बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप, दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।
बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा गरिन्छ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्छ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ ।
बाछिटाको तीन पङ्क्तिबिच भाव र अर्थगत सामञ्जस्यता हुनैपर्छ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ ।
बाछिटालेखनमा उल्लिखित मान्यताको सर्वोपरि महत्त्व रहेको छ। तीन-पाँच-तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । बाछिटा काव्यिक उपविधा हो । यसको लेखन सहज पनि छ र असहज पनि छ । बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्न सकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्न सक्छ । साथै मानवजीवन र मानवजीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतीकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवनभोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटालेखन सहज बन्छ ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन् । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपो
-अमर त्यागी
पाँच दर्जन बाछिटाहरू
१. पुष्प अधिकारी अञ्जलि
फाल्दै छु
आगामा रोष
बाल्दै छु
बाटाले
माग्दैन श्रम
माटाले
जिन्दगी
दु:खको रात
अँधेरी
तराई
लाग्छ आफ्ना नै
पराई
बुद्धको
आँखामा घाउ
युद्धको
छेपारे
रङ्ग बदल्छ
बेसारे
लस्कर
सीममा स्याल
तस्कर
सेताम्मे
केश शिरको
तुषारो
सुन्दरी
कुरूप मन
किन्नरी
हिमाल
मुस्कान मुटु
नेपाल
साहित्य
भाषा प्रभाती
लालित्य
सबुत
दिल चोरेको
कबुल
<><><>
२. सुरेश काफ्ले विदारक
सर्कस
जिन्दगी यात्रा
सकस
निकास
सरल मन
विकास
ढुकुर
प्रेम प्रतीक
सुन्दर
सलल
पानीझैँ प्रेम
कोमल
चरित्र
बाहिरी बोक्रा
विचित्र
विद्वत्ता
शारदी लाली
सभ्यता
कलेजो
दियोको ज्यान
सलेदो
चिचेट
अन्तिम यात्रा
टिकेट
विकृति
भ्रस्टाचारको
स्वीकृति
आदर
अहङ्कारको
चादर
पसिना
सत्यको खोज
मसिना
इमान
बाहिर भित्र
समान
<><><>
३. गोविन्द खनाल
साहित्य
उज्यालो छर्ने
आदित्य
सृष्टिमा
युवाको दृष्टि
कृषिमा
शिष्टले
सुगन्ध छरे
पुष्पले
सत्तामा
जोड्कै ताण्डव
भत्तामा
श्रीमती
उज्यालो भर्ने
सम्पत्ति
समृद्ध
पूर्व कालको
विज्ञान
सँधेरी
दम्भले भयो
अँधेरी
नम्रता
हिमाल चुम्ने
एकता
मितेरी
घामछायाको
मझेरी
सरल
मीठो मुस्कान
असल
मनोज
मनमोहक
असोज
इमान
उच्च शिखर
समान
<><><>
४. हिरालाल खनाल
सचित्र
जीवन्त कला
विचित्र
भोकाझैँ
कुर्चीमा लिप्त
जुकाझैँ
यो आश
अँध्यारोबिच
प्रकाश
सराबी
बैँसालु ओठ
गुलाबी
जुनेली
सुन्दर मन
उजेली
पेचिला
काँडाबिचमा
कोपिला
प्रणय
बैँसालु मन
अभय
अनादि
मृत्यु अनन्त
समाधि
छायामा
सुस्ताऊँ पल
मायाँमा
जवानी
बगेर जाने
त्यो पानी
जनको
जिन्दगी यात्रा
वनको
जीवन
फूल र काँडा
सङ्गम
<><><>
५. रामपुकार साह
जूनले
मुहार राम्रो
गुनले
हाँसो छ
जनको मत
नासो छ
शिक्षित
ज्ञानको मूल
दीक्षित
दोकान
सत्य असत्य
मैदान
राजले
रावण रोक्छ
बाजले
मिलन
गाउँले सान
सम्मान
शङ्काको
डढेलो आगो
लङ्काको
फटाहा
देशको साढे
लुटाहा
बैँसालु
वसन्त लीला
नशालु
गगन
जूनताराको
लगन
बहार
वसन्त प्रेम
पहार
देशको
शान सौन्दर्य
भेषको
<><><>
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।