“बिसे नगर्चीको बयान” कविताको विनिर्माणवादी (Deconstruction) पठन
१) परिचय :
विसं. २०६७ मा प्रकाशित कवि श्री श्रवण मुकारुङको कवितासंग्रह हो – “बिसे नगर्चीको बयान” । यस संग्रहको मुख्य कविता हो – “बिसे नगर्चीको बयान” । यो कविता सम्भवतः विसं २०६२ तिर लेखिएको हो । अर्थात् नेपाली राजतन्त्र विरुद्ध विद्रोह उत्कर्षमा रहेको वेलामा लेखिएको हो ।
मैले धेरै वर्षअघि “बिसे नगर्चीको बयान” कविता पढ्दा बिसे नगर्चीले राजतन्त्र विरुद्ध विद्रोह गर्ने तयारी गर्दैछ भन्ने अर्थमा पढेको थिएँ र राम्रै लाग्यो । केही हप्ताअघि “बिसे नगर्चीको बयान” कवितासंग्रह किनेर ल्याएँ र फेरि यही कविता पढें । यस पटक भने बिसे नगर्ची साँच्चिकै बहुलायो (मेडिकली पागल) भन्ने अर्थमा पढें । मालिकको अत्याचार सहन नसकी बिसे बहुलाएकोले (मेडिकली पागल) मेरो मनमा मालिकप्रति घृणा उब्जियो र बिसेप्रति सहानुभूति । फेरि पनि कविता राम्रो लाग्यो ।
एउटै कवितालाई “बिसे नगर्ची मेडिकली पागल भयो” वा “बिसे नगर्ची विद्रोह गर्ने तयारी गर्दैछ” दुवै अर्थमा कसरी पढ्न र बुझ्न सकिन्छ र ? मलाई लाग्यो केही महत्वपूर्ण कुरा मेरो दृष्टिबाट छुटिरहेको छ । त्यसपछि मैले यो कवितालाई विनिर्माणवादी पद्धतिले पढ्नु पर्यो भन्ने सोचेको हुँ ।
पाठकहरूलाई सहज होस् भनेर “बिसे नगर्चीको बयान” कविता यो लेखको अन्त्यमा दिइएको छ ।
१.१) बिसे नगर्चीको संक्षिप्त परिचय
बिसे नगर्चीको न्वारानको नाम विशेश्वर नौबाग थियो । गोरखा दरबारमा नगारा बजाउनेलाई नगार्ची भनिन्थ्यो । पछि त्यही नगर्ची भयो । उनले दरबारमा नगारा बजाउने र सिलाइ-बुनाइ काम गर्थे । बिसेको जन्म विसं. १७५० भन्दा पहिले गोरखा बजार नजिकैको जर्किन डाँडामा भएको अनुमान गरिएको छ ।
बिसे नगर्ची लगायत अन्य थुप्रै दलितहरू गोरखाका राजा पृथ्वी नारायण शाहका गोरखाली फौजका हिस्सा थिए । लडाइँ शुरू गर्नुअघि मंगल धुन बजाउन, लडाइँका क्रममा योद्धाहरूमा वीररस थप्न, युद्धपछि विजयी या शोकधुन बजाउन वाद्यवादकका रूपमा बिसे लगायत अन्य दलितहरू फौजसँगै रहन्थे । यिनीहरूले हातहतियार सफा गर्ने, मरम्मत गर्ने गर्थे भने आवश्यकता अनुसार लडाइँमा हतियार बोकेरै सहभागी पनि हुन्थे ।
महत्त्वाकाङ्क्षी राजा पृथ्वी नारायण शाह नुवाकोटको पहिलो लडाइँमा पराजित भएपछि निराश भएका थिए । लडाइँले गर्दा राज्यको ढुकुटी रित्तिएको थियो भने नयाँ लडाइँ गर्नलाई आर्थिक श्रोतको अभाव थियो । उनलाई आर्थिक सल्लाहकारको रूपमा बिसे नगर्चीले प्रत्येक घरधुरीबाट एक रुपैयाँ उठाएर हात हतियारको बन्दोबस्त गर्न सल्लाह दिएका थिए । (श्रोत : पत्रकार श्री यादव देवकोटा, बीबीसी न्यूज नेपाली, सन् २०१९; पत्रकार श्री राजकुमार दिक्पालको मिति २८ अषाढ २०८१ मा खबरहबमा प्रकाशित लेख ।)
यस कवितामा मालिकले (राजा पृथ्वी नारायण शाह वा उनका निकटकाले) बिसे नगर्चीको घर जलाएको, उसको स्वास्नीलाई मारेको र उसकी छोरीलाई बलात्कार गरेको लेखिएको छ । प्राप्त सार्वजनिक लिखित दस्तावेजहरूको अध्ययन गर्दा यी तीनै घटनाहरू बिसे नगर्चीको जिन्दगीमा घटेका सत्य घटनाहरू होइनन् ।
१.२) विनिर्माणवादी पठन (Deconstructive Reading) नै किन ?
“बिसे नगर्चीको बयान”लाई मार्क्सवादी समालोचना सिद्धान्तले पढ्दा नेपालको शासन-सत्तामा र सामाजिक तहमा सबैभन्दा तल पारिएको दलितका पात्र बिसे नगर्चीले शाहवंशी राजा पृथ्वी नारायण शाह विरुद्ध विद्रोह गर्ने आँट गरेको छ । बिसे नगर्ची सम्पूर्ण शोषित, उत्पीडित नेपालीहरूको प्रतीक हो र शासन-सत्ताको सबैभन्दा तलको ऐतिहासिक पात्रले विद्रोहको बिगुल फुक्ने सङ्केत गरेकोले यो कविता विशेष भएको हो ।
साहित्यका हरेक ग्रन्थलाई समय बित्दै जाँदा विभिन्न कोणहरूबाट विश्लेषण व्याख्या गर्नु र पुरानै व्याख्या माथि प्रश्न उठाएर पठन गर्नु सामान्य परम्परा हो । यो पठन त्यही परम्पराको निरन्तरता हो । प्रस्तुत कवितालाई नयाँ पद्धति अनुसार पठन गर्दा साबिकको व्याख्याको विश्वसनीयता पनि बढ्छ । यो कवितालाई मार्क्सवादी पद्धति अनुसार दोहोर्याएर पठन गर्दा मार्क्सवादी पद्धतिको आन्तरिक दोष देखिन्न र स्वतन्त्र व्याख्या हुने सम्भावना रहन्न । एउटा घटना समाजका सबै तह, सबै समुदायहरूका लागि उत्तिकै प्रगतिशील हुन्छ वा हुँदैन ? यो कविताको विनिर्माणवादी पठन गरेर यही प्रश्नको जवाफ खोतल्ने प्रयास गरिएको छ । लेखकहरूले स्वयमसिद्ध ठानेका कतिपय अवधारणा, विचारहरू स्वयमसिद्ध प्रकृतिका नहुन सक्छन् । विनिर्माणवादले यिनै स्वयमसिद्ध ठानिएका विषयहरू, अवधारणाहरूका स्वयमसिद्धता परीक्षण गर्दछ ।
पश्चिमी देशमा महिलाहरू प्रतिको भेदभावलाई खुट्याउन परम्परागत मार्क्सवादी समालोचनाको सिद्धान्त असफल रहेपछि नारीवादीहरूले विनिर्माण (Deconstruction) लाई हतियार बनाएका थिए र आजसम्म पनि विनिर्माणवाद (Deconstruction Theory) ले महिलाहरूलाई सघाइरहेको छ । विनिर्माणवादले सीमान्तकृत समुदाय, महिला, अल्पसंख्यकमाथि हुने भेदभावलाई उधिन्न निकै सहयोग पुर्याएको छ । यो कविताको मूल पात्र बिसे नगर्ची दलित भएकोले एउटा स्वाभाविक प्रश्न के उठ्छ भने के मार्क्सवादी समालोचना एक्लैले दलितप्रति राज्य र गैरदलितले गर्ने भेदभावलाई खुट्याउन सक्ला र ?
विनिर्माणवाद आज कानून, सिनेमा, वास्तुकला जस्ता असाहित्यिक क्षेत्रमा व्यापक प्रयोग हुने गरेको छ । कानूनमा यसको प्रयोगले त एक किसिमको क्रान्ति नै ल्याएको छ ।
नेपाली साहित्यमा Deconstruction Theory लाई केही समालोचकहरूले विसङ्घटनवाद भन्नुभएको छ भने केहीले विनिर्माणवाद भन्नुभएको छ । यस लेखमा विनिर्माणवादलाई रोजिएको छ ।
१.३) के हो विनिर्माणवाद ?
विनिर्माणवाद (Deconstruction Theory) बीसौं शताब्दीको उत्तरार्धतिर फ्रान्सेली दार्शनिक तथा भाषाविद् ज्याक्स डेरिडा (Jacques Derrida) ले प्रतिवादन गरेको दार्शनिक सिद्धान्त हो । उनका अनुसार संसारका सबै भाषामा लेखिएका सबै पाठहरूको केन्द्रीय, अकाट्य, पूर्वनिर्धारित अर्थ हुँदैन । त्यसवेला प्रचलनमा रहेका नव आलोचनात्मक सिद्धान्त (New Criticism Theory) तथा संरचनावाद (Structuralism) अनुसार पाठको केन्द्रीय, अकाट्य, पूर्व निर्धारित अर्थ हुन्थ्यो भने डेरिडाले त्यसैलाई चुनौती दिए ।
उनका अनुसार भाषाको संरचना नै अस्पष्ट रहेकोले भाषा उपयोग गरेर प्रत्येक लेखिने पाठ र बोलिने वचनको समान पूर्वनिर्धारित, अकाट्य अर्थ हुँदैन । ती सबै बहुअर्थी हुन्छन् र पाठकले आफ्नो स्थिति, स्वार्थ, क्षमताअनुसार फरक अर्थ लगाउन सक्छ र पाउँछ । नव-आलोचनात्मक सिद्धान्त (New Criticism Theory) र संरचनावाद (Structuralism) ले पाठकको स्वतन्त्र अभिमतलाई महत्व दिएका थिएनन् भने विनिर्माणवादले लेखकलाई महत्व दिंदैन ।
नेपाली भाषामा आजसम्म लेखिएका सबै कथा, कविता, उपन्यास, निबन्धहरू अर्थ न बर्थका वाहियात पाठहरू (Texts) हुन् भनियो भने धेरै जनालाई विश्वास नलाग्न सक्छ, धेरै जना क्रुद्ध पनि हुनुहोला । तल यसैलाई प्रमाणित गरेर देखाइएको छ । यसका लागि साहित्यमा प्रयोग हुने लिपि, वर्ण, शब्द, भाषा जस्ता “शब्दहरूको” अर्थहरू हेरौं एकपल्ट । प्रयोगात्मक नेपाली शब्दकोश (प्रधान सम्पादक हेमाङ्गराज अधिकारी, द्वितीय संस्करण, विसं २०७०) मा “लिपि”, “वर्ण”, “शब्द”, “भाषा” लाई निम्नानुसार अर्थ्याइएको छ ।
लिपि = वर्ण वा अक्षर लेखिने लेख्य चिह्न; लिखित वर्ण वा अक्षर; लेख्य वर्णमाला
वर्ण = उच्चार्य ध्वनिलाई लेखिने चिह्न; लिपि चिह्न; लिपि
शब्द = एक वा एकभन्दा बढी अक्षर मिलेर बनेको भाषिक एकाइ; पद
भाषा = उच्चरित ध्वनि वा लेख्य चिह्नहरूको प्रयोग गरी समुदायमा विचार आदानप्रदान गरिने प्रचलित माध्यम
नेपाली वृहत् शब्दकोश (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, बि स २०४०) मा शब्दलाई यसरी परिभाषित गरिएको छ
शब्द = अनुश्रुत विषयवस्तुलाई व्यक्त गरिने वर्णात्मक वा ध्वनात्मक ध्वनि; आवाज
माथि “लिपि” लाई लिपि प्रयोग गरेर नै परिभाषित गरिएको छ । माथि भनिएको लिपिको परिभाषामा देवनागरी लिपि प्रयोग गरिएको छ । तसर्थ लिपि भनेको के हो प्रष्ट छैन ।
त्यसैगरी “वर्ण”को परिभाषा दिनलाई देवनागरी लिपिका वर्णहरू प्रयोग भएका छन् । जब हामीलाई वर्ण भनेकै थाहा छैन भने देवनागरी लिपिको वर्ण पनि थाहा हुने कुरै भएन ।
त्यस्तै “शब्द”को परिभाषा दिंदा शब्दहरू नै प्रयोग गरिएका छन् । “भाषा”को परिभाषामा नेपाली भाषाको वाक्य निर्माणको नियम पालना गरेर पदावली दिइएको छ । “भाषा” नै थाहा छैन भने भाषाको नियम कसरी प्रयोग गर्न सकिन्छ ?
माथि दिइएका कुनै पनि परिभाषाहरू बाट कुनै अर्थ निकाल्न सकिन्न । जब “लिपि”, “वर्ण”, “शब्द”, “भाषा” का अर्थहरू नै प्रष्ट छैनन् भने तिनै शब्दहरू, अवधारणाहरूको उपयोग गरेर बोलिने अभिव्यक्ति, लेखिने साहित्यहरूबाट के नै अर्थ निस्केला र ! संसारको हरेक भाषाहरूको हालत यही हो । तसर्थ विनिर्माणवादले भन्छ कि शब्द, वाक्य, पदावली, कथा, साहित्यको एउटै अर्थ हुँदैन । लेखिने र बोलिने हरेक वाक्यको, पदावलीहरूको एकभन्दा बढी अर्थहरू हुन सक्छन् । विनिर्माण गर्नु भनेको त्यही अर्को अर्थ खोज्नु हो ।
विनिर्माणवादको मूल सिद्धान्त के हो भने शब्दको र पाठको केन्द्रीय, अकाट्य अर्थ हुँदैन । हामीलाई लाग्न सक्छ कि कुनै शब्दको मूल, केन्द्रीय अर्थ छ तर त्यस्तो कुनै केन्द्रीय अर्थ हुँदैन । शब्द र पाठको बहुल अर्थ हुनु विनिर्माणवादको पहिलो धारणा हो । तसर्थ संसारका हरेक कथा, कविताहरूका धेरै व्याख्याहरू हुन सक्छन् । यो अर्थमा विनिर्माणवादले पठनलाई “लोकतान्त्रिक करण” गरेको छ । पाठकले आफू अनुकूल व्याख्या गर्न सक्छ र पाउँछ भन्ने यसको चुरो कुरो हो ।
यहाँ स्वाभाविक रूपमा उठ्ने प्रश्न के हो भने जब “शब्द”को अर्थ नै थाहा छैन भने यत्रो बिन साहित्य लेखिए कसरी ? विनिर्माणवादले भन्छ कि मानिसलाई जहिले पनि लाग्छ कि केही न केही छ ।
यो “केही न केही” हुनु को वैज्ञानिक आधार हुँदैन । मानिसलाई लाग्छ कि “कुनै चीज छ”, त्यसैले “त्यो छ” । जस्तो कि “शब्द” छ । मानिसलाई लाग्छ कि “शब्द” उसले बुझेको छ । उसले बुझेको छ त्यसैले “शब्द” छ । जस्तो कि मान्छेलाई लाग्छ कि “समय” छ त्यसैले “समय” छ जबकि संसारमा समय भन्ने चीज नै छैन । संसारमा न “देश” भन्ने चीज छ, न “आकाश” भन्ने चीज छ । हामीलाई लाग्छ ती छन् त्यसैले तिनीहरू छन् । यो छन् भन्ने लाग्नुको कुनै आधार, वैज्ञानिक कारण छैन । हामीलाई लाग्छ त्यसैले छ ।
संसारको कुनै पनि साहित्यकारले कविता, कथा लेख्दा प्रयोग गरिएका शब्दहरूको सुची बनाएर तिनका केन्द्रीय अर्थहरूको परिभाषा राख्दैन । कानूनी कागजातहरूमा भने प्रयुक्त शब्दहरूलाई अनिवार्य रूपमा परिभाषित गर्नुपर्ने हुन्छ । जस्तै, कुनै कानूनी सम्झौता पत्रमा “केटी” भन्ने शब्द छ भने यसले बुझाउने स्त्रीको नाम, उमेर, ठेगाना, तीन पुस्ते विवरण इत्यादि अनिवार्य रूपमा खुलाउनु पर्ने हुन्छ । जसले गर्दा कानूनी सम्झौताहरू बुझ्न र व्याख्या गर्न सरल हुन्छ र तिनीहरूबाट एउटै अर्थ निस्किन्छ ।
कवितामा “केटी” शब्दको प्रयोग भएको रहेछ भने माथिका विवरणहरूको अभावमा अर्थ निकाल्न अत्यन्त कठिन हुन्छ किनकि नेपाली बृहत् शब्दकोश (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, विसं २०४०) अनुसार “केटी” ले ५ वर्षीया स्त्रीदेखि १८ वर्षीया स्त्रीसम्म बुझाउँछ । केटी भनेको १२ वर्षीया स्त्री भन्ने सोझो केन्द्रीय अर्थ आउँदैन । यस्तो अन्योलले गर्दा पाठको (Texts) व्याख्यामा, बुझाइमा एकरूपता हुँदैन । साहित्यिक ग्रन्थहरूमा शब्दहरूको केन्द्रीय अर्थहरूको सुची नदिने परम्परा रहेकोले यो कविता र यो कविता-संग्रहमा कतै पनि तिनीहरूको केन्द्रीय अर्थहरूको सुची दिइएको छैन । कुन शब्दलाई कुन केन्द्रीय अर्थमा बुझ्ने भनेर यो कवितामा नलेखिएकोले र शब्दकोशमा पनि केन्द्रीय अर्थ नरहेकोले यो कवितालाई शब्दकोशमा दिइएको सबै अर्थहरूमा बुझ्ने स्वतन्त्रता रहने नै भयो ।
१.४) विनिर्माण कसरी गर्ने त ?
विनिर्माणवादले भाषा र अर्थ सम्बन्धी धेरै जसो विचारहरू संरचनावादबाट सापट लिएको छ । संरचनावादीहरू के मान्यता राख्छन् भने अर्थ उत्पन्न हुनलाई विपरीतार्थी अवधारणा हुनु अनिवार्य छ र यस्तो विपरीतार्थी अवधारणामा एउटा विचारले सधैं प्राथमिकता पाउँछ । “उज्यालो” बुझ्नलाई “अँध्यारो” हुनैपर्छ, “दायाँ” बुझ्नलाई “बायाँ” हुनैपर्छ, “स्वर्ग” बुझ्नलाई “नर्क” हुनैपर्छ ।
यस्ता विपरीतार्थी अवधारणाहरू मध्ये मानिसले जहिले पनि एउटालाई रुचाउँछ, अर्कोलाई रुचाउँदैन । एउटा प्राथमिकतामा पर्छ, अर्को पर्दैन । एउटालाई माया गर्छ, अर्कोलाई गर्दैन । मानिसलाई लाग्छ कि प्राथमिताकामा पर्ने नै सत्य हो, त्यही नै सत्य हुन्छ, त्यही नै सुन्दर हुन्छ । मानिसलाई लाग्छ कि उसले तोकेको प्राथमिकता नै सत्य हो । उसले तोकेको प्राथमिकता एउटा अनुमान मात्र हो भन्ने यथार्थ ऊ बिर्सन्छ । मानिसलाई लाग्छ कि उसले जे प्राथमिकतामा राखेको छ, उसले जे अनुमान गरेको छ त्यो स्वयमसिद्ध छ । त्यसमा शंका गरिरहनु पर्दैन । विनिर्माणवादीले यहाँ नै हस्तक्षेप गर्छ र भन्छ “यो त अनुमान मात्र हो जस्तो छ । यसको स्वयमसिद्धतालाई परीक्षण नगरी हुन्न ।”
विनिर्माणवादीले अनुमान गरिएको प्राथमिकतालाई उल्टाएर अनुसन्धान गर्न थाल्छ र प्राथमिकतालाई उल्टाएर अनुसन्धान गर्नु नै विनिर्माण गर्नु हो । विनिर्माण गरेपछि बल्ल थाहा पाइन्छ कि जुन धारणालाई स्वयमसिद्ध ठानिएको छ त्यसको पछाडि सामाजिक, सांस्कृतिक, राजनीतिक कारणहरू हुन्छन् ।
सूर्य पूर्वबाट पश्चिमतिर जान्छ कि पश्चिमबाट पूर्वतिर जान्छ ? पूर्व /पश्चिम हुन्छ कि पश्चिम/पूर्व हुन्छ ? हामी अधिकांशले पूर्व/पश्चिम हुन्छ भन्छौं । तर अलिकति ध्यान दिएर सोचौं भने थाहा पाउँछौं कि सूर्य पश्चिमबाट पूर्वतिर पनि जान्छ । दुवै ठीक हो । पूर्व भन्ने शब्दसँग हाम्रो एक किसिमको आशक्ति, मोह, झुकाव भएकोले हामीलाई लाग्छ कि पूर्व/पश्चिम ठीक हो । पश्चिम/पूर्व पनि ठीक हो भनेर तर्क गर्नु नै विनिर्माण गर्नु हो ।
हामीले धेरै महिलाहरूले तीजको सन्दर्भमा यस्तो तर्क गरेको सुनेका छौं ” लोग्नेले मेरो लागि व्रत बस्छ भने म पनि उसको लागि व्रत बसुँला ।” यो नै विनिर्माणवादीले गर्ने तर्क हो । यो महिलावादीहरूले “महिलाले गर्नु पर्छ / पुरुषले गर्नु पर्दैन ” भन्ने स्वयमसिद्ध ठानिएको सत्यलाई उल्ट्याएर महिला-पुरुष सम्बन्धलाई विनिर्माण गर्न खोजेको हो । कुनै पनि स्वयमसिद्ध ठानिएको सामाजिक, सांस्कृतिक, राजनीतिक अनुमान वा अवधारणालाई विनिर्माण गर्न खोज्दा “तँ तँ र म म” वा “तैंले गर्न हुने मैले गर्न नहुने” किसिमकै बहस हुनपुग्छ । तसर्थ विनिर्माण प्रक्रियासित अपरिचित र अनभ्यस्त व्यक्तिलाई विनिर्माणवादीको तर्कहरू र तर्क गर्ने शैली अत्यन्त तनावयुक्त, “इरिटेटिङ” लाग्दछ । पाठकहरूलाई यो लेख पनि त्यस्तै तनावयुक्त र “इरिटेटिङ” लाग्न सक्नेछ ।
१.४) विनिर्माणवादको व्यावहारिक उपयोग
भाषाको विकासक्रममा मानिसले पहिले बोल्यो कि लेख्यो ? मानिसले पहिले बोल्न सिक्यो कि लेख्न ? बोल्नु/लेख्नु ठीक हो कि लेख्नु/बोल्नु ठीक हो ? बोल्नु र लेख्नु मध्ये प्राथमिक, महत्वपूर्ण कुन हो ? मानव सभ्यताको आरम्भदेखि बीसौं शताब्दीको अन्त्यसम्म बोलेर नै साथीहरूसित कुरा र संवाद हुन्थ्यो । बोलेर भनिने/लेखेर भनिने को विपरीतार्थी अवधारणामा सधैं “बोलेर भनिने” कै जीत हुन्थ्यो । हामी बोलेरे साथीहरू बनाउँथ्यौं, सबै कुरा बोलेर मात्र हुन्थ्यो । फेसबुक (Facebook) आउनु भन्दा अघि शायदै कसैले सोचेको थियो कि लेखेरै मात्रै पनि साथी बनाउन सकिन्छ र गफ गर्न सकिन्छ । फेसबुक विनिर्माणवादको व्यावहारिक उपयोग हो । बोल्ने चलन/लेख्ने चलन को विपरितार्थी अवधारणामा “लेख्ने चलन” को जीत हुनेगरी यो अवधारणालाई उल्ट्याइयो भने पनि साथी बन्ने रहेछ भन्ने कुरा फेसबुकले (Facebook) प्रमाणित गर्यो । विनिर्माण गर्नु शक्तिशाली हतियार हो भन्ने तथ्य फेसबुकले (Facebook) प्रमाणित गरेको छ ।
प्रस्तुत कवितामा यस्तो स्वयमसिद्ध धारणा छ : अरू बहुलाउनु हुँदैन / बिसे नगर्ची बहुलाउनु पर्छ ? यही अवधारणालाई उल्ट्याएर अरू किन बहुलाउनु नपर्ने /बिसे नगर्ची नै किन बहुलाउनु पर्ने ? प्रश्न गरेर विनिर्माण गर्न खोजिएको छ ।
– – – – –
२) उद्घोषण : मार्क्सवादी दृष्टिकोणले पठन गर्दा “बिसे नगर्चीको बयान” एक उच्च स्तरीय कविता हो । तर यस पठनमा “बिसे नगर्चीको बयान” कवितालाई विनिर्माणवादी सिद्धान्त अनुसार पठन गरिएको छ । तसर्थ :
(क) यस लेखमा भनिएका बिसे नगर्ची र पृथ्वी नारायण शाह बाहेकका सबै पात्रहरू काल्पनिक हुन्,
(ख) यो पठन यो कविताको पहिलो र अन्तिम पठन होइन,
(ग) यो लेख “बिसे नगर्चीको बयान” कविताको समालोचना होइन,
(घ) यो कवितालाई समालोचनाका अन्य सिद्धान्तहरू अनुसार पठन गर्दा फरक व्याख्याहरू हुन सक्नेछन्,
(ङ) यो पठन “बिसे नगर्चीको बयान” कविताको मूल्याङ्कन होइन,
(च) यही कवितालाई विनिर्माणवादी पद्धति अनुसार कुनै दोश्रो व्यक्तिले पढ्दा यो पठनभन्दा फरक व्याख्या पनि हुन सक्नेछ । तसर्थ विनिर्माणवादी पद्धति अनुसारकै पनि यो प्रथम र अन्तिम पठन होइन ।
– – – – –
३) विनिर्माणवादी पठन
३.१) बहुलाउनु शब्दको अर्थ
यो कविताको आरम्भदेखि अन्त्यसम्म बिसे नगर्चीले “मालिक , …म बहुलाएँ” भनिरहन्छ । सर्वप्रथम “बहुलाउनु” को शब्दार्थ हेरौं । नेपाली बृहत् शब्दकोशमा (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, विसं २०४०) “बहुलाउनु” शब्दलाई यसरी अर्थ्याइएको छ :
बहुलाउनु = (१) दिमाग ठेगानामा नहुनु, बहुला हुनु, छँटाउनु (२) साह्रै ठूलो आँट गर्नु
शब्दकोशमा यो शब्दको एउटै केन्द्रीय अर्थ नरहेकोले र कवितामा कतै पनि बहुलाउनु शब्दको परिभाषा नदिइएकोले यसलाई दुवै अर्थमा पढ्ने लोकतान्त्रिक स्वतन्त्रता पाठकसित हुने नै भयो ।
कुनै विशेष अर्थमा पढ्नु पर्ने हुँदो हो त करीब २०० पृष्ठको “बिसे नगर्चीको बयान” कविता संग्रहमा कतै लेखिन्थ्यो होला । दोश्रो अर्थमै पढ्नु पर्छ भन्ने कतैबाट खुलेको पनि छैन । तसर्थ यो कविता “बहुलाउनु”को दुवै अर्थमा पढ्दा पनि हुन्छ ।
पहिलो अर्थमा पढ्दा बिसे नगर्ची “मेडिकली” पागल भएको अर्थ आउँछ : मालिकले गर्दा बिसे मेडिकली पागल भयो र पाठकहरू मालिकप्रति आक्रोशित हुन्छन् ।
दोश्रो अर्थमा पढ्दा बिसे नगर्चीले “विद्रोह” वा “ब्ल्याकमेल” गर्न खोजे जस्तो छ । दोश्रो अर्थमा “बहुलाउनु” को केन्द्रीय अर्थ “क्रान्ति गर्नु” वा “विद्रोह” गर्नु होइन । जसलाई हामी क्रान्ति वा विद्रोह भन्छौं त्यस्तो केन्द्रीय अर्थ भएको शब्दहरू शायद “क्रान्ति गर्नु” वा “विद्रोह गर्नु” हुन् ।
कवितामा स्पष्टसित “विद्रोह” वा “क्रान्ति” गर्न लागेको सङ्केत पनि पाइन्न । साह्रै ठूलो आँट गर्नु भनेको क्रान्ति वा विद्रोह नै गर्ने सोचाइ हो भन्ने पनि बुझिन्न । केही त्यस्तो गर्नु हो जुन उसले पहिले कहिल्यै गरेको थिएन र जुन गर्दा जोखिम पनि छ । उसले मालिकलाई (शाहवंशी राजा पृथ्वी नारायण शाहलाई) “ब्ल्याकमेल” गर्न खोजेको त होइन ? हुनसक्छ उसले लाक्षणिक अर्थमा ठूलो पद वा रकम वा लाभ हात पार्न खोजेको होस् । मालिकलाई ब्ल्याकमेल गर्नु पनि बहुलाउनु नै होइन र ?
३.२) वास्तविक संसार/ अवास्तविक संसारको चित्र
सबैभन्दा पहिले वास्तविक संसार/ अवास्तविक संसारको चित्र कोरौं । तल भनिए बमोजिम छ वास्तविक संसार/ अवास्तविक संसार ।
वास्तविक संसार हामीले सास फेर्ने संसार हो भने, अवास्तविक संसार कवितामा चित्रित संसार हो । अवास्तविक संसारमा मालिक र बिसे नगर्ची दुई जना पात्रहरू मात्र छन् भने वास्तविक संसारमा मालिक, नेपाली जनतालाई प्रतिनिधित्व गर्ने विभिन्न पात्रहरू, बिसे नगर्ची बाहेकका नेपाली जनता र बिसे नगर्ची छन् ।
वास्तविक संसारमा मालिक सबैभन्दा माथि छ भने बिसे नगर्ची सबैभन्दा तल छ । सत्तासित नजिक भएका, मानप्रतिष्ठा पाएका, सम्पन्न, जनताले आफ्ना नेता भनेर चुनेका, जनताले आफ्ना आदरणीय भनेर आफूभन्दा उच्च स्थानमा राखेका, क्रान्ति गर्नुपर्छ भन्नेहरू र क्रान्तिमा सहभागी भएर जनताका आदर्श बनेकाहरू, जनताभन्दा सोच्ने क्षमता धेरै भएका विद्वानहरू बिसे नगर्ची बाहेकका नेपाली जनताभन्दा उच्च स्थानमा छन् ।
वास्तविक संसार | मालिक
विश्वेश्वरप्रसाद, मदन, डा हर्क, लक्ष्मी प्रसाद, भानुभक्त, भूपी, गिरिजा प्रसाद, मनमोहन, माधव प्रसाद, पुष्पलाल, सूर्य बहादुर, मरिचमान, सुभाषचन्द्र, शेर बहादुर, खड्गप्रसाद, माधवकुमार, पुष्पकमल, डा बाबुराम
बिसे नगर्ची बाहेकका नेपाली जनता
बिसे नगर्ची |
सबैको आयु करीब ६० वर्ष |
अवास्तविक संसार | मालिक
बिसे नगर्ची |
सबैको आयु २५० वर्षभन्दा बढी |
कवितामा एउटा अवास्तविक संसार छ जहाँ मालिक र बिसे नगर्ची २५० वर्षदेखि छन् । मालिक पूरै कथामा एकदम शान्त छन् । मालिक स्थिर, शान्त, अटल छन् । मालिकले पूरै कथामा कुनै प्रतिक्रिया दिएका छैनन् । मालिक मरेका छन् कि जस्तो पनि छ तर बिसेले मालिक सितै संवाद गरिरहेकोले उनी मरेका छैनन् भन्ने पनि बुझिन्छ । बिसे नगर्चीले दिएको बयानहरू मालिकले धैर्यपूर्वक सुनिरहेका छन् वा मालिक सुतिरहेका छन् स्पष्ट छैन । क्रुद्ध हुनु पर्ने ठाउँमा पनि मालिक क्रुद्ध भएका देखिन्नन् । मालिकले आत्मसमर्पण गरे जस्तो पनि छैन । मालिकले न बिसेलाई “बढ्ता नबोल” भनेका छन् न कैदमा राख्न आदेश दिएका छन् । न मालिकले बिसे नगर्चीको हत्या गर्न आदेश दिएका छन् । कुनै वेला यस्तो पनि प्रतीत हुन्छ कि मानौं मालिक नै छैनन् र बिसे कुनै काल्पनिक मालिकसित कुरा गरिरहेको छ ।
यस्तो पनि प्रतीत हुन्छ कि त्यहाँ मालिकको कुनै सेना, सिपाही, मन्त्री, सल्लाहकार छैनन् । कसैले बिसेलाई शान्त हुन भनिरहेको छैन । पुरै कथाभरि बिसेले मालिकलाई “मालिक” भनेर सम्बोधन गरेको छ र “म बहुलाएँ” भनिरहेको छ र कविताको शीर्षकमा भनिएझैं बिसेले आफ्नो मनका कुराहरू भनिरहेको छ ।
कविताका केही गद्यांशहरूमा बिसे नगर्ची मेडिकली “पागल” नै भएको हो कि जस्तो छ भने केही गद्यांशहरूमा चाहिं विद्रोह वा ब्ल्याकमेलको सङ्केत गरे जस्तो देखिन्छ ।
कविताका पहिलो, दोश्रो, तेश्रो, चौथो गद्यांश पढ्दा ऊ मेडिकली “पागल” भएझैं लाग्छ भने पाँचौं, छैठौं, सातौं, आठौं गद्यांश पढ्दा “विद्रोह वा ब्ल्याकमेल” को सोचाइ राखेको छ कि भन्ने भान पर्छ ।
जस्तो कि तेश्रो गद्यांशमा उसले “आफ्नो झुप्रो जलाइएको, आफ्नी स्वास्नी मारिएको, आफ्नी छोरी बलात्कृत भएकी छे भन्छ ।” प्राप्त सार्वजनिक लिखित दस्तावेजहरूको अध्ययन गर्दा यी तीनै घटनाहरू बिसेको जिन्दगीमा घटेका सत्य घटनाहरू होइनन् । आफ्नै छोरी बलात्कृत भएकी झूटो विवरण दिनु त मेडिकली “पागल” कै सङ्केत होइन र । छोरीसित “घट्नै नहुने घटना” र घट्दै नघटेको घटनालाई घट्यो भन्दै फलाक्ने बुवा मेडिकली “पागल” नभएर के हो ?
पहिलो गद्यांश पढ्दा बिसेले एउटा सामान्य मानिसले झैं केही भन्छ जसले ऊ मेडिकली बहुलाउन लागेको जस्तो भान पर्छ । दोश्रो गद्यांशमा मेडिकली बहुलाउन लागेको धेरै र विद्रोह वा ब्ल्याकमेल गर्न लागेको हो कि जस्तो केही भाव छ । चौथो गद्यांशमा हात र खुट्टा भाँचिएकोले बहुलाएँ भनेको छ र यसमा पनि बिसेले विद्रोह वा ब्ल्याकमेल गर्न लागेको सङ्केत पाइन्न । पाँचौं गद्यांश पछि भने विद्रोह वा ब्ल्याकमेल गर्ने सुरसार गर्न थालेको हो कि भन्ने छनक पाउन सकिन्छ ।
तर त्यो पनि हैन भन्नु पर्ने हुन्छ किनकि २५० वर्षदेखि बिसेलाई सबैभन्दा नजिकबाट चिनेका मालिकलाई लागेकै छैन कि बिसेले “विद्रोह वा ब्ल्याकमेल” गर्ने सङ्केत गरिरहेको छ ।
बिसेले विद्रोह गर्न थालेको थियो भने त पाँचौं गद्यांश सकिनासाथ मालिकले उसलाई कि मार्थे, कि कैद गर्थे र त्यसपछिको उसको बयान कि त कैदखानाबाट हुन्थ्यो, कि त हुन्नथ्यो ।
यहाँ त कस्तो भयो भने मालिक र बिसेले मिलेर पाठकलाई मूर्ख बनाउनलाई छैठौं र त्यसपछिको बयान लिए-दिए जस्तो भयो । पाँचौं गद्यांशपछि मालिकले बिसेलाई यसरी भनेका हुन् त ? “बिसे ! तँ रक्सीले बहुलाएछस् । आइज रमाइलो गरौं । तँ विद्रोह वा ब्ल्याकमेल गरे जस्तो गर । म चाहिं तलाई कैद पनि गर्दिन, तेरो ज्यान पनि लिन्न । पाठकहरू बुझ्न सक्ने छैनन् यहाँ कोही बहुलाइरहेको छ, विद्रोह भइरहेको छ वा ब्ल्याकमेल भइरहेको छ ।”
बिसे मालिकसित एकान्तमा सम्झौता गर्न गएको त हैन ? त्यसैले उसले स्पष्टसित क्रान्तिको कुरा नगरेको हो कि ? बहुलाउनुको दोश्रो अर्थ हेर्दा त ऊ सम्झौता गर्ने मनशायमा छैन किनकि उसले अलिअलि त विद्रोह वा ब्ल्याकमेलको कुरा गरेको छ ।
बिसे नगर्ची सिङ्गै कवितामा जसरी प्रस्तुत भएको छ त्यसलाई विभिन्न पात्रहरूले कसरी नियालिरहेका छन् त ? एकछिन यसलाई विश्लेषण गरौं ।
मालिकको आँखाबाट हेर्दा
यस कवितामा बहुलाउनुको कुन अर्थ प्रयोग भएको छ मालिकलाई पनि स्पष्ट छैन । हुँदै नभएको अपमानजनक घटना (स्वास्नी मारेको र आफ्नी छोरी बलात्कृत भएको हुँदै नभएको प्रसङ्ग) घटेको भन्दा मालिकले यस्तो सोच्ला -बिसे पागल भयो ।
मालिकले बिसेलाई पागल भन्ठानेकोले नै उसलाई समातेर कैदमा नराखेको हो । मालिकले पनि त सोच्दैछ– “बिसेले जागीर पनि त्यागेको छैन । मालिक भनेर नै सम्बोधन गरिरहेको छ । यसरी नै हो क्रान्ति गर्ने ? मालिकको तलब खाएर मालिकलाई मालिक नै भनेर कसैले क्रान्ति गर्छ र ? यसरी नै हुन्छ विद्रोह ? यसले के क्रान्ति गरेर खाला ! मैले दिएको तलब लिएकै छ, मेरो जागीर पनि खाएकै छ । पहिले मेरो जागीर छोडेर बालबच्चा पालेर देखाओस् । अनि हेरूँला यसले कत्रो क्रान्ति गर्न लागेको रहेछ ?” स्वास्नीलाई मार्न सक्ने र छोरीलाई बलात्कार गर्न सक्नेले बिसेलाई बाँकी राख्थ्यो र ? वास्तविकता त यस्तो हो – मालिकले देख्यो कि बिसे पागल भएको छ र पागलबाट खतरा नहुने भएकोले मालिकले बिसेलाई मारेन ।
बिसे नगर्ची बाहेकको नेपाली जनताको आँखाबाट हेर्दा
बिसेले मालिकको जागीर त्यागेको छैन । मालिक भनेर नै सम्बोधन गरिरहेको छ । चौथो गद्यांशमा चाहिं “मैले जागीर छोडें, म अब तेरो लागि काम गर्दिनँ भने जस्तो छ ।” तर पछाडिका गद्यांशहरूमा मालिक शब्द आइरहेकोले बिसे नगर्चीले जागीर छोडेको बुझिन्न । मालिकको तलब खाएर मालिकलाई मालिक नै भनेर कसैले विद्रोह गर्छ र ? यसरी नै हुन्छ क्रान्ति ? स्वास्नीलाई मार्नसक्ने र छोरीलाई बलात्कार गर्न सक्नेले बिसेलाई किन कैद नगरेको वा नमारेको ? बिसे नगर्ची विद्रोहको सन्देश दिन गएको हो कि बहुलाउन ? बिसे मोरा डराएछ ! विश्वेश्वर प्रसादले विद्रोहको कुरा गर्दा जेल जानु परेको थियो ! यो बिसेले के नाटक गरेको हो ?
बिसे २५० वर्ष भन्दा धेरै आयु भएको अविश्वसनीय, अद्भुत, चमत्कारिक मानिस हो । यस्तो मानिस मानव इतिहासमा आजसम्म जन्मेको छैन । त्यसैले ऊ मालिकको अगाडि विद्रोह गर्न गएको हो वा बहुलाउन गएको हो उसलाई थाहा छैन भन्ने तर्क पत्यारिलो छैन ।
यस्तो अद्भुत, अविश्वसनीय बिसे नगर्चीलाई क्रान्ति गर्नु, विद्रोह गर्नु, बहुलाउनु शब्दहरू मध्ये कुन प्रयोग गर्ने थाहा छैन भन्ने तर्कलाई पत्याउन सकिन्न । आफ्नी स्वास्नीलाई मार्ने र छोरीलाई बलात्कार गर्नेको अगाडि यो अद्भुत, अविश्वसनीय, चमत्कारिक बिसे नगर्चीको मुखबाट झुक्किएर “बहुलाएँ” निस्केको हो भन्ने तर्क पत्याउन सकिन्न ।
बिसेले एक पटक हैन सिङ्गै कविताभरि नै क्रान्ति, विद्रोहको साटो “बहुलाएँ” शब्द प्रयोस गरेको छ । सबै जनताको प्रतिनिधित्व गर्दै मालिकलाई चुनौती दिन गएको बिसेले “मैले अब क्रान्ति गर्ने हो” भन्न छोडेर “मालिक म बहुलाउन आएको हुँ” भन्नु सुहाउँदैन । बिसेले मालिकसित डराएर उल्टो शब्द प्रयोग गरेको हो कि ? बिसे २५० वर्ष भन्दा धेरै आयु भएको अविश्वसनीय, अद्भुत, चमत्कारिक मानिस भएकोले ऊ मालिकसित डरायो होला भन्ने तर्क वजनदार छैन ।
तर अवास्तविक देखिने संसारमा मालिक छ के ? आफू विरुद्ध विद्रोह गर्न लागेको छनक पाएपछि क्रूर, तानाशाह मालिकले सिपाही लगाएर बिसेलाई कि त मार्थे कि त कैद गर्थे ? कम्तीमा जागीरबाट त निकाल्थे । तर यहाँ त मालिकले कुनै प्रतिक्रिया नै दिइरहेका छैनन् । मालिकले बिसेलाई जागीरबाट निकाल्नु त परै जाओस् बिसेको अघिल्तिर मालिक नै छैनन् कि भन्नु पर्ने स्थिति पनि छ ।
बाँकी नेपालीहरूका प्रतिनिधिहरूका आँखाबाट हेर्दा
यो कथामा बाँकी नेपालीहरूलाई प्रतिनिधित्व गर्ने विश्वेश्वर प्रसाद, मदन, डा. हर्क, लक्ष्मीप्रसाद, भानुभक्त, भूपी, गिरिजा प्रसाद, माधवप्रसाद, पुष्पलाल, सूर्य बहादुर, मरिचमान, सुभाषचन्द्र, खड्गप्रसाद, माधवकुमार, पुष्पकमल, डा बाबुरामहरू कता छन् ? बिसे नगर्ची २५० वर्षसम्म ज्युँदै रहने संसारमा यिनीहरू छैनन् भनेर पत्याउन सकिन्न ।
त्यसो भए यिनीहरू कता छन् ? यिनीहरू कतै लुकेका छन् ? यिनीहरूले नै केही न केही गोप्य षड्यन्त्रकारी योजना बनाएको हुनुपर्छ ! त्यस्तो योजना जुन असफल भएमा बिसे फस्छ, सफल भएमा बिसेले कुनै जस पाउँदिन । यिनीहरूले नै बिसेलाई दबाब दिएको हुनुपर्छ “बहुलाउनलाई” ।
यिनीहरूले मालिकलाई भनेका होलान्, “बिसे बहुलाइसकेको छ । अन्डसन्ड बक्दैछ । मगज खुस्केर मालिकले नै त्यसको छोरीलाई बलात्कार गरेको भन्दैछ । बिसे आएर छुद्र वचन बोल्यो भने मालिकले शान्त भएर सुन्नु मात्र होला । आक्रोश नदेखाउनुहोला । सके मुस्कुराउनुहोला, नसके शान्त रहनु होला । क्रुद्ध नहुनुहोला ।” यिनीहरूले जनतालाई यसरी भने होलान्, “अब बिसे हाम्रो नेता हो । मालिकसित हामी लड्न सकेनौं । अब उसले नै विद्रोहको नेतृत्व गर्नेछ । ऊ कूटनीतिक तरीकाले, नयाँ तरीकाले विद्रोह गर्नेवाला छ । ऊ बहुलाएर हामी सबैको नेतृत्व गर्नेछ । ऊ हेर्दा मात्र बहुलाएको जस्तो देखिनेछ, तर लाक्षणिक अर्थमा उसले विद्रोह गरेकै मानिनेछ ।”
तर यिनीहरूको भित्री योजना भने यस्तो थियो – “केही गरेर बिसेले विद्रोह गरेर मालिकलाई झुकाएछ भने त्यसको जस हामीले लिउँला किनकि बहुलाले पनि संसारमा कतै क्रान्तिको नेतृत्व गर्छ र ! केही गरी मालिकले बिसेलाई मारे भने हामी त जोगिन्छौं । जनतालाई पनि यस्तो कथा भनौंला : क्रान्ति गर्न गएको मान्छे रे, मालिकको अगाडि पुगेपछि बहुलाएछ । बिचरा मारिएछ । मालिक विरुद्धको आन्दोलनलाई भविष्यमा कसरी अगाडि बढाउने फेरि सोचौँला ।”
तर यिनीहरूले सबै मिलेर बिसेलाई यसरी सम्झाइ-बुझाइ गरे, “बिसे तैंले बहुलाउनु पर्ने ऐतिहासिक परिस्थिति आइपरेको छ । तैंले बहुलाउनु पर्ने भो । तैंले क्रान्ति गर्ने चाहिं होइन नि । क्रान्ति हामी गर्छौं । तैंले बहुलाउनु पर्ने ऐतिहासिक दायित्व पूरा गर्नुपर्यो । क्रान्ति गर्ने दायित्व हामी पुरा गर्छौं ।” बिचरा बिसेले पनि बहुलाएर देखाइदियो ।
३.३) बहुलाएको बिसे नगर्चीको अहिलेको स्थितिलाई व्याख्या गर्ने वाक्य
कविता भित्रको पूरै कथा पढेपछि निम्नानुसार पाँच समूहका वाक्यले यसको सारांश लेख्न सकिन्छ ।
प्रत्येक समूहमा तीन वटा वाक्यहरू छन् : समूहको प्रथम वाक्यले २५० वर्षअघि मालिक र बिसे नगर्चीको सम्बन्ध देखाउँछ भने दोश्रो वाक्यले २५० वर्ष पछिको ती दुईको विद्रोहको सम्बन्धलाई देखाउँछ । तेश्रो वाक्यले २५० वर्ष पछिको ब्ल्याकमेल गर्दा ती दुईको सम्बन्धलाई देखाउँछ
१ | बफादार बिसे मालिकको लागि काम गर्थ्यो ।
विद्रोही बिसे मालिकको लागि काम गर्छ । छट्टु र निर्लज्ज बिसे मालिकको लागि काम गर्छ । |
२ | मालिकले बफादार बिसेलाई आफ्नो टिममा राखेका थिए ।
मालिकले विद्रोही बिसेलाई आफ्नो टिममा राखेका छन् । मालिकले छट्टु र निर्लज्ज बिसेलाई आफ्नो टिममा राखेका छन् । |
३ | बिसे बफादार भएर मालिकको लागि काम गर्थ्यो ।
बिसे विद्रोही भएर पनि मालिकको लागि काम गर्दैछ । बिसे छट्टु र निर्लज्ज भएर पनि मालिकको लागि काम गर्दैछ । |
४ | तानाशाह मालिकले बफादार बिसेलाई आफ्नो टिममा राखेका थिए ।
तानाशाह मालिकले विद्रोही बिसेलाई आफ्नो टिममा राखेका छन् । तानाशाह मालिकले छट्टु र निर्लज्ज बिसेलाई आफ्नो टिममा राखेका छन् । |
५ | बिसे बफादार भएर तानाशाह मालिकको लागि काम गर्दैछ ।
बिसे विद्रोही भएर पनि तानाशाह मालिकको लागि काम गर्दैछ । बिसे छट्टु र निर्लज्ज भएर पनि तानाशाह मालिकको लागि काम गर्दैछ । |
पाँच तरिकाले लेखिएका माथिका समूहका वाक्यहरूको दोश्रो वाक्यहरूले बिसेको अहिलेको स्थितिलाई जनाउँदछ । यी पाँचवटै वाक्यहरू जुनसुकै तरीकाले पढे पनि निम्न अर्थहरू प्रकट हुन्छन् : बिसेले न विद्रोह गरिरहेको छ न मालिकको स्वार्थमा कुनै हानी नोक्सानी पुर्याइरहेको छ । विद्रोह गरेको भए मालिकले बिसेलाई कि मार्थे, कि कैद गर्थे । तर त्यस्तो केही भइरहेको छैन । न बिसेले नै जागीर छोडेर विद्रोह गरिरहेको छ ।
माथिका वाक्यहरूबाट त यही प्रष्ट हुन्छ कि मालिक तानाशाह छैनन्, न बिसेले विद्रोह गरिरहेको छ । संसारमा आजसम्म कुनै विद्रोहीले खुला रूपमै तानाशाहको लागि काम गरेको छ ? वा संसारको कुनै तानाशाहले आफ्नो विद्रोहीलाई तलब दिएर आफ्नो टीममा राखेको कुनै उदाहरण छ ? तसर्थ यस कवितामा बहुलाउनुको अर्थ मेडिकली पागल हुनु नै हो ।
३.४) गैरदलित नायकहरू बहुलाउनु नपर्ने, दलित नायक बिसे नगर्ची नै किन बहुलाउनु पर्ने ?
अब उपरान्त यो लेखमा “बहुलाउनु”लाई “मेडिकली पागल हुनु” भन्ने अर्थमा बुझिएको छ । यो कवितामा स्वयमसिद्ध तथ्य झैं “बिसे मेडिकली पागल भयो” भनिएको छ र बिसे बहुलाउनु सामान्य हो झैं भनिएको छ ।
यस्तो प्रतीत हुन्छ मानौं बहुलाउनु पर्नेभयो भने बहुलाउनु पर्ने स्वयमसिद्ध पात्र नै बिसे नगर्ची हो । कवितामा यस्तो तर्क छ – बिसे बहुलाउँछ/अरू बहुलाउँदैनन् । यो विपरितार्थी अवधारणालाई यसरी उल्ट्याऔं : अरू बहुलाउँछन् / बिसे बहुलाउँदैन र यसलाई विनिर्माण गरौं ।
तसर्थ यो कवितालाई अब अरू किन बहुलाउनु नपर्ने, बिसे नै किन बहुलाउनु पर्ने भन्ने प्रश्नका साथ विनिर्माणवादी पठन गरिएको छ । यसरी पठन गर्दा बिसे नगर्ची बहुलाउनुको सामाजिक, सांस्कृतिक, राजनीतिक कारणहरू रहस्योद्घाटन हुनसक्छ ।
आखिर हाम्रो समाजमा त्यस्तो के छ कि बिसे नगर्ची नै बहुलाउनु पर्छ । काल्पनिक अवास्तविक संसार पनि कसरी सञ्चालन हुने रहेछ कि बहुलाउनलाई ठीक पात्रको रूपमा बिसेलाई चुन्यो ? कमजोर बहुलाउनु पर्छ, बलिया बहुलाउनु हुँदैन ? देशमा बहुलाउनु पर्ने स्थिति आइपर्दा कमजोर पात्र किन बहुलाउनु पर्ने ? बलिया पात्र बहुलाए हुँदैन ? बिसे नगर्ची नै बहुलाउनु पर्ने स्वयमसिद्ध सत्य कस्तो सत्य हो ? यो पठनमा यही स्वयमसिद्ध ठानिएको सत्यलाई विनिर्माण गर्न खोजिएको छ । माथिको क्रमलाई उल्ट्याएर यसरी पनि विमर्श गरे हुन्न र ? बहुलाउने घटनालाई यसरी सोचौं न : पहिले बलिया अनि कमजोर ।
कथा यस्तो छ
एउटा अवास्तविक संसार छ । त्यो अवास्तविक संसारमा एउटा मालिक छ, एउटा बिसे नगर्ची छ । मालिक २५० वर्षदेखि ज्युँदो छ, बिसे पनि २५० वर्षदेखि ज्युँदो छ ।
२५० वर्षअघि मालिकले बिसेलाई समाजको सबैभन्दा तल रहन भन्यो । बिसे पनि ज्ञानी, तलै बस्यो । एकदिन मालिकलाई झोक चल्यो र एउटा देश रच्छु भन्यो र बिसेलाई नगारा र नरसिंहा बजाउन लगायो । मालिकले बिसेलाई तल भुइँमा राखेर एउटा देश रच्यो । त्यो अवास्तविक संसारमा २५० वर्ष बित्यो ।
त्यो अवास्तविक संसारमा एकदिन एउटा कवि आयो । कविलाई झोक चलेर एउटा कविता लेख्न मन लाग्यो । कविले रच्नुपर्ने कवितामा कोही बहुलाउनु पर्ने थियो र कविले बहुलाउनु पर्ने जिम्मा बिसेलाई दियो । बिसे पनि ज्ञानी, बहुलाइदियो ।
बिसेको भाग्य – “सबैले उसैलाई राखेर केही रच्छन । ज-जसलाई झोक चलेर केही रच्न मन लाग्छ त्यो रचनामा सबैले उसलाई कुनै भूमिका दिन्छन् । कसैले उसलाई सबैभन्दा तल भुइँमा बस्न भन्छ भने कसैले उसलाई बहुलाउन भन्छ ।”
२५० वर्षअघि उसलाई सबैभन्दा तल राखेर देश रचियो भने आज उसलाई भुइँमै बसाएर बहुलाउन लगाइयो । बिसे जो २५० वर्षसम्म सबैभन्दा तल भए पनि समाजभित्रै थियो, आज बहुलाएर समाजबाट बाहिरियो ।
कमजोर बहुलाउनु पर्छ, बलिया बहुलाउनु हुँदैन
एउटा अवास्तविक संसार छ । यो अवास्तविक संसारमा २५० वर्षदेखि मालिक, विश्वेश्वरप्रसाद, मदन, डा हर्क, लक्ष्मीप्रसाद, गिरिजाप्रसाद, मनमोहन, भानुभक्त, भूपी, पुष्पलाल, सूर्य बहादुर, मरिचमान, सुभाषचन्द्र, माधवकुमार, खड्गप्रसाद, पुष्पकमलहरू र बिसे नगर्ची बसेका छन् । के के भयो भयो, अवास्तविक संसारमा एकजना मान्छे बहुलाउनु पर्ने भयो ! बहुलाउनलाई सबै भन्दा योग्य पात्र को होला ? बहुलाउन सुयोग्य पात्रको खोजी गरौं ।
गजबको स्थिति छ । माथि भनिएको अवास्तविक संसारमा दुई जना मात्र पात्र छन् । मालिक र बिसे नगर्ची । सुर र असुर । असल र खराब । सत्य र असत्य । नायक र खलनायक । वास्तविक संसारका मुख्य पात्रहरू अवास्तविक संसारमा कता छन् ? कोही देखिन्नन् त । विश्वेश्वरप्रसाद, मदन, डा हर्क, लक्ष्मीप्रसाद, गिरिजाप्रसाद, मनमोहन, भानुभक्त, भूपी, पुष्पलाल, सूर्य बहादुर, मरिचमान, सुभाषचन्द्र, माधवकुमार, खड्गप्रसाद, पुष्पकमलहरू मध्ये कोही देखिन्नन् त ।
२५० वर्ष अघिको बिसे नगर्ची अवास्तविक संसारमा छ भने यिनीहरू नहुनु पर्ने कुनै कारण छैन । त्यसोभए यिनीहरू कता छन् ? यिनीहरू कतै लुकेका छन् ? यिनीहरू अवास्तविक संसारमा छन् कि त्यहाँबाट अन्त लागे ? यिनीहरू मालिक, बिसे वा अरू कसैको पछाडि लुकेका त छैनन् ? वा अन्त कतै लुक्न गए कि ? यस्तो पो हो कि कोही मालिकको पछाडि लुकेका छन् भने कोही बिसे नगर्चीको पछाडि लुकेका छन् ? बिसेलाई मालिकसित एक्लै भिड्न पठाएर आफू अन्तै कतै बसेका छन् वा बहुला बिसेलाई एक्लै कोठामा थुनेर आफू अन्तै कतै छन् ? वा बिसेको पछाडी बसेर बिसेलाई सघाइरहेका छन् ? यिनीहरू मध्ये कोही किन गएनन् मालिक विरुद्ध लड्न वा विद्रोह गर्न ? बिसेलाई नै किन पठाए ?
बिसेको पछाडि लुक्ने विश्वेश्वरप्रसाद, मदन, डा हर्क, लक्ष्मीप्रसाद, भूपी, पुष्पलाल, गिरिजाप्रसाद, मनमोहन, सुभाषचन्द्र, माधवकुमार, खड्गप्रसाद, पुष्पकमलहरू नै हुनुपर्छ । आफ्नो पछाडि यत्रा नेताहरू, विद्वानहरू, कविहरू भएको बिसेलाई थाहा थिएन भन्नु उचित नहोला । त्यसो भए बिसेले क्रान्ति गर्छु किन भनेन ? आफ्नो पछाडि देशकै नेताहरू, जनताहरू छन् भन्ने थाहा पाएपछि बिसे नगर्चीले क्रान्ति गर्छु भन्नु पर्ने होइन र ? ऊ किन बहुलायो होला ? ऊ पढेलेखेको साहित्यकार पनि होइन । उसले कुरो लुकाएर, चपाएर, लाक्षणिक अर्थमा गर्न नसक्नु पर्ने । बिसेले मालिकलाई ठाडै किन भनेन कि अब त क्रान्ति गरेर तँलाई फ्याल्ने हो ? ऊ किन बहुलायो ?
विश्वेश्वरप्रसाद मालिक विरुद्ध विद्रोह गरिरहेका थिए, उनी बहुलाउने कुरै भएन । लक्ष्मीप्रसादको भाग्यमा कवि बन्ने योग थियो, उनी बहुलाउने कुरै भएन । पुष्पलालले किसान र मजदुरलाई एकत्रित पारेर साम्यवाद स्थापना गर्ने जिम्मा लिएका थिए, उनी बहुलाउनै भएन । डा. हर्क भूगोलविद हुनु पर्ने थियो, उनलाई बहुलाउनै दिन भएन । भूपीले लोकप्रिय कवि बन्ने भूमिका पाएका थिए उनलाई बहुला बनाउनु भएन । पुष्पकमल, खड्गप्रसाद, माधवकुमार, शेर बहादुरहरूको भाग्यमा जन्मजात विद्रोही हुने योग भएकोले यिनीहरू बहुलाउने सकेनन् । माथिका जोसुकैलाई तँ बहुलाउनु पर्छ भनेको भए ती सबैले अनेक तर्क वितर्क गरेर पन्छिन्थे । मालिक न कहिल्यै बहुलाएको थियो, न कहिल्यै बहुलाउँछ । बाँकी रह्यो बिसे नगर्ची । सबै मिलेर बिसेलाई तैंले बहुलाउनु पर्छ भनियो । बिचरा बिसे न दायाँ हेर्यो, न बायाँ, बहुलाइदियो ! बिचरा बिसेले अरू जस्तो मानसिक बुद्धिविलासमा रम्ने अवसर पाएको थिएन । उसको जिन्दगी शारीरिक श्रम गर्दैमा बित्यो । बुद्धिविलासमा रम्ने अरूले झैं बिसेले ठीक बेठीक छुट्याउन सक्दैन थियो । सबैले मिलेर उसैलाई भने – “बहुलाउनलाई सबैभन्दा योग्य पात्र तँ नै होस्, तँ नै बहुलाउनु पर्छ बिसे ।” बिसे पनि के कम ! उसले पनि बहुलाएर देखाइदियो !
तत्कालीन तानाशाही राजा ज्ञानेन्द्र विरुद्ध विद्रोह भइरहेकोले विश्वेश्वरप्रसाद, मदन, पुष्पलालहरू बहुलाउँदा विद्रोह कमजोर हुने भएकोले उनीहरू नबहुलाएका हुन् कि ! यो तर्कमा दम छ । यदि यसो हो भने बिसेले “तानाशाह ज्ञानेन्द्र ! म तँ विरुद्ध विद्रोह गर्दैछु किन भनेन ? किन मालिक म बहुलाएँ भन्यो ? किन पूरै कविताभरि तानाशाहलाई मालिक भनिरह्यो ?” तत्कालीन तानाशाही राजा ज्ञानेन्द्रले माधवकुमार, खड्गप्रसाद, गिरिजाप्रसाद सबैलाई कैद गरेका थिए । कथामा यिनीहरू चाहिं बहुलाउनु पर्ने होइन र ? अथवा यिनीहरूले बिसेलाई यस्तो भन्नु पर्ने होइन र, “बिसे ! हामी बहुलाउँला जस्तो छ । हामी क्रान्तिको नेतृत्व गर्न सक्दैनौं । तैंले क्रान्तिको नेतृत्व गर ।” तर यिनीहरूले सबै मिलेर बिसेलाई यसरी सम्झाइबुझाइ गरे क्यारे, “बिसे तैंले बहुलाउनु पर्ने ऐतिहासिक परिस्थिति आइपरेको छ । तैंले बहुलाउनु पर्ने भो बिसे । तैंले क्रान्ति गर्ने चाहिं होइन नि । क्रान्ति हामी गर्छौं । तैंले बहुलाउनु पर्ने ऐतिहासिक दायित्व पुरा गर्नु पर्यो । क्रान्ति गर्ने दायित्व हामी पुरा गर्छौं ।” बिसे पनि के कम, उसले पनि बहुलाएर देखाइदियो !
बहुलाउनु भनेको विद्रोह गर्नु पनि हो भने विश्वेश्वरप्रसाद बहुलाएको भए पनि राम्रै कथा बन्थ्यो । मालिकले विश्वेश्वर प्रसादको घर जलाइदिएको भए, उनकी स्वास्नीलाई … भए, उनकी छोरीलाई … गरेको भए उनी पनि बहुलाउँथे कि ?
तर उनी बहुलाउन लागेको भए पनि उनका दाजु, भाइले उनलाई अस्पताल लग्थे होला । उनको उपचार हुन नसकेको भए उनका परिवारले उनलाई सार्वजनिक रूपमा “म बहुलाएँ” भन्दै हिंड्न नदिएर घरमै थुनेर राख्थे । सार्वजनिक रूपमा “म बहुलाएँ” भन्दै हिंड्न उपयुक्त यही बिसे त हो जसको न कुनै सामाजिक प्रतिष्ठा छ, न त ऊ बहुलाएर सडकमा हिंड्दा उसको दाजु, भाइको सामाजिक प्रतिष्ठामा दाग लाग्छ । विश्वेश्वर प्रसाद चतुर छन्, उनले “म क्रान्ति गर्छु” भन्छन् ।
गर्न त बिसेले पनि क्रान्ति गर्न खोजेको जस्तो छ । तर बिचराले “म क्रान्ति गर्छु” भन्न पनि सक्दैन र बहुलाउँछ । विश्वेश्वरप्रसाद बाठा छन्, उनले “म क्रान्ति गर्छु” भन्छन् र एउटा संगठनको नेतृत्व गर्छन् । अभागी बिसे जान्ने बनेर क्रान्ति गर्न खोजेको थियो, बहुलायो ।
बहुलाले “म बहुलाएको भन्दैन” त्यसैले बिसेले लाक्षणिक अर्थमा क्रान्ति गरेको हो भन्ने तर्क पनि कसै कसैको रहला । तर २५० वर्ष आयु भएको अद्भुत, अलौकिक, शक्तिशाली नायक बिसेलाई कुन शब्द कहाँ प्रयोग गर्ने थाहा छैन भन्ने कुरा पत्याउन सकिन्न । औसत ६० वर्ष आयु भएका विश्वेश्वरप्रसाद र मदनलाई “बहुलाउनु” को साटो “विद्रोह” प्रयोग गर्नुपर्छ भन्ने जानकारी हुनु तर जीव विज्ञानको नियम तोडेर २५० वर्ष आयु भएको बिसे नगर्चीलाई यो जानकारी छैन भन्नु अत्यन्त हास्यास्पद तर्क हो । यो तर्क त दलितहरूका नायक बिसे नगर्ची दमाई भएकोले नै जन्मेको हो ! बिसेले हामी जनतालाई पनि त भन्नुपर्ने कि म सांकेतिक रूपमा विद्रोह गर्दैछु है । कविताको शुरूदेखि अन्त्यसम्म बिसेले त्यस्तो कतै भनेको छैन ।
चुरो प्रश्न नै के हो भने दलितहरूका नायक बिसेले मालिक विरुद्ध विद्रोह गर्दैछु किन भनेन ? विश्वेश्वरप्रसाद र पुष्पलालले क्रान्ति गर्दैछु भन्न सके र बहुलाएनन् तर बिसेले भन्न सकेन र ऊ बहुलायो । बिसेले म पनि मालिक विरुद्ध क्रान्ति गर्दैछु किन भनेन ? बिसेले मालिकलाई लखेट्ने हो किन भनेन ? क्रान्ति विश्वेश्वरप्रसाद र पुष्पलालले मात्र गर्नु पर्ने हो र ? अरूहरूका नायकहरूले क्रान्ति गर्न पाउनुपर्ने, दलितहरूका नायक बिसे चाहिं क्रान्ति गर्नुपर्ने वेलामा बहुलाउनु पर्ने ?
दलितहरूका नायक बिसे नगर्ची कस्तो अभागी ! उसको लागि अवास्तविक संसारमा पनि वास्तविक संसारकै नियम लागू हुने ! वास्तविक संसारमा जन्मेर नमर्दासम्म क्रान्ति र विद्रोह गर्ने योग लिएर जन्मेका विश्वेश्वरप्रसाद, पुष्पलाल, मदन, पुष्पकमल, सुवाषचन्द्र, माधव कुमारबाट बिसेले केही सिक्न सकेन । यिनीहरूले जिन्दगीभरि क्रान्ति र विद्रोह गरिरहे । तर दलितहरूका नायकले दश मिनेटमा पढ्न सकिने चार पृष्ठको कवितामा एक पल्ट पनि विद्रोह गर्छु, क्रान्ति गर्छु भनेन । बरु चौध पल्ट बहुलायो । कम्तीमा एक पल्ट त विद्रोह गर्छु, क्रान्ति गर्छु भन्न सक्नुपर्ने ! कति अनौठो छ अवास्तविक संसार पनि ! २५० वर्षको आयु भएको अकल्पनीय, अद्भुत, अद्वितीय दलितहरूका नायक एक पल्ट पनि विद्रोह नगरेर बहुलाउँछ जबकि वास्तविक संसारमा औसत ६० वर्षको आयु भएकाहरू जिन्दगीभरि नै क्रान्ति गरिरहन्छन् ।
बिसेले कविताको शुरूदेखि अन्त्यसम्म नै क्रान्ति गर्दैछु भनेको भए के बिग्रिन्थ्यो र ? बिसेले मालिकलाई “मालिक” भनेर सम्बोधन नगरेर “अत्याचारी” भनेको भए के बिग्रिन्थ्यो र ? बिसेले मालिकको जागीर १०० वर्ष अगाडि नै छोडेर मालिकलाई तानाशाह भनेको भए के बिग्रिन्थ्यो र ? बिसेले मालिकको जागीर नगरेको भए के बिग्रिन्थ्यो र ? बिसेले पनि विश्वेश्वरप्रसाद सँगसँगै मालिकको विरुद्ध विद्रोह गरेको भए के बिग्रिन्थ्यो र ? तसर्थ यो कविता बिसे नगर्चीले मालिकको विरुद्ध विद्रोह नगरोस्, क्रान्ति नगरोस् बरु बहुलाओस् भनेर लेखे जस्तो भयो ।
यो कविता बिसे नगर्चीले गरेको व्यंग्य त होइन नि ? यो व्यंग्य कविता हो कि ? त्यस्तो देखिन्न । बिसेको स्वास्नी मारिएको छ, छोरी बलात्कृत भएकी छे, घर जलाइएको छ । यो स्थितिमा उसमा कि आक्रोश आउँछ कि निराशा आउँछ । यत्रो दुःख पर्दा मान्छे व्यंग्य गरेर बस्दैन । लड्छ, चूप लाग्छ वा बहुलाउँछ । तर २५० वर्षको आयु भएको दलितहरूका अद्भुत नायक बिसे नगर्चीको भाग्यमा बहुलाउन लेखेको छ, त्यसैले ऊ बहुलाउँछ । दलितहरूका नायकको भाग्यमा “लडाइँ गर्नु” लेखेको छैन त्यसैले ऊ लड्दैन । “लडाइँ गर्ने” सौभाग्य लिएर जन्मेका विश्वेश्वर, पुष्पलाल र मदनहरू हुन्, त्यसैले उनीहरू नबहुलाइकन लडाइँ गर्छन् ।
शायद यस्तो पो हो कि । बहुलाउनु भनेकै क्रान्ति वा विद्रोहको तयारी गर्नु हो कि ? मैले अनावश्यक बखेडा मात्र झिकेको हुँ कि ? यस्तो हो भने क्रान्ति गर्ने जिम्मेवारी लिएका मदन बहुलाएको भए हुन्थ्यो ? कति जाती हुन्थ्यो उनी बहुलाएको भए । उनले बहुलाएर भन्थे, “मालिक तैंले मेरो घर जलाइस्, मेरी स्वास्नीलाई ., मेरी छोरीलाई … गरिस् । म बहुलाएँ मालिक । …मदने बहुलायो मालिक । … थुइक्क मदने …!” कविताको शीर्षक पनि कति सुहाउने : मदनको बयान । यो कविता अंग्रेजीमा अनुवाद पनि हुन्थ्यो (बिसे नगर्चीको बयानको अंग्रेजीमा अनुवाद भइसकेको छ), राजनीतिक लाभ पनि हुन्थ्यो, सहानुभूति बढ्थ्यो । तत्कालीन निरंकुश राजा ज्ञानेन्द्रलाई सत्ताच्युत गर्न सहज हुन्थ्यो । तर मदनलाई बहुलाउने जिम्मा दिन सकिन्थेन किनकि उनकी स्वास्नी र छोरी ज्युँदा थिए । मदनकी स्वास्नीको भाग्यमा त … हुने योग थियो । मदनले कसरी भन्न सक्थे कि मालिक तैंले मेरी स्वास्नीलाई …, मेरी छोरीलाई … गरिस् ।
त्यसो भन्नसक्ने सोझो यही बिसे त थियो । सबैलाई पूर्व जानकारी थियो कि कसैकी स्वास्नी मारिनुपर्ने स्थिति आइपर्यो भने बिसेकै स्वास्नी मारिनु ठीक हुन्छे । अंग्रेजीमा अनुवाद भएर पनि बिसेलाई खासै के नै फरक पर्थ्यो र । जसको घरमै इज्जत छैन त्यसलाई विदेशमा बेइज्जत होला भन्ने के को पीर !
स्वास्नी र छोरी ज्युँदा नहुने विश्वेश्वरप्रसाद बहुलाएको भए भइहाल्थ्यो । कति सुहाउँथ्यो जब उनले मालिकलाई भन्थे कि “…मालिक म बहुलाएँ । यो विश्वेश्वरे बहुलायो मालिक । …तैंले मेरी स्वास्नी … मेरी छोरीलाई … गरिस् । .. यो विश्वेश्वरे बहुलायो मालिक । … म क्रान्ति गर्दिन मालिक । …म बरु बहुलाउँछु …!” यसको अंग्रेजीमा अनुवाद भएको भए कति धेरै राजनीतिक लाभ हुन्थ्यो होला तत्कालीन राजा ज्ञानेन्द्रलाई सत्ताच्युत गर्न । एक दिन “विश्वेश्वर प्रसादको बयान” को नाटक मञ्चन गरिन्थ्यो (बिसे नगर्चीको बयानमा नाटक मञ्चन भइसकेको छ,) । विश्वेश्वरप्रसादका परिवारजनहरू र शुभचिन्तकहरू नाटक हेर्न आउँथे र नाटकमा विश्वेश्वर बहुलाएर भन्थे, “मालिक म बहुलाएँ । यो विश्वेश्वरे बहुलायो मालिक । तैंले मेरो स्वास्नीलाई …, मेरी छोरीलाई … गरिस् । म तेरो विरुद्ध क्रान्ति गर्दिन मालिक ।… बरु म बहुलाउँछु…।”
तर विश्वेश्वरलाई बहुलाउन दिनलाई विश्वेश्वरका परिवारजन र शुभचिन्तकहरू तयार भएनन् । मदन र विश्वेश्वरलाई बहुलाउन नदिएपछि पुष्पलाल, भूपी, हर्क, सुभाषचन्द्रका आफन्तहरू पनि यिनीहरूलाई बहुलाउन दिन तयार हुने कुरै भएन । बाँकी बच्यो बिसे । सबैले मिलेर बिसेलाई फकाए, थर्काए, धम्क्याए । २५० वर्ष पहिलेदेखि नै कमजोर बिसेको रक्षार्थ न कोही परिवारजन आए न कोही शुभचिन्तकहरू । विश्वेश्वर, मदन, पुष्पलालहरूका परिवारहरू र शुभचिन्तकहरू मिलेर भने, “बिसे, तैंले क्रान्ति गर्ने होइन । तैंले बहुलाउने हो । तँ बहुलाए पछि हामी क्रान्ति गरौंला ।” फलस्वरूप कुनै विकल्प नरहे पछि ऊ बहुलायो ।
यहाँ कुरा यो पनि उठ्ला कि बिसे २५० वर्षमा साहित्यकार भयो र लक्षणा अर्थमा “बहुलाएँ” भन्ने शब्द प्रयोग गर्यो । अर्थात् अभिधा अर्थमा बिसे “पागल” भएको हो, तर लक्षणा अर्थमा बिसेले विद्रोह गर्छु नै भनेको हो । यो झनै राम्रो कुरा आयो । “बहुलाएँ” भन्ने शब्दलाई यसरी प्रयोग गरिएको हो भने कवि लक्ष्मीप्रसादले बिसे नगर्चीप्रति दया देखाएर किन भनेनन्, ” लक्ष्मीप्रसादको बयान नाटक लेखेर मञ्चन गर । नाटकमा म बहुलाएर भन्छु कि मेरी छोरीको … भयो ।” यसरी लाक्षणिक अर्थमा बहुलाउन माधवकुमार वा सुभाषचन्द्र किन तयार भएनन् ? माधव वा सुभाषचन्द्रले किन आफ्ना शुभचिन्तकहरूका सामुन्ने नाटक मञ्चन गर्दै भनेनन्, “मालिक ! तैंले मेरी स्वास्नीलाई … मेरी छोरीलाई … गरिस्… म बहुलाएँ मालिक … ।” तसर्थ यो शब्दलाई लाक्षणिक अर्थमा प्रयोग गरिएको मान्न सकिन्न ।
“माधव कुमारको बयान” भनेर नाटकमा रुपान्तरित गरेर मञ्चन गरेको भए मालिक र दर्शकको लागि यो नाटकले शायद हास्यरस उत्पादन गर्ने भएकोले नाटकमा गम्भीरता कायम गर्न बिसेलाई राखिएको हो कि ? माधव कुमारलाई नाटकमा “…यो माधेलाई दशा लाग्यो मालिक … । … यो माधे बहुलायो मालिक … । ” भनेको देख्दा हाँस्ने दर्शक बिसेलाई देख्दा गम्भीर हुने भएकोले कथामा गम्भीरता सिर्जना गर्नुपर्ने महान् ऐतिहासिक अभिभारा पनि बिसेले बोक्नु पर्ने भएको हो कि ? कथालाई गम्भीर बनाउन बिसेले आफ्नी पत्नी… र छोरी … भई भन्ने झूटो बयान दिनुपर्ने भयो कि ?
यसरी पनि एक पल्ट सोचौं न । यही कविता यदि “विश्वेश्वर प्रसादको बयान” वा “मदनको बयान” भनेर लेखिएको भए प्रकाशकले छाप्थ्यो होला ? केही गरी छापिएको भए त्यो कवितालाई प्रगतिशील भनिन्थ्यो कि प्रतिक्रियावादी ? “विश्वेश्वर प्रसादको बयान ” वा “मदनको बयान” लाई कुन नाटक निर्देशकले नाट्य रूपान्तरण गर्थ्यो होला ? कुन कुन कलाकार त्यो नाटकमा अभिनय गर्न तयार हुन्थे होलान् ? कुन अभिनेता विश्वेश्वरप्रसाद वा मदनको भूमिकामा देखिन तयार हुन्थ्यो होला ? “बिसे नगर्चीको बयान”लाई नेपालीबाट अंग्रेजीमा अनुवाद गर्नुभएको नेपाली पत्रकारले “विश्वेश्वर प्रसादको बयान” वा “मदनको बयान” लाई अंग्रेजीमा अनुवाद गर्नुहुन्थ्यो होला ? तर “बिसे नगर्चीको बयान” मा यो सबै भयो किनकि बिसे नगर्ची नेपाल भन्ने देशको सबैभन्दा गरीब, कमजोर, बोल्न नसक्ने, अशिक्षित र सबैभन्दा थिचिएको पात्र हो जसलाई जोसुकैले जुनसुकै वेला सजिलैसित थिच्नसक्छ । सबैलाई यही लाग्यो कि बिसे नगर्ची बहुलाउनु स्वयमसिद्ध सत्य हो । सबैलाई लाग्यो कि बिसेकी स्वास्नी … र छोरी … हुनु स्वयमसिद्ध सत्य हो । काल्पनिक संसारमा कसैकी स्वास्नी …पर्ने भएमा बिसेकै स्वास्नी ठीक हुन्छे र कसैकी छोरी … हुनु पर्यो भने बिसेकै छोरी ठीक हुन्छे । प्रकाशक, नाटक निर्देशक, कलाकार, पत्रकार कसैलाई पनि त्यसमा शंका गर्नुपर्छ भन्ने लागेन ।
“विश्वेश्वर प्रसादको बयान” वा “मदनको बयान” लेखिएको भए त्यो कविता प्रगतिशील हुँदैन थियो भने “बिसे नगर्चीको बयान” कविता कसरी प्रगतिशील हुन पुग्यो ? विश्वेश्वरप्रसाद र मदनको स्वास्नी …, छोरीलाई … गरिंदा, यिनीहरू दुवैले “…मालिक, म बहुलाएँ..” भनेको भए प्रतिक्रियावादी हुने कविता बिसे नगर्चीको स्वास्नी …, छोरीलाई … गरिंदा, बिसेले “…मालिक, म बहुलाएँ …” भन्दा कसरी प्रगतिशील हुनपुग्यो ? विश्वेश्वर र मदनहरूले मालिकहरूका अगाडि ” … थुइक्क विश्वेश्वरे /मदने …” भन्दा प्रतिक्रियावादी हुने कविता बिसे नगर्चीले “…थुइक्क बिसे…” भन्दा कसरी प्रगतिशील हुनपुग्यो ? हाम्रा प्रकाशक, नाट्यकर्मी, पत्रकारहरूले कसरी यो परालौकिक ज्ञान आर्जन गरे जसले भन्छ कि समाजमा कसैको स्वास्नी … पर्यो र कसैको छोरी … हुनुपर्यो भने त्यसको लागि सबैभन्दा सुयोग्य पात्र बिसे नगर्ची नै हो ? उनीहरूले यो रहस्यमय ज्ञान कसरी प्राप्त गरे जसले भन्छ कि विद्रोह जति विश्वेश्वर र मदनले गर्ने हो र … चाहिं बिसे नगर्चीकै छोरीको हुनुपर्ने हो ? हाम्रो समाजले कसरी यो गोप्य कुरा थाहा पाउँछ कि … गर्नु पर्यो भने बिसे नगर्चीको छोरी ठीक हुन्छे र विद्रोह गर्नुपर्यो भने विश्वेश्वर वा मदन ठीक हुन्छन् ? प्रगतिशीलताको यो कस्तो व्याख्या हो ? यो कस्तो दर्शन हो जसले भन्छ कि कुनै काल्पनिक घटना बिसे नगर्चीको जिन्दगीमा घटेमा प्रगतिशील हुन्छ, तर त्यही काल्पनिक घटना विश्वेश्वर वा मदनको जिन्दगीमा घट्दा प्रतिक्रियावादी हुन्छ ?
यसरी पनि बुझ्ने हो कि ! तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धमा आन्दोलन भइरहेको परिप्रेक्षमा गिरिजाप्रसाद वा सुभाषचन्द्रहरूले “म बहुलाएँ” भन्दा आन्दोलन कमजोर हुने भएकोले बिसे बहुलाउनु परेको हो । त्यसो हो भने बिसेले “म क्रान्ति गर्दैछु” भनेको भए भइहाल्थ्यो त । के बिग्रिन्थ्यो र बिसेले “म क्रान्ति गर्दैछु” भनेको भए ? दमाहा बजाउने बिसेले “म क्रान्ति गर्दैछु” भन्दा यथार्थवादी नदेखिने भएकोले बिसेले घुमाएर “म बहुलाएँ” भनेर कथालाई यथार्थवादी बनाइएको हो कि ? यो कहाँको कसको यथार्थवादी दर्शन हो जस अनुसार दलितहरूका नायक बिसे नगर्ची यथार्थवादी देखिनलाई बहुलाउनु पर्ने हुन्छ ? क्रान्ति भन्ने चीज कुन जनावर हो गिरिजाप्रसाद, माधवप्रसाद, सुवाषचन्द्रहरूलाई मात्र थाहा भएको तर बिसेलाई थाहा नभएकोले बिसेले घुमाएर “म बहुलाएँ” भनेको हो कि ? तर २५० वर्षको अपत्यारिलो आयु हुने अद्भुत बिसेले क्रान्ति के हो बुझ्दैन भन्ने तर्क विश्वासिलो छैन ।
वास्तविक संसारका धेरैजसो पात्रहरूले मालिकको विरुद्ध क्रान्ति गरिरहेकोले बिसेले पनि त्यही क्रान्तिमा मिसिएर “म पनि क्रान्ति गर्दैछु” भनेको भए के बिग्रिन्थ्यो र । तत्कालीन तानाशाह राजा ज्ञानेन्द्र विरुद्ध जनताहरूलाई एकत्रित र आन्दोलित गर्न अनपढ, झुत्रो लुगा लगाएको, कमजोर, हिन्दू समाजले सबैभन्दा थिचेको, गरीब, दमाहा बजाउने पात्र बिसे नगर्चीलाई उभ्याइएको हुनसक्छ । यो राम्रै कुरा हो । तर सारा जनताहरूका अगाडि बिसेलाई “म क्रान्ति गर्छु” भन्न नदिएर किन “म बहुलाएँ” भन्न लगाइयो ? जनताहरूको अगाडि बिसेलाई किन “म क्रान्ति गर्ने नेता हूँ भन्न दिइएन ?” सारा जनताहरूका अगाडि किन बिसे बहुलाउनु पर्ने ? वास्तविक संसारमा न मालिकले बिसेको स्वास्नीलाई मारेको छ, न बिसेको छोरीलाई … गरेको छ । अनि सारा जनताको अगाडि किन बिसेलाई भन्न लगाइयो “मेरी स्वास्नीलाई मारियो, मेरी छोरी … भई ?” आन्दोलनको लागि जनताहरूलाई यस्तै रोमाञ्चित कथा चाहिने हो भने “पुष्पलालको बयान” लेखेर पुष्पलालले किन भनेनन्, “मालिक ! मेरी स्वास्नीलाई …, मेरी छोरी … भई । म बहुलाएँ मालिक ।… थुइक्क पुष्पे, यो पुष्पे बहुलायो मालिक…”
यो कवितामा “बहुलाउनु” को साटो “विद्रोह गर्छु” लेखेर प्रकाशित भएको खण्डमा तत्कालीन तानाशाह ज्ञानेन्द्रले कविलाई कैदमा राख्नसक्थे भनेर लाक्षणिक अर्थमा बहुलाउनु लेखिएको हो कि ? यो पनि राम्रै सोचाइ हो । तर यसरी सोचिएको हो भने पनि “गिरिजाप्रसादको बयान” किन लेखिएन ? किन बिसे नगर्चीले नै आफ्नी छोरी … भएको झूटो बयान दिनुपर्ने ? गैरदलित नायकहरूले झूटो बयान किन दिएनन् ? झूटो बयान दिनलाई किन बिसे नगर्चीलाई नै चुनियो ? नाटकमा सबैको अगाडि किन बिसेको छोरीलाई नै … गरियो, बिसेकी छोरीलाई नै किन अंग्रेजहरूको अगाडि नंग्याइयो ?
विश्वेश्वरप्रसाद, मदनले सभाहरूलाई सम्बोधन गर्दा “म विद्रोह गर्छु नभनेर म बहुलाएँ” भनेको मेरो जानकारीमा छैन । तर अद्वितीय, अद्भुत, अलौकिक नायक बिसे नगर्ची भने पहिलो वाक्यदेखि नै “म बहुलाएँ” भन्छ । नेपालको राजतन्त्रविरुद्धको लडाइँमा कुनै नेताले कहिल्यै “म बहुलाएँ” भनेका थिए ? अनि बिसे नगर्चीले किन भन्नुपर्ने “म बहुलाएँ ।”
बहुलाउने पनि नायक हुन्छ र ? वास्तविक संसारमा नेपालमा राजतन्त्र विरुद्ध विद्रोहको नेतृत्व गर्नेहरू गैरदलित समुदायकै हुन् । गैरदलितहरूले राजतन्त्र विरुद्ध विद्रोह गर्दा कि “क्रान्ति गर्छु” भने कि “विद्रोह गर्छु” भने । बिचरा दलितहरूले राजतन्त्र विरुद्ध विद्रोहको नेतृत्व गर्ने अवसर नै पाएका थिएनन् । तसर्थ यहाँ यस्तो कथा निर्माण गरियो – जब बिसेले अवास्तविक संसारमै सही विद्रोह गर्ने अवसर पायो ऊ दलित भएकै कारणले बहुलायो ! बिचरा बिसे २५० वर्ष भन्दा बढी आयु भएको अद्भुत, अद्वितीय, अलौकिक मानिस हुँदाहुँदै दलित भएकै कारणले “विद्रोह” गर्ने वेलामा “बहुलायो !” दलित भएकै कारणले उसको बोली लरबरायो, दलित भएकै कारणले उसले “क्रान्ति” र “विद्रोह” भन्ने शब्द बिर्स्यो र “बहुलायो” !
अवास्तविक संसारमा २५० वर्ष आयु भएका दुई शक्तिशाली पात्रहरू मात्र छन् – ईश्वर हुँ भन्ने दाबी गर्ने मालिक र साधारण मानिसको योनिमा जन्मेको बिसे नगर्ची । बिसे नगर्चीको शरीरभित्र तीन करोड मानिसहरूको आत्माहरू र शक्ति छ । शायद बिसेले आज मालिकलाई तँ ईश्वर होइनस् भन्छ कि ? वा तँ नायक होइनस् भन्छ कि ? म नायक हुँ भन्छ कि ? बिसेले मालिकलाई तँ ईश्वर होइन भन्न खोज्दैछ तर भन्न खोज्दा ऊ बहुलाउँछ । बिसे वास्तविक संसारमा त कमजोर छ नै अवास्तविक संसारमा पनि यति कमजोर भइदिन्छ कि ऊ बहुलाउन पुग्छ । संसारका सबै मानिस बिपनामा नगरे पनि कल्पनामा, सपनामा असम्भव कामहरू गर्छन् तर बिसे बिचरा एउटै त्यस्तो अचम्मको मानिस हो जो कल्पनामा पनि बहुलाउँछ ।
दलितहरूका नायक बिसे शायद सम्पूर्ण शोषित, पीडित नेपालीहरूको प्रतीक हो । शायद सम्पूर्ण शोषित, पीडित नेपालीहरूको नायक हो । तर यो कस्तो नायक हो जो मालिकलाई “तँ ईश्वर होइन भन्न सक्दैन । म नायक हूँ भन्दैन । म क्रान्ति गर्छु भन्दैन ।” र मालिकलाई “मालिक” नै भनिरहन्छ र बहुलाउँछ । यो कस्तो काल्पनिक अवास्तविक संसार हो जहाँ दलितहरूका नायक बहुलाउँछ । विश्वेश्वरप्रसाद, मदन, पुष्पलाल, सुभाषचन्द्र, डा हर्क, माधवकुमार, खड्गप्रसाद, पुष्पकमल, डा बाबुराम कोही बहुलाउनु नपर्ने अवास्तविक संसारमा दलितहरूका नायक चाहिं किन बहुलाउनु पर्ने ? विश्वेश्वरप्रसाद, मदन, पुष्पलाल, सुभाषचन्द्र, माधवकुमार, खड्गप्रसाद, पुष्पकमल, डा बाबुरामहरूले “क्रान्ति गर्ने, विद्रोह गर्ने, नायक बन्ने ” पवित्र लक्ष आफ्नो पुर्पुरोमा लेखेर ल्याएका थिए तर दलितहरूका नायकले आफ्नो पुर्पुरोमा यो पवित्र लक्ष लेखेर ल्याएको थिएन त्यही भएर दलितहरूका नायक बहुलाएको हो त ? त्यही भएर “पुष्पकमलको बयान” नलेखिएको हो ?
यो कविताको कथ्यमा गज्जबको कल्पना छ । मालिक र बिसे दुवै २५० वर्षदेखि ज्युँदै छन् । कल्पनामै सही बिसेले राजनीतिक दल खोलेर मालिक विरुद्ध विद्रोहको घोषणा गरेको भए के बिग्रिन्थ्यो र ? २५० वर्षको आयु भएको अद्भुत नायक बिसेले कल्पनामै भए पनि सङ्गीत पाठशाला खोलेको भए के बिग्रिन्थ्यो र ? २५० वर्षको काल्पनिक आयु भएको दलितहरूका नायक बिसे काल्पनिक रूपमै भए पनि देशकै सर्वश्रेष्ठ सङ्गीतकार बनेको भए के बिग्रिन्थ्यो र ? २५० वर्ष लामो अवास्तविक आयु भएको बिसेले अवास्तविक रूपमै भए पनि संसारको सबैभन्दा ठूलो सङ्गीत वाद्यवादन यन्त्रहरू उत्पादन गर्ने कारखाना खोलेको भए के बिग्रिन्थ्यो र ? बिसेले म बहुलाएको छु नभनेको भए के बिग्रिन्थ्यो र ? २५० वर्ष बाँचेका मनमोहन, गिरिजा, सूर्य बहादुरले म बहुलाएँ भनेनन् त केही बिग्रेन ? दलितहरूका नायक बिसेले म बहुलाएको छु नभनेको भए के बिग्रिन्थ्यो र ? दलितहरूका नायकले विद्रोह गर्दैछु भनेको भए के बिग्रिन्थ्यो र ?
अवास्तविक संसारमा बिसेले मालिक भनेर सम्बोधन गरे पनि पूरै कविताभरि मालिकले कुनै प्रतिक्रिया दिएका छैनन् । यसबाट त यही बुझिन्छ कि शायद त्यहाँ मालिक छँदैछैन । कवितामा त मालिकले सास फेरेको पनि थाहा पाइन्न । यस्तो लाग्छ बिसे एक्लै बरबराइरहेको छ वा काल्पनिक मालिकसित बाझिरहेको छ । घटनाहरू त यसरी पनि घटेका हुन सक्छन् । बिसे मालिकसित कान्तिपुरमा थियो भने बिसेका स्वास्नी, छोरा, छोरी गोरखामा थिए । वर्षहरू बित्न थाले । बिसेले विश्वास गरेका मालिक अत्याचारी हुँदै गएपछि बिसेले पनि विद्रोह गर्ने सोच बनायो । बिसेले विद्रोहको नेतृत्व गर्ने सोच बनाए पछि विश्वेश्वरप्रसाद, मदन, डा हर्क, लक्ष्मीप्रसाद, भानुभक्त, भूपी, गिरिजाप्रसाद, माधवप्रसाद, पुष्पलाल, सूर्य बहादुर, मरिचमान, सुभाषचन्द्र, शेर बहादुर, खड्गप्रसाद, माधवकुमार, पुष्पकमल, डा बाबुरामहरू सबैले बिसेलाई तह लगाउने योजना बुन्न थाले ।
बनेको योजनामा उसको स्वास्नी … पर्नेथियो र छोरी … हुनुपर्ने थियो र त्यही अनुसार योजनालाई कार्यान्वयन गरियो । अनि यिनीहरूले गएर बिसेलाई भड्काएर भने, “बिसे ! मालिकले तेरी स्वास्नीलाई …, छोरीलाई … गरे ।” बिसे बिचरा त्यसपछि बहुलायो र मालिकको विरुद्ध बक्न थाल्यो । त्यसपछि सबैले बिसेलाई समातेर ल्याएर एउटा कोठामा थुनेर राखे र बिसे बिचरा बहुलाएर कोठाभित्र काल्पनिक मालिकको विरुद्ध विद्रोह गर्न थाल्यो । कविले बिसेको यो हालत देख्नुभयो र बहुलाएको “बिसे नगर्चीको बयान” लेख्नुभयो । हैन यस्तो भएको हुँदै हैन भन्ने धेरैलाई लाग्ला । लेखकले बढाइचढाइ गरेर लेख्यो भन्नुहोला ।
मैले अलि अलि त बढाइचढाइ गरेकै हो ! अब त गैर दलितहरूका नायकहरू बहुलाएका नाटकहरू हेरेपछि मात्र बढाइचढाइ गरेको अंशलाई सम्पादन गरुँला । कहिले मञ्चन हुन्छ होला – मनमोहनको बयान ? गिरिजाप्रसादको बयान कहिले प्रकाशित हुन्छ होला ? हुँदै नभएकी छोरी … भएकी झूटो बयान दलितहरूकै नायक बिसेले दिनुपर्ने ? गैर दलितहरूका नायकहरूले बयान दिनु नपर्ने ? दलितहरूका नायक बिसे नगर्चीलाई सार्वजनिक रूपमा जसरी “मेरी छोरी …भई । यो बिसेलाई दशा लाग्यो मालिक । बिसे बहुलायो मालिक…” भन्न लगाइएको थियो त्यसरी नै गैर दलितहरूका नायकहरूले सार्वजनिक रूपमा बयान कहिले दिन्छन् ? गैरदलितहरूलाई प्रगतिशील नाटक हेर्ने रहर छ भन्दैमा दलितहरूकै नायककी स्वास्नी मारिनुपर्ने, दलितहरूकै नायककी छोरी …हुनुपर्ने, दलितहरूकै नायकको घर जलाउनु पर्ने ? कहिलेकाहीं “पुष्पकमलको बयान” नाटक मञ्चन गर्न नहुने हो ?
दलितहरूका नायक बिसे नगर्चीले मालिकको लागि लडाइँमा नगारा बजायो, नरसिंहा बजायो भन्दैमा उसकी छोरी नेपाल भन्ने देश रहँदासम्म गैर दलितहरूका नाति, पनाति, खनातिहरूका लागि प्रगतिशील नाटक मञ्चन गर्न …भइरहनु पर्ने हो ? विसं २०४६ पछि गैर दलितहरूका नायकहरूले पनि सोफामा बसेर मालिकका लागि सल्लाह दिएकै हुन् ! गैर दलितहरूका ती सबै नायकहरूले दलितहरूका नायक बिसे नगर्चीले झैं मालिकबाट तलब थापेकै हुन् ! गैर दलितहरूका नायकहरू त यति धेरै छन् कि कम्तीमा पनि यस्ता बयान दिएका सय वटा कविताहरू लेखिनु पर्ने ? खै एउटा पनि लेखिएन त ? दलितहरूका नायककी स्वास्नी …पछि र छोरी … भए पछि कथा प्रगतिशील हुन्छ भन्ने ब्रह्मज्ञान कुन शास्त्रबाट प्राप्त भयो ?
नायक बिसे बहुलाउनु पर्ने एउटै कारण हो : ऊ गरीब, शक्तिहीन, अल्पसंख्यक समुदायको हुनु । हाम्रो समाजमा परम्परागत रूपमा गरीब र शक्तिहीनको लागि जुन भाष्य प्रचलनमा थियो त्यसैलाई यो कविता, प्रकाशक, कलाकार, पत्रकार सबैले निरन्तरता दिएका छन् : समाजमा जे जति नराम्रो घट्छ सबै गरीब र कमजोरसित घट्छ ।
गरीब नै बुद्धिहीन हुन्छ, उसकै छोरी नराम्री हुन्छे, त्यही नै पोइला जान्छे, बाढीले गरीबकै घर बगाउँछ, गरीबनै धेरै बिरामी पर्छ, परीक्षामा गरिबकै छोराछोरी अनुत्तीर्ण हुन्छन्, गरिबीले नै मान्छेलाई चोर बनाउँछ, गरीब नै फोहोरी हुन्छ, गरीबनै खन्चुवा हुन्छ, गरीबकै छोरा अरब जान्छ, गरीबले नै दुःख पाउँछ, गरीब नै अभागी हुन्छ, गरीबहरू नै असभ्य हुन्छन् । गरीब र कमजोर मानिस “बहुलाउन” चाहिं बाँकी थियो । त्यो पनि यो कविताले पूरा गरिदियो ।
मैले आजसम्म कुनै राजनीतिक दलका केन्द्रीय नेता, कर्मचारीतन्त्रका वरिष्ठ अधिकारीहरू, सिनेमाका वरिष्ठ अभिनेता अभिनेत्रीहरू, वरिष्ठ डाक्टर, इन्जिनियर, वकिल, उद्योगपति, वरिष्ठ पत्रकार, विश्वविद्यालयका उपकुलपतिहरू बहुलाएको सुनेको छैन । बहुलाएका भए पनि सार्वजनिक रूपमै “म बहुलाएँ” भन्दै हिंडेका छैनन् । नेपाल राष्ट्र बैङ्कका कुनै गभर्नरले आफ्नो कार्यालय जाँदा बीच बाटोमा पत्रकार सम्मेलन गरेर “म बहुलाएँ” भनेको छ ? नेपाली सेनाका कुनै सेनाध्यक्षले सार्वजनिक रूपमा “म बहुलाएँ” भनेका छन् ? घरभित्र भनेका भए पनि सार्वजनिक रूपमै “म बहुलाएँ” भन्दै हिंडेका छैनन् ।
तर बिसे नगर्ची नामक अद्भुत नायक भने आफ्नो जिम्मेवारी पूरा गर्न खोज्दा बहुलाउँछ ! नायकहरू (हिरो) नबहुलाउने हाम्रो देशमा बिसे नगर्ची चाहिं नायक बन्ने अवसर आउँदा किन बहुलाउनु पर्ने ? त्यसमा पनि जीव विज्ञानलाई चुनौती दिएर २५० वर्षभन्दा बढी आयु भएको नेपालको अद्भुत , अद्वितीय, शक्तिशाली, अलौकिक “नायक” बन्ने क्रममा थियो बिसे नगर्ची । तर बिचरा वास्तविक संसारमा गरिब र कमजोर भएकै कारणले अवास्तविक संसारमा बहुलाउन पुग्यो । गरीब र कमजोरहरूको लागि जुन भाष्य निर्माण गरेको छ हाम्रो समाजले त्यसैलाई निरन्तरता दिइयो । नायकहरू बहुलाउनु नपर्ने हाम्रो समाजमा गरिब र कमजोर दलित बिसे चाहिं अपवाद भयो । ऊ चाहिं दलित भएकै कारणले बहुलाउनु पर्ने भयो ।
– – – – –
४) गैर दलितहरूका नायकहरू बहुलाएनन् , दलितहरूकै नायक बिसे नगर्ची किन बहुलायो त ?
बिसे नगर्ची निम्न सामाजिक, राजनीतिक, सांस्कृतिक कारणहरूले गर्दा बहुलायो:
१) गैरदलित नायकहरू कहिल्यै नबहुलाउने देशमा दलितहरूका नायक बिसे नगर्ची दलित, कमजोर, गरीब भएको कारणले बहुलायो ।
२) गैरदलित नायकहरूले मात्र विद्रोह गर्नुपर्ने देशमा दलितहरूका नायक बिसे नगर्ची विद्रोह गर्न खोज्दा बहुलायो ।
३) गैरदलित नायकहरूले कहिल्यै बयान नदिनुपर्ने देशमा बाध्यतावश दिएको “स्वास्नी मारिई”, “छोरी… भई” भन्ने झूटो बयानको कारणले बिसे नगर्ची बहुलायो ।
– – – – –
५) निष्कर्ष
“बिसे नगर्चीको बयान” कविताको विनिर्माणवादी पठनपछि निम्न निष्कर्षहरू प्राप्त हुन्छन् :
(क) “बिसे नगर्चीको बयान” कविता गैर दलितहरूका दृष्टिले प्रगतिशील देखिए पनि दलितहरूका दृष्टिले प्रगतिशील कविता होइन ।
(ख) नेपाली साहित्यका सिर्जनाहरू दलितहरूका दृष्टिले प्रगतिशील हुन् वा होइनन् छुट्याउनलाई मार्क्सवादी पठन पर्याप्त छैन र विनिर्माणवादी पठन सहयोगी हुनसक्छ ।
(ग) यदि नेपालमा “नेपाली दलित साहित्य” जस्तो केही छ वा हुनुपर्छ भने त “दलित प्रगतिशीलता” को व्याख्या फरक हुनुपर्छ । नेपाली प्रगतिशील साहित्यभित्र नेपाली दलित प्रगतिशील साहित्य पर्छ कि पर्दैन भनेर पनि विमर्श र छलफल हुनु आवश्यक छ ।
– – – –
बिसे नगर्चीको बयान
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमीन आकाशतिर
आकाश जमीनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दशवटा देखिरहेछु
खै मेरो पैतला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नूनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनु पर्ने ? थुइक्क बिसे
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लबेदा सिउन सक्दिन
नरसिंगा फुक्न, सनाई बजाउन
अथवा कुनै मंगलगान
वा ऋतुगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिनँ
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरू
आज कसरी यस्तरी होचा–होचा भए
हिजोका ती सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौंदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ । मालिक ! म बौलाएँ ।
मालिक !
हजुरको तरवारले टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परें म
अढाई सय वर्षदेखि म तपाई समक्ष छु
मालिक !
म कसरी आतंककारी हुन सक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ
हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भने हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो
बराबर हो भने हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले
मेरै भगवानलाई पनि गाली गरे हुँला
मालिक !
मान्छे बौलाएपछि
आफैंसित पनि निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि –
मैले तुनेका थाङनामा हुर्केका
मेरा दरसन्तानहरू कहाँ-कहाँ पुगे
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा
र बगेका रगतहरूले मलाई उक्साएर
तरवारले आर्जेको मुलुकभन्दा मैले
धागोले उनेको मुलुक विशाल ठाने हुँला
मालिक !
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ !
मेरो टाउको फनफनी घुमिरहेछ
जमीन आकाशतिर
आकाश जमीनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।