस वर्षीय आमा आफैं क्रान्तिमा सहभागी हुन किन गइनन् ? उपाध्यायको व्याख्याले यो प्रश्नको जवाफ दिँदैन कि जो आउनलागेको थियो त्यो पुरुषै हो भन्ने पूर्वज्ञान आमालाई कसरी भयो ? आमाको लोग्ने को हो ? पहिलो छोरो क्रान्ति गर्न असक्षम रहेकामा आमाले अब कोसित सुत्ने योजना बनाएकी छिन् क्रान्तिपुरुष दोस्रो छोरा जन्माउनलाई ? गिरीको व्याख्याले निम्न प्रश्नहरूका जवाफ दिँदैनन्: जो आउनपर्ने थियो ‘त्यो’ बुहारी हो भने पुलिङ्गी क्रियापदहरू प्रयोग गरेर व्याख्या गरिएको आमाकी बुहारी पुरुष हो त ? कवि समलिङ्गी हुन् त ?  कि बुहारी तेस्रोलिङ्गी हो त्यही भएर उसका लागि पुलिङ्गी क्रियापदहरू प्रयोग गरेका हुन् कविले ?

कवितामा उल्लेखित ‘त्यो’ को हो भन्ने सम्बन्धमा चारवटा धारणाहरू छन्: पहिलो धारणा उपाध्याय लगायत उहाँका पूर्ववर्ती र आजसम्मका पुरुष र महिला (गिरी छोडेर) विद्वान् विदुषीहरूको छ जसअनुसार ‘त्यो’ क्रान्तिपुरुष हो । अर्थात् क्रान्ति पूरा गर्ने अभिभारा लिएको पुरुष व्यक्तित्व र यो नै मूलधारको व्याख्या हो । यो व्याख्यानुसार ‘त्यो’ शक्तिशाली छ र त्यसमा पुरुषमा हुनुपर्ने सबै गुण छ । उपाध्यायले केसम्म भनेका छन् भने स्त्रीले क्रान्तिको नेतृत्व गर्न नसक्ने भएकाले यो भूमिकामा पुरुष देखिएको हो । नेपाली पुरुष साहित्यिक विद्वान्हरू आउनलागेको ‘त्यो पुरुष नै हो’ मा कति ढुक्क छन् भने आफ्नो लेख ‘गोपालप्रसाद रिमाल: आफ्नो युगका एक बेजोड योद्धा’मा प्रगतिशील विवेचक भट्ट रिमालको प्रगतिशिल नारीचेत देखेर मुग्ध छन् तर ‘त्यो’ क्रान्तिनारी किन हुन नसकेकी भनेर सोध्दैनन् । वि.सं. २००० तिर र त्यसपछिका समयमा पनि साहित्य लेख्ने पढ्नेहरूमा पुरुषहरूको आधिक्यता भएकाले  पनि यो प्रश्न उठेन होला । क्रान्तिपुरुष आउने सपना हेर्दा सबै पुरुष पाठकहरूलाई सामान्य लागेको हुनुपर्छ । ‘त्यो’लाई चूडानाथ भट्टरायले ईश्वरीय शक्तिसित दाँजेका छन् । तर यो ईश्वरीय व्याख्यालाई  विद्वान्हरूले पत्याएको देखिन्न। वासु रिमाल ‘यात्री’ले ‘त्यो’लाई छोराको बुवाको रूपमा चित्रण गरेका छन् । तर यसलाई पनि विद्वान्हरूले पत्याएको देखिन्न । कवि आफ्नै पितासित ‘स्त्रीजन्य’ प्रेममा पर्न सक्दैन, बरु बूढो पिताभन्दा युवा छोरा क्रान्तिपुरुषको रूपमा सुयोग्य हुने भएकाले आमाको अर्को पुरुष सन्तानलाई क्रान्तिपुरुषमा चित्रण गरिनु युक्तिसम्मत छ ।

उपाध्याय र गिरी दुवैले आमाको काखमा लुटपुटिएको छोरो कवि रिमाल नै हुन् भनेका छन् । त्यसो हो भने गिरीले पुरुष बुहारीतर्फ इङ्गित गरेको शंका गर्नुपर्छ। उपाध्याय र गिरी दुवैले रिमालले आफ्ना पूर्ववर्ती कविताहरूमा प्रेमिकालाई ‘क्रान्ति’को प्रतीक मानेको भनेका छन् । स्त्रीलिङ्गी प्रेमिकाको प्रेममा परेका रिमाल अचानक यो कवितामा कसरी पुलिङ्गी प्रेमिकाको प्रेममा परे ? सोचनीय छ। त्यसैले उपाध्यायले ‘त्यो’ आमाकै पुरुष सन्तान हुन सक्ने भनेर व्याख्या गरेको जस्तो पनि देखिन्छ । तर क्रान्तिपुरुष जन्माउने आमाको पति को हो भन्ने तिर उपाध्यायले ध्यान पुर्याएका छैनन् । उपाध्यायको व्याख्यामा पतिको चर्चा छैन । गिरीले यसको सोझो उत्तर दिएकी छिन् कि आमा बिधुवा छिन् । वासु रिमाल यात्रीले ‘त्यो’ भनेको छोराको पिता हो भनेर यसको भेद छिचोल्ने प्रयास गरे पनि रिमालले आफ्नै ‘पिता’लाई प्रेमिकाको रूपमा हेर्न नसक्ने भएकाले यो व्याख्या त्रुटिपूर्ण नै देखिन्छ । एउटा सम्भावना भनेको ‘त्यो’ समलिङ्गी वा तेस्रोलिङ्गी हो ।  तर यसले समस्या झनै बल्झाउँछ किनकि ‘त्यो’ कविकी प्रेमिका भएकाले ‘त्यो’ समलिङ्गी वा तेस्रोलिङ्गी भयो भने कवि पनि समलिङ्गी वा तेस्रोलिङ्गी हुनुपर्ने हुन्छ । तर कविको बारेमा प्राप्त व्यक्तिगत विवरणहरू अध्ययन गर्दा उनी विपरित लिङ्गी हुन् । कवि विपरितलिङ्गी हुन् तर बुहारी ‘पुरुष’ हो भनेर पत्याउन सकिन्न । शायद यिनै जटिलताहरूलाई हेरेर विद्वान् भट्टरायले औपनिषदिय दर्शनअनुसार ‘त्यो’लाई ईश्वरीय शक्ति भनेका हुन् कि । तेस्रोलिङ्गी र विपरित लिङ्गीको झमेलामा नपर्ने हो भने यो चित्त बुझ्दो व्याख्या हो । तर मार्क्सवादी दर्शनमा विश्वास गर्ने क्रान्तिकारी रिमालले ‘त्यो’लाई जन्माउन ईश्वरीय शक्तिलाई गुहारेका होलान् भनेर पत्याउने आधार छैन । तसर्थ ‘त्यो ‘ कविकी स्त्रीलिङ्गी प्रेमिका झैँ र आमाकी स्त्रीलिङ्गी बुहारी झैँ प्रतीत हुन्छे ।

प्रगतिशील विद्वान्हरूले पनि ‘त्यो’ लाई क्रान्तिपुरुष भनिरहँदा गिरीले मात्र ‘त्यो’ भनेको क्रान्तिनारी हो भन्ने अवधारणा ल्याइन् । अझै रोचक त के छ भने गिरीले वि.स. २०३९ मा ‘त्यो’ स्त्री हो भने पनि प्रगतिशील विचारक भट्टले त्यसपछि व्यक्त गर्नुभएका आफ्ना विचारहरूमा ‘त्यो’लाई स्त्री मानेको देखिन्न । ‘त्यो’ शतप्रतिशत पुरुष जस्तो नदेखिएकाले ‘त्यो’ स्त्री वा तेस्रोलिङ्गी पनि हुन सक्छ भनेर उनीहरूले भनेनन् ।

‘आमाको सपना’ कविता सम्बन्धमा “रिमाल: व्यक्ति र कृति”मा उपाध्याय लेख्छन्, “क्रान्तिबिना देशमा प्रजातन्त्र नआउने निष्कर्षमा कवि पुगेपछि नै आमाको सपनाका माध्यमबाट उनले क्रान्तिपुरुषको आह्वान गरेका हुन् भन्ने स्पष्ट छ ।  … आमालाई वीर क्रान्तिपुरुषको अपेक्षा छ र प्रत्येक प्रसवमा उनी आफ्नो सपना साकार भएको हो कि भन्ने भावले जातकको मुख हेर्छिन् । …….. यस गद्य कवितामा ‘त्यो’ शब्दबाट नै क्रान्तिपुरुष भन्ने तात्पर्य व्यन्जित भएको छ। …….. मातृआलम्बनपरक यस कविताले क्रान्तिलाई नारीबिम्बमा नभएर पुरुषबिम्बमा प्रस्तुत गरेको छ । क्रान्तिपरक युद्ध नायकका नेतृत्वमा लडिने हुनाले क्रान्तिलाई क्रान्तिनारीका रूपमा नभएर क्रान्तिपुरुषका रूपमा हेर्न चाहेको बुझिन्छ “। तर गिरीले ‘त्यो’ क्रान्तिनारी हो भनेकाले यो कवितालाई पुरुष र स्त्री पाठकहरूले आफ्नो अनुकूल अर्थ्याउन सक्ने रहेछन् भन्ने देखियो । यो कविताले क्रान्तिलाई नारीबिम्बको रूपमा नभएर पुरुषबिम्बमा प्रस्तुत गरेको उपाध्यायको तर्कलाई गिरीले पत्याइनन् । क्रान्तिपरक युद्ध ‘क्रान्तिपुरुष’कै नेतृत्वमा लड्नुपर्छ भन्ने तर्कलाई उनले पत्याइनन्। गिरीले नपत्याएपछि उपाध्यायलगायत पुरुषहरूका व्याख्या पनि अकाट्य र स्वयमसिद्ध मान्न सकिन्न । क्रान्तिको लिङ्ग हुँदैन भन्ने सामान्य सत्यलाई बिर्सेर कविले त्यसलाई धेरै अलंकारिक, गुढ र रहस्यमय बनाएपछि पुरुष पाठकले त्यसलाई पुरुष भन्छ भने स्त्री पाठकले पनि त्यसलाई स्त्री भन्नुलाई अनौठो मान्न सकिन्न ।

आउनलागेको ‘त्यो’का लागि पुलिङ्गी क्रियापदहरू प्रयोग भएकाले गिरीले कसरी ‘त्यो’लाई बुहारी भनिन् भन्ने प्रश्न उब्जनु उचित हो । कविले क्रान्तिलाई तेस्रोलिङ्गीको रूपमा हेरेर ‘त्यो’ प्रयोग गरेको सम्भावना धेरै छ । तर त्यसलाई पुरुष पाठकले क्रान्तिपुरुष देख्छ भने स्त्री पाठकले क्रान्तिनारी देख्न नपाउने भन्ने त हुँदै भएन । आउने भएको ‘त्यो’ स्त्री र बुहारी हुँदा आफ्नोपन अनुभूति गरेर गिरीले त्यसलाई बुहारी भनेकी हुन् जस्तो पनि छ । छोरी बिहे गरेर जाने तर बुहारी बिहे गरेर आउने भएकाले ‘त्यो’ छोरी हुन सक्ने देखिन्न । छोरा आफ्नो प्रेमिकालाई दुलही बनाउन चाहन्थ्यो । आमा वास्तवमा आफैंले ‘त्यो’ छोरा जन्माउन चाहन्थिन् । तर बिधुवा भएकाले यो कामना पूरा नहुने भएपछि उनले बुहारीमा नै ‘क्रान्ति’मा हुनु पर्ने सबै गुण होस् भन्ने कामना गरिन् । यसरी आमाकी बुहारी ‘त्यो’मा पौरुष गुणहरू पनि हुनुपर्ने भएपछि कविले ‘त्यो’का लागि पुलिङ्गी क्रियापदहरू प्रयोग गरेका हुन सक्छन् । गिरीले ‘त्यो’ बुहारी हुँदा जति सुखानुभूति गरिन् ‘त्यो’ पुरुष हुँदा त्यस्तो सुखानुभूति गरिनन् । गिरीले ‘त्यो’ स्त्री भएको खण्डमा आफ्नै निजी जीवनका केही नसुल्झेका रहस्यहरू सुल्झाएको पनि हुनसक्छ। पाठक प्रतिक्रिया सिद्धान्त (Readers’ Response Theory) अनुसार पाठकले कुनै पाठ पढ्दा कुनै पात्रले आफूले सोचे अनुसार गरोस् भन्ने पनि चाहन्छ र गिरीले त्यस्तै चाहेकी हुन सक्छिन्। ‘त्यो’का लागि पुलिङ्गी क्रियापदहरू प्रयोग हुँदाहुँदै पनि गिरीले ‘त्यो’ बुहारी हो भन्ने प्रस्ताव गर्नु नै महत्त्वपूर्ण कुरा हो।  यसमा एउटी स्त्री पाठकलाई ‘त्यो’ स्त्री लाग्यो भन्नुबाहेक अन्य तर्क छ जस्तो लाग्दैन । ‘आमाको सपना’ अघि कविद्वारा लेखिएका कविताहरूमा स्त्रीलिङ्गी प्रेमिकालाई क्रान्तिको प्रतीक मान्ने कविले यो कविता लेख्दा भने पुरुषलाई क्रान्तिको प्रतीक मानेका हुन् भन्ने शंकाको सुबिधा दिने हो भने त्यही कविले पुलिङ्गी क्रियापदहरू प्रयोग गरेर आफ्नी शक्तिशाली प्रेमिकालाई नै क्रान्तिको प्रतीक मानेका हुन् भन्ने शंकाको सुबिधा पनि दिनुपर्ने हुन्छ । पुरुष विद्वान्लाई शंकाको सुबिधा दिने तर महिला विदुषीलाई शंकाको सुबिधा दिन्न भन्न पाइएन । पुरुष समालोचक उपाध्यायलाई ‘त्यो’ पुरुष हो भन्ने लाग्छ भने स्त्री साहित्यकार गिरीलाई ‘त्यो’ स्त्री लाग्न सक्छ । को गलत र को ठीक भन्नेर छुट्याउन सकिन्न । क्रान्तिपुरुषको ठाउँ क्रान्तिनारीले लिन सक्दिनन् भन्ने उपाध्यायको अडान उदार र वैज्ञानिक देखिन्न । पुरुष साहित्यकारहरूले, विवेचकहरूले आफ्ना रुचीअनुसार पाठको (Texts) व्याख्या गर्न पाउँदा स्त्री साहित्यकारहरूले पनि आफ्ना रुची अनुसार व्याख्या गर्न पाउनु पर्ने हुन्छ। स्त्री पाठकलाई ‘त्यो’ स्त्री लाग्नु गलत हो भन्न मिल्दैन भन्ने यो लेखकको धारणा हो । क्रान्तिको लिङ्ग नहुँदा नहुँदै कविले क्रान्तिलाई स्त्रीलिङ्गी वा पुलिङ्गी प्रेमिकाको रूपमा वा आफ्नो दाजु/भाइका रूपमा हेर्न पाउँछ भने, पुरुष पाठकले त्यही क्रान्तिलाई पुलिङ्गी क्रान्तिपुरुषको रूपमा हेर्न पाउँछ । स्त्री पाठकले त्यही क्रान्तिलाई बुहारी वा क्रान्तिनारीको रूपमा हेर्नु कुनै कोणबाट पनि अतार्किक देखिन्न । हृदयचन्द्रसिंह प्रधानले ‘आमा ‘ झाँसीकी रानी जस्ती छैनन् भनेका थिए । उनले बुहारी झाँसीकी रानी जस्ती हुन नसक्ने भनेका थिएनन् ।

रिमालका यस पूर्वका कविताहरूका स्त्रीलिङ्गी प्रेमिकालाई मन पराउने पुरुष पाठकहरूले यो कवितामा अचानक प्रवेश पाएको पुलिङ्गी प्रेमिकालाई कसरी मन पराउन सके ? विचारणीय छ। यसरी पनि बुझ्न सकियो कि कविको स्त्रीलिङ्गी प्रेमिकालाई मन पराएका पुरुष पाठकहरूले समेत ‘त्यो’लाई मन पराएकाले ‘त्यो’ कविकी स्त्रीलिङ्गी प्रेमिका नै हो, त्यसैले ‘त्यो’ आमाकी स्त्रीलिङ्गी बुहारी हो। पुलिङ्गी क्रियापदहरू तेस्रोलिङ्गीको लागि पनि प्रयोग गर्न सकिने भएकाले रिमालले ‘त्यो’सित पुलिङ्गी क्रियापदहरू प्रयोग गरेका पनि हुन सक्छन् ।

‘त्यो’ पात्र स्त्री नै हुन सक्छे भन्ने प्रस्ताव रिमालले यो कविता लेखेको करीब चालीस वर्षपछि मात्र गिरीले गरिन् । यो प्रस्ताव यसअघिका कुनै पनि पुरुष साहित्यकारहरू, आलोचकहरू र विद्वान्हरूले गरेका थिएनन् ।  पुरुष सौन्दर्यबोध, सौन्दर्यचेत र स्त्री सौन्दर्यबोध, सौन्दर्यचेत फरक हुनसक्छ भन्ने ज्वलन्त उदाहरण हो यो । नेपाली पुरुष साहित्यकारहरूले ‘त्यो’लाई शक्तिशाली, दृढ, कठोर पुरुषको रूपमा हेरे भने गिरीले ‘त्यो’लाई हिन्दू देवीहरू झैँ शक्तिशाली देखिन् जो बुहारीको रूपमा ‘जिम्मेवार, ममताले भरिएकी, कोमल’ पनि थिई । सबैले उपाध्यायलगायत पुरुषहरूका व्याख्यालाई पत्याए र भने कि ‘त्यो’ आयो भने सबै ठीक हुन्छ । ‘त्यो’लाई क्रान्तिपुरुष भने, बनाए । अनि भयो के भने ‘त्यो’ क्रान्तिपुरुष यति अनुशासनहीन र गैरजिम्मेवार भयो कि वि.सं. २००७ मा मात्र एकपल्ट जन्मेर कथा सकिनुपर्नेमा ‘त्यो’ वि.सं. २०४६ र २०६३ मा पनि वृद्ध आमाको कोखबाट जन्मियो र अझै जन्मिनु पर्ने जिद्दी गर्दैछ । गिरीले कल्पना गरेकी चित्रमा ‘त्यो’ घरभित्र रहेर घर परिवारको नेतृत्वदायी भूमिकामा थिई भने उपाध्यायले कल्पना गरेका ‘त्यो’ घर परिवारभित्रको जिम्मेवारी लिने पात्र होइन रहेछ भन्ने कुरा त यसैबाट प्रमाणित भइसकेको छ कि ‘त्यो’ क्रान्तिपुरुष तीनपटक आउँदा पनि आमाको स्थिति उस्तै छ । गिरीको ‘त्यो’ घरभित्र रहेर परिवारको सुखदुःखमा सहभागी हुन्छे भने उपाध्यायको ‘त्यो’ घर परिवारको जिम्मेवारी नलिनेगरी उदण्ड, अनुशासनहीन भइसकेको छ ।

रिमाल र गिरी दुवैलाई नेपाली भाषामा स्त्रीलिङ्गी क्रियापदहरू र पुलिङ्गी क्रियापदहरू फरक हुन्छन् भन्ने जानकारी थियो ।  तसर्थ रिमालले नजानेर पुलिङ्गी क्रियापदहरू प्रयोग गरे भन्ने आधार छैन र गिरीले नजानेर तिनलाई उपेक्षा गरिन् भन्न मिल्ने देखिन्न। । यी दुवैले सचेतनपूर्वक क्रियापदहरूका प्रयोग र व्याख्या गरेका हुन् । त्यसो हो भने आफ्नी प्रेमिकाको लागि किन रिमालले अचानक पुलिङ्गी क्रियापदहरू प्रयोग गरे ? विचारणीय रहन्छ । शंका के पनि गर्न सकियो भने पुरुषको शारीरिक शक्ति स्त्रीभन्दा अधिक हुने भएकाले आफ्नी प्रेमिकालाई शक्तिशाली बनाउन उनले पुरुषोचित शक्ति स्त्रीलाई प्रदान गरे र त्यसै क्रममा आफ्नी ‘त्यो’ स्त्रीलिङ्गी प्रेमिकाको लागि पुलिङ्गी क्रियापदहरू प्रयोग गरे । यो व्याख्या तर्कसङ्गत पनि छ किनकि नारीप्रतिको दृष्टिकोणमा रिमाल धेरै प्रगतिशील र क्रान्तिकारी थिए र उनी नारीलाई शक्तिशाली भएको हेर्न चाहन्थे । गिरीले पनि यसरी नै ‘त्यो’ भनेको आमाले हेर्न चाहेकी पुरुषसमान शक्ति भएको बुहारी हो भनेकी छिन् । यसरी व्याख्या गर्ने हो भने गिरीको व्याख्याले पनि आधार पाउने देखिन्छ । त्यसैले गिरीले भन्न सकिन कि ‘त्यो’ बुहारी हो । आमाकी बुहारी गज्जबकी थिई – शारीरिक बनोटमा ऊ स्त्री थिई, तर उसमा पुरुषमा हुनुपर्ने धेरै गुणहरू पनि थिए । ऊ पुरुष जत्तिकै शक्तिशाली पनि थिई । यो बुहारीमा स्त्रीमा हुनुपर्ने गुणहरू त थिए नै पुरुषमा हुनुपर्ने गुणहरू पनि थिए । तर यस्ती स्त्री वि.स. २००० मा वास्तवमा नरहेकाले रिमाललाई यो स्त्रीको लागि स्त्रीलिङ्गी क्रियापद प्रयोग गर्नभन्दा पुलिङ्गी क्रियापद प्रयोग गर्दा यसप्रति न्याय हुने ठानेर उनले पुलिङ्गी क्रियापदहरू प्रयोग गरे । आमाकी बुहारी वास्तवमा भन्ने हो भने महिला फुटबल खेलाडी ‘साम्बा’ जस्ती थिई ।

रिमाल काठमाण्डौमा ब्राह्मण परिवारमा जन्मेका थिए । उनलाई हिन्दू धर्म, यसका धार्मिक ग्रन्थ र पौराणिक कथाहरूको राम्रो ज्ञान थियो । हिन्दू धर्मका पौराणिक कथाहरूमा देवीहरूलाई शक्तिको प्रतीकको रूपमा अर्थ्याइएको छ र यी हिन्दू देवीहरूले राक्षसको वध गरेर मनुष्यलाई अन्याय र अत्याचारबाट मुक्त गरेका छन् । उपत्यकाभित्रको संस्कृतिमा शक्तिपीठ र देवीहरू ज्यादै महत्त्वपूर्ण छन् । तसर्थ रिमालले आफ्नी प्रेमिकालाई शक्तिशाली नारीको रूपमा पनि देखेको हुनुपर्छ र उनकी प्रेमिका ‘त्यो’ नै हुनुपर्छ ।

गिरीले आफ्नो शोधपत्रमा ‘आमाको सपना’को मनोविश्लेशणात्मक अध्ययन पनि हुनुपर्ने बताएकी छिन्। यसो हुनसकेमा यो लेखमा लेखकले विपरित लिङ्गी, समलिङ्गी, तेस्रोलिङ्गी सम्बन्धी अघि सारेका विचारहरूमाथि स्वतन्त्र र तथ्यपरक अध्ययन समेत हुन सक्नेछ । यहाँ फ़्रायडेली मनोवैज्ञानिक अध्ययन उपयुक्त हुन सक्छ ।

माथि गरिएको चर्चाबाट के स्पष्ट हुन्छ भने ‘त्यो’ स्त्री हो, बुहारी हो, क्रान्तिनारी हो । ‘त्यो’ क्रान्तिनारी किन पनि हो भने जुन ‘त्यो’लाई क्रान्तिपुरुष भनेर तीनपल्ट जन्माइयो त्यसले आफ्नो दायित्व पूरा गरेकै छैन । ‘त्यो’ जिम्मेवारीबाट भागेको भागेकै छ ।  त्यसले गर्न नसक्नुको कारण के हो भने कार्य सम्पन्न गर्ने, गराउने जिम्मेवारी दिनु पर्ने थियो क्रान्तिनारीलाई, तर जिम्मेवारी दिइयो क्रान्तिपुरुषलाई ।

कविताका पात्रहरूका प्रवृत्ति

यस कवितामा आमाले “त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो” दुईपटक भनेकी छिन् । यसले देखाउँछ कि आमाले वर्तमान छोराले क्रान्ति गरोस् भन्ने चाहेकी थिइन् तर त्यसो हुन सकेन । त्यसैले उनी ‘त्यो’को आशामा छिन् । वर्तमान छोराले परिवर्तन र क्रान्ति गर्न नसकेकामा आमा उनीप्रति क्रुद्ध छैनन्, असन्तुष्ट छैनन् । आमाले छोरालाई परिवर्तन र क्रान्ति तैँले नै गर्नुपर्छ भनेकी छैनन्, क्रान्ति गर्ने प्रयास गर पनि भनेकी छैनन् ।  तैँले र मैले मिलेर क्रान्तिको शुरुवात गर्ने हो पनि भनेकी छैनन् । म अगाडि बढ्छु तँ मेरो पछि पछि आइज पनि भनेकी छैनन् । छोरा देशमा परिवर्तन ल्याउने प्रयास गर्दा गर्दा नसकेर थाकेपछि केही समयका लागि विश्राम गर्न आमाको काखमा पुगेको पनि देखिन्न । आमाले छोरालाई क्रान्ति गर्न नसकेकामा हप्काएकी छैनन्, क्रान्ति गर्ने प्रयत्न समेत नगरेकामा पनि चित्त दुखाएर एक छुद्र वचन छोरालाई भनेकी छैनन् । आमाले छोरालाई तँ एकपटक प्रयास गर समेत भनेकी छैनन् । तेरो कारणले गर्दा हामी दुवै जना कष्टप्रद जीवन बाँच्न बाध्य छौँ पनि भनेकी छैनन् । मेरो काखमा बस्न छोडेर साथीहरूसित क्रान्तिको बारेमा बुझ्न जा भनेर छोरालाई कोठाबाट निकालेकी पनि छैनन् । आमा र छोराका बीचमा कम्तिमा एक पटक त कसले गर्दा क्रान्ति हुन नसकेको हो भन्ने बारेमा विवाद हुनुपर्ने हो, त्यो पनि छैन ।

कवितामा आमाले एक ठाउँमा ‘मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारिरहनु पर्ने छैन” पनि भनेकी छिन् । अर्थात् छोरामा त्यस्तो केही छ जुन रोगझैँ छ र जसको उपचार हुनुपर्छ ।  उपचार नहुँदासम्म ऊ स्वस्थ्य व्यक्तिझैँ हुँदैन भन्न सकियो । दुवै आमाछोरालाई यसको जानकारी रहेछ । तर कवितामा न आमाले रोगीझैँ छोरालाई स्वस्थ्यझैँ पार्न केही उचित प्रयास गरेको पाइन्छ, न त छोरा नै स्वस्थ्यझैँ हुन आफैं केही प्रयास गर्छ । जब ‘त्यो’ आँधी बनेर आउँछ यो रोगीझैँ छोराले कसरी ‘त्यो’ आँधीलाई पछ्याउने होला ? अचम्म छ । रोगीझैँ छोराको उपचार आजसम्म पनि हुन सकेको छैन । आमाले त्यसको उपचारमा कुनै चासो लिएकी छैनन्, यतिमै उनी ढुक्क छिन् कि जब ‘त्यो’ आउँछ सब ठीक हुन्छ । रोगीझैँ छोरा त कति लापरवाह र  गैर-जिम्मेवार छ भने क्रान्ति अब मैले गर्ने हो भन्दैन । रोगीझैँ छोरा “त्यो आउँछ र ?” भन्ने प्रश्न गर्नमै रमाउँछ र आमा “हो त्यो आउँछ” भन्ने जवाफ फर्काउँदा रमाउँछिन् । रोगीझैँ छोरालाई त रोगको उपचार गराउनु पर्छ भन्ने ज्ञान पनि नभएको जस्तो छ।  आफ्नो यो छोरोले क्रान्ति गर्ने सपना हेरे पनि यो छोरोले क्रान्ति गर्न नसकेको सत्य बिर्सिंदै आमा त्यो आउने छोराले चाहिँ क्रान्ति गर्छ भन्नेमा शतप्रतिशत विश्वस्त छिन् । यो विश्वास उनले कहाँबाट प्राप्त गरिन् त्यो चाहिँ कवितामा कतै भनिएको छैन । ईश्वरले आमाको कानमा खुसुक्क भनेको हो जस्तो पनि देखिन्न । आउने ‘त्यो’सित अधर्मसित लड्नलाई एउटा ‘शीत जस्तो’ हतियार पनि हुनेछ भन्ने पूर्वज्ञान आमाले जुन ज्योतिषबाट प्राप्त गरिन् त्यो ज्योतिषको नाम ठेगाना कवितामा भनिएको छैन । छोरालाई काखमा पुपुल्याएर सुमसुम्याइरहेकी आमाले कोठाभित्र सुरक्षित बसी बसी कुन शास्त्रबाट त्यो हतियारको बारेमा पूर्वजानकारी पाइन् त्यो कवितामा खुलाइएको छैन । यस्तो प्रतीत हुन्छ, आमालाई आशा गर्न मन पर्छ त्यसैले आमाले वर्तमान छोरा जन्मँदा कोठामा बसी बसी आशा गरेकी थिइन कि यसैले क्रान्ति गर्ला । आमालाई सपना हेर्न मन पर्छ त्यसैले उनले आफ्नो यौवनभरि घरभित्र बसेर सपना हेरिन् कि यही छोराले उनको जीवनमा सुख ल्याइदेला । आमा कोठाभित्र सुरक्षित बसेर सपना हेर्छिन् र वैज्ञानिक बनेर यति पनि भन्न भ्याउँछिन् कि उनले कुनै अल्छी सपना देखेकी होइनन् । उनलाई जुन ज्योतिषले भनेको थियो कि सुतेर निद्रामा जुन सपना देख्छ्यौ त्यो अल्छी सपना हुँदैन त्यो ज्योतिषको परिचय कविले आफ्नो कवितामा खुलाएका छैनन् । मार्क्सका अनुयायी छोराकी आमा ठूलै वैज्ञानिक थिइन् जस्तो प्रतीत हुन्छ, त्यसैले उनले सहजै भनिन् कि अब जो छोरा जन्मन्छ ‘त्यो’ उनले सोचेकै सपुत हुनेछ, कपुत हुनेछैन । आमालाई घरमा बसी बसी सपना हेर्न, आशा गर्न मन पर्छ र गैरजिम्मेवार, गफाडी, बसी बसी खान पल्केको छोरालाई आमाको काखमा टाउको राखी ‘आशा, सपना’को गफ गर्न मन पर्छ । त्यसैले आमा छोराको जोडी खुब मिलेको छ ।

गैरजिम्मेवार छोरा सोधिरहन्छ ‘आमा त्यो आउँछ ?’, आमा छोराको कपाल मुसार्दै भनिरहन्छिन् ‘हो बा, त्यो आउँछ !’  गैरजिम्मेवार यी आमाछोरा ‘अब त्यसलाई पर्खने होइन, हामी नै क्रान्ति गर्न जानुपर्छ’ भन्दैनन्, बरु यिनीहरूका ‘आशा गर्ने, सपना हेर्ने’ लीला चलिरहन्छ । जसरी ‘त्यो’ विगत असी वर्षमा गैरजिम्मेवार बन्यो, यी आमा छोरा पनि गैरजिम्मेवार बनेका छन् ।

यो कविता प्रकाशनको मितिबाट हेर्ने हो भने क्रान्तिपुरुष भनेर पुरुष साहित्यकारहरूले चिनेका, चिनाइएको ‘त्यो’ क्रान्तिपुरुष असी वर्षको भइसकेको छ । यो असी वर्षमा नेपालमा तीनवटा महत्त्वपूर्ण क्रान्तिहरू भएका छन् । वि.स. २००७ मा ‘त्यो’ जन्मिएपछि त्यसलाई पच्छ्याउन नसकेको ‘त्यो’ पुरुष हो भन्ने व्याख्याबाट शिक्षितदीक्षित गैरजिम्मेवार छोराका लागि आमाले छोराको लहडमै अर्को दुईपटक (वि.स. २०४६, २०६३) ‘त्यो’ जन्माउनु पर्यो । ती क्रान्तिहरूले नेपालका सबै समुदाय र क्षेत्रहरूका प्रत्येक नागरिकहरूका वर्तमान र भविष्यलाई सकारात्मक प्रभाव पार्ने कार्य गरे । रिमालले सोचेका पनि थिएनन् होला कि उनको एउटै कविताले नेपालको तीन तीनवटा क्रान्तिहरूको व्याख्या गर्न सक्छ भनेर । कहाँ के गलत भयो र ‘त्यो’ तीनपल्ट आउँदा पनि हामीलाई लाग्छ कि ‘त्यो’ आउन बाँकी नै छ । आमाको ‘त्यो’ छोरा कहाँनेर केमा गलत भयो र ‘त्यो’ अझै आउनुपर्नेमा सबै नेपालीहरू एकमत छन् ? आमाले दुःख पाइरहिन् र ८१ वर्षको उमेरमा वि.स. २०४६ मा अर्को क्रान्तिपुरुष जन्माउने अठोट गरिन् । ‘त्यो ‘ वि.सं. २००७ मा आइसकेपछि वि.स. २०४६ मा बूढी आमाले ‘त्यो’ क्रान्तिपुरुषलाई नजन्माउनु पर्ने होइन र ?  ‘त्यो’ क्रान्तिपुरुष वि.सं. २०४६ मा आएर पनि किन जिम्मेवारी लिएन ? मर्न लागेकी बूढी आमाले वि.स. २०६३ मा ‘त्यो’लाई फेरि जन्माउनु पर्ने ? बिडम्बना के भने जब आमाले यो कुरा आफ्ना कुपुत्रहरूलाई सुनाइन्, कुनै कुपुत्रहरूले सोधेनन्, “आमा, तपाईं ८१ वर्षको उमेरमा कसरी बच्चा जन्माउनु हुन्छ ? हाम्रा बुवा को हो ? हामी आफूलाई सुधारेर तपाईंका सबै दुःखहरू निवारण गर्नेछौँ । तपाईं यो उमेरमा क्रान्तिपुरुष जन्माउने कुरा नगर्नोस् ।“

आमा त साक्षात देवी भइहालिन् । उनले आफ्ना कुनै कुपुत्रहरूलाई हप्काइनन् बरु फेरि क्रान्तिपुरुष जन्माउने सपना हेर्न थालिन् र वि.स. २०६३ मा ९८ वर्षमा टेकेपछि आफ्ना कुपुत्रहरूका अगाडि घोषणा गरिन् कि उनलाई फेरि क्रान्तिपुरुष जन्माउने अभिलाषा भएको छ । कुपुत्रहरूले आफ्नो पुरानै संस्कार देखाए । कसैले सुध्रिने प्रतिबद्धता जनाएनन् । यी आमा हुन् कि ‘त्यो’ जन्माउनु पर्ने मेसिन हुन् ? गैरजिम्मेवार छोराले ‘त्यो आउँछ र ?’ सोधी राख्ने र आमाले गैरजिम्मेवार छोराको लागि बूढेसकालसम्म ‘त्यो’ जन्माइराख्नु पर्ने ? यी आमा छोराले असी वर्ष पहिले नै जिम्मेवारी लिएको भए ‘त्यो’ पटक पटक जन्माउनु त पर्दैन थियो ! ‘त्यो ‘ क्रान्तिपुरुषको ठाउँमा क्रान्तिनारी भइदिएको भए आमाको यो दुर्दशा हुँदैनथियो कि ? क्रान्तिनारीलाई दिनुपर्ने जिम्मेवारी पुरुष हठको कारणले क्रान्तिपुरुषलाई दिइएकाले नेपाल र नेपालीहरूको आजको हविगत हो पनि भन्न सकियो । आज गम्ने हो भने यो कविताको भाषामा हामी असी वर्षअघिकै ठाउँमा छौँ । रिमालले वि.स. २००७ को लागि लेखेको कविता त यी आमा छोराहरूले मिलेर कालजयी नै बनाउन थाले ।

रोगीलाई झैँ कपाल मुसारिरहनु पर्ने रोगी छोराको उपचार कहिले भयो ?

यो कविता मन पराउने सबै विद्वान्हरूले, पाठकहरूले विगत असी वर्षमा एउटा महत्त्वपूर्ण कुरा के छुटाएका छन् भने आमाले रोगीलाई झैँ कपाल मुसारिरहनु पर्ने छोराको स्वास्थ्यमा केही समस्या छ । छोरा सामान्य, स्वस्थ देखिन्न, बुझिन्न । काखको छोरा रोगीझैँ छ । कवितामा व्यक्त क्रान्तिकारितामा रमाएका उपाध्याय, शर्मा, त्रिपाठीदेखि बन्धु र पौडेलसम्म कुनै समालोचक विवेचकहरूको ध्यान आमाले रोगीलाई झैँ कपाल मुसारिरहनु पर्ने छोरामा पुगेको देखिन्न, छोराको उपचारमा पुगेको देखिन्न । प्रगतिशील विद्वान्हरू चापागाईं र भट्टले केले गर्दा आमाले यसरी भन्नु पर्यो योतिर ध्यान दिएका छैनन्। कसैले रोगीझैं छोराको रोगप्रति चासो र चिन्ता व्यक्त गरेका छैनन् । गिरी पनि यसबारेमा चुप छिन् । रोगीलाई झैँ कपाल मुसारिरहनु पर्ने छोराको उपचार हुनुपर्छ भनेर कसैले आवाज उठाएका छैनन्।  फलतः कविले जुन रोगीझैँ छोराको उपचार आवश्यक छ भन्ने संकेत गरेका थिए, असी वर्ष बित्दा पनि त्यसको उपचार भएन । सबैजना एकोहोरिएर ‘त्यो’ आएको हेर्नमै रमाए, ‘त्यो’ आउने कामना मात्र गरिरहे । न छोरा आफैं डाक्टरकहाँ गयो, न आमाले छोरालाई लगिन् । योतिर कसैको ध्यान पुगेन कि ‘त्यो’ आँधी बनेर आउँदा रोगीलाई झैँ कपाल मुसारिरहनु पर्ने छोराले कसरी त्यसलाई पछ्याउला, ‘त्यो’ आयो भने यो रोगीझैँ छोरा कसरी उठ्ला, ‘त्यो’ मीठो गीत यो बिग्रेको बाँसुरीमा कसरी बज्ला, ‘त्यो’ आउँदा यो रोगीझैँ छोराले त्यसलाई कसरी देख्न सक्ला र ग्रहण गर्न सक्ला ?  भयो पनि यस्तै ।  त्यो तीनपल्ट आउँदा पनि रोगीलाई झैँ कपाल मुसारिरहनु पर्ने छोरा न उठन सकेको छ , न त्यसलाई पछ्याउन सकेको छ । रोगीलाई झैँ कपाल मुसारिरहनु पर्ने छोराले आएको ‘त्यो’लाई ग्रहण गर्न सकेन । आएको ‘त्यो’ले पनि बिग्रेको बाँसुरी बजाउन सकेन । कविले छोरा रोगीझैँ भएको शंकामात्र व्यक्त गरेका थिए । तर असी  वर्षमा त यो नै प्रमाणित भइसक्यो कि छोरा रोगीझैँ होइन कि रोगी नै हो ।

रिमालका नेपाली आमा, छोरा र गोर्कीका रुसी आमा, छोरा को तुलना

रिमालको ‘आमाको सपना’को आमा, छोरा र म्याक्सिम गोर्कीको ‘आमा’को रुसी आमा, छोराका प्रवृत्तिहरूको तुलना गर्नु सान्दर्भिक हुनेछ । रुसी साहित्यकार म्याक्सिम गोर्कीले रिमाल जन्मनुपूर्व वि.स. १९६३ मा नै “आमा” उपन्यास लेखेका थिए । रिमालले वि.स. २००० मा “आमाको सपना” लेखे । रिमाल गोर्कीको लेखनसित परिचित थिए । उनले गोर्कीको “आमा” पढेको हुनुपर्छ । रिमालले बालकृष्ण समले हौस्याएर हेनरिक इब्सेनको शैली अपनाएको थाहा पाउन सकिन्छ । तर उनले गोर्कीको “आमा”को प्रगतिशील हुने शैली भने ‘आमाको सपना’मा पच्छ्याएनन् ।

नेपाली आमा र रुसी आमामा के भिन्नता छ ? एक पटक अवलोकन गरौँ ।  नेपाली आमा अलौकिक, विलक्षण प्रतिभाकी धनी विदुषी थिइन्, उनी भविष्य द्रष्टा थिइन् – उनलाई सन्तान जन्मनुपूर्व नै जानकारी थियो कि जन्मने सन्तान पुरुष हुन्छ र त्यही पुरुषले उनलाई सम्पूर्ण दुःखकष्टबाट मुक्त गर्छ । क्रान्तिको बारेमा यस्ती भविष्यद्रष्टा र विदुषी नेपाली आमा भने क्रान्तिपुरुष जन्मे-जन्मोस् नजन्मे-नजन्मोस् भनेर छोरालाई साथै लिएर क्रान्ति गर्न निस्कन्नन् ।  विदुषी नेपाली आमा आफ्नो २५ वर्षे लाठे गैर-जिम्मेवार छोरालाई पुल्पुल्याएर काखामा राख्छिन् । छोरा पनि लाज पचाइकन आफ्नो जिम्मेवारीबाट पन्छिएर आमाको काखमा पुल्पुलिएर बस्छ । रुसी आमा अशिक्षित छिन्, नेपाली आमाझैँ उनी क्रान्तिको बारेमा सर्वज्ञ छैनन् । तर उनी लुकेर छोराको क्रियाकलापबाट सबै कुरा सिक्छिन्, बुझ्छिन् र पछि आफू पनि क्रान्तिमा होमिन्छिन् । रुसी आमालाई नेपाली आमाझैँ आफ्नो ज्यानको पर्वाह छैन, उनी नेपाली आमाले झैँ सुरक्षित कोठामा बसेर क्रान्तिको सपना हेर्दिनन् । रुसी आमा आफैं क्रान्तिमा सहभागी हुन्छिन् । रुसी छोरा शुरुमा त आफ्नो बुवा झैँ रक्सीको लतमा फसेको हुन्छ तर पछि आफ्नो लतलाई सुधारेर क्रान्तिमा सहभागी हुन्छ । ऊ नेपाली छोराझैँ गैरजिम्मेवार निर्लज्ज भएर आमाको काखमा लुटुपुटिएर बस्दैन ।  हृदयचन्द्रसिंह प्रधान नेपाली आमा वृद्ध हुन लागेकाले उनीसँग शक्ति नरहेको जस्तो तर्क गर्नुहुन्छ । तर उहाँ के भुल्नुहुन्छ भने रुसी आमा र नेपाली आमाको उमेर करीब करीब उस्तै हो । रुसी आमाले सक्रियता देखाउन सक्ने तर नेपाली आमाले सक्रियता देखाउन नसक्नु तर्कप्रद छैन ।

गोर्कीले “आमा ” उपन्यास लेख्दा रुसमा जारको तानाशाही व्यवस्था थियो र रुसी जनता त्यो तानाशाही व्यवस्थाविरुद्ध आन्दोलित थिए । रिमालले “आमाको सपना” लेख्दा नेपालमा राणाको निरंकुश शासन थियो र नेपाली जनता त्यस विरुद्ध आन्दोलित थिए । दुवै व्यवस्था तानाशाही व्यवस्था भएकाले जनतामाथिको अत्याचार, क्रूरता, दमन दुवैतिर समान थियो । तर यहाँ अचम्म के भयो भने मार्क्सको दर्शनबाट  प्रशिक्षित गोर्कीले आफ्नी आमालाई कोठाभित्र सुरक्षित बसाएर क्रान्तिको सपना हेर्ने ममतामयी, वात्सल्यले भरिपूर्ण माताको रूपमा चित्रित गरेनन् कि उनले आमालाई क्रान्तिको बारेमा बुझाउँदै क्रान्तिमा सहभागी गराए । मार्क्सकै दर्शनले प्रशिक्षित रिमालले भने आफ्नी आमालाई घरभित्र सुरक्षित राखेर आफ्नो गैरजिम्मेवार छोरोलाई काखमा सुम्सुम्याउँदै क्रान्तिको सपना हेर्नमा सीमित गराइदिए । आमाको ज्यान रुसमा र नेपालमा दुवैतिर जोखिममै थियो । रुसी लेखकले आमालाई सशरीर क्रान्तिमा सहभागी गरायो, नेपाली लेखकले आमालाई घरभित्र सुरक्षित राखेर क्रान्तिको सपना हेर्नमा सीमित पारिदिए । रुसी आमा “आशा” गर्नमै सीमित भइनन्, नेपाली आमा “आशा” गर्नमै सीमित भइन् । रुसी आमा छोरा क्रान्तिमा सहभागी भएर “प्रगतिशील र क्रान्तिकारी” भए भने नेपाली आमा छोरा क्रान्तिको सपना हेरेरै, क्रान्तिको आशा गरेरै “प्रगतिशील र क्रान्तिकारी” भए । क्रान्तिको सपना हेर्दैमा “प्रगतिशील र क्रान्तिकारी” भइने यो नेपाली प्रवृत्ति उदेकलाग्दो र अचम्मको छ । यो कवितामा आशा छ, सपना छ तर क्रियाशीलता छैन । यसरी प्रस्तुत गरिएको छ मानौं क्रान्ति नै अभिष्ट हो । आमाछोराको सम्पूर्ण समस्या र दुःख निवारण गर्ने अचुक वाण त्यही क्रान्ति हो । मानौं क्रान्ति आमाछोराको प्रयत्न बिना आकाशबाट झर्छ । मानौं यी आमा छोरालाई क्रान्ति प्रदान गर्नु नै यो संसारको उद्देश्य हो । तर दुर्भाग्य के भयो भने वि.स. २००७ सालको लागि लेखिएको यो कविता नेपालको आजसम्मको सामाजिक राजनीतिक इतिहासमा सत्य साबित भयो । आमा छोराले आजसम्म पनि आफ्नो प्रवृत्तिमा सुधार गरेका छैनन् । यस्तो प्रतित हुन्छ मानौं रिमालले असी वर्षअघि नै भविष्यवाणी गरेका थिए नेपाली कस्तो मानव जाति हो ।

यो कविताको बारेमा चिन्तक भट्ट लेख्छन्,  “(यो कविता) राष्ट्रभक्ति, प्रजातान्त्रिक संघर्ष र सुखमय भविष्यको चाहनाले उद्घाटित गर्ने एक लोकप्रिय सांकेतिक पदावली र एक प्रतीकात्मक नवधारणा भएर हाम्रो सांस्कृतिक शब्दकोश र जनमानसमा संस्थापित भइसकेको छ ।……. त्यसले नेपालमा प्रजातन्त्रको भविष्य सुनिश्चित नहुँदासम्म र क्रान्तिले सम्पूर्ण नेपालीहरूको छाक टार्ने दिन नआइपुगेसम्म भावी पुस्ताको आत्मालाई आन्दोलित गरिरहन्छ ।“

भट्टले यो कविताको आशा र सपनालाई नै महत्त्व दिए र यसका आमा र छोराको गैरजिम्मेवारीपनालाई उपेक्षा गरे । ‘त्यो’ क्रान्तिपुरुषको पौरुष दम्भले नेपाललाई असी  वर्षसम्म कसरी अहित गर्यो भन्नेलाई पनि उपेक्षा गरे । यस्तो प्रतीत हुन्छ मानौँ यी आमा छोरा आफूखुशी सधैँभरिलाई गैरजिम्मेवार भइरहे पनि भयो ।

एक पाइला पनि नचालेर ‘आशा ‘ मात्र गर्दै र ‘सपना’ मात्र हेर्दै समय बिताइदिएकाले यो कविता प्रगतिशील कम भाग्यवादी धेरै हुन पुगेको छ। यो कवितामा के देखिन्छ भने आमा र काखाको पुलपुल्याइएको वर्तमान छोरो परिवर्तनको जिम्मेवारी लिने पक्षमा छैनन् । दुवै जना चाहन्छन् कि तेस्रो व्यक्ति आओस् र परिवर्तन गरिदेओस् । न नेपाली आमा रुसी आमा बन्न चाहन्छिन्, न त नेपाली छोरा रुसी छोरा बन्न चाहन्छ । रुसी आमा क्रान्तिमा सरिक हुँदा, परिवर्तन गर्ने जिम्मेवारी बहन गर्दा नेपाली आमाले सपना मात्र हेर्नु र आशा मात्र गर्नुलाई प्रगतिशीलता मान्न सकिन्न । नेपाली आमाछोरा दुवै चाहिँ क्रान्तिकारी र परिवर्तन पक्षधर देखिन मात्र चाहन्छन्, सो अनुसारको आचरण, क्रियाशीलता देखाउँदैनन् । नेपाली आमाछोरालाई कति सजिलो छ प्रगतिवादी देखिन् ! छोराले आमाको काखमा लुटपुटिएर “त्यो आउँछ र ?” भन्दैमा ऊ प्रगतिशील भइहाल्ने रहेछ । उसले आफ्नो आचरण सुधार्नु नपर्ने रहेछ । उसले आफ्नो रोगको उपचार गराउनु नपर्ने रहेछ। आमालाई पनि प्रगतिशील बन्न कति सजिलो ! कोठाभित्र बसेर “त्यो आउँछ बा, त्यो आउँछ” भनेर आशा देखाइदिँदैमा प्रगतिशील हुने  रहेछ । रोगी छोरालाई उपचार गराउनु पर्दैन ? रुसी आमाछोरा घरबाहिर निस्केर क्रान्तिमा सहभागी हुने नेपाली आमाछोरा चाहिँ घरबाहिर किन निस्कनु नपर्ने ? यहाँनेर यो कविताले आफ्नो ओज गुमाएको छ । आमाले आशा मात्र गरिन्, उनको आशा र विश्वास अटल छ तर उनलाई विश्वास र अन्धविश्वासबीचको सीमारेखा थाहा छैन । क्रान्तिको आशा र विश्वास गर्दैमा क्रान्ति आइहाल्दैन, क्रान्ति आउनलाई उनी र उनको छोरा पनि घरबाट बाहिर निस्कनुपर्छ भन्ने तथ्यलाई उनले पूर्ण उपेक्षा गरेकी छिन्।  रिमालले “साहित्यमा आशा हुनुपर्छ ” भन्ने बुझाइलाई नै यो कवितामा जबर्जस्ती थोपरेका छन् । उनले गोर्कीलाई त मन पराए तर बुझ्न सकेनन् । रुसी आमा र छोरा किन क्रान्तिमा सरिक भए भन्ने उनले बुझेनन् । आमाले परिवार नियोजन त गरिनन् नै, ‘त्यो’ आउँछ कि आउँदैन सोध्ने छोरोलाई एक थप्पड पनि लगाइनन् । उनी कति दयालु र ममतामयी छिन् कि छोराले सोध्नासाथ ८१ वर्षको उमेरमा क्रान्तिपुरुष जन्माइन् । धन्न उनी मरिनन् । आमाले ८१   वर्षको उमेरमा क्रान्तिपुरुष जन्माउने इच्छा गर्नु, उनका गैरजिम्मेवार पुत्रले त्यसको प्रतिवाद नगर्नु, ‘म नै क्रान्तिपुरुष बन्छु’ नभन्नु, आमा आफैंले ‘म अब जन्माउन सक्दिनँ, म पनि क्रान्ति गर्न हिंड्छु तँ नालायक पनि मेरो पछि पछि आइज्’ नभन्नुले यो कविता भाग्यवादी कविता हो भन्ने देखिन्छ । छोरा रोगी छ भन्ने पनि प्रष्टिन्छ । यो प्रगतिशीलताको आफू अनुकूल व्याख्या भयो । यो प्रगतिशील चेतनाको अभिव्यक्ति कम अवचेतनको अभिव्यक्ति धेरै भयो । यसैले होला कतिपय नेपाली विद्वान्हरू यो कवितालाई प्रगतिशील मान्दैनन् । हुँदा-हुँदा यी आमाछोरा कतिसम्म गैरजिम्मेवार भए भने आमाले वि.स. २०६२ मा ९८ वर्षको उमेरमा फेरि क्रान्तिपुरुष जन्माउने धोको राखिन् । यी आमा हुन कि पाँच हजार वर्ष पहिलेकी कुनै अन्धविश्वाशी स्त्री ? यिनको काम सपना हेर्ने र क्रान्ति पुरुष जन्माउने मात्र हो ? रोगी छोरालाई उपचार गराउन डाक्टरकहाँ लग्नु पर्दैन ? अनि यो कुपुत्र चाहिं कुन जमानाको नकच्चरा पुरुष हो ? यो नकच्चरा छोरा रोगी छु भन्ने थाहा भएपछि उपचारका लागि अस्पताल जानु पर्दैन ? यो कुपुत्रले त आमालाई १५० वर्षको उमेरमा पनि ‘त्यो आउँछ र ?’ भन्न बेर छैन ।

गद्य शैलीमा लेखिएको ‘आमाको सपना’ कविता सबै साहित्यकारहरू र आलोचकहरूले मन पराउनुको कारण यसको गद्य शैली, कलात्मकता, कल्पनाशीलता, प्रगतिशीलता र क्रान्तिकारितामध्ये के हो स्पष्ट छैन । नेपाली प्रथम गद्य कवि भएकाले उनीप्रति झुकाव भएर सबैले यो कविता मन पराएका हुन् जस्तो पनि देखिन्छ । कसैलाई यसमा व्यक्त कला मन परेको छ, कोही यसमा व्यक्त क्रान्तिकारी भाव र आशाले मोहित भएका छन् । कोही भने दुवैले मोहित भएका छन् । रोगीझैँ छोरो आफू जस्तै देखेर पाठकले यो कविता मन पराएका हुन् जस्तो पनि छ । पाठकले कविताको क्रान्तिकारिता, आशा, सपनालाई मात्र ध्यान दिए, रोगीझैँ छोरातिर ध्यानै पुर्याएनन् । यो कविताले नेपालीहरूको अवचेतनभित्रको विचार प्रकट गरिरहेको जस्तो पनि छ । पुरुष कविले लेखेको, पुरुष साहित्यकारहरूले मन पराएको, तत्कालीन स्थितिमा पुरुष पाठकहरूले अत्यधिक रुचाएको, पुरुष साहित्यिक विवेचकहरूले मूल्याङ्कन गरेको यो कविताले नेपाली पुरुषहरूको अवचेतनभित्रको विचार त प्रकट गरिरहेको छैन भन्ने स्थिति छैन । त्यही भएर यो कविता लेखिएको चालीस वर्षपछि एउटी महिला साहित्यकारले भन्नु परेको हो कि ‘त्यो’ बुहारी हो । त्यही भएर असी वर्ष भइसक्दा पनि यही कवितालाई कक्षा १२ को नेपाली विषयको पाठ्यक्रममा राखिएको हो जस्तो पनि छ । त्यही भएर असी  वर्षमा तीन तीनवटा क्रान्तिहरू भइसक्दा पनि छोराले जिम्मेवारी नलिएर ‘त्यो’लाई पर्खिरहेको हो जस्तो पनि छ । त्यही भएर हामीमध्ये प्रत्येकलाई लाग्न थालेको हो कि हामीमध्ये प्रत्येक ठीक छौँ, बेठीक त ‘त्यो’ नआएर भइरहेको हो । आमा छोरा आशा मात्र गर्ने, सपना मात्र हेर्ने, सपना पूरा गर्न सक्रियता नदेखाउने, जिम्मेवारी नलिने ! विगत असी वर्षलाई मूल्याङ्कन गर्ने हो भने नेपाल र नेपालीको यथार्थ यही होइन र !

देश लथालिङ्ग छ तर हामीमध्ये प्रत्येकलाई थाहा छ कि यसको कारण ‘त्यो’ नआएर हो । यी आमाछोराको बेहाल छ तर आमा ढुक्क छिन् कि ‘त्यो’ आउँछ, र ‘त्यो’ नआउँदासम्म आमा छोरालाई कविता सुनाइरहेकी छिन् ‘हो बा, त्यो आउँछ’ । छोरा “त्यो’ आउनेमै पुलकित छ । ‘त्यो’ आउने आमाको अडिग विश्वास देखेर छोरा पनि “प्रगतिशील’ बनेर आमाको काखामा बसिरहेको छ । ‘त्यो’ आएर आमा, छोराको उद्दार हुने हो, छोरा पनि आमाकै सल्लाह मानेर ‘त्यो’ आउने आशामा बसेको छ । यी आमा, छोराको आशा संसारमै अद्वितीय छ ।

यो कवितामा जुन पात्रहरू छन् र तिनले जुन जिम्मेवारी नलिने प्रवृत्ति देखाएका छन्  ती सबै एउटा सामान्य नेपालीको प्रवृत्ति हो । नेपाली आफू र आफ्नो वरिपरिको स्थिति बदल्न अग्रसर हुँदैन । ऊ चाहन्छ कि सबै तेस्रो व्यक्तिले गरिदेओस । आफू र आफ्नो वरिपरिको स्थिति बदल्न अग्रसर नहुने प्रवृत्ति घर परिवारदेखि टोल, गाउँ , शहर, कार्यालय, राजनीतिक दल, मन्त्रालय, सरकारसम्म परिव्याप्त छ । छोरा र उसकी आमा घरमा खुट्टा पसारेर आशा गर्छन्, सपना हेर्छन् कि ‘त्यो’ आओस् र उनीहरूको कष्ट हरोस् । ऊ र उसकी आमा घरमा सुरक्षित बसेर दर्शन, साहित्य, कला, प्रगतिशीलता, सपनाका कुरा गर्छन् र ढुक्क छन् कि “त्यो” आउँछ । आएन भने पनि आमासित उत्तर छ :  छोरा विदेश जाला । विदेश गएन भने सरकारी जागिर गरेर ठगेर, चोरेर भए पनि कमाउला, हैन भने राजनीतिक कार्यकर्ता बन्ला, नेता बन्ला । उसले सरकार पनि बनाउला तर ऊ के चाहिं भनिरहला कि “त्यो” नभएर यो काम भएन । छोरा सरकारी पिउनदेखि सचीवसम्म पनि होला, तर उसले काम गर्न नसक्नुको कारण आफू नभएर “त्यो” हो भन्न नछोड्ला । “त्यो” नभएकाले विकास नभएको हामी सबैलाई प्रष्ट छ । ऊसित काम नगर्नुको, नहुनुको हजारौँ कारणहरू छन् र ती सबैको कारण भनेको ‘त्यो’ नआएर हो । देशमा तीन तीनवटा महत्त्वपूर्ण क्रान्तिहरू भए तर “त्यो” अझै नआइसकेकाले देशबाट जातिय छुवाछुत र विभेद हट्न सकेको छैन । देशमा महिला आयोग छ, मानव अधिकार आयोग छ, प्रहरी छन्,  शिक्षक छन्, परिवार छ, मुख्यमन्त्री छ,  तर ‘त्यो’ अझै नआइसकेकाले महिला हिँसा रोकिन नसकेकामा हामी स्पष्ट छौँ । देशमा गरीबी हुनुको मूल कारण राजतन्त्रलाई पनि फालियो तर ‘त्यो’ अझै नआइसकेकाले देशमा अझै धेरै वर्षसम्म गरीबी रहन्छ भन्ने अब हामीलाई प्रष्ट भइसकेको छ । हामी सबैलाई थाहा छ कि भ्रष्टाचार गर्नु हुँदैन । तर “त्यो” नआइसकेकाले भ्रष्टाचार नरोकिने हुँदा त्यतिबेलासम्म भ्रष्टाचार गर्दा फरक पर्दैन भन्ने पनि हामीलाई थाहा छ । छोरा व्यापारी उद्योगपति पनि बन्ला तर ऊ सधैं भनिरहला कि “त्यो” नआएकाले उसले सरकारी संयन्त्रलाई भ्रष्टीकरण गर्नुपरेको हो। ‘त्यो’ भएको भए उसले यो गर्दैन थियो । मलाई ज्ञात छ कि म ठीक छु, बिग्रेको त ‘त्यो’ नभएर हो । मेरो छिमेकीलाई पनि थाहा छ कि ऊ ठीक छ बिग्रेको कारण त ‘त्यो’ नभएर हो । हामी सबै ठीक छौँ, लथालिङ्ग हुनुको कारण त ‘त्यो’ नआएर हो । वि.स. २००७ सालमै ‘त्यो’ क्रान्तिपुरुष आएपछि आउनु पर्ने सुशासन अहिलेसम्म आएको छैन। सुशासन किन आएन भनेर छोरालाई सोध्ने हो भने ऊसित सदाबहार जवाफ छ – यसको लागि ‘त्यो’ फेरि एकपल्ट आउनुपर्छ । सुशासन किन आएन भनेर आमालाई सोध्यो भने उनले सुशासन ल्याउनलाई एकपल्ट फेरि ‘त्यो’लाई जन्माऊँ भन्न बेर छैन । रोगीझैँ छोराको कपाल मुसार्दा मुसार्दा आमा पनि रोगी भइसकेकी जस्ती छिन् ।

रिमाल: भविष्यद्रष्टा वा नेपाली पुरुष अवचेतन मनको अभिव्यक्ति?

सतहमा हेर्दा नेपालीहरूको भविष्यमा के लेखेको छ भनेर रिमालले असी  वर्ष पहिले नै भविष्यवाणी गरेका हुन् जस्तो पनि देखिन्छ।  किनकि यो कवितामा जुन प्रवृत्ति औंल्याईएको छ , नेपालमा विगत असी  वर्षमा ठीक त्यस्तै भएको छ। यो सामान्य अध्ययनकै भरमा रिमाल भविष्यद्रष्टा थिए भन्नु अपरिपक्व हुनेछ। बरु यति भन्न सकियो कि कवि स्वयं नारी सशक्तिकरण र मुक्तिका पक्षपाति भएकाले यो कविता उनको सचेत मनको अभिव्यक्ति होइन । कवि स्वयं पुरुष भएकाले नेपाली पुरुष अवचेतनकै कुरा कवितामा आयो र आफ्नो त्यही अवचेतनलाई नेपालीहरूले असी  वर्षसम्म प्रदर्शन गरे, मन पराए, बाँचेर देखाए । यो कविताको भाषामा भन्ने हो भने असी  वर्षपछि पनि हामी त्यही ठाउँमा छौँ जहाँ असी  वर्ष पहिले थियौँ ।

‘आमाको सपना’ कवितालाई तेस्रोलिङ्गी दृष्टिले पनि स्वतन्त्र पठन हुनु पर्छ भन्ने यो लेखकको आशय रहेको छ । ‘त्यो’ तेस्रो लिङ्गी रहेछ भने नेपाली समाजमा तेस्रो लिङ्गीप्रतिको दृष्टिकोण सकारात्मक त बन्नेछ नै यसले रिमाललाई पढ्नलाई नयाँ ढोका पनि उघार्नेछ। नेपाली कथामा तेस्रो लिङ्गी चेतना सम्बन्धमा केही अध्ययन भए पनि कवितामा त्यस्तो भएको पाइन्न। ‘त्यो’ तेस्रो लिङ्गी हो भने त पुरुष साहित्यकारहरूको वर्चस्व रहेको नेपाली साहित्यमा नयाँ सकारात्मक बहस र परिवर्तन पनि ल्याउनेछ।

नेपाली साहित्यमा पुरुष वर्चश्वका कुरा

पुरुष साहित्यकारहरूले ‘त्यो’ भनेको ‘क्रान्तिपुरुष’ हो भन्दा गिरीले ‘त्यो’ भनेको बुहारी हो भन्नु कुनै कोणबाट पनि गलत छैन । गिरीको यो व्याख्या साहित्यमा पुरुष र महिलाले गर्ने सौन्दर्यबोध र आर्जन गर्ने अर्थ फरक हुन्छ भन्ने उत्तरसंरचनावादी,  विनिर्माणवादी र उत्तरआधुनिक मान्यतालाई पुष्टि गरेको छ । तर गिरीको उक्त धारणालाई भने पुरुष वर्चश्व रहेको नेपाली साहित्य क्षेत्रले पूर्णतः उपेक्षा गरेको प्रतीत हुन्छ। नेपाली पुरुष साहित्यविदहरूले ‘त्यो’ स्त्री पनि हुन सक्छे भनेर गिरीले व्याख्या गरेकी छिन् भनेर उल्लेख समेत गरेका छैनन्। बन्धु र पौडेलले गिरीको सोधपत्रलाई उपेक्षा गरेका छन् र आफ्नो पुस्तकमा ‘त्यो’लाई क्रान्तिपुरुषकै रूपमा व्याख्या गरेका छन् । विद्वान् भट्टले पनि गिरीको अनुसन्धानलाई उपेक्षा गरेका छन् । ढकालले पुरुष साहित्यविदहरूले ‘त्यो’लाई कसरी बुझ्दछन् भनेर लेखिन् तर महिला साहित्यकारले कसरी बुझेका छन् भनेर लेखिनन् । माथि भनिएका सबै विद्वान् विदुषीहरूका पुस्तकहरू वि.स. २०३९ पछि प्रकाशित भएका हुन् । गिरीको व्याख्यासित असहमत हुन सकियो, तर उनले ‘त्यो’लाई क्रान्तिनारी भनेकी छिन् भनेर उनको शोधग्रन्थ प्रकाशनपछिका आफ्ना लेखहरूमा, पुस्तकहरूमा सम्बन्धित साहित्यविद्हरूले उल्लेख गर्नुपर्ने हो । त्यस्तो केही भएको छैन। वि.स. २०३९ पछि रिमालसम्बन्धी लेखिएका उपरोक्त पुस्तकहरूमा सम्बन्धित साहित्यविद्हरूले गिरीको शोधपत्रलाई आफ्नो सन्दर्भसूचीमा स्थान दिएका छैनन् । गिरी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुन् । माथिका विवेचकहरूलाई गिरीले रिमालको स्वच्छन्दतावादमाथि विद्यावारिधि गरेको जानकारी छैन भन्नु पत्याउन सकिने विषय होइन । कक्षा १२ मा पढाइने नेपाली भाषाको आमाको सपना कविताको व्याख्यामा अझै पनि ‘त्यो’लाई पुरुष भनिएको छ, स्त्री भनिएको छैन ।

() निष्कर्ष

‘आमाको सपना’ कविताको स्त्रीवादी पठनपछि निम्नानुसारका निष्कर्षहरू प्राप्त हुन्छन् :

(१) पुरुष र स्त्री पाठकहरूले पढ्ने ‘पाठ’को अर्थ आ-आफ्ना लिङ्गीय स्वार्थ अनुरूप हुन्छन् । पुरुष र स्त्रीहरूका आआफ्ना सौन्दर्यचेत अनुसार व्याख्याहरूमा विविधता हुने सार्वजनीन सत्य नेपाली साहित्यको हकमा पनि लागू हुन्छ ।

(२) नेपाली स्त्री साहित्यकारहरूको धारणा, विचार र व्याख्यालाई पुरुषप्रभुत्व रहेको नेपाली साहित्यक्षेत्रले सहर्ष नस्वीकार्ने कुरालाई गलत भन्न सकिने स्थिति छैन ।

(३) गिरीले उनीअघिका सबै व्याख्याहरूलाई अस्वीकार गरी ‘त्यो’ बुहारी हो, क्रान्तिनारी हो भनिसकेपछि पुरानो व्याख्या स्वयंसिद्ध होइन भन्ने प्रष्ट हुन्छ । ‘क्रान्तिनारी’लाई दिनु पर्ने जिम्मेवारी अपव्याख्या गरी ‘क्रान्तिपुरुष’लाई दिँदा विगत असी वर्षमा देशको कुन हालत भएको छ भन्ने कसैबाट लुकेको छैन । यसर्थ पनि ‘त्यो’ बुहारी, क्रान्तिनारी हो भन्नेमा शंका मान्नु पर्दैन ।

(४) यो लेखक गिरीको व्याख्या अनुसार ‘त्यो’ भनेको बुहारी हो भन्नेमा सहमत भए पनि तेस्रोलिङ्गी व्याख्यामा यस लेखमा भनिएका कतिपय तर्कहरू पूर्वाग्रही पनि देखिन सक्छन् । तसर्थ यो कविताको समलिङ्गी, तेस्रोलिङ्गी सौन्दर्यचेत दृष्टिले पनि पठन हुनुपर्छ । जो वास्तवमा तेस्रोलिङ्गी हुनु पर्ने हो त्यसलाई हामीले हाम्रो सामाजिक सुबिधा अनुसार क्रान्तिपुरुष, क्रान्तिनारी बनाएका हौँ कि ? गिरीले पनि आफ्नो शोधपत्रमा यो कविताको मनोवैज्ञानिक अध्ययन हुनुपर्ने भनेकी छिन् ।

(५) ‘आमाको सपना’ कविताको पुरुषवादी पठन र व्याख्या अनुसार नै नेपालको विगत असी वर्षको राजनैतिक सामाजिक इतिहास रहेकाले यो कविताले नेपालीहरूको अवचेतनभित्रको ‘आफ्नो हुनुको परिचय’लाई अभिव्यक्ति दिएको हो भन्ने केही आधार दिएको छ।

(६)आमाको सपनाको पुनर्व्याख्या : स्त्रीवादी पठनपछि यो कविताको व्याख्या यस्तो हुन सक्ने रहेछ : छोरा रोगी छ, यो कुरा उसलाई भन्नैपर्छ र उसको उपचार गराउने पर्छ। ‘त्यो’ बुहारी, क्रान्तिनारी हो । छोराले अब अर्को बिहे गर्ने कुरा सोच्न पाउँदैन। घरमा अब अर्की बुहारी आउँदिन । अब फेरि ‘त्यो’ कुनै हालतमा आउँदैन । छोराले उपचारपछि जिम्मेवारी लिन पर्छ । आमा बिधुवा, वृद्ध छिन् र उनले अब ‘त्यो’ फेरि जन्माउने कुरा सोच्न पनि पाउँदिनन् ।

सन्दर्भ सामाग्री

हृदयचन्द्र सिंह प्रधान, (वि.सं. २०२६), नेपाली काव्य र उसका प्रतिनिधी कवि

रत्नध्वज जोशी, (वि.सं. २०२१), आधुनिक नेपाली साहित्यको झलक

वानीरा गिरी, (वि.सं. २०३९), कवि गोपालप्रसाद रिमालका कवितामा स्वच्छन्दतावाद  (विद्यावारिधी शोधपत्र )

केशव प्रसाद उपाध्याय, (वि.सं. २०३२), रिमाल : व्यक्ति र कृति

कृष्णचन्द्र सिंह प्रधान ,( वि.सं. २०२५ प्रथम संस्करण,  वि.सं.  २०७९, छैठौं संस्करण ), साझा समालोचना

कृष्ण विलास पौडेल , ( वि.सं. २०७४), साहित्यिक क्यानभासमा गोपालप्रसाद रिमाल

खेमनाथ कोइराला ‘बन्धु’, ( वि.सं.  २०४८), साहित्यकार गोपालप्रसाद रिमाल

यज्ञराज सत्याल (वि.सं. २०२३), नेपाली साहित्यको सन्क्षिप्त  विवेचना

चिरन्जीवी दत्त , (वि.सं. २०३०), केही नेपाली काव्यहरूका समिक्षा

कुमारी लामा, (वि.सं. २०७९), समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना

नरेन्द्र चापागाई ,( वि.सं. २०४३ प्रथम संस्करण  , २०६९, दो संस्करण ), केही सृष्टि : केही दृष्टि

बासु रिमाल ‘यात्री’ , (वि.सं. २०५६), अनिवार्य नेपाली कृतिसमीक्षा

रजनी ढकाल, (वि.सं. २०७०), प्रायोगिक समालोचना : अनेक रूप

गोविन्द भट्ट,  (सम्पादक – विष्णु प्रभात , सुदर्शन श्रेष्ठ, वि.सं. २०७७),  साहित्य मीमांसा

सरिता तिवारी ,  (गरिमा वि.सं. २०६५ ),  आमाको सपनामा विचार

नेपाल प्रज्ञा-प्रतिष्ठान (सम्पादक-डा गोपिन्द्र पौडेल, डा बिन्दु शर्मा) (वि.सं. २०७८), समकालीन नेपाली महिला समालोचना

बासुदेव त्रिपाठी , (वि.सं. २०२८), विचरण

बासुदेव त्रिपाठी , (वि.सं. २०२७), सिंहालोकन

डा ईश्वर बराल,  (वि.सं. २०३०) , हिमालचुली