सुरज उपाध्याय

सितलो दिएन सानु सिमली पातैको छायाले
पगाल्न सकेन तिमीलाई जनताको वर्गीय मायाले ।
सपनाको पोको बोकी डुल्थ्यौ गाउँघर
भुल्यौ आज आफ्ना वचन भयौ परपर
यति बेला खाका छौ रे मसिनो र मीठो
त्यति बेला हामीसँगै खान्थ्यौ आँटोपिठो ।
सितलो दिएन सानु सिमली पातैको छायाले
पगाल्न सकेन तिमीलाई जनताको वर्गीय मायाले ।
तिमीलाई देशको माया भाको भएदेखि
आउने थियौ भेट हुन घुँडो मुन्टो टेकी
धोका दियौ हामीलाई बिराएर बाटो
के पाए र निमुखाले बलिदानको साटो ।
सितलो दिएन सानु सिमली पातैको छायाले
पगाल्न सकेन तिमीलाई जनताको वर्गीय मायाले ।
 जबसम्म जान्छौँ हामी सामन्तको जन्त
 तबसम्म असम्भव छ गरिबीको अन्त
कसलाई भनूँ कसलाई सुनाऊँ हाम्रा दुःखव्यथा
जनताको दुःख देख्ने छैन कुनै नेता ।
सितलो दिएन सानु सिमली पातैको छायाले
पगाल्न सकेन तिमीलाई जनताको वर्गीय मायाले ।