कवि मीना श्रेष्ठ जो मेरा लागि अल्पपरिचित नै हुनुहुन्थ्यो तबसम्म, जबसम्म मैले कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानको ‘साहित्य फाँट कलरव धरानको जम्काभेट’ कार्यक्रमसम्म पुग्ने अवसर पाएकै थिइनँ । तर जब श्रावण महिनाको दोस्रो शनिवारको जम्काभेट कार्यक्रममा जाने साइत जुर्यो तब मैले /प्रदेश न १ को सांसद कवयित्री श्रेष्ठमार्फत वहाँको दोस्रो कवितासंग्रह प्राप्त गरें ।
यसअघि मैले वहाँको सृजना न कहिल्यै सुन्ने, पढ्ने मौका पाएकी थिएँ, न वहाँलाई कुनै कार्यक्रममा भेटेकी थिएँ । यसको कारण पक्कै म प्रवासिनुको बाध्यता थियो ।
हुन त अहिलेको समयमा सामाजिक सञ्जाल फेस्बुकबाट पनि धेरैजस्तो कवि,लेखक,स्रष्टाहरूको सान्निध्य पाइन्छ त्यस दिन उहाँले वाचन र चुस्की कार्यक्रममा आफ्नै दोस्रो कविता संग्रहको ‘फर्गेट एस्टर्डे’ शीर्ष कविता
वाचन गर्नुभयो । म वहाँको उक्त कविताबाट अत्ति प्रभावित भएँ ।
मैले उक्त संग्रह अध्ययन गरें । मेरा नजरहरू शीर्ष कविता फर्गेट एस्टर्डेमै पर्यो । त्यस कवितामा यौन भावको पनि कहीं कतै छनक पाइन्छ । एक युगल जोडीको एकान्तको भेटमा अप्रत्याशित रूपमा नै पनि यौनको उन्मादले एकार्कामा नचाहेको घटना पनि घट्न सक्छ, जुन प्रकृतिको वरदान नै मान्न सकिन्छ । जब मनसँग मन जोडिन्छ, मनले मन जित्छ अनि त्यहाँ अपनत्व जन्मिन्छ र नचाहेको गल्ती पनि हुन सक्छ भन्ने किसिमको भाव कवयित्रीले बताउनु भएको छ ।
आफू दोषीको भागीदार बनेर हिजो बितेको घटनाप्रति क्षमा माग्दै विगतको कुरा बिर्सी दिन कविताको ती पात्रले क्षमायाचना गर्छ । नेपथ्यमा पुरुषलाई उभ्याएर आफैं नै पुरुषको प्रतीक बनेर क्षमा प्रार्थीको अनुनय विनय गर्नु भएको छ कविले । यो बिम्बात्मक प्रयोग हो ।
आजकालका नयाँ पुस्ताका कविताहरू भावको दृष्टिले निकै वजनदार देखिन्छन् । आफ्नै थातथलो, जाति अनुसारको मुन्धुम, रीतिरिवाजलाई मुख्य विषय बनाएर लेखिएका ती कविताहरू सान्दर्भिक मात्र होइन, सांस्कृतिक पहिचानका प्रतिनिधि पनि बन्न पुगेका छन् । जसका कवितामा आफ्नो जातीयता, स्थान र भाषाको आभास स्पष्ट पाइन्छ । तथापि, यी सबका वाबजूद कतिपय कवितामा साहित्यिक शब्द, बिम्ब र प्रतीकको कमी भएको भान पर्न जान्छ — यो मेरो निजी विचार हो । तर श्रेष्ठका कविताहरू भने अपवादजस्ता लाग्छन् । उहाँका कवितामा प्रशस्त साहित्यिक शब्द, बिम्ब र प्रतीकको सशक्त प्रयोग भेटिन्छ ।
‘फर्गेट एस्टर्डे’ कविताको मूल आशय हो— बितेको दिनमा जे भयो, त्यो त्यहीँ छोडौँ; पुराना गल्ती र पीडा बिर्सेर नयाँ दिन, नयाँ सोच र नयाँ जीवनयात्राको थालनी गरौँ । यस कवितामा यौनभाव पनि अभिव्यक्त भए तापनि, त्यो प्रेमी–प्रेमिकाको मात्र कथा होइन । यसलाई व्यापक अर्थमा लिँदा, मानिस जीवनमा जे–जस्ता कमीकमजोरी हुन्छन्, ती गल्तीलाई आत्मग्लानिमा अड्किएर बस्नु व्यर्थ हो; बरु भोलिको दिनमा नअलमलिई अघि बढ्नु पर्छ भन्ने सन्देश भेटिन्छ । कवि आफैँ पात्र बनेर, “हिजोको दिन बिर्सौं” भन्ने आह्वान गर्नु भएको छ ।
विशेषतः एक नारी कलमले यति निर्भीकताका साथ यौनभावको प्रयोग गर्नु आफैँमा साहसिक कुरा हो, जसलाई सम्मानपूर्वक सराहना गर्नैपर्छ ।
यस्तै अर्को भावुक र मार्मिक कविता हो— ‘भत्किएको सम्बन्ध’ । यो कविता कविको मनमा गुन्जिएका पीडादायी अनुभूतिहरूको रूपान्तरण हो । स्वार्थको मैलो धब्बाले स्वच्छ प्रेमलाई कलुषित बनाइदिएको, चोखो सम्बन्धलाई छिन्नभिन्न पारेको मार्मिक दृश्य यसमा अङ्कित छ । भत्किएको सम्बन्धको पीडामा एक प्रेमिल आत्मा आक्रान्त हुन्छ र आफ्नै स्वार्थी जोडीलाई अनुरोध गर्छ— “अब नयाँ सम्बन्ध नखोज, म तिमीलाई मेरो सम्पूर्ण प्रेम समर्पण उपहार स्वरूप अर्पण गर्छु ।”
यसरी कवयित्रीका कवितामा देखिएको भावनात्मक साहस, गहिराइ र प्रतीकात्मकता प्रशंसनीय लाग्छ ।
आफ्नो समर्पित प्रेमलाई बारबार सम्झिएर एक प्रेमिका तड्पिएकी छन् । स्वार्थले भरिएको प्रेमलाई पनि बिर्सन नसकेर उनी आफ्नो मनलाई सान्त्वना दिन्छिन् । आफ्नो स्वच्छ प्रेम र सम्बन्धलाई कलङ्कित अनि निरीह देखेर कसरी स्वार्थी प्रेमीहरू टाढिन्छन् ? र सम्बन्धलाई भताभुङ्ग बनाउँदछन् भन्ने उदाहरण यो ‘भत्किएको सम्बन्ध’ कविताले उजागर गरेको छ ।
विभिन्न शीर्षक र स्वादमा कविले आफ्ना कविताहरूलाई आकर्षक शब्दजालमा बेर्नुभएको छ भन्ने थुप्रै यस्ता प्रतिनिधिमूलक कविताहरू छन् । म सबैको यहाँ उदाहरण दिन असमर्थ हुन्छु शायद । म फेरि अर्को कविताको भाव यहाँ प्रस्तुत गर्न चाहन्छु । जुन कविता वाचनपश्चात जो कोही पाठकको मनमा मातृप्रेमको भाव सलबलाउँछ र यो बीसौं शताब्दीमा पनि महिलाहरूले पितृसत्ताको अहंकारमा बाँच्न परेको बोध गराउँछ ।
कविताको शीर्षक हो – ‘पहिचान आमाको’ । यस कवितामा कविले नारीहरूले सन्तान जन्माउँदा सहनुपर्ने कष्ट र पीडालाई हृदयस्पर्शी ढङ्गले चित्रण गर्नुभएको छ । नौ–नौ महिनासम्म गर्भ बोकेर बस्दा आउने कठिनाइ, खानाको रुचि हराउनु, आवश्यक खुराक नपाउने गरी अभावग्रस्त अवस्थामा गर्भधारण गर्नु, असह्य पीडा र कमजोरी भोग्नु पर्ने अवस्था—यी सबैलाई श्रेष्ठले मार्मिक ढङ्गले प्रस्तुत गर्नुभएको छ । अझ सन्तान जन्माउने बेला आफ्नै ज्यानसम्मको कुनै भर नहुनु, कतिपय अवस्थामा आमाको ज्यानै जाने जोखिम हुनु पनि आमाको पीडाको अविचल सत्य हो ।
यी सकस सहेर सन्तानलाई जन्म दिएपछि पनि आमाले आफ्नै नामबाट पहिचान नपाउनु कविको गुनासो बनेको छ । अस्पतालमा बच्चा जन्माउँदा आमाको नाम लेखिन्छ, तर त्यो परिचय अस्पतालको शय्यासम्म मात्र सीमित हुन्छ—’कसले बच्चा जन्माइन् ?’ भन्ने पहिचानका लागि मात्र । तर बच्चा हुर्कँदै जाँदा जन्मदर्ता आवश्यक हुन्छ, नागरिकता लिनुपर्छ, अनि त्यसमा बाबुको नाम मात्रै प्रमुख परिचय बन्छ, आमाको पहिचान भने ओझेलमा पर्छ ।
प्रसव पीडामा सहेका असह्य व्यथा, चिच्याइरहेको शरीरको करुण चित्कार, अनि सन्तानले पहिलो पटक धरा छोएर रुन थालेको त्यो ‘च्याँ–च्याँ’ आवाजभित्र आमाको ममत्व र अपनत्व रहन्छ । तर त्यही आमाको योगदानलाई समाजले नाम–पहिचानबाट वञ्चित गरिदिन्छ ।
यसरी ‘पहिचान आमाको’ कविताले आमा बन्नुको मर्मलाई अति सूक्ष्म र मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । यस कविताले जो–कोहीलाई पनि आमाप्रतिको कृतज्ञता, श्रद्धा र समर्पणमा मर्माहत बनाउँछ ।
त्यस्तै जम्माजम्मी १ सय ७२ वटा कविताले आ-आफ्नै प्रकारका विशेषता र भाव बोकेका छन् । जुन यो छोटो समीक्षात्मक टिप्पणीमा लेखेर सकिन्न । यहाँ मलाई मन परेको तर अलिक बुझ्न कठिन जस्तै लाग्ने क्लिष्ट कविता – ‘जिन्दगीको प्रयोगशाला’ जसलाई मैले यसरी बुझ्ने प्रयास गरें । जुन बुझाइले यस कविताको भावमा न्याय गर्छ ? या गर्यो ? गरेन ? म रनभुल्लमा पर्दै पनि आफूले बुझे अनुसार यो कविताबारे केही बोल्ने दुस्साहस गर्दैछु ।
हर मान्छे आशावादी हुन्छन् र जीवनको मीठो भोगाइ या सफलताको दिवास्वप्नमा जो कोही बाँचिरहेका हुन्छन् । तर जीवन बचाइमा कहिलेकाहीं कायापलट भएर सोचे विपरीत हुन पुग्छ । मान्छेले जे सुनौलो आशा गर्छ । त्यो निराशामा परिभाषित भइदिन्छ । तब मान्छेको आकाशिएको चाहना एक्कासि आफूले टेक्ने धर्तीमा खस्छ । तब ऊ अभीशप्त जीवनको कुण्ठा बोकेर बाँच्न बाध्य बन्छ र उसले आफ्नो जीवनलाई नै एउटा प्रयोगशालामा प्रयोग हुने बस्तु सम्झिन्छ । कहिले सुखको किरण छरेर प्रयोग हुन्छ जिन्दगी । कहिले दुःखको भुमरीमा हुत्त्याएर प्रयोग हुन्छ । यसरी जिन्दगीको प्रयोगशालामा मान्छेले आफ्नो जीवनलाई प्रयोग गरिरहेका हुन्छन् । जो आशा र निराशाको रोटे पीङमा चक्कर लगाइरहन्छ ।
हुन त म खास समीक्षक र समालोचक त हुइनँ तथापि केही अध्ययनको भरमा यो कविता संग्रहबारे आफूले पढेर मनन गरेको विचार पोख्ने अभीष्ट राखें । हरेक कुरामा कमजोर पक्ष र सबल पक्ष दुवै हुन्छन् । यस संग्रहमा केही कविताहरू भने लामा छन् जुन भाव अगाडि नै आइसकेर पनि शब्दहरू धेरै थपिएका हुन् कि ? भन्ने भान पनि हुन्छ । यस्ता लामा कविताहरू पढ्दा आख्यान विधा पढे जस्तै महसूस पनि हुन्छ । उसो त गद्य कविताहरू आख्यान विधासँग मिल्दोजुल्दो हुन पनि जान्छ तर त्यसको बनावट, संरचना मिलाउन सक्नु कवि/कवयित्रीको आफ्नो कला वा खुबी हो ।
उसो त कविताको लेखन विशिष्ट नभए पनि कमजोर चाहिँ छैन । हर कविताहरू मेरा नजरमा कम्सल भावका पनि छैनन् ।
प्रत्येक कविताका भाव सशक्त र जुरमुराउने किसिमका छन् । सबै कुरा मिलाउन खोज्दा कहीं, केही छुट्पुट त हुन्छन् नै । सबै सबै कुरामा दक्ष र सबल हुन्नन् तर मेरो नजरमा मैले उसरी कहिल्यै कवितामा नाम नसुनेको
मिना बहिनीको कविता वाचन र लेखनकला सुनेर, पढेर म अवाक् भएँ र सोंचें कस्ता, कस्ताहरू कविको पगरी गुथेर संसार चाहार्दैछन् । यति अब्बल कविताका सर्जक मिना श्रेष्ठ मेरा नजरमा आजसम्म नेपथ्यमा किन रहनु भो ?
अर्को खड्केको कुरा पुस्तकको विषयसूची नम्बर जुन लगातार राखिनु पर्नेमा कुनै कुनै अगाडि, पछाडि परेका रहेछन् । जसले गर्दा पढ्दै जाँदा म रनभुल्लमा पनि परें । दुई वटा कविताको भाव अर्को कवितासँग मिसिन पुगेकाले मलाई असहज पनि भयो तर राम्ररी नियालेर हेर्दा बाइडिङमा कुरा बिग्रेको रहेछ ।
कवि श्रेष्ठको यो दोस्रो संग्रह रहेछ । अब तेस्रो संग्रह पनि छिट्टै पढ्न पाऊँ । यही शुभेच्छासहित अञ्जुलीभरीको शुभकामना फेरि पनि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 









