हरेक दिन एक पाखो घर भत्किन्छ
घरभन्दा बढी घरका मान्छेहरू भत्किरहेछन्
ईश्वर छिर्न मान्दैन
समाजका आँखाहरू निस्कन मान्दैनन्

आत्मियता जमेर अँगेनो निभेको दिन
बिरालोले पनि छाड्यो घर

आइमाईहरू मजेरीमा अझ गहिरो चिहान खनिरहेछन्
लोग्नेमान्छेहरू झ्यालमा कारागारका डण्डी थपिरहेछन्
कुनै वार्तालाप बिना नै रित्तिरहेछ डाइनिङ टेबल

हुरी र धुरीको युद्ध अन्तिम चरणमा प्रवेश गरेको छ
जुनसुकै बेला उड्नसक्छ छानो
बर्षात तम्तयार छ मजेरीमा बर्षन

ओठमा कान्लो खसिरहेछ
आँखामा तलाउको पिँध धस्सिरहेछ
रंग र अनुहार दुबै मक्किएका छन्
इँटाहरूले यो पतन थेग्न सक्ने देखिन्न

केटाकेटीहरू मौन छन्
तिनका आँखामा
अग्ला महलहरूको सपना भने मर्न मानिरहेका छैनन्

रात
चिसा स्तन र थकित बासनाले मुर्झाएको छ
दिनमा नक्कली हाँसोले पनि
तात्न सकिरहेको छैन घाम

घर
प्रेम किनबेच हुने सुरक्षित बजार भएपछि
मानवता रोईरहेछ
जंगली युगको ओडार सम्झेर

घरहरूमा
हरेक दिन एक पाखो घर भत्किरहेछ

तर पनि चिसा लोग्नेमान्छेहरूले
हरेक दिन घरबाट निस्कनु अघि
चुम्न छाडेका छैनन्, श्रीमतीका फिका ओठहरू ।

शंखादेवी