सुशील नेपाल

त्यसै अलपत्रिएर खोला किनारमा लडेको थिएँ म एउटा बलिष्ठ ढुंगा
आकार थिएन मेरो अनुहार थिएन
एक आदत मानिसहरू आए
उठाएर लगे मलाई
छेनाको हथौंडाको प्रहारले एउटा
आकृति बन्यो
त्यसलाइ सालिक भने
बनाए चुस्त दुरूस्त उस्तै अनुहार
कसैले माला चढाए कसैले अबिर घसे
म ढुंगा थिएँ
मेरो मौनताको कुनै अर्थ थिएन
कसैले वाह भने कसैले घृणा गरे
म चुपचाप निर्विकार बसीरहेँ थुचुक्क
निर्दिष्ट आसनमा
ढुंगामा कुंदिएको एउटा अनुहार बोकेर
त्यस्मा आत्मा भर्न कसैले सकेन
आत्मा ढुंगाको त्यो आकृति
भित्र छिर्न मानेन
ढुंगामा कुंदिएको त्यो आकृति
खलपात्र थियो कसैका लागि
कसैका लागि प्रिय थियो
विभिन्न कथा थिए उसका
कतै ढालेको थियो उसले
कतै चढेको थियो
यहाँ मेरो साहराले थचक्क बसेको छ
आखाँ खोलेको छ उसले
प्राणहीन गुच्चाका आँखाहरू
मलाई साक्षी राख्न आएका छन् उसका चाटुकारहरू
चराचर् विचरणको थलोमा
उपेक्षित अनुहारको छवि बोकेर
म भनेँ रोएर बसीरहेँ
बरू बगरमै खुसी थिएँ
जस्तो थिएँ जे थिएँ स्थूल
आत्माले नपत्याएको छेना र घनको अनवरत प्रहार पछि बनेको
निर्जीव सालिक बनेर
यसरी ठडिनु पर्दैन थियो मलाई
अनास्था र अनादरले बनाएको मूर्तिमा
आत्मा छिर्नै मान्दैन
मानेन
यसरी म उपहासको पात्र बनें !

६/१२/२०२२

राजमित्र प्रांगण 
माल्डेन,बोस्टन
अमेरिका