कुसुमभन्दा कोमल हुन्छ मान्छेको भावना
सियाँलभन्दा शीतल हुन्छ प्रीतिको कामना

बैंसको लाली गुराँस फुल्छ तनको पाखामा
प्रभाती लाली चेतनाखुल्छ मनको आँखामा

जीवन बित्छ गरेर नित्य कर्मको साधना
कुसुमभन्दा कोमल हुन्छ मान्छेको भावना

शीत र ताप सहेर फुल्नु हो सत्य सृष्टिको
कुरूप पनि सुन्दर देख्नु हो शोभा दृष्टिको

पाइन्न प्यार नगरेसम्म घृणाको सामना
कुसुमभन्दा कोमल हुन्छ मान्छेको भावना

 

<>

 

माया मारी मायालुले गरेपछि घात
आँखाभरि बर्सिरह्यो असारको रात

पहिरोमा पऱ्यो आजै भरोसाको डाँडा
छातीभित्र बिझ्यो राजै बचनको काँडा

साह्रै स्वार्थी हुँदा रै’छन् मानिसको जात
आँखाभरि बर्सिरह्यो असारको रात

आएपछि छातीभित्र सम्झनाको हुरी
चल्यो राजै कलेजीमै वेदनाको छुरी

भित्रभित्रै जलनले पोलिरह्यो आँत
आँखाभरि बर्सिरह्यो असारको रात