
अनायस ढोका कसैले ढक्ढ्क्याएको कारणले ऊ निन्द्राबाट बिउँझी। ढोकामा उस्कै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा उ अन्योलमा पर्नु स्वभाविक थियो पनि।
जुनाले हत्तपत्त उस्लाई नमस्ते गरी अनि भित्र पस्न आग्रह गरी । राजिव पनि संकोच मान्दै भित्र पस्यो र कोठाको चारैतिर दृष्टि फ्याँक्न थाल्यो। भित्तामा तस्बिरहरु झुन्ड्याइएकाथिए जुन तस्बिरहरुमा “जुना” र उस्का स्वर्गिय श्रीमानका रमाईला पलहरुका दृश्यहरु मुस्काइरहेकाथिए । ति तस्बिरहरुलाई हेरेर राजिवका आँखाहरु र्रसाइसकेकाथिए। ऊ भित्र भित्रै आफ्नै मनसँग कुरा गरी रहेको थियो । आखिर “दैवले पनि यस्तै अन्जान र निर्दोष मान्छेहरुलाई मात्र सजाय दिंदो रहेछ “भनी।

आचार्य प्रभा
यसरी आफ्नै मनसँग आँफै राजिव हराइरहेकोबेला अनायस जुनाको उपस्थितिले राजिव झस्किन्छ । जुना हातमा कप प्लेट लिएर उस्को अघाडी चिया लिने आग्रह गर्दै छेवैको सोफामा बस्छे। उस्लाई कता कता अप्ठ्यारो महसुश पनि भैरहेको हुन्छ र मनमा कौतुहलता पनि जागी रहेको हुन्छ । “आज राजिव किन मेरो घरमा अनायस आयो “?भनेर त र पनि ऊ सोध्न सक्दिन र मौन बनेर बस्दछे । यत्तिकै बिचमा राजिवले त्यो कोठाको सुन्यता भंग गर्दछ। “जुना जि म तपाईंलाई एउटा ‘सर्प्राइेज’ दिन आएको “जुना झस्किन्छे र पर्श्न गर्छे।” कस्तो सर्प्राइेज ?के म थाहा पाउन सक्छु ?”
राजिव भन्न थाल्दछ “जुना जि तपाईंको श्रीमान हाम्रो अफिसको एउटा योग्य कर्मचारी हुनुहुन्थ्यो हामी वहाँको सधैं स्रहाना गर्छौ त र वहाँ अफिसको निम्ती योग्य भए पनि आफ्नो कुलतको कारणले चाँडै हामीबाट बिदा हुनुभयो त्यसैले हामी प्रत्येक बर्ष वहाँको सम्झनामा अफिसमा सानो सम्झनारूपी कार्यक्रम गर्दछौं। यस् पटक भने तपाईं पनि हुनुहुन्छ र तपाईंलाई पनि हाम्रो अफिसमा त्यही सन्दर्भमा स्वागत गर्न चाहन्छौं । म यही खबर गर्न आएको हुँ अन्यथा नलिनु होला अहिले म गएँ ”
राजिवको कुराले जुना मौन बनी । उस्लाई कता कता खुशी पनि लाग्यो भने आफ्नो अतित बल्झिएर पनि आयो । उस्लाई बल्ल मात्र थाहा भयो कि आफ्नो श्रीमान बितेको भोली पाँच बर्ष पुग्नेछ भनी । भोली पल्ट बिहानै जुना अफिस जानकोलागी तयारी भई। उस्लाई सदा झैं त्यो दिन रंगीन लुगा लगाउन मन लागेन । उस्ले फिक्का रंगको साडी लगाइे । सदा झै उस्लाई त्यो दिन श्रिङ्गार पटार गर्न मन लागेन। मानौ उस्लाई साँच्चै त्यो दिन आफु बिधुवा भएको आभाष भयो । ऊ अन्य दिनभन्दा बेग्लै देखिएकी थिइे ।
अफिसमा सबै कर्मचारीहरु भेला भैसकेकाथिए । एउटा कोठामा कार्यक्रमको तयारी भैरहेकोथियो । उक्त कोठाको भित्तामा जुनाको स्वर्गिय श्रीमानको तस्बिर टाँगिएको थियो। फूलमाला अबिरले तस्बिर सजिएको थियो। सबैजनाले उक्त तस्बिरमा सम्बेदनाका अबिर र माला चढाइरहेकाथिए । जुना पनि त्यँहा पुगी । सबैले जुनालाई एकैसाथ हेरे उस्को मुहार मलिन थियो । आँखामा आसुँ छचल्किएको थियो । राजिवले जुनाको त्यो स्थिति अझ गहिरिएर मलिन भै हेरिरहेको थियो। सबै जना उक्त तस्बिरको नजिक भएर पूजा गर्न थाले । राजिव पनि तस्बिर नजिक गएर पूजा गर्न थाल्यो। जुना आफ्नो स्वर्गिय लोग्नेको तस्बिरमा पूजा गरि सकेर तस्बिरमा ढोग गरेर के शिर उठाइरहेकी थिइे राजिवको हातको फूल र अबिर जुनाको शिरमा ठोक्किएर उस्को सिउँदोभरी छरिन पुग्यो । सबैजना किङ्कर्तब्यबिमूढ बने। राजिवले नतमस्तक बनेर जुनालाई माफि माँग्दै भन्यो । “जुनाजी वास्तवमा यो अप्रत्याशित घटना भयो त…..र म वास्तविक जीवनमा नै तपाईंको सिउँदो रंगिएको हेर्न चाहन्छु । ”
जुना अन्योलमा परी । राजिवलाई भन्ने शब्दहरु ऊभित्र थिएन । ऊ मौन बनी अनि एकपटक राजिवलाई पुलुक्क हेरेर निहुरी । सबैले मौन बनेर जुनालाई एकटकले हेरिरहेकाथिए। जुना बाहिरिन खोजीरहेकी थिइे। सबै मित्रहरुले उस्लाई त्यही रोके र एउटी महिला मित्रले जुनालाई भन्न थालीन् । “जुना जि आज हामी तपाईंलाई एउटा अनुरोध पनि गर्न आएका छौं। के तपाईं हाम्रो अनुरोध स्वीकार गर्नु हुन्छ ?”जुनाले आश्चर्यचकित हुँदै सबैतिर नजर फ्याँक्दै भनी । “कस्तो अनुरोध ?”उही महिला मित्रले फेरि कुरा अघाडी बढाइन् । “जुना जि हामी चाहन्छौ कि तपाईंको यत्ती लामो जीवन अब उसो एक्लो नबनोस् किन कि यो समाज र यस्को रितिरिवाज हर बिधुवाहरुको ईच्छा बिपरित छ । हामी त्यो चाहँदैनौ ।”
जुना नतमष्तक बनेर त्यो महिलाको कुरा सुनिरही। उस्का आँखा अघाडी अतित सल्बलाउन थाले। उस्लाई राजिवको केही ब्यवहारको झझल्को आयो। ऊ त्यो अफिसमा संलग्न भएको बर्षदिनभित्रमा राजिवबाट निक्कै मद्धत अनि सामिप्यता पाएको महसुश गरेकी थिइे जुनाले । बल्ल मात्र उस्लाई आभाष भयो कि राजिव पहिले देखी नै ऊप्रती आकृष्ट भएको रहेछ भन्ने। ऊ किङ्कर्तब्यबिमूढ बनी र उस्ले मौन भाषामा नै सबैलाई बिदा मागी।
जुना त्यँहाबाट निस्केर घर तिर लागी । घर पुगेर कपडा फेरिवरी आफ्नो सिउँदोमा लागेको रातोरंग टक्ट्क्याउँदै एैना अगाडि उभिरहेकी थिइे । एैनाबाट नै फेरि उस्ले ढोकामा राजिवलाई खडा भएको देखी। ऊ राजिवतिर फर्की अनि प्रश्न सुचक नजरले राजिवलाई हेरी । राजिवको हातमा एउटा बन्द खाम थियो । उस्ले त्यो खाम जुनातिर अघी बढाउँदै भन्यो। “जुना यो तपाईंलाई मेरो अनुरोध पत्र “। जुनाले कुनै प्रत्युत्तर नदिइे उक्त खाम थापी। राजिव त्यो खाम जुनाको हातमा थमाएर फर्क्यो।
जुनाले हातमा खाम लिएर राजिव ओझेल नभइन्जेल सम्म हेरिरही । बल्ल मात्र जुनालाई कता कता राजिवप्रती मायाको अँकुर पलाए झैं लाग्यो । त र पनि ऊ बिवश थिइे आफ्नो अतित सँगाल्न । ऊ असमन्जसमा परी भविष्य कस्को हातमा सुम्पने भनी ?जुनाले केहीक्षण पस्चात उक्त खाम खोली। खामभित्र अन्य केही लेखिएको थिएन केवल चार हरफ कबितामय लहरहरु लेखिएका थिए ।
“आउ आज म तोडिदिन्छु समाजको यो बन्धन
पन्साउँन चाहन्छु म तिम्रो पीडा र क्रन्दन
बसाउँ हामी नयाँ युगको संसार आज
दिनेछु साथ अब म खुलेर यो समाज माझ “।
जुनाले ति हरफहरु पढी त र पनि उस्लाई कता कता असहज लाग्यो किनकी उस्ले भविष्यको बारेमा त्यस्तो केही सोँचेकि थिइेन। अनायस उस्को जीवनमा आएको परिवर्तनले ऊ असमन्जसमा परी । ऊ एक्लै सोंचमा डुबिरही । राजिवलाई के उत्तर दिने ?अन्योलमा अल्झिएर उस्ले राजिवको त्यो प्रस्तावलाई मनभित्रभित्रै थाँती राखी अनि मन मनै भनी “मौन स्वीक्रिती भविष्यलाई “।
अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










