आचार्य प्रभा

बोल्दा सत्य कुरा समाजमा, अराजक ठहरिएँ
भ्रष्ट अनि पापिष्टका लागि, सधैँ बाधक ठहरिएँ

सोचून् जस्ले घमण्डी नै, हुँ म स्वाभिमानी आफ्नो निम्ति
हिँड्दैथेँ सत्यको बाटोमा, दोषी अचानक ठहरिएँ

थियो चाहना जीवनलाई सफल बनाई डोर्याउन
गरिएन झेल कसैसँग कैल्यै तर भ्रामक ठहरिएँ

नभएको कहाँ हो र ? जोश जाँगर अरुकोजस्तै
जति विवेकले काम गरे नि, आखिर बालक ठहरिएँ

छैन पाउ मोल्ने प्रवृत्ति आफ्नो स्वार्थ र लालचमा
सोझो निःस्वार्थी बन्दा कुविचारको उपासक ठहरिएँ

अमेरिका