बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ?  लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको   “बाछिटा प्रकाशनमाला-२९ मा अनु विज्ञप्ति, सम्झना कुँवर, रेणुका भट्टराई, निर्मला सुवेदी र दुर्गा वनबासीका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

•~<>~•

१.अनु विज्ञप्ति

हिमाल
आस्थाको शिर
कमाल

बाछिटा
भावको पुष्प
बाटिका

उच्चता
कर्ममा स्वार्थ
तुच्छता

प्रचार
झुटको खेती
अपार

दिवश
सन्ध्यामा मृत्यु
विवश

भावना
बाछिटा कुँद्ने
चाहना

सृजना
सङ्गीतमय
झरना

बहार
प्रेम हिउँदे
पहार

उजार
मनको आस
निस्सार

उदार
घामको न्यानो
पियार

ढलान
घरको ओत
दलान

जवान
शक्तिको लाली
बिहान

•~~<>~~•

२.सम्झना कुँवर

चर्को छ
घाम सिन्दुर
धर्को छ

मिलन
प्रेमिल पुष्प
जीवन

सुटुक्क
फूलमा भृङ्ग
लुटुक्क

यारको
इख अगेनो
प्यारको

धनको
धब्बा तुवाँलो
मनको

कडाइ
कठिन पथ
पढाइ

रातको
चट्याङ कडा
बातको

कायाको
सुन्दर छवि
मायाको

माथमा
आशिष भारी
साथमा

ज्ञानको
अनन्त तिर्खा
ध्यानको

सम्झना
झरीमा घाम
बिर्सना

टुप्पामा
कर्मको फल
झुप्पामा

•~~<>~~•

३.रेणुका चौलागाई

लम्कियो
गन्तव्य चुली
चम्कियो

चटारो
काम फलमा
झटारो

वनको
काँडा वेदना
मनको

जुटेको
स्यालले सत्ता
लुटेको

निकास
ढलमा जाम
विकास

हिमाल
हाँसेको देश
नेपाल

सरल
जीवन मैन
तरल

जनमा
घमण्ड जालो
मनमा

जोवन
फल्ने र झर्ने
जोवन

संसार
सागर सृष्टि
अपार

श्रीखण्ड
राष्ट्रिय स्वत्व
अखण्ड

पौरख
सौरभमय
गौरव

•~~<>~~•

४.निर्मला सुवेदी

सलल
नदी जीवन
सकल

बहार
तराई सुन
भण्डार

कसार
मिठो श्रमको
असार

साकार
सृजना खेती
आकार

रमिता
उजाड नारी
अस्मिता

शरीर
स्वस्थता देव
मन्दिर

सरिता
भावनामय
कविता

बाछिटा
बिम्बविधान
बनिता

गजल
झरर झर्ना
सजल

पिरती
मनको मूल
सम्पत्ति

हृतल
शान्त पोखरी
निर्मल

सुरम्य
चेतना बस्ती
सुगम्य

•~~<>~~•

५.दुर्गा वनबासी

मिलाप
पूर्णिमा अस्त
विलाप

बतास
व्यथामा मन
हतास

सडक
जुलुस हुरी
भडक

विकास
जमेको बाँध
निकास

आस्तिक
आगो र हुरी
नास्तिक

पसिना
श्रमको दाना
असिना

लङ्कामा
दम्भ डढेलो
शङ्कामा

मेवाको
सुस्वादु फल
सेवाको

काँचो छ
काकार दिने
साँचो छ

जागृति
जग जीवन
संस्कृति

रविको
तेज चेतना
कविको

पवित्र
भावको सभ्य
चरित्र

•~<>~•