सुशील नेपाल

सुशील नेपाल
देखेको छु मन फैलिएर समुद्र भएको
देखेको छु साहस उम्लेर हिमाल उक्लेको
देखेको छु बादलमा बिम्बहरू
कहिले गणेश, कहिले विष्णु कहिले शिव भएको
भ्रम हो भन्ने थाहा छ
तर विश्वास गर्छ मनले
मान्छेले शिर झुकाएर नमस्कार गर्छ-
भ्रमको बिम्बलाई
त्यहाँ केही छैन तर लाग्छ भगवान् छन्
बादलको त्यो चित्रमा
विश्वास र मनको क्या गज्जबको सम्बन्ध रहेछ
भेटेको छु मन पर्नेसँग आँखा जुधाएर माया साटेको
आँखा तरेरै भए पनि आँशु झारेको !
खोज्छ मनले माया गर्ने मान्छे
आखिर मनै त रहेछ सारथि
मान्छे फगत एउटा याचक रहेछ
डोऱ्याउने मनै रहेछ यता ऊता
मान्छेको मालिक ऊभित्रै छ
निर्णय गर्ने मनैले हो
विश्वासको कन्भासमा
अनुभूतिको रङ भर्ने मन
सबैसँग भएर पनि सबैसँग नहुने मन
एउटा अन्तरङ्ग मित्र
एकान्तको साथी
मान्छेको मन !
राजमित्र प्राङ्गण
माल्डेन, बोस्टन
अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 







