
शेखर आचार्य
आँखाको छेकोमा परेर
कति मिल्किरहनु रछ्यानमा ?
कति उभिइरहनु पोखरीको डिलमा ?
केही खोजिरहे झैं
कति हिँड्नु आकाशको किनार किनार ?
म हुनसक्छु बाटो छेऊ खम्बा झैं गाडिएको
गलेर त्यतै थुपुक्क बसेको हुन सक्छु
म कुहिएर बाटो छेउमै थुप्रिएको हुन सक्छु ।
या म दिन र रातको दोसाँधमा
आँखा खुल्लै राखेर प्रतिक्षामा हुनसक्छु
या निदाएरै पनि बाटो हेरिरहेको हुन सक्छु ।
सपना या बिपना जता भेट्दा पनि हुन्छ ।
म बगैँचामा हुन पनि सक्छु
म चिहानमा हुन पनि सक्छु
आएर
ज्यूँदो या मुर्दा जस्तो छामे पनि हुन्छ ।
म हुँदा हुँदै नहुन पनि त सक्छु
म नहुँदा नहुँदै हुन पनि त सक्छु
त्यसैले
तिमीले भेट्दा पनि
तिमी ढिलो आयौ भन्न सक्छु
तिमीले भेटेनौ भने पनि
कति हतारिएर आएको भन्न सक्छु ।
भेटौँ भेटौँ भेटौँ भन्ने मनले
ज्या नभेटेकै भए हुनेरैछ, भन्ने पो हो कि ?
भेट्नु कि नभेट्नु ?
कुर्नु कि नकुर्नु ?
बस्नु कि जानु ?
आफ्नै अनुहारको प्रतिबिम्ब च्यातेर
कोही आउलाकी भनेर
कति उभिइरहनु पोखरीको डिलमा ?
शंखादेवी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 









