राजेश स्पन्दन

आफू फूल अनि मलाई भमरा बनाएकी हौ कि?
त्यो जवानी मेरै लागि हराभरा बनाएकी हौ कि?

ती कदममा प्रेमका पत्र बिछ्याइदिनेछु पक्कै म
बिन्ती बिसाउन मलाई बिचरा बनाएकी हौ कि?

त्यो जवानी कसले अधिकार गर्ने फैसला गऱ्यौ त
उपस्थित नै हुन भनी कठघरा बनाएकी हौ कि?

रूपमा तिम्रा त्यो आँखा लाग्छ कि वैरीका प्यारी
नलुकोस् है यौवन भन्दै खतरा बनाएकी हौ कि?

कसिलो जवानीलाई तानूँ कसरी सोचमग्न रहेँ,
मेरै लागि वार्तालापको लहरा बनाएकी हौ कि?

 भक्तपुर