) परिचय :

नव-आलोचना (New Criticism) अमेरिकामा बीसौं शताब्दीको मध्यतिर विकास भएको समालोचनाको सिद्धान्त हो जसले पाठ र लेखनलाई मात्र पढ्छ र त्यसैबाट अर्थ निकाल्छ । जन रयानसम (John C Ransom) को सन् १९४१ मा प्रकाशित The New Criticism पुस्तक यो समालोचनात्मक सिद्धान्तको मूल पुस्तक मानिन्छ । अमेरिकी कवि टि. एस . इलियट (T. S. Eliot) नव-आलोचना सिद्धान्तका प्रवर्तक मध्येका एक हुन् । यो समालोचना सिद्धान्त कविताको पठनमा बढी केन्द्रित र लोकप्रिय भयो । तत्कालीन समालोचक र पाठकहरूले कविता पढ्दा कवि र उसको जीवनी, तत्कालीन राजनीतिक सामाजिक अवस्था, संस्कृति, इतिहासको सन्दर्भमा कवितालाई बुझ्थे । कविताको यस्तो पठनले समालोचक पिच्छे र पाठक पिच्छे फरक फरक बुझाइ हुन थालेपछि कविताको अर्थ र बुझाइ एउटै हुनुपर्छ भन्ने आग्रहको साथ नव-आलोचनाको (New Criticism) विकास भएको हो ।

यो सिद्धान्तमा कवि/लेखक को हो भन्नेले अर्थ राख्दैन र कवि /लेखकले भन्न खोजेको आशय कविताभन्दा बाहिर अरू नै केही हो भन्नेलाई विश्वास गर्दैन । यो पद्धतिमा लेखक/कवि बाँचेको समय, समाज, इतिहास, संस्कृति बुझिराख्नु आवश्यक छैन र पाठकले सिर्जनात्मक तरीकाले के कति सोच्छ भन्नेको पनि महत्त्व रहन्न । यसमा यतिमा विश्वास गरिन्छ कि लेखक/कविले भन्न खोजेको कुरा लिखित पाठमै छ । नव-आलोचनाको सिद्धान्त (New Criticism) अनुसार कविता र यसको अर्थ भनेको जे लेखिएको छ त्यही हो त्योभन्दा बढी केही होइन । नव-आलोचनाले कवितामा जे भनियो त्यो कसरी भनियोमा ध्यान केन्द्रित गर्छ । किन भनियो सित सरोकार राख्दैन । तसर्थ यसले प्रतीक, बिम्ब, उपमा, भाषा, शब्द चयन, कविताको संरचना (छन्दबद्ध वा छन्दमुक्त ), कविताको आरम्भ, मध्य र अन्त्य, ध्वन्यात्मकता/ दृष्यात्मकता जस्ता काव्यिक उपकरणहरूमा ध्यान केन्द्रित गरेर अर्थ निकाल्छ, काव्यात्मकताको परीक्षण गर्छ ।

कतिपय स्थितिमा त कविले भन्न खोजेको भन्दा नितान्त फरक अर्थ पनि निस्कन सक्छ । अर्को शब्दमा भन्नु पर्दा लेखन/पाठमा प्रयुक्त शब्दहरूले अर्थ बदलेका रहेनछन् भने नव-आलोचनात्मक पद्धतिबाट कविता पढ्दा दुई सय वर्ष पछि पनि त्यो कविता/पाठको अर्थ बदलिंदैन ।

नव-आलोचनात्मक (New Criticism) पठनले कविता र त्यहाँ लेखिएको पाठ बाहेक अन्य कसैलाई चिन्दैन । तसर्थ यो पद्धति समालोचनाको अन्य पद्धतिभन्दा बढी बस्तुनिष्ठ हुन्छ । मार्क्सवादी समालोचनाले कविताले समाजको परिवर्तन, वर्गीय संघर्षलाई भावनामा चित्रण गर्नु पर्छ भन्छ भने नारीवादी समालोचनाले महिलाका समस्या, चिन्ता, असमानतालाई कविताले व्यक्त गर्नु पर्छ भन्ने आग्रह राख्छ । विनिर्माणवादी पद्धतिले कविताको एउटै मात्र अर्थ नहुने र पाठक पिच्छे फरक अर्थ हुने भन्छ । नव-मार्क्सवादी समालोचनाले समाजको विकास दास व्यवस्था, सामन्तवादी व्यवस्था, पूँजीवादी व्यवस्था हुँदै अघि बढ्ने नियमलाई मान्दैन र समाजलाई अघि बढाउने शक्ति वर्गीय संघर्ष मात्र हो भन्ने बुझाइलाई अस्वीकार गर्छ ।

मार्क्सवादी समालोचनाको आधारमा फ्रान्ज काफ्काका कृतिहरू एउटा मनोरोगी मान्छेको अभिव्यक्ति हो र उनका सबै कृतिहरू प्रतिक्रियावादी हुन् भने अस्तित्ववादी समालोचनाको आधारमा हेर्दा तिनै कृतिहरू मानवीय अस्तित्वलाई दर्शाउने उत्कृष्ट कृति हुन् । नव-मार्क्सवादी समालोचकहरूलाई काफ्काका कृतिहरू पूँजीवादी व्यवस्थामा बाँचिरहेको मान्छेहरूको बस्तुनिष्ठ चित्रण लाग्छ ।

यहाँ कवि श्री देवव्रत रचित कविता संग्रह “अश्वत्थामाको निधारबाट बागमती बग्छ” को नव-आलोचनात्मक पठन गरिएको छ ।

* * * * * *

) उद्घोषण :

कवि श्री देवव्रत रचित “अश्वत्थामाको निधारबाट बागमती बग्छ” कविता संग्रहमाथि गरिएको यो समालोचना समालोचनाको एउटा सिद्धान्त (नव-आलोचना, New Criticism) अनुरूप गरिएको पठन भएकोले (क) यो अन्तिम पठन र व्याख्या होइन, (ख) पाठकहरूलाई यो कृति पढ्नोस्/ नपढ्नोस् भनेर गरिएको सिफारिश पनि होइन, (ग) कृतिको मूल्यांकन पनि होइन (घ) अन्य समालोचनाको सिद्धान्त अनुरूप पठन गर्ने हो भने यसको फरक अर्थ र व्याख्या हुन सक्छ ।

* * * * * *

) काव्यगत उपकरणहरूको विवेचना

() भावमा एकरूपता भावको उत्कर्षता

कविताभरी एउटै भाव र त्यसका सहयोगी भावहरूको अभिव्यञ्जना भएको छ कि छैन ? भावहरूले कविताको अन्त्यमा उत्कर्षता प्राप्त गरेका छन् कि छैनन् ? यी प्रश्नहरूको उत्तर यहाँ खोज्ने प्रयास गरिएको छ ।

यस संग्रहमा लामा-छोटा गरी ३८ वटा कविताहरू छन् । पहिलो कविता “कोठा” मा ईश्वरले छोडेर गए पछिको मनोभाव प्रकट छ । ईश्वरले छोडेर गएपछि आफ्नो सबैथोक हराएको मनोदशा अभिव्यक्त गरिएको छ । कविताको शुरूदेखि निराशा-उदासी छ । आफूसित भएका सबैथोक हराएको र अडिनलाई भित्ता पनि नरहेको भाव प्रकट गर्दा अनुभावमा शुरूदेखि अन्त्यसम्म एकरूपता कायम हुनु पर्नेमा कवितामा एक ठाउँमा “साङ्ला र उडुसले“ छाडी गएकोले चित्त दुखाइ छ भने कविताको अन्त्यमा कविले आफैलाई खोजिरहेको प्रसङ्ग छ ।

कवितामा अचानक नागरिकताको ठेगाना हरायो भनिएको छ । ईश्वर नहुँदा जो कोही पनि मजाले निराश हुन पाउँछ । निराश हुनुलाई काव्यात्मक र कलात्मक तरीकाले भन्दाभन्दै “साङ्ला र उडुसले“ छाडी गएकोले चित्त दुखाइको प्रसङ्ग जोड्दा भावात्मक निरन्तरता र एकता लडखडाएको छ । साङ्ला र उडुस आफ्नो खाटमा नरहँदा कुन मान्छे दुःखी हुन्छ ? ईश्वर नै छैन भने जाबो नागरिकताको चिन्ता नगर्दा पनि हुन्थ्यो । तर नागरिकताको प्रसङ्गले कवितामा अचानक राजनीति घुसेर निराशा भावको गहनतालाई घटाइदिएको छ र खण्डित गरेको छ । ईश्वरले छोडेर जाँदाको अनुभव गर्दा नागरिकताको प्रसङ्गले उद्दीपन भावलाई कमजोर बनाएको छ । यसले गर्दा प्रकट भएका भाव उत्कर्ष स्थिति तिर जान पाउँदैनन् ।

मिलन र वियोग जिन्दगीमा भइरहन्छन् । प्रियजन, प्रेमी/ प्रेमिका, ईश्वरसितको वियोगमा वा आफ्नै जिन्दगीका विगतका घटनाहरू आफूसित नरहेको वियोगमा कविताहरू संसारभरी लेखिएका छन् । प्रस्तुत संग्रहमा पनि यस्ता कविताहरू छन् । “एकदिन” यस्तै प्रेमिका नरहे पछिको एउटा वियोगजन्य कविता हो । वियोगले निराशा, उदासी र निस्सारता उब्जाउँछ र यो कवितामा पनि त्यो भाव छ । तर अचानक उदासी बीचबाट कविमा घृणा, अपमान र तिरस्कारको भाव उत्पन्न हुन्छ र यस्तो भनिएको छ :

घृणा, अपमान तिरस्कारको दुनियाँमा

बाँच्नु पर्नेछ पलपलमा युगयुगको दुर्घटना बोकेर

जिन्दगीमा हुने स्वाभाविक वियोगले घृणा र अपमानको भाव उत्पन्न नगराउनु पर्ने हो । किनकि घृणा र अपमान सामाजिक व्यवहारबाट जन्मन्छन् । कवितामा जुन वर्णन गरिएको छ त्यहाँ घृणा र अपमान जन्माउने त्यस्तो कुनै सामाजिक कारण छैन । तर यी अचानक उत्पन्न हुने घृणा, अपमान र तिरस्कारको भावले वियोगको भावलाई धुमिल्याई दिएको छ । प्रेमिकाले छोडेर निराश भएपछि अपमानित अनुभूति नहुनु पर्ने हो । अपमानित अनुभूति भएको हो भने त्यो व्यक्ति निराश हुँदैन बरु क्रुद्ध हुन्छ ।

यो कवितामा यिनै तत्त्वहरूमा तालमेल छैन । वियोगलाई विसंगतिको एउटा क्रम मानेर यो कविता लेखिएको भए ईश्वरप्रति घृणा उब्जनु पर्थ्यो तर त्यसो देखिन्न । वियोग ईश्वरीय लीला मान्ने हो भने कविले समाजजन्य घृणा, अपमान र तिरस्कारको उल्लेख गर्नाले कविता सामान्य आलेख मात्र हुन गएको छ । वियोग ईश्वरीय लीला हो र कविले त्यसलाई सहर्ष स्वीकारेका हुन् भने कविताले सुखको भावना सञ्चारण गराउन सक्नु पर्ने हो । तर त्यस्तो पनि छैन । कवितामा कुन भाव प्रकट गर्दा कुन भाव प्रकट गर्न हुँदैन भन्नेमा सावधानी अपनाइएको छैन । सबै भावनाहरू एकै ठाउँमा राख्दा विचार व्यक्त त हुन्छ तर कविता भने बन्दैन ।

 

() रसको निष्पत्ति सञ्चार  

काव्यिक रसहरू उत्पादन गरेर आत्मालाई आनन्दित बनाउनु नै कविताको अभीष्ट हो । तसर्थ कविता लेख्दा कुन काव्यिक रस उत्पादन नगर्ने भन्नेतिर अत्यधिक सावधानी अपनाउनु वाञ्छनीय छ । यहाँ यिनै पक्षहरूको परीक्षण गरिएको छ ।

“जिन्दगी” शीर्षकको चौथो कवितामा जिन्दगीलाई निम्न उपमाहरू दिएर तुलना गरिएको छ– “झरिजानु पर्ने सतीदेवीको देहजस्तो”, “कंकालको हाड जस्तै”, “खोला किनाराको बेवारिसे लाश जस्तो”, “जिन्दगी दबाई नभेटेको कुष्टरोग जस्तो” । जिन्दगी पक्कै पनि निस्सार छ । तर निस्सार जिन्दगी कुष्टरोग र लाश जस्तै बीभत्स छ र ? निस्सारता र बीभत्सता भिन्न हैनन् र ? जिन्दगीको निस्सारता र अर्थहीनतालाई सबैभन्दा प्रखर तरिकाले उठाएका दार्शनिक अल्बेयर कामुले सिसिफसलाई प्रतीक बनाएर निस्सारताको व्याख्या गरेका थिए । उनले लाश, कुहिरहेको देह, कुष्टरोग जस्ता उपमाहरूले मानव जीवनलाई व्याख्या गरेका छैनन् । यो कवितामा प्रयुक्त बीभत्स उपमाहरूले निराशा र निस्सारता जस्ता गहन विषयहरूलाई समेत अनुभूति गराउनबाट रोक्छन् । फलतः यसलाई कविता मान्ने कि नमान्ने भन्ने प्रश्न उठाउनु उचित हुन्छ ।

“जरूरत” भन्ने कविता पनि बीभत्स रस जन्माउने छ । यसमा प्रयुक्त तर्कले नै यसलाई कविता रहन दिंदैन । यसमा कविको खुट्टा कसैले काटिदिएको छ, कविको घाँटी पनि छिनालिदिएको छ । कवितामा कवि मुर्कुट्टो भएको छ तर जीवित छ र कविले मुर्कुट्टो शरीरमा नयाँ टाउको र खुट्टा जोड्न खोज्नेसित विवाद गर्दैछ । मुर्कुट्टो भएर पनि जीवित रहेको सुपरमैन कविले खुट्टा काट्ने बेलामा र घाँटी छिनाल्ने बेलामा किन प्रतिरोध गरेन भन्ने प्रश्न उब्जन्छ नै । यस्तो सुपरमैन कविले त्यतिवेला प्रतिरोध गरेको भए न उसको खुट्टा काटिन्थ्यो न घाँटी छिनालिन्थ्यो । तर कविलाई आफ्नो शरीर छिनालिएर पिशाच भएको हेर्न रहर लागेर कविता लेखिए जस्तो छ । मुर्कुट्टो अतियाथार्थवादी वस्तु /जीव हो जसको आत्मा हुन्छ तर अनुहार हुँदैन । कविले वर्तमान समयमा मान्छेको संवेदनाहीनतालाई देखाउन खोजेको हो भने आफ्नै टाउको नकाटेर कुनै दोश्रो व्यक्तिलाई मुर्कुट्टो बनाएको भए हुन्थ्यो । व्यक्तिको अनुहार कहाँ छ त भन्ने दार्शनिक प्रश्न उठाएर अतियथार्थवादी मुर्कुट्टोलाई प्रतीक बनाएर कलात्मक ढंगले कथा वा कविता लेख्न सकिन्छ होला । वा दुष्ट आत्मा भएको तर अनुहारविहीन पूँजीवादी व्यवस्थाको प्रतीकको रूपमा मुर्कुट्टोको प्रयोग गर्दा रोमाञ्चक कविता बन्नसक्थ्यो ।

“मृत्यु” शीर्षकको एउटा कविता छ संग्रहमा जहाँ अस्पष्टता धेरै छन् । मृत्यु दार्शनिक प्रश्न पनि हो र जैविक पनि । सामान्यतया मृत्युको दार्शनिक पक्षबारे चर्चा गर्दा यसको जैविक पक्षबारे त्यति चर्चा गरिन्न । मृत्युबारे संसारभरी राम्राराम्रा कविताहरू लेखिएका छन् । मृत्युलाई मन पराउनेहरू पनि छन्, घृणा गर्नेहरू पनि छन् । मृत्युबारे चर्चा-परिचर्चा गर्न नरुचाउनेहरू पनि छन्, गर्नुहुँदैन भन्नेहरू पनि छन् । जुन दृष्टिकोण राखे पनि मृत्युको बारेमा यदि कविता लेखिन्छ भने त्यहाँ कविताको न्यूनतम धर्म त निर्वाह गरिएकै हुनुपर्छ । संग्रहको यो कवितामा कवि आफ्नो मृत्युको कल्पना गर्छ र मृत्यु मुक्ति हो भन्छ । मृत्युलाई महान् क्रान्ति भन्छ । मृत्युको विचारले वा मृत्युको सत्यले मानिसलाई असल जीवन बाँच्ने प्रेरणा वा शक्ति दिन्छ भन्ने अर्थमा मृत्युलाई क्रान्ति, उपलब्धि वा सफलता भन्नु अन्यथा भएन । तर मृत्युलाई क्रान्तिसित तुलना गर्दागर्दै कवि अचानक चाकरी, सिफारिशका कुरा गर्न थाल्छन् र मृत्यु जस्तो विषयलाई हलुका बनाइन्छ, र मान्छेहरू मर्न इच्छुक छन् भनेर यसरी घोषणा गरिन्छ:

मृत्युको अग्रपंक्तिमा

देखिनेछ मर्न इच्छुकहरूको तँछाडमछाड   

कविलाई लाशसित विशेष प्रेम छ । मृत्युको कुरा गर्दागर्दै, मृत्युलाई क्रान्तिसित तुलना गर्दागर्दै उनलाई लाशको चिन्ता हुन्छ र भन्छन्:

हुनेछलाश गाड्ने माटोको अभाव

लाश पोल्ने मलामीको अभाव,

अभावै अभावको चाङमाथि

देउडा नाच्नेछन् भरि आकाश गिद्दहरू

रत्यौली खेल्नेछन ब्वाँसाहरूले

कविले मृत्युवरण गरेर कविता लेखिसके पछि कसको लाश कसले लुच्छ, खान्छ, चिथोर्छ त्यसको चिन्ता नगरेको भए यो कविता राम्रो हुन्थ्यो होला । मृत्युले शोकको भावको निष्पत्ति हुन्छ तर लाशलाई पोल्ने, लुछ्ने, चिथोर्ने प्रसङ्गले घृणा र दिक्दारीपनाको भाव निष्पत्ति हुन्छ । मृत्यु र लाशलाई सँगै राखेर कविता लेख्दा यसमा सौन्दर्यबोध उद्दीपन गराउने कुनै गुण नै बाँकी छैन । काव्यात्मकताको कसीमा राखेर तौलिंदा यसलाई कविता भन्नु पर्ने देखिन्न ।

यहाँ ध्यान दिनुपर्ने के छ भने अल्बेयर कामु जस्ता निस्सारतावादी, अस्तित्ववादी लेखकहरूको दर्शन मृत्यु र अस्तित्वसित जोडिएको छ, लाशसित हैन । कामुले मृत्युको बारेमा लेखेका छन्, लाशको बारेमा हैन । मृत्युसित सम्बन्धी सबै दार्शनिक भावनाहरू एउटै कविताले थेग्न सक्दैन । ती दार्शनिक विचारहरूलाई अलग अलग गरेर मृत्युकै बारेमा तीन-चार वटा कविता लेखेको भए राम्रै कविताहरू बन्थे होलान् । मृत्यु क्रान्ति र मोक्ष हो भनेर भनेका कविले त्यही भाव मात्र टिपेर बिस्तार गर्दा राम्रै कविता बन्थ्यो होला ।

के समस्यामा परेको गरीब व्यक्तिको पैताला सडेका हुन्छन् ? गरीब हुनु र गरीबीको पछाडि सामाजिक आर्थिक कारणहरू छन् र यसले निम्त्याउने मानसिक पिडा पनि छ । तर के गरीबले यसरी नै सोच्छ कि उसको पैताला सडेको छ ? साथीलाई आफ्नो हालखबर सुनाउँदा “के छ ?” शीर्षकको कवितामा कवि भन्छन् कि उनको पैताला सडेको छ । पैताला सडेको प्रसङ्ग नभएको भए यो कविता राम्रै हुन्थ्यो । सडेको ठाउँमा अरू शब्द प्रयोग गरेको भए पनि हुन्थ्यो । यस्तो लाग्छ मानौं कविता बीभत्स रस निकाल्नकै लागि लेखिएको हो ।

“तिमी गए पनि हुनेछ प्रेम” अर्को वियोगजन्य कविता हो । कविताको आरम्भ र अन्त्य सुन्दर छ तर भित्रका आलेखले यसलाई समग्रमा सुन्दर बनाउँदैन । यसको आरम्भ र अन्त्य यस्तो छ :

तिमी गए पनि हुनेछ प्रेम   

उदासी, सन्नाटा छटपटिन

हुनेछ प्रतीक्षा कसैको

तर कवितामा एक ठाउँमा विना प्रसङ्ग “जहाँ हिंडिरहन्छन् मुर्दा बोकेर मलामी ” भनेर लेखिएको छ :

यो बाटो

जहाँ हिंडिरहन्छन् मुर्दा बोकेर मलामी,

कुदिरहन्छन् जीवन बोकेका श्रमिक,

उभिएका छन् दुर्घटनाग्रस्त अनुहार,

ढलेका छन् बिहान भएर कोही,

कवितामा भनिएको त्यो बाटोमा महँगीमा तरकारी किन्ने मान्छे पनि जाँदा हुन्, कुनै स्कुटर बिग्रेर थन्किएको हुँदो हो,  कुनै चोरले सामान चोरेर भागिरहेको हुँदो हो । यिनीहरूलाई नै लेखेको भए पनि कविता राम्रै बन्थ्यो । “तिमी गए पनि हुनेछ प्रेम” भनेर शीर्षकमा चामत्कारिकता झल्काए पछि त्यसलाई सिङ्गै कविताभरी कायम गरेको भए यो कविता निकै राम्रो बन्न सक्थ्यो । विसंगति नै देखाउनु पर्ने भए “जहाँ हिंडिरहन्छन् मुर्दा बोकेर मलामी” को साटो स्कुटर बिग्रेर थन्केको भनेको भए कविताले सम्पूर्ण रूपमा एउटा भाव बोक्थ्यो । त्यो बाटोमा एक दिनमा हजारौं घटनाहरू घट्छन् तर कवितामा बलजफ्ती त्यही मुर्दालाई राखिएको छ । कविको मुर्दामोहले यो कवितालाई सुन्दर हुनबाट रोकेको छ ।

शहरी जीवन त्रासदीपूर्ण नै हुन्छ । गाउँमा बस्नेहरूलाई सोध्ने हो भने उनीहरूको विचारमा ग्रामीण जीवन झनै त्रासदीपूर्ण हुन्छ । शहरको विसंगत जीवन र मूल्य, मान्यताहरू देखेर “शहर” भन्ने कविताले यसरी शुरू गर्छ आफूलाई :

यहाँ पाक्दछ मन्दिरको प्रसाद मसानघाटमा

पर्दछ पंचामृतभित्र रगत पनि

हाम्रा सामाजिक र परम्परागत संस्थाहरूले हामीलाई झुक्याएर कतिसम्म निकृष्ट कर्म गर्दैछन् भन्नको लागि मसानघाटमा प्रसाद पाक्दैछ भन्ने उपमा ठिकै हो । तर यो अतिवादी उपमा भयो । यसले घृणास्पद वितृष्णा उब्जाउँछ । यसलाई ग्राह्य मान्ने हो भने त यो भन्दा अझै अतिवादी उपमा किन प्रयोग नगर्ने भन्ने तर्क पनि उठ्छ । प्रश्न कविताले घृणास्पद वितृष्णा जन्माउन हुँदैन भन्ने होइन । प्रश्न के हो भने घृणास्पद वितृष्णा जगाउने उपमाको प्रयोगमा अतिवादी बन्न पाइन्छ कि पाइन्न भन्ने हो र त्यो अतिवादी उपमा सुसंस्कृत अभिव्यक्ति भित्र पर्छ कि पर्दैन भन्ने हो । यो कविताको मध्यतिर यस्तो लेखिएको छ :

मरेको सडेको काया भएका मान्छेहरू

मान्छे खाने मान्छेहरू

लाशको चुकिलो झोल

मलामीको नुनिलो आँसु

तिर्थालुबर्तालु मान्छेहरू

रगत पिउने मान्छेहरू

यो कविता हो वा नर्कको वर्णन ? “लाशकै चुकिलो झोल” पिएर कविता बन्ने हो भने लाशलाई कति टुक्रा पार्ने, लाशलाई सेकुवा बनाउने कि भुट्ने, लाशको आँखा काँचै खाने वा नूनमा चोपेर खाने भन्ने सिर्जनशील कल्पना गरेर भविष्यमा कसैले कविता लेख्यो भने त्यो कवितालाई गलत पनि भन्न नपाइने हुन्छ । यो कविता यस संग्रहको सबैभन्दा निम्न स्तरको हो । कविता र कथामा फरक कल्पनाशीलता आवश्यक हुन्छ भन्ने तर्फ कविता सचेत देखिन्न । माथिका पदावलीहरू कुनै कथा वा उपन्यासमा लेखिएका भए त्यो कथाले पचाइदिन सक्थ्यो । तर कविता छोटो हुने भएकोले यस्ता पदावलीले उत्पन्न गराउने मनोभाव कविताको अन्त्यसम्म कायमै रहन्छन् र कविताको आस्वादनमा व्यवधान ल्याउँछन् । उस्तै पर्‍यो भने कवितालाई पढ्दापढ्दै बीचमै छाड्नु पर्ने हुन्छ ।

फूललाई कवितामा जीवन, खुशी, युवती, बच्चाहरूको प्रतीकको रूपमा उपयोग गरिन्छ र यसरी धेरै कविताहरू लेखिएका छन् । फूलले पाएको दुःखहरू पनि ती कविताहरूमा व्यक्त भएका छन् । प्रस्तुत संग्रहमा एउटा कविता छ “फूलहरू” भन्ने र यसमा फूलको त्रासदीपूर्ण जीवनको चित्रण छ । कविता सामान्य छ । फूलको जीवनको कथा भन्दा एक ठाउँमा बीभत्स रस उत्पन्न हुनेगरी यसो भनिएको छ :

एउटा भगवान् आयोकुल्चियो पाउमुनि

लास आयोटिपेर राख्यो सडेको छातीमा

संसारभरको पाप गरेको पापीले

जीउ वारपार रोपेर छुरा

झुण्ड्या हिंड्यो घाँटीमा

माथिको वर्णनमा लासलाई जबर्जस्ती घुसाइएको छ । फूलको दुःख अभिव्यञ्जना गरी व्यक्त गर्दा पाठकले सबै दुःख बुझे भने त कविताको सार्थकता भयो । लाशले सडेको छातीमा फूल राखेको अतिवादी प्रसङ्गले पाठकमा फूलका अन्य दुःखहरूलाई सुनिराख्ने धैर्य कति होला ?

यस संग्रहमा ३८ वटा कविताहरू छन् । सबै कविताहरूमा एकमुष्ट राखेर हेर्दा यस संग्रहमा कुहिरहेको देह, सडेको पैताला, सडेको छाती, कंकाल, लाश, मुर्दा, कुष्टरोग, मुर्कुट्टो, छिनालेको घाँटी, धमिराले खाएको मुटु, मलामी, मसानघाट, मान्छे खाने मान्छेहरू, सडेको काया भएका मान्छेहरू, खप्परहरू जस्ता शब्दहरू २५ ठाउँमा आएका छन् ।  अर्थात प्रत्येक पाँच वटा कविता पढ्दा तीन वटा कविताहरूमा बीभत्सताको सामना गर्नुपर्ने हुन्छ । एउटा कविता संग्रहमा बीभत्सता बोधक शब्दहरूको यो अत्यधिक प्रयोग हो । यसले गर्दा कविता संग्रहको अभीष्ट नै बीभत्स रस उत्पन्न गराउने हो कि भनी बुझ्नुपर्ने हुन्छ । बीभत्सता बोधक यी शब्दहरूको अत्यधिक प्रयोगले कविताहरूले सम्प्रेषण गर्न खोजेका अन्य भावहरू ओझेलमा परेका छन् ।

लाश अतियथार्थवादी वस्तु हो । लाश निर्जीव हुने भएकोले त्यसले न बोल्न सक्छ न अनुभूति गर्न सक्छ । यो शब्दको प्रयोग घृणा, तुच्छता, अपमान र मानव अस्तित्वको निकृष्टतम रूप भनेर जनाउन प्रयोग गर्ने गरिन्छ । पार्थिव शरीर र लाश भौतिक रूपमा एउटै बस्तु हुन् । पहिलोले मानव अस्तित्व र मृत्युको सुन्दर पक्ष दर्शाउँछ भने दोश्रोले मानव अस्तित्वको तुच्छता दर्शाउँछ । तर यस संग्रहका कविताहरूमा पार्थिव शरीर नभनेर मुर्दा वा लाश भनिएको छ । लाश शब्दको अत्यधिक प्रयोगले कविताहरू सुन्दर बन्नबाट वञ्चित भएका छन् ।

“तिमी गएपछि” अर्को वियोगजन्य कविता हो । यसमा नयाँपन केही छैन । “प्रार्थना” भन्ने कवितामा कविले आफू संवेदनाहीन भएको घोषणा यसरी गरेका छन् :

कत्ति खेद छैन संवेदनाहीन हुनुमा

लाग्दैन कसैलाई गुमाउने डर

छैन प्रतीक्षा तिम्रै पनि

 

अब अनुपस्थितिभन्दा

बढी दुख्छ कसैको उपस्थिति

घातभन्दा ज्यादा दुख्छ प्रेम कसैको

यहाँ घोषणा गरिए अनुसार नै कविता संग्रहमा संवेदनाहीनताको आधिक्यता छ ।

 

() कविताको विषय 

कविताको विषय चयनले पनि कविताहरू सुन्दर बन्ने वा नबन्ने पथमा लाग्छन् । विषयको छनोटमा ध्यान नदिंदा एउटा सामान्य विषय वा सबैलाई ज्ञात भइसकेको विषयमा कविता लेख्दा कविताको सौन्दर्य पक्ष बलियो नहुन सक्छ ।  त्यस्तै जटिल दार्शनिक प्रश्नहरूलाई कविताको विषय बनाउँदा काव्यात्मकता गुम्ने जोखिम पनि बढ्छ । यहाँ यिनै पक्षहरूको परीक्षण गरिएको छ ।

यस संग्रहका कविताहरू तीन मूल विषयहरूमा छन् – प्रेम, दुःख र राजनीति । यिनैभित्र छन् अन्य सहायक विषयहरू जस्तो कि एक्लोपन, मृत्यु, वियोग, कुशासन, महिला हिंसा र अधिकार, भ्रष्टाचार, विकास, असमानता,उत्पीडन आदि ।

एउटा कथामा धेरै विषयहरू र सहायक विषयहरू अट्न सक्छन् । तर एउटा छोटो वा लामो कविताले आफ्नो काव्यात्मक सौन्दर्य नगुमाईकन धेरै विषयहरू समेट्न सक्दैन । महाकाव्य भने अपवाद हो जसले यी सबै विषय र सहायक विषयहरूलाई काव्यात्मकता नगुमाईकन समेट्न सक्छ । कवितामा अस्तित्वजन्य वियोग र एक्लोपना अभिव्यक्त गर्दा गर्दै राजनीतिक कुरा गर्न थालियो भने विषयान्तर हुन जान्छ । छोटो कवितामा विषयान्तर अत्यन्त जोखिमपूर्ण कार्य हो र यसको प्रयोगमा कुशलता नदेखाइमा कविताले आफ्नो शक्ति क्षीण गर्छ । यो कविताका थुप्रै कविताहरूमा यो कुशलता नदेखाउँदा काव्यात्मक सौन्दर्यको क्षयीकरण भएको छ ।

प्रत्येक कवितामा कविले अभिव्यक्त गर्न खोजेको आशय हुन्छ र त्यो नै कविताको सन्देश पनि हो । विषय चाहिं व्यापक हुन्छ । कुनै विषयको बारेमा अभिव्यक्त गरिएका सबै विचारहरू कविता नबन्न पनि सक्छन् । तसर्थ विचार सुन्दर भावमा अभिव्यञ्जित भएमा मात्र कविता बन्न जान्छ । जस्तो कि महिला समानता कुनै कविताको विषय हुनसक्छ । तर यसलाई कवितामा ढालेर लेख्दा कविले भन्न खोजेको आशय वा सन्देश काव्यात्मक सुन्दरताले भरिएको हुनुपर्छ । अन्यथा यो विचारको थुप्रो मात्र हुनजान्छ । कवितामा एक भन्दा धेरै आशयहरू भएमा सन्देश र भावमा एकरूपता कायम नहुन सक्छ र कविता सुन्दर हुँदैन ।

यस संग्रहमा राजनीतिक कविताहरू पनि छन् । राजनीतिक कविताहरू अल्पायु प्रकृतिका हुन्छन् र तिनीहरूको सौन्दर्यबोध संसारभरी नै विवादको विषय हुने गरेका छन् । अमेरिकीहरू राजनीतिक कविताको अभीष्ट कविहरू बीचको राजनीति भन्न रुचाउँछन् र यसले ह्वाइट हाउसको राजनीतिलाई फरक नपार्ने भन्छन् । तानाशाही शासन प्रणालीमा राजनीतिक कविताले प्रतिरोधको राजनीति गर्न सघाए पनि खुला लोकतन्त्रमा यसको औचित्य के हो भनेर पनि प्रश्न उठाउने गरिन्छ । कतिपयले राजनीतिक कविताको साटो प्रतिरोध कविता (Protest Poetry) भन्न रुचाउने यस्ता कविताहरू जुनसुकै सामाजिक, आर्थिक, राजनीतिक बेथिति र विसंगति विरुद्ध लक्षित हुन्छन् । सुन्दर कालजयी राजनीतिक कविता लेख्नु अत्यन्त कठिन र चुनौतीपूर्ण हुन्छ । प्रायजसो राजनीतिक कविताहरूका सहायक विषयहरू सबै पाठकहरूलाई पहिल्यैदेखि थाहा हुन्छ । तसर्थ राजनीतिक कवितामा नयाँपन दिनु कविको लागि फलामको चिउरा चपाउनु सरह हो ।

महिलामाथि हुने घरेलु हिंसा र अपमानको विरुद्ध लेखिएको “आमा तिमी मूर्ख हौ” कवितामा विचार र आक्रोश धेरै व्यक्त गरिएको छ र कविताको सौन्दर्य पक्षमा चासो दिइएको छैन । जस्तो कि जति बुझाउँदा पनि आमाले नबुझेको प्रति क्षुब्ध हुँदै लेखिएको छ कि

तिमी माटो हौ

पोखरीको डिलको एक डल्लो माटो

जसलाई जसले जसरी पनि खेलाउन सक्छ

प्रतिकारका लागि छैनन् तिमीसित मुठ्ठीहरू

बोक्सी भनेर मलमूत्र खुवाउन होस्

वा कपाल मुडेर गाउँ डुलाउन

वेश्या भनेर नाङ्गै लखेट्न होस्

वा दाइजोमा जोखेर जिउँदै जलाउन

तिमीभन्दा सस्तो खेलौना नै के अरू ?

माथिको सबै घटनाहरू कविकै घरमा घटेका होइनन् होला । कविले समाचारकै भरमा लेख्दा र देशभरिकै आमाहरूको पक्ष लिएर लेख्दा कविता कम र मानव अधिकारकर्मीको अभिव्यक्ति जस्तो देखिन पुगेको छ । महिलाको पक्षमा न्याय र समानताको कुरा गर्दा देशभरीकै महिलाहरूको कुरा गर्नु पर्छ र ? आफ्नो घरभित्र विद्यमान महिला असमानताको चर्चा गरेको भए यो कविता बरु सुन्दर हुन्थ्यो । कविता त्यतिवेला सुन्दर हुन्छ जब कवि एकान्तमा एक जनासँग मात्र कुरा गर्छ । भीडसित कुरा गर्दा कविता बन्छ र ? “आमा तिमी मूर्ख हौ” शीर्षकको कवितामा कविले देशभरिकै आमाहरूसित कुरा गर्दा यो कविता मानवअधिकार गोष्ठीको कार्यपत्र जस्तो भएको छ । यो कविताको आरम्भमै पुरुषले (बुवाले) आमामाथि गरेको घरेलु हिंसाको चित्रण गरेका कवि एकपक्षीय रूपमा आमा विरुद्ध खनिएका छन् । पुरुष विरुद्ध एक शब्द पनि भनिएको छैन कवितामा । एक ठाउँमा यो कवितामा यस्तो पनि लेखिएको छ :

सराप्छु तिम्रो ममतालाई

धिक्कार तिम्रो सहनशीलतालाई

मलाई थुक्न मन तिम्रो देवताको मुखमा,

कविले बुवालाई अलिकति हप्काइ मात्र दिएको भए आमाले मात्र एक तर्फी सुन्नु पर्ने थिएन र यो कविताको स्वरूप नै अर्को हुन्थ्यो । न आमालाई वेश्या भन्नुपर्थ्यो न देवताको मुखमा थुक्नु पर्थ्यो । हाम्रो सामाजिक समस्यालाई मानव अधिकारकर्मी र समाजशास्त्रीको रूपमा बुझेर कविता लेख्न खोज्दा समाजशास्त्रको आलेख झैं भएको छ यो कविता ।

कतिपय घटनाहरूको वर्णनले (बुवाले आमालाई अश्लील गाली गरेको प्रसङ्ग, आमाले खान दिएको भात बुवाले फ्यालेको प्रसङ्ग, बुवाले आमाको कपाल लुछेको प्रसङ्ग ) हिंसाको चित्रण धेरै भएको तिर ध्यान पुगेको देखिन्न ।  कविता हैन कि घरेलु हिंसाको विवरण लेखिएको जस्तो भएको छ । कथामा लेखिनु पर्ने विवरणहरू कवितामा लेख्दा कविताको आत्मा त मरेन भनेर ध्यान दिइएको छैन । आक्रोश हुँदैमा कविता सुन्दर हुँदैन । आक्रोशमा नियन्त्रण नराख्दा व्यक्तिगत जीवनमा त दुर्घटना हुन्छ भने कवितामा पनि त्यस्तो दुर्घटना हुनसक्छ र यो कवितामा यस्तै दुर्घटना घटेको छ । आक्रोश र अन्य भाव मिसाउँदा आक्रोशको भावको मात्रा कति हुनुपर्छ भन्ने तर्फ यो कविता चुकेको छ ।

विकासमा पछि परेको कर्णालीमाथि लेखिएको “कर्णाली” शीर्षकको कवितामा विचार छ तर नयाँपन छैन । कर्णालीको अल्पविकास र पछौटेपन माथि आमसञ्चारमा यति धेरै चर्चा परिचर्चा भएका छन् कि त्यसलाई कवितामा प्रस्तुत गर्दा कुनै विकासे विचार सुने झैं हुन्छ । यसमा विचार छ तर कवितात्मक सुन्दरताको अभाव छ । यसले उद्वेलित गर्दैन । बरु एउटा लामो कथा लेखेको भए उद्वेलित गर्थ्यो कि ?

“खतरामा तिमी छौ” शीर्षकको कविता अर्को राजनीतिक कविता हो जसमा लोकतन्त्र र राष्ट्रियता हैन कि राजनीतिज्ञ र राजनीतिक दलहरू खतरामा छन् भनिएको छ । यो कुनै नयाँ विचार होइन, न यसमा कुनै काव्यात्मक सौन्दर्य छ ।

सत्ताधारीको तानाशाही शैलीप्रति असन्तुष्ट भएर लेखिएको अर्को राजनीतिक कविता हो – “ब्ल्याकआउट विद्रोह” ।  तानाशाही शासकहरूले कसरी शासन गर्छन् र उनीहरूले कसरी सोच्छन् भनेर लेखिएको यो कवितामा केही नयाँपन छैन । पहिले थाहा भइसकेकै कुरा छन् र ती कुराहरूलाई कविता बन्ने गरी नयाँ तरिकाले भनिएको पनि छैन ।

“धूलाचौरको आवाज” पनि राजनीतिक कविता हो जहाँ सुशासनको अभावमा भोग्नु परेको अन्यायलाई व्यक्त गरिएको छ । कवितामा उठाइएका सबै प्रसङ्ग सत्य हुन् तर त्यतिले मात्र राम्रो कविता बन्दैन । कुशासनको लामो विवरण दिनुभन्दा एउटा मात्र विवरण दिएर त्यसैलाई कसरी काव्यात्मक बनाउने भन्ने तर्फ ध्यान पुर्‍याउन सकेको भए यो कविता पनि राम्रो हुन सक्थ्यो ।

“सम्बोधन“ अर्को राजनीतिक कविता हो जहाँ सत्ताधारीको भनाइप्रति असहमत भएर आक्रोश व्यक्त गरिएको छ ।  आक्रोश यसरी हिंसात्मक तरिकाले व्यक्त गरिएको छ :

हो, झोक चल्छ

केवल झोक चल्छ

उठाऊँ बन्दुक

गाडिदिऊँ बन्चरो मालिकको छातीमा

भासियोस् पृथ्वी

दन्दनी आँखै अगाडि

जलेर नष्ट होस् मानव अस्तित्व,

हिंसाले सुखद भाव जन्माउँछ र ? अपराध कथाले काव्यात्मकता बोकेको हुन्छ र ? कविताले यस्ता पक्षमा ध्यान नदिंदा उठान गरिएका गम्भीर विषयहरू पनि हलुका भएका छन् । शोषकविरुद्धको आक्रोश मानव अस्तित्वविरुद्ध किन नि ? एउटा शोषकसित लड्ने कुरा गर्दा सिङ्गै मानव अस्तित्व नष्ट हुनुपर्ने विचार व्यक्त गर्दा पाठक कविको अन्याय विरुद्धको लडाइमा कहाँसम्म सँगै जान सक्ला ? कविता हुनलाई पाठक नै मारिनु पर्ने हो भने कुन चाहिं पाठक यसको लागि तयार होला ? जथाभाबी विचार व्यक्त गर्दा असमानता र शोषण विरुद्धको यो कवितालाई कविता मान्ने आधार नै छैन । पाठक मरोस् भन्ने कामना गर्ने अराजक कवितालाई कसरी सुन्दर अभिव्यक्ति मान्ने ? पाठक मरोस् भन्ने आशयको यो कविता पाठकले किन पढ्नुपर्ने ?

“दाबी” भन्ने कविता निम्न दार्शनिक घोषणाबाट आरम्भ हुन्छ

जहाँ छुत्यहाँ छैन पनि अलिकति

जे हुँत्यो होइन पनि अलिकति

तर पढ्दै जाँदा यो कवितामा पनि कविको सत्ताधारीहरू सित मुठभेड भइहाल्छ । एक ठाउँमा यस्तो भनिएको छ :

को हौ तिमी  ?

काटेर जाने मेरा हत्केलाहरू

अझ अगाडि भनिएको छ,

को बाँधिरहेछ मेरा सपनाका खुट्टामा नेल

को छापिरहेछ फिल्महलको टिकटजस्तो नागरिकता

अचेल सरकारले

आतंककारीको सूचीमा राखेको मेरो नाम 

अब आतंककारी पनि भएको छु,

 

कविताको अन्त्य निम्न दार्शनिक प्रश्नबाट भएको छ :

के ऐना पनि हूँ ?

संग्रहमा यति धेरै राजनीतिक कविताहरू राख्नुको साटो एउटै मात्र राखेको भए फरक स्वाद पनि पाइन्थ्यो । नव आलोचनात्मक पद्धतिबाट (New Criticism) यी कविताहरू पढ्दा कविताभन्दा बाहिर जान नपाइने भएकोले पाठकले अनुभूति गर्ने यत्ति हो कि कविता भित्रको देश, काल, परिस्थिति सबै निराशाजनक छन् । प्रत्येक कवितामा यही कुरा दोहोर्‍याउनु पर्ने हो र ? राजनीतिक कविताको नसुल्झिने पक्ष के हो भने कविलाई आफूले उठाएको सहायक विषयहरू नयाँ र रोमाञ्चक लाग्छ भने पाठकलाई लाग्छ कि यो त उसलाई पहिल्यैदेखि थाहा छ । एउटा मान्छेको जिन्दगीका सबै अनुभूतिहरू सत्ता, राजनीति, भ्रष्टाचार, हिंसा, निराशाहरूबाट मात्र निर्माण हुने हुन् ? जिन्दगीका नवीन अनुभूतिहरू खोइ त ? भ्रष्टाचार, सत्ता, राजनीति, हिंसा, निराशाहरूकै कविताको श्रोत हुन् ? यदि हुन् भने त्यसले कस्तो र कसरी स्तरीय काव्यिक सौन्दर्य उत्पन्न गराउँछन् भन्ने तिर यी कविताहरू सचेत छैनन् ।

“नक्कली किसान” अर्को राजनीतिक कविता हो । व्यंग्य, असन्तोष, आक्रोश पोखिएको यो कवितामा उल्लेख्य केही छैन ।

राजनीतिक भ्रष्टाचार, छल, धोकाधडीको फोहोरलाई प्रतीकात्मक तरिकाले भन्न खोज्दा फोहोर प्रतीक नलिई काम चल्दैन र यसै क्रममा बनेको छ यस संग्रहको अर्को राजनीतिक कविता “सुँगुरको लोकतन्त्र ” । सुँगुर दलाल, भ्रष्टाचारी, गद्दार, देशद्रोही, तस्कर सबैको प्रतीक हो । एक ठाउँमा तथाकथित काव्यात्मक सौन्दर्य यसरी अभिव्यक्त भएको छ ।

गुहु चर्दा निलेकोऔंठी

टक्र्याएर यो देशको न्यायाधीशको पाउमा

गर्न सक्छन् ()प्रेम

कवितामा अभिव्यक्त भावलाई कविले अनुभूति गरेको हुनुपर्छ र त्यही भाव पाठकहरूलाई पनि अनुभूति गराउन सक्नुपर्छ भन्ने कविताको मान्यता हो । सुँगुरले “गुहु चर्दा निलेको औंठी” लाई कविले कसरी अनुभूति गर्न सके बुझी नसक्नु छ भने त्यही अनुभूति पाठकहरूले पनि गरेर पाठकहरूको आत्मा कसरी आनन्दित हुन्छ झनै बुझी नसक्नु छ !

“अश्वत्थामाको निधारबाट बागमती बग्छ” भन्ने कवितामा सत्ताधारीसित राष्ट्रियता, विकास, समावेशिता, उत्पीडनको बारेमा प्रश्न सोधिएका छन् । यो पनि एक राजनीतिक कविता हो र यसमा उठाइएका विषयहरूसित पाठकहरू परिचित छन् । कवितामा नयाँपन छैन । राष्ट्रियता, विकास, समावेशिता, उत्पीडन सम्बन्धी आफ्नो धारणा राख्नासाथ कविता बन्छ वा राजनीतिक आलेख बन्छ भन्ने प्रश्न गर्ने हो भने यो लेखन कविता भयो कि भएन भनेर सोध्ने ठाउँ भने छ ।

“कोठा (एक)” कवितामा आधुनिक सुखसुविधा पाएर पनि मान्छे सुखी छैन भन्न खोजिएको छ । कविताको आरम्भ र अन्त्य यस्तो छ :

आरम्भ   : मान्छे संसारका सबै सुन्दर चिज

               कोठामा कैद गर्न चाहन्छ,

 

अन्त्य : यतिवेला के झोक चलेको

           कैद गरेर संसारका सबै सुन्दर चीज कोठामा

           मान्छे आफै किन निस्किएको कोठा बाहिर ?

 

सम्पन्नता र वैभव हुँदाहुँदै पनि सुखी नभएर कोठाबाहिर निस्कनु मान्छेको नियति हो भनेर यो कविता टुंगिन्छ । अन्य कवितामा कमजोर पात्रहरूको पक्षमा बोल्ने कवि नियति बदल्नुपर्छ भनेर सत्ताधारीहरूसित लड्न तयार हुन्छ । अन्य कमजोर पात्रहरूको पक्षमा लड्न तयार कवि यो कवितामा भने मान्छेको नियति बदल्न तयार हुँदैन । नव-आलोचनात्मक (New Criticism) सिद्धान्त अनुसार प्रत्येक कविताले किन आक्रोशको भाषा बोल्दैन भनेर सोध्न मिल्दैन । यहाँ के मात्र भन्न खोजिएको हो भने नियति बदल्न नखोजेर पनि कविता बन्ने रहेछ भने यस संग्रहका अन्य राजनीतिक कविताहरूमा पनि अत्यधिक आक्रोश र असन्तोष व्यक्त नगरेर पनि कविता लेख्न सकिन्थ्यो होला । त्यसो हुँदो हो त संग्रहका धेरै कविताहरू हालको भन्दा स्तरीय बन्थे ।

नव आलोचनाले (New Criticism) कविताको विषयमा प्रश्न उठाउँदैन । तर कतिपय विषयहरू यस्ता हुन सक्छन् जसमा जोसुकैले जुनसुकै वेला कविता लेख्न सक्दैन । त्यो विषयको बारेमा प्रशस्त विचार पनि होलान्, तर ती विचारहरू कवितामा उपयुक्त हुन्छ त भनेर नघोत्लिंदा निबन्ध वा कथा लेख्नुपर्ने विषय पनि जबर्जस्ती कवितामा आउन सक्छ । यो स्थितिमा स्वाभाविक छ कविता सुन्दर हुँदैन । जस्तो कि महिलामाथि हुने हिंसाको विरोधमा केही लेख्नुपर्यो भने निबन्ध लेखे हुँदैन र ? नाटक लेखे हुँदैन र ? उपन्यास नै लेखे हुँदैन र ? महिला हिंसाको विरोधमा कविता नै लेख्नुपर्ने कुनै विशेष कारण रहन्छ र ? कथाको आकार, चरित्रहरू, घटनाहरूले गर्दा कवितामा मानवअधिकारकर्मीको भाषण लाग्ने सामाग्री कथाको अनिवार्य तत्व हुनसक्छ ।

यस संग्रहको कविता “सुँगुरको लोकतन्त्र” राम्रो कथाको विषय हो किनकि कथामा त्यो राजनीतिक आपराधिक कुपात्रलाई सुँगुर भनिराख्नु पर्दैन । “कर्णाली” कविता राम्रो निबन्धको विषय हुनसक्छ । “आमा तिमी मूर्ख हौ” कविता एउटा असल उपन्यासको विषय हुनसक्छ । तसर्थ कविताको विषय चयनमा ध्यान नदिंदा स्वाभाविक रूपले तिनीहरूले काव्यात्मकता गुमाएका छन् ।

यसलाई यसरी पनि सोध्नुपर्ने हुन्छ । कसैसित भन्नलाई कुनै एउटा विषय छ भने उक्त विषयलाई कुन विधामार्फत अभिव्यक्त गर्दा अभिव्यक्ति सबैभन्दा सुन्दर हुन्छ ? एउटा विषयलाई अभिव्यक्त गर्दा कथा, कविता, उपन्यास, निबन्ध, नाटक सबै विधामा समान सुन्दर अभिव्यक्ति हुनसक्छ कि सक्दैन ? हामीले सुनेकै छौं कतिपय उपन्यासहरूमा आधारित सिनेमाहरू उपन्यासभन्दा सुन्दर छन् भने कतिले उपन्यासको मूल विषयप्रति न्याय गरेका हुँदैनन् । साहित्यगत विधामा पनि त्यही हुन्छ । निबन्ध वा उपन्यास लेख्नुपर्ने विषयमा कविता लेख्नखोज्दा काव्यात्मक सौन्दर्य गुमाउनुपर्ने हुन्छ । आइन्स्टाइनको सापेक्षताको सिद्धान्त मन परेर कसैले विगतमा पुग्ने (Time Travel) विषयमा कविता लेख्ने, विज्ञान कथा लेख्ने वा एउटा साईफाइ (Science Fiction) सिनेमा बनाउने ? जिद्दी गरेर कविता नै लेख्छु भनेर कसैले कविता लेख्यो भने त्यो कवितामा काव्यात्मक सौन्दर्य कायम राख्नु निकै चुनौतीपूर्ण हुन्छ । संग्रहका धेरै कवितासित यही भएका छन् । प्रत्येक राजनीतिक विषयमा कविता लेख्नखोज्दा काव्यात्मक सौन्दर्य गुमेको छ ।

एउटा कविता संग्रहमा कतिवटा सम्म राजनीतिक कविता भएमा संग्रहले थेग्छ भन्ने तर्फ सचेत छैन संग्रह । राजनीतिक कविताले अन्य सुन्दर कवितालाई ओझेल पार्न सक्छ भन्ने तर्फ ख्याल गरिएको छैन ।

 

() कविताको आरम्भ अन्त्य

कविताको आरम्भ पाठकको लागि प्रवेशद्वार हो भने अन्त्य बहिर्गमनद्वार । प्रवेशद्वार र बहिर्गमनद्वारको सीमाभित्र रहन्छ कविता र कविताको यात्रारत पाठक । प्रवेशद्वारमा स्वागत हुन्छ भने बहिर्गमनद्वारबाट बिदाइ । स्वागतमा अप्रिय घट्न दिइएन, उत्साह र कौतुहलता कायम राखियो भने पाठक पनि उत्सुकतापूर्वक भ्रमण गर्छ र बिदाइ पनि प्रेमपूर्ण र आनन्ददायक रह्यो भने भ्रमण झनै स्मरणीय हुन जान्छ । पहिलो पद, वाक्य वा गद्यांशले दिने भावले पाठकलाई तान्न सक्नुपर्छ । तान्ने सकेन भने पनि वितृष्णा जन्माउने आशयको हुनुहुँदैन । हेरौं यस संग्रहका केही कविताहरूले कसरी स्वागत र बिदाइ गर्छन् पाठकहरूलाई ।

 

जिन्दगी :     

(आरम्भ )

चोइटिंदै चोइटिंदै झरिजानुपर्ने

टुक्रिंदै टुक्रिंदै सक्किजानुपर्ने

सतीदेवीको देहजस्तो

 (अन्त्य )

टुक्रिंदै टुक्रिंदै सक्किजानुपर्ने

जिन्दगी दबाइ नभेटेको कुष्टरोग जस्तो

 

पृथ्वी  :   

(आरम्भ )

उथलपुथल उलटपुलट पृथ्वीमा

दक्ष प्रजापतिको यज्ञकुण्ड जस्तो भूगोल ।

 (अन्त्य)

बीच टाँगमुनिबाट च्यातिंदै च्यातिंदै

बीच खप्परसम्म आइपुगेको छु

 

मृत्यु  :      

(आरम्भ )

यी आँसु

जो अविरल बर्सिरहेछन् ममाथि

 (अन्त्य)

आह्वान गर्छु

एउटा हत्याको अधिकार यहाँ

हरेक मान्छेलाई

आत्महत्याको लागि

 

आमा तिमी मूर्ख हौ  :

 (आरम्भ )

तिमी महान् होइनौ मूर्ख हौ

देवी होइनौ दासी हौ

 (अन्त्य )

तिमी महान् होइनौ मूर्ख हौ

देवी होइनौ दासी हौ

माथिका चार वटै कविताहरूले पाठकहरूलाई रुखो स्वागत गर्छन्, रुखो बिदाइ गर्छन् । दिक्क मान्दै कविताभित्र पस्छ पाठक र दिक्दार मनले बाहिरिन्छ । संग्रहका धेरै जसो कविताहरूमा पाठकहरूलाई यसरी नै स्वागत र बिदाइ गरिएको छ । “जिन्दगी” भन्ने कविताबाट निस्केपछि पाठक कति आनन्दित हुन्छ होला जीवनदेखि ? जिन्दगी निस्सार छ भन्नुको अर्थ जिन्दगी कुष्टरोग जस्तो हुन्छ भन्ने हो र ! “जिन्दगी” र “पृथ्वी” कविताबाट बाहिरिए पछि पाठकले संग्रहको अर्को कविता पढ्ने आँट नगर्न सक्छ ।

कविता थोरै शब्दहरूमा सक्याउनु पर्ने हुँदा कविताको आरम्भदेखि अन्त्यसम्म सचेत हुनु आवश्यक छ । कविताको पहिलो पदावली, वाक्य वा गद्यांशले कवितामा के भन्न खोजिएको होला भन्ने उत्सुकता, कौतुहलता र रोमाञ्चकता जागृत गराउन सक्नु पर्छ जसले गर्दा पाठक सहजै कविताको अन्त्यसम्म पुगोस् । कथाको पहिलो वाक्य कसरी लेख्दा पाठकलाई रुचि जगाउन सकिन्छ भनेर कथाकारहरू चिन्तित हुन्छन् । प्रथम वाक्य वा गद्यांशमै सबै भावना अभिव्यक्त गर्न नसकिएला तर जे जति गर्न सकिन्छ त्यो सहज, सुपाच्य र आनन्ददायक हुनु पर्छ र पाठकलाई अन्त्य सम्म बाँधेर राख्ने सामर्थ्यको हुनुपर्छ । संग्रहको “रूपान्तरण” भन्ने कविता निम्न पदावलीबाट शुरू हुन्छ :

आधा जलिसकेको चिहानबाट

सल्किसकेको दागबत्ती निभाई

घाटलाई एक्लै छाडी

लाशलाई काँध हाली

घर फर्किरहेछन् मलामीहरू

यो अंशले पाठकलाई कति बाँधेर राख्नसक्ला ? जलिरहेको गह्नाइरहेको तातो लाशलाई आफ्नै काँधमा राखेर कुन पाठकमा अर्को पदावली पढ्ने उत्साह रहला ? यो कवितांश पढेर के आशा गर्ने पाठकले : आधा जलिसकेको लाशलाई बोकेर ऊ अर्को मसानघाट जानुपर्ने हो कि फूलबारीमा जानु पर्ने हो ?

तर केही कविताहरू भने स्वागत र बिदाइका दृष्टिले निकै राम्रा छन् :

कोठाबाहिर :

(आरम्भ)

खचाखच थिए उदासी, तडप छटपटी

अटाइन आफ्नै कोठाभित्र

सडकमा निस्किएँ

 (अन्त्य)

तिम्रो वियोगमा

निस्किएँ कोठाबाट

थाहा पाएँ मैले

संसार दुखीहरूको पनि सुन्दर हुँदो रहेछ ।

यो कविताको अन्त्य बेजोड छ । दुखको बीचबाट सुख निकालेको यो प्रसङ्गले यो कवितालाई स्तरीय बनाइदिएको छ ।

तिमी गए पनि हुनेछ प्रेम  :       

(आरम्भ )

तिमी गए पनि हुनेछ प्रेम

उदासी, सन्नाटा छटपटी

हुनेछ प्रतीक्षा कसैको 

(अन्त्य )

तिमी गए पनि हुनेछ प्रेम

उदासी, सन्नाटा छटपटी

हुनेछ प्रतीक्षा कसैको 

सुख दुःख, आशा निराशालाई एकै पल्ट एउटै वाक्यमा भनिएको यो आरम्भ र अन्त्य निकै सुन्दर छ । पाठकलाई सहजै लाग्छ कि यसमा त्यही छ जुन उसले पनि भोगेको छ । तर सबै कविताहरू यसरी नै आरम्भ र अन्त्य नभएकोले ती कविताहरू हुन सक्ने जति सुन्दर हुन सकेका छैनन् ।

 

() कला पक्ष शैली

हरेक कवितामा केही न केही शैली हुन्छ । यो संग्रहका सबै कविता छन्दमुक्त र अनुप्रासमुक्त छन् । प्रायजसो कवितामा सामाजिक र राजनीतिक असन्तोष, नैराश्य व्यक्त भएकोले पदावली र वाक्यहरू नकारात्मक भाव जनाउनेछन् । नकारात्मक हुनु नराम्रो होइन । तर नकारात्मकताको सिमाना तोक्नु कठिन कार्य हो र यो संग्रहका अधिकांश कविताहरू यहीं असफल भएका छन् । नकारात्मकताको सिमाना पहिल्याउन नसक्दा कविताले लाश र मुर्दाको प्रशस्त चर्चा गरेको छ । एउटा कविताले त आत्महत्या प्रत्येक व्यक्तिको अधिकार हो पनि भनेको छ । ईश्वरलाई थुकिएको छ । आमालाई मलमूत्र खुवाइएको छ, नाङ्गै घुमाइएको छ र वेश्या भनिएको छ । शोषकको छातीमा बन्चरो हानिएको छ । मान्छेले मान्छेको लाशको झोल पिउँछ भनिएको छ । हुँदाहुँदा एउटा कवितामा त सम्पूर्ण मानव अस्तित्व नष्ट होस् भन्ने कामना पनि गरिएको छ ।

कवितामा प्रतीक प्रयोग गर्नु सामान्य हो । तर कुन विषय र आशयको लागि कुन बस्तुलाई प्रतीकको रूपमा चयन गर्ने भन्ने चाहिं निकै चुनौतीपूर्ण कार्य हो । परम्परागत प्रतीकहरू जस्तो नदी, फूल, सूर्य, चरा, आकाश, चन्द्रमाहरू कविताहरूमा यति धेरै उपयोग हुन्छन् कि अब ती प्रतीकहरूको प्रयोगले नवीनता सिर्जना गर्दैनन् । नयाँ प्रतीकको प्रयोग गर्दा सबै पाठकको लागि बोधगम्य नहुन सक्छ । धार्मिक श्रुतिहरूबाट आएका मिथकीय प्रतीकहरू जनस्तरमा पचिसकेक्का हुन्छन् भने नयाँ प्रतीकहरूलाई पाठकले नरुचाउन पनि सक्छन् । अझै वर्तमान परिवेशमा पाठकहरू संसारभरिका साहित्यसित परिचित हुनाले कतिपय बस्तुले प्रतीक हुनसक्ने क्षमता गुमाइसकेका हुन्छन् । यस्तोमा प्रतीकको प्रयोग कम र बिम्ब र उपमाहरूको प्रयोग अधिक गर्दा खराब प्रतीकको कारणले हुने जोखिमबाट कवितालाई जोगाउन सकिन्छ । “सुँगुरको लोकतन्त्र” कवितामा प्रतीक बनाइएको सुँगुरले गर्दा कविताले काव्यात्मकता गुमाएको छ ।

कविताको शीर्षक राख्दा कविता भित्रकै कुनै पदावलीलाई काँटछाँट गरेर राख्ने गरिन्छ । तर यस संग्रहका केही कविताहरूको शीर्षकमा कवितामा कतै उल्लेख नभएका शब्दहरू परेका छन् । यसले केही नयाँपन दिएको छ तर कविताको लेख्य नै कमजोर भएपछि यी शीर्षकहरूले चामत्कारिक भाव सञ्चारण गर्दैनन् । किंगकोब्रा, जिन्दगी – एक अफिम, अश्वत्थामाको निधारबाट बागमती बग्छ यस्ता कविताहरू हुन् ।

कविताको सबैभन्दा लोकप्रिय संरचनामा कविले जहिले पनि आफ्नो बारेमा वा आफ्नो वरिपरिकै परिवेशको बारेमा बोलिरहेको हुन्छ । ऊ प्रियजन, प्रेमी/प्रेमिका, ईश्वर, जनावर, चरा, नेता, उद्योगी, अत्याचारी, ठग, अपराधी, हाकिम, प्रकृति वा अरू सित बोलिरहेको हुन्छ वा उनीहरूलाई सुनाइरहेको हुन्छ । यो संग्रहमा जब जब कवि प्रेमिकालाई आफ्नो मनको कुरा भन्न थाल्छ ऊ संयमित हुन्छ र खुशी हुन्छ । कोठाबाहिर, भाग्दाभाग्दै आफैसित, के छ ?, कोही अर्को मान्छे, किंगकोब्रा, आगमन जस्ता यो संग्रहका कविताहरूमा प्रियजनसित कुरा गरिरहेको कविको अभिव्यक्ति तुलनात्मक रूपमा शान्त, अनुशासित, संयमित छ भने सत्ताधारी, राजनेता, अत्याचारीसित (“आमा तिमी मूर्ख हौ ” कविता बाहेक) कुरा गर्दा वा एकालापमा कविले उग्र, अराजक, अनुशासनहीन, उद्दण्ड, आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् र प्रायजसो तिनै कविताहरू नै काव्यात्मकताको कसीमा कमजोर छन् । नव-आलोचनात्मक पद्धतिमा (New Criticism) कविले कोसित कुरा गर्ने कोसित कुरा नगर्ने भन्दैन । कविता पढ्दा कविले बोलिरहेको पदावलीहरू मात्र पढिन्न, बोलिरहेको कवि र सुनिरहेको निष्क्रिय श्रोता (भ्रष्टाचारी, अत्याचारी, नेता, प्रेमिका, ईश्वर ) पनि त्यहीं कविताभित्र हुन्छन् । भ्रष्टाचारी, राजनेता, अत्याचारीहरूसित कुरा गर्दा कविताहरूले सौन्दर्य गुमाउने रहेछन् भने तिनीहरूसित कुरा नगरेर ती विषयहरूको बारेमा प्रियजनसित कुरा गरेको भए यी कविताहरू तुलनात्मक रूपमा सुन्दर नै हुन्थे होलान् ।

यस संग्रहका धेरै जसो कविताभित्र आरम्भदेखि नै एउटा कथा छ । यो कविता संग्रहको प्रमुख विशेषता हो ।  प्रत्येक कवितामा कि कविसित घटनाहरू घटेका छन् कि कुनै दोश्रो वा तेश्रो व्यक्तिसित घटनाहरू घटेका छन् ।  दोश्रो वा तेश्रो व्यक्तिहरूको कथा भन्दा कविता आक्रामक बन्छ, आक्रोश व्यक्त गर्छ, सत्ताधारीहरूसित लड्न तयार हुन्छ र नियतिलाई अस्वीकार गर्छ । तर जब कवि आफ्नो बारेमा कथा भन्छ कविता तुलनात्मक रूपमा संयमित बनेको छ ।

दार्शनिक अस्पष्टता यो संग्रहको अर्को कमजोरी हो । अस्तित्ववादी दर्शन अनुसार दुःख र छटपटी मानव जीवनका अपरिहार्य सत्य हुन् र यसबाट मुक्ति सम्भव हुँदैन । तर मार्क्सवादी दर्शन अनुसार दुःख र छटपटी सामाजिक व्यवहारका उपज हुन् र त्यसबाट मुक्ति पाउन सकिन्छ । संग्रहका राजनीतिक कविताहरूमा अन्याय, असमानता, शोषण, उत्पिडन, कुशासन विरुद्ध बोलिएको छ । राजनीतिक कविताहरूमा अन्य कमजोर पात्रहरूको पक्षमा बोल्दा यस्तो प्रतीत हुन्छ कि मानिस दुःखबाट मुक्त हुन सक्छ र आफ्नो भाग्य बदलिन सक्छ । तर जब कवि आफ्नो निजी जीवनको कुरा गर्न थाल्छन् यस्तो लाग्छ कि दुःख र नियति भन्ने चीजबाट मुक्ति सम्भव छैन ।

“भाग्दा भाग्दै आफैसित”, “के छ ?”, “जरूरत”, “तिमी गएपछि” मा कवि दुःख र नियतिप्रति लाचार छन् । शहरिया जीवनको त्रासदी व्यक्त गरिएको “भाग्दाभाग्दै आफैसित” कवितामा सत्ताधारीहरूसित लड्न तयार रहने कविले आत्मसमर्पण गर्दै यसो भन्छन् :

छाम्छु अनुभूत गर्न

खोज्छु भेट्दिन आफूलाई

भीडभाड, ठेलमठेल, उकुसमुकुस,

मान्छेको भीडमा भेटिन्न मान्छे

 

हृदय बहकाउने गीत

मन बहलाउने संगीत

कसैको पर्खाइ

कतै पुग्ने चाहना

प्रेम कसैसित

अरूहरू माथिको अन्याय र दुःख देखी नसहने कवि आफ्नो दुःख र नियतिलाई भने बदल्न सकिरहेका छैनन् । “जरूरत” भन्ने कवितामा त नियतिले कविलाई मुर्कुट्टो बनाउँदा समेत उनले नियति विरुद्ध विद्रोह गरेका छैनन् । उनले विरोध मुर्कुट्टो भइसकेपछि मात्र गरेका छन् । आफ्नै नियतिलाई बदलिन नसकेको कविले अन्य व्यक्तिहरूको नियति बदल्नलाई अडान नलिएको भए यस संग्रहका धेरै कविताहरू तुलनात्मक रूपमा राम्रा बन्थे वा सर्वप्रथम आफ्नै नियतिको मालिक बनेको भए संग्रहका अन्य राजनीतिक कविताहरूको सौन्दर्य अर्कै हुन्थ्यो । नव-आलोचनात्मक सिद्धान्तले (New Criticism) कुन दार्शनिक विचारबाट प्रभावित भएर कविता लेख्ने भन्दैन । तर फरक र अझै विपरीत ध्रुवका दर्शनहरूलाई टेकेर कविता लेख्दा विरोधाभासपूर्ण भावहरू अभिव्यक्त भएर कविताको सुन्दरता नष्ट हुनसक्छ भन्ने तर्फ संग्रह सचेत देखिन्न ।

यस कविता संग्रहको सबैभन्दा सबल पक्ष भनेको यसमा प्रयुक्त अतियथार्थवादी पदावलीहरू हुन् । ईश्वर वा आत्मीयजनले छोडेर गइसकेपछि विसंगतिपूर्ण मनोदशा र नैराश्य स्वाभाविक छन् र अतियथार्थवादी अभिव्यक्ति जन्मन सक्छन् । ईश्वर हुँदा गरिने तर्कपूर्ण अभिव्यक्ति ईश्वर नहुँदा अतियथार्थवादी हुनपुग्छन् । प्रस्तुत कवितामा यसको छनक पाइन्छ । अतियथार्तावादी पदावलीले कवितामा ध्वन्यात्मकता र दृश्यात्मकता अभिवृद्धि गर्छ र कविताको प्रभाव धेरै दिनसम्म रहन्छ । यस कविता संग्रहमा प्रयुक्त केही अतियथार्थवादी पंक्तिहरू यस्ता छन् :

 

छैनन् खाटका खुट्टाहरू

मैनभित्रको सलेदो हरायो

मेरो आगो हरायो,     (कोठा)

 

अभाव चपाएको सुख्खाघाँटी झैं

वर्षौं मट्टितेल नपिएको एक लालटिन पनि    (के ?)

 

कुनै जँड्याहाले छादेपछि

बगेको हो यो बूढीगङ्गा   (चुरा)

 

भारीहरू भुइँमा बिसाए पछि

भएको हो जिउ सतश: गह्रुङ्गो  (चुरा)

 

तिम्रो आगमनसँगै भेटिएको छु  (आगमन)

 

उम्लिंदैउम्लिंदै पृथ्वी आकाशतर्फ  (रूपान्तरण )

 

पृथ्वीभन्दा भारी सानो कोठामा  (एकदिन

 

भरिएको अन्धकारको कटौरा  (शहर)

 

लालपुर्जा हुन् मेरो पैताला  (दाबी)

 

रत्यौली खेल्छ पहिरो  (सम्बोधन)

 

माथिका पंक्तिहरू यो कविताका केही राम्रा अतियथार्थवादी पंक्तिहरू हुन् । तर कविताको कमजोर विषय छनोटको कारणले र कवितामा एउटै भावलाई अन्त्यसम्म कायम गर्न नसक्दा भने यी अतियथार्थवादी पदावलीहरूले पनि धेरै चामत्कारिक प्रभाव छोड्न सकेका छैनन् । कवितामा जुन स्तरको अति नैराश्य व्यक्त भएको छ त्यही परिणाममा अतियथार्थवादी पदावलीहरू छैनन् । जीवनमा विसंगती छ भने अभिव्यञ्जित भाव र अभिव्यञ्जनाको तरीका अतियथार्थवादी नै हुन्छ । अर्को कुनै विकल्प छैन । तर संग्रहका कविताहरू अतियथार्थवादी भन्दा अझ एक कदम अघि बढेर अतिवादी हुनखोजेका छन् ।

निराशा, दुःख, नियतिमाथि संसारभर कविता रचिएका छन् । लेखिने प्रत्येक कविता नयाँ हो भने नयाँपन त हुनै पर्‍यो । त्यस अर्थमा संग्रहको कविताहरूमा नयाँपन भने छैन । कविता छ, भाव पनि छ, तर अभिव्यञ्जना नयाँ छैन, शैली नयाँ छैन भने त्यसलाई लेखिएको नयाँ कविता भन्ने कि नभन्ने प्रश्न उठ्छ नै !

कविता लामो लेखिंदा अनुचित र अनावश्यक भाव र प्रसङ्गले प्रवेश पाउने जोखिम ह्वात्तै बढ्छ । कविको अवचेतनाका भावहरू र शब्दहरू कवितामा जथाभाबी घुस्न सक्छन् । यो संग्रहका थुप्रै कविताहरू छोटा भएका भए हालको भन्दा राम्रा हुन्थे ।

संसारका प्रत्येक कविता कतै न कतै दुःखसित जोडिएकै हुन्छन् । तसर्थ दुःखलाई नयाँ तरीकाले भन्नुले मात्र पनि प्राचीन विषयमा ताजापना दिन्छ । संग्रहको “कोठा बाहिर” कविताको अमेरिकी कवि बुकोवस्कीको प्रसङ्गले दुःखलाई ताजापन दिएको छ । शायद बुकोवस्कीलाई उल्लेख गरिएको यो नै नेपाली पहिलो कविता हो । बुकोवस्कीलाई अमेरिकी भूमिगत जीवन र कविताको प्रतीक मानिन्छ । कविताको अन्तमा प्रयुक्त निम्न पंक्तिहरूले आश्चर्यजनक सुखानुभूति दिन्छन् :

तिम्रो वियोगमा

निस्किएँ कोठाबाट

थाहा पाएँ मैले

संसार दुःखीहरूको पनि सुन्दर हुने रहेछ । 

नव-आलोचनात्मक पठन गर्दा प्रस्तुत संग्रहको कविताहरू मध्ये “कोठाबाहिर” कविता निकै स्तरीय देखिन्छ ।

 

() भाषा व्याकरण

गद्य शैलीमा लेखिएका यस संग्रहका कविताहरूमा थुप्रै भाषागत र व्याकरणगत त्रुटिहरू छन् । जुन शब्दको लागि नेपाली भाषामा नै शब्द छन् त्यसका लागि पनि अंग्रेजी शब्दहरू प्रयोग गरिएको छ : फेल (अनुतीर्ण ), किंगकोब्रा (गोमन), स्कूल (विद्यालय), एयरपोर्ट (विमानस्थल), सर्ट (कमिज), युनिभर्सिटी (विश्वविद्यालय ), प्रोफेसर (प्राध्यापक) आदि । नेपाली भाषामा शब्दहरू हुँदाहुँदै अंग्रेजी शब्दहरू प्रयोग गर्दा भाषाजन्य सुख सम्प्रेषण गर्न सम्भव हुँदैन जसले गर्दा यो भाषाजन्य सुखबाट यस संग्रहका कविताहरूले थोरै भए पनि वञ्चित गर्छन् ।

अल्पविराम, पूर्णविरामहरूको पूर्ण अभाव यो कविता संग्रहको अर्को खड्किने विषय हो । अर्थ उत्पन्न गर्न र सम्प्रेषण गर्न अल्पविराम र पूर्णविराम अनिवार्य हुन्छन् । तर यिनीहरूको अभावमा यो कविता संग्रहका कतिपय कविताहरूले उपयुक्त अर्थ दिन नसक्ने वा भ्रामक अर्थ दिने जोखिम पनि छ । पाठकले अल्पविराम र पूर्णविराम आवश्यकता अनुसार आफै राख्छ भन्ने मान्यतामा यी कविताहरू लेखिएका हुन् भने कविले पाठकलाई हस्तक्षेप गर्ने अनुमति दिएर ठूलो जोखिम पनि लिएका छन् ।

पाठकले हस्तक्षेप गरेर अर्थ निकाल्ने हो भने कविको के काम भयो त ? निराशा, असन्तोष र आक्रोश अभिव्यक्त गर्दा अल्पविराम, पूर्णविरामहरू बाधक हुन्छन् कि भन्ने धारणा पनि रहला । निराशा, निस्सारता र शून्यताका दर्शनको कुरा गर्दा विश्वप्रसिद्ध अस्तित्ववादी, निस्सारतावादी, शून्यवादी लेखकहरूले समेत आफ्ना कृतिबाट अल्पविराम, पूर्णविराम फ्यालेका छैनन् । बरु अल्पविराम, पूर्णविराम नहुँदा नै यो कविता संग्रहको कतिपय कविताहरू अतिवादी र अराजकतावादी भएका हुन् कि ?

“चुरा” शीर्षकको कविता निम्न पदावलीबाट आरम्भ हुन्छ :

हतकडीहरू

हातबाट फुकालिएपछि बाँधिएका हुन् हात

जस्तो सुहागरातमा

फुटेका हुन् काँचका चुराहरू

अल्पविराम र पूर्णविरामको अभावमा यसको अर्थ निकाल्न गाह्रो हुने स्थिति छ । माथिका पंक्तिहरूलाई एउटै वाक्य मान्ने हो भने एउटा अर्थ निस्कन्छ । दोश्रो हरफको अन्त्यमा अल्पविराम छ भन्ने मान्ने हो भने अर्को अर्थ निस्कन्छ । नव आलोचनात्मक पठनमा अर्थमा विविधता हुनु हुँदैन भन्ने मान्यता रहेकोले यस्तो स्थितिमा यो कवितालाई स्तरीय मान्न सकिन्न । यहाँ ख्याल राख्नु पर्ने के छ भने समालोचनाका अन्य पद्धति जस्तो कि विनिर्माणवादी आलोचना पद्धति अनुसार यसको पठन गर्ने हो भने अर्थमा विविधता हुनुलाई सामान्य मानिन्छ ।

“सुँगुरको लोकतन्त्र” कवितामा “सुँगुर” शब्द दोहोरिरहन्छ । सुँगुरको साटो सर्वनाम प्रयोग गरिएको छैन । एउटै शब्द बारम्बार प्रयोग गर्दा त्यसलाई अत्यधिक महत्त्व दिएको प्रष्टै छ । सुँगुरको साटो सर्वनाम प्रयोग गरेको भए पढ्नलाई अलिक सहज हुन्थ्यो । यसो नगर्दा पनि यो कविता कमजोर बन्न पुगेको छ ।

* * * * * *

निष्कर्ष

नव-आलोचनात्मक (New Criticism) सिद्धान्त अनुसार यो कविता संग्रहका कविताहरू पढ्दा कमजोर विषय छनोट, कविताको कमजोर संरचनात्मक पक्ष (आरम्भ र अन्त्य), कविताभित्र हुनुपर्ने भावको एकरूपताको अभाव, अपाच्य प्रतीकको चुनाव, अतिवादी कल्पना र त्यसबाट जन्मिएका बिम्ब र उपमाहरू, पाठककै मृत्युको कामनाजस्ता कारणहरूले गर्दा यो कविता संग्रहका केही छोडेर अधिकांश कविताहरू सामान्य लेखन मात्र बन्न पुगेका छन् । दार्शनिक अस्पष्टताले गर्दा संग्रहका कविताहरूले उठाउन खोजेका मानवीय अस्तित्वका नियति, मृत्यु, निराशा जस्ता गहन विषयहरू समेत ओझेलमा परेका छन् ।